बबई नदीका किनारमा गिट्टी कुटिरहेका धनिरामका दुखका वेदना धेरै महंगा छन्। भारतको बम्बई सहरमा एक साहुको घरमा सेकुरिटी गार्डको काम गर्ने उनी कोरोना कहरका कारण आफूले काम गर्दै आएको ठाँउ छोडेर मरे पनि आफ्नै मातृभूमिमा मरौला भनि हजार हण्डरका बीच कयौँ दिन हिडेरै नेपाल आए।
दुई/तीन महिना त कोरोना कै कहरले डर र त्रासमा बिताए। आम्दानीको स्रोत छैन। परिवारमा खर्च बढी रहने। खेती गर्न उब्जनी भूमिको अभाव। बिहान-बेलुकाको छाक टार्नकै निमित्त हम्मेहम्मे हुने भयो।
मनमा आगो बल्यो तर अँगेनाको आगो बलेन। गरिबी र भोकमरीको पिरलोले उनीलाई बबई नदीको किनारसम्म पुर्यायो। आत्महत्या गर्न हिडेका धनिरामलाई बबईको किनाराले कर्म गर्ने कला देखायो।
झापाकी फूलमती दिदीको अनुहारमा देखिएको नैराश्यता ज्यादै अमिलो देखिन्थ्यो। लकडाउनभन्दा अगाडि फूर्तिका साथ ठेलामा पानीपुरी बेचेर परिवारको गर्जो टार्दै आएकी उनी अहिले ओइलाएको फूल जस्तो देखिन्छिन्।
काठमाडौँका गल्लीमा गीत गाएर जीविका चलाएका दृष्टिविहीनहरुको समूहको रौनक र उत्साह छैन। उनीहरु पनि लकडाउनमा यो अध्यारो सहरमा बिताउनु परेका दुखका पीडा हजारौँ छन्।
आफै अशक्त भएर पनि अरुको मनोरञ्जनका निमित्त काम गर्ने उनीहरुको रोजीरोटी हरायो। बस्दै आएको घरमा महिनौंसम्मको तिर्न बाँकी बाहल र पसलको उधारो तिर्न नपाउदाको बेचैन छ। उनीहरु पनि दुख र बेदनाका गीत गुन्गुनाउदै बिताएका छन् यी अप्रिय दिनहरु यो खल्लो सहरमा।
बुटवलको तिनाउ नदीमा प्लाष्टिका बोतल खोज्दै हिड्ने सिराहाका बसन्तको दुखेसो उस्तै छ। छ जनाको परिवार पाल्न पाँच वर्षदेखि बोतल खोज्दै निर्वाह गरेका छन् उनी। उनैको भरोसामा परिवार बाचेको छ। कहिलेसम्म उनका हात खुट्टा र जागर चल्छन्, कुनै टुङ्गो छैन्। सरकारले लगाएको बन्दाबन्दीका कारण उनले त्यही बोतल बटुल्ने काम समेत गुमाउनु पर्यो।
सिन्धुपाल्चोकको विकट गाँउमा बस्दै आएका परिवारहरुको चिरा चिरा परेको मन पनि ज्यादै भक्कानिदो छ। भूकम्पले थिल्थिलाएको जमिन र उनीहरुको भावना त्यस्तै विक्षिप्त छ। बस्नलाई बास र खानलाई एक छाक भए पनि उनीहरुको चैन छैन। पुर्पूरोमा हात राख्दै दिन कटाएका छन्। कहिले पहिरो आएर लैजाने हो, उनीहरुलाई त्यसैको पिरलो छ।
खेतबारीमा काम गर्न छोडेर किसानहरु हाम्रो परिश्रमको भुक्तानी देऊ भनि सडकमा आन्दोलन गर्न परेको छ। समयमा मल, बीउको व्यवस्था गरिदिनु भनि हारगुहार गर्नुपरेको छ। खेतमा व्यस्त हुनुपर्ने किसान सडकमा धाउनु परेको छ।
कोरीबाटी चिटिक्क परेर खेतमा काम गर्न गएकि चेली बलात्कार भएर मारिन्छिन्। वर्षौंसम्म पनि दोषी भेटिदैनन्। कारबाही हुँदैन। परिवारको कारुणीक वेदना सुनिदिने कमै हुन्छन्। आफ्ना प्रियजन गुमाउनु पर्दाको पीडा र समाजको हेर्ने दृष्टिको पनि ज्यादै कठोर हुन्छ। त्यो अवस्था बुझिदिने कमै हुन्छन्।
भनिन्छ, सामाजिक सुरक्षा र सचेतनामूलक शिक्षामा सरकारले लगानी बढाएको छ। तर त्यसको औचित्यता र सार्थकताको मूल्यांकन ज्यादै कमि छ। घटना गाँउमा घटेको हुन्छ। समाधान तारे होटलबाट खोजिन्छ। आफ्ना भए कानुन नै खुकुलो, अर्काको परे कडाइ गर्ने असमानजनक कानुनी शासनले झन् बढी जोखिम सिर्जना गरेको छ।
धनिराम, फूलमति, बसन्त, अशक्त दृष्टिविहीनहरु, विचलित परिवार र किसानका यी प्रतिनिधिमूलक सत्य कथाहरु हुन्। यस्ता अनेकौँ पीडा र वेदनाका कारुणिक सत्य कथाहरु हाम्रो समाजमा धेरै छन्। पिछडिएका, असमान व्यवहार गरिएका, राज्यको नजरमा नपरेका धेरै यस्ता नागरिकहरुको वितृष्णा ज्यादै दुखद् छ।
लामो समयपछिको राजनीतिक अस्थिरता, क्रान्ति, आन्दोलन हुँदै एक दशक लामो अथक प्रयासबाट जनताबाट चयन भएका प्रतिनिधिले निर्माण गरेको अग्रगामी संविधान जारी भएपछि नागरिकमा ज्यादै खुसी छाएको थियो। सडकका भुइँमान्छेका पनि अब हक-अधिकारहरु स्थापित हुनेछन्। हरेक नागरिकहरुले सुरक्षा, समानता र सामाजिक न्याय हुनेछ भन्ने आशा त्यस समयले जगाएको थियो।
तर, संविधानको पूर्ण कार्यान्वयन बिना नै राजनीतिक अस्थिरता, दलीय झगडाले कुशासनलाई प्रसय दिदै गएको छ। राजनीतिक भागबन्डाले भ्रष्टाचार र अनियमितता बढाइरहेको छ। नागरिकमैत्री शासन व्यवस्थाभन्दा पनि आफ्नोवाद र कृपावादको शासनले हरेक नागरिकमा चरम वितृष्णा छाएको छ।
भनिन्छ, लोकतन्त्रमा राज्यको नागरिकहरु प्रति अभिवावकीय भूमिकामा हुन्छ। तर, नागरिकहरु आफ्ना अभिवावक हराएका टुहुरा जस्ता देखिन्छन्। पिछडिएका नागरिकका समानताका निमित्त धेरै क्रान्ती र आन्दोलनहरु भए। उनीहरुको हक अधिकार र रोजीरोटीका लागि धेरै आवाजहरु बुलन्द भए। तर, त्यी अवाजहरु सीमित दायरा र व्यक्तिगत स्वार्थबाट माथि उठ्न सकेनन्।
यस्तै पिछडिएका नागरिकको आवाज बोकेर भर्याङ चडेका नेताहरु किन उनीहरुकै बेदना भुल्छन्? समानता र सामाजिक न्यायका खातिर उनीहरुको नातावाद र कृपावादले कालो बादल छाएको किन देख्दैनन्? यी र यस्तै प्रश्नहरुको उत्तर भेट्न ज्यादै कठिन छ।
तल्लो तहका पिछडिएका वर्गहरु पनि शासन व्यवस्थामा सहभागिता हुनु पर्दछ भनि समावेशीकरण र आरक्षणको व्यवस्था भए पनि उनीहरुमा त्यो पहुँच नै पुगेन। उनीहरुको आवश्यकता र राज्यको आसयमा भिन्नता देखियो। भोको पेट बोकेर शासन व्यवस्थामा सहभागिता जनाउन कस्ले नै पो सक्छ र?
नागरिकको स्पष्ट जनमत र आशा उत्साह बोकेर आएको सरकारका एकपछि अर्को अलोकप्रिय कदमले नागरिकमा वितृष्णा बढेको छ। शक्तिशाली सरकार सामु निरीह नागरिकको गुनासो पुर्याइदिने निकाय को होला?
कानुनी शासन र सुशासन सहितको लोककल्याणकारी राज्य निर्माणको आँटिलो मार्गमा अघि बढेको राज्यका यति दुखी नागरिकको पीडा महशुस गरिदिने निकाय कहाँ छ? मध्यम वर्ग र गरिबीको रेखामुनि रहेका नागरिकलाई समतामूलक न्यायको पहुँच कहिलेसम्म पुग्छ होला?
समानता र सामाजिक न्याय सहितको अग्रगामी संविधान, समाजवाद उन्मुख राजनीतिक व्यवस्था र समकालीन अवस्थामा ज्यादै भिन्नता देखिन्छ। कथनी र करणीमा कुनै पनि सामान्जस्यता देखिदैन। केन्द्रको सिंहदरबार गाँउ-गाँउसम्म पुगेको छ भने पनि त्यहाँको अनियमितता र भष्ट्रचारको लेखाजोखा नै छैन।
केही छिटपुट परिर्वतन भए पनि नागरिकले चाहे जस्तो परिर्वतन भएको छैन। नागरिकको हरेक क्षेत्रमा गुनासो छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सार्वजनिक सेवा र सुशासन जस्ता क्षेत्रमा चरम अनियमितता देखिन्छ।
समकालीन अवस्थाले नागरिकमा वितृष्णा देखिएको छ। प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका निमित्त आवाज उढाएका ती नै नागरिक एक पटक फेरि आफैले फालेको राजतन्त्रका निमित्त समेत नउत्रेलान् भन्न सकिदैन।
लाखौँका भष्ट्रचार, अनेकौँ कथा सुनेका गरिब नागरिकले महामारीका बीच पनि सानो राहतको भरोसा समेत पाएनन्। आर्थिक अवस्था, बेरोजगारी र गरिबीले नागरिकका पीडा दिनप्रति दिन चुलिदै छन्। आफ्नाको संरक्षण गर्ने, राजनीतिक स्वार्थपना, नातावाद कृपावादमा लिप्त हुने परिपाटी बढीरहेको छ।
सरकारको पछिल्लो कदम र राजनीतिक अदूरदर्शीताले समग्र क्षेत्रमा अस्थिरता देखाएको छ। सडकका भुइँमान्छे भनेर बेवास्ता नगरियोस्। नागरिकको चुलिदो वितृष्णाले व्यवस्था प्रति पनि प्रहार गर्न सक्दछ।
नागरिकको चुलिदो वितृष्णाको हेक्का नराख्ने हो भने अर्को भयानक अवस्थाको सिर्जना पनि हुन सक्दछ भन्ने नेताहरुले बुझेर पनि कति समय नबुझेको जस्तो गर्छन।