म अमेरिकाबाट नेपाल फर्किने क्रममा दोहा एयरपोर्टमा एकजना सिरहा तिरका भाइसँग भेट भयो। समय सदुपयोग गर्ने क्रममा मैले उनका बारेमा सोधेँ।
तत्कालै ती भाइले गहभरि आँसु पर्दै भने '४ वर्ष भयो कतारको एउटा निर्माण कम्पनीमा काम गरेको। यो बीचमा साहुले जम्मा दुई पटक मात्रै घर जाने छुट्टी दियो। त्यो पनि घर जाने बेलामा १ वर्षको तलब बाँकी राखेर मात्रै जान दिन्छ, मेरो पूरै तलब दिनुस् भन्यो भने त तँ फर्किदैनस् भनेर भन्छ।
गाउँमा मेरो ४ बिगाहा जमिन बाँझो बसेको छ। म भने बाँकी पैसा दिन्छ कि भनि फेरि कतार फर्किने गरेको छु। हामी गरिबको लागि सरकारले केही बोल्दिदैन हजुर?' भनेर उल्टै प्रतिप्रश्न गरे।
म अवाक भएर ती भाइको दुखको साक्षी भएँ। यी त एक प्रतिनिधि पत्र मात्रै हुन्, नेपालमा यस्ता हजारौँ हजार युवाहरु छन् जसको पहिलो रोजाइ भनेको विदेश जानेनै छ।
अनि जो गैसकेका छन्, ती पनि देशको अवस्था राम्रो भए, देशमै रोजगारी पाउने भए, स्वदेश आउने भनि कथित राम्रो दिनको प्रतिक्षामा बसेका छन्। केही यस्ता मानिसहरु पनि छन् जो विदेश जान सक्ने हैसियत राख्छन् तर यही देशमा बसेर केही गरूँ भनि जेनतेन आफ्नो जीवनको गाडी धकेलिरहेका छन्।
धरै समय बित्यो, धरै राजनीतिक परिवर्तन भए, धेरै व्यवस्था परिवर्तन भए, धेरै नयाँ अनुहारहरु आए। हरेक नयाँ वर्षमा थप सकारात्मक हुँदै यो देशको समृद्धिको सपना देख्न छाडिएन। सारा नेपाली जस्तै मैले पनि आधारभूत आवश्यकताहरु जस्तै शिक्षा, स्वास्थ, रोजगारी, बाटोघाटो, बत्ती, पानी आदि विषयमा राज्यले निर्बाध उपलब्ध गराउने कुराहरुमा विश्वस्त हुँदै आएँ।
यति मात्र नभएर स्वच्छ हावामा श्वास लिन सक्ने वातावरण बन्नेछ, धाराहरुमा स्वच्छ पानी बग्नेछ, गुणस्तरीय शिक्षाका लागि सरकारी स्कुल स्थापना हुनेछ, गुणस्तरीय बाटो बन्नेछ, संसारलाई आश्चर्यचाकित पर्ने भौतिक पूर्वाधार बन्नेछ र अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा सम्मानित राष्ट्रको नागरिक सरह आफूलाई चिनाउन पाइनेछ भन्ने सपना देख्न छाडिएन।
तर यो समयाक्रममा फगत एक दिवास्वप्न बन्न पुगेको छ। मेरो पालामा यो समृद्धि देख्न पाइएन भन्ने दुखभन्दा पनि भावी सन्ततिले समेत मैले भोगेको जस्तै पीडा भोग्नु पर्ने भयो भन्ने पिरले बढी पोल्न थालेको छ।
कुनै पनि वाद, विचार, र नेतृत्वले सकारात्मक परिवर्तन देखिने र जनताले अनुभूत गर्ने खालको काम गर्न सकेका छैनन्। देशमा व्याप्त गरिबी, भ्रष्टाचार, कुशासनलाई अझ मलजल गर्दैछन्।
२०५१ सालमा आफ्नै बहुमतको सरकार ढालेर गिरिजाप्रसादले यो देशमा कुशासनको जग बसालेका थिए भने २०७७ मा केपी ओली सरकारसम्म आइपुग्दा करिब २६ वटा सरकार गठन भए, ती सरकार अन्तर्गत करिब ९०० जति मन्त्री भएछन्। सांसद किनबेचदेखि राज्यका प्राकृतिक श्रोत साधन विदेशीलाई जिम्मा लगाउनेसम्मका अनगिन्ति कुसंस्कारहरुको साक्षी बस्नु परेको पीडा हरेक नेपालीले भोगेका र देखेका छन्।
एउटा खोटाङबाट रित्तो हात राजधानी पसेको ठिटोले सरकारी कर्मचारीको खोल ओडेर काठमाडौँमा ७ वटा घर, ७० रोपनी जग्गा र सुनको जलप लगाएको सोफा र पलङ प्रयोग गर्नसक्ने हैसियत बनाउन यिनै राजनैतिक पदमा बसेका नेताहरुको मिलेमतोमा मात्र सम्भव थियो र आजपनि लाभको पदमा बसेका अधिकांश कर्मचारी तथा नेताहरुको हैसियत राजा महाराजाभन्दा कम छैन।
यिनै मानिसहरु राजनीतिमा रहेसम्म यो अवस्थामा कसैले परिवर्तन गर्न पनि सक्दैन किनभने नीति बनाउने मानिस स्वयम् आफू र आफ्नाहरुको भरण पोषणमा लिप्त छन्। यो त एउटा प्रतिनिधि पात्रको मात्रै कथा हो, यस्ता हजारौँ हजार कथाहरु छन् बेथिति र बेलगाम राजनीतिको।
तर कसैले पनि नेपाल आमाको सच्चा सपूत भएर इमान्दारीसाथ आफ्नो भूमिका निर्वाह गरेको देखिएन। सारा मानिसले आश भरोस गरेको मान्छे मन्त्री भएर पदमा पुग्दा पनि कुनै उल्लेखनीय काम नगरी विभिन्न बहाना बनाएर अरुलाई दोष देखाइ कर्मकाण्डी काम मात्रै गरेर गएको पनि देखियो।
यत्तिका धरै विकृति र विसंगतिका साक्षी बस्नुपरेको पीडा झेल्दै आएको हाम्रो पुस्ताको धैर्यताको सीमा त त्यहाँ नेर गएर टुट्यो जब एकजना वादशाहले हठात सनकको भरमा सारा नेपालीले माया गरेर दिएको मतलाई समेत वास्ता नगरी आफ्नो पार्टीभित्रको समस्या व्यवस्थापन गर्न नसकी संसदीय व्यवस्थाको आस्थाको केन्द्रको रुपमा रहेको संसदलाई नै बिघटन गरिदिए र आफ्नो बाउको सम्पति बेचेर चुनाव गराउने जस्तै गरी चुनावको फरमान जारी गरिदिए।
सारा नेपालीलाई समृद्धिको सुँगा रटाइमा भुलाएर हामी चमत्कार गर्छौं भनेर भोट माग्ने, देशमा धरै काम हुँदैछ, गर्दैछौँ भन्दा भन्दै ३ वर्ष बितेपछि मलाई अरुले गर्न दिएनन् भनि देशलाई भिरको टुप्पामा लगेर घचेडीदिए। यी र यिनका पुस्ताले त के गुमाउनु पर्छ र यो सबैको मूल्य त विचरा निरीह जनताहरुले किस्ता किस्तामा अनन्तकाल पर्यन्त तिरिरहनु पर्नेछ।
यी सबै राजनीतिका खराब खेलाडीहरुलाई सधैँ के लाग्छ भने जनता भनेका एक दुई दिन कराउने हुन्, पछि चुनाव आएपछि हाम्रा झन्डा बोकेर हिडीहाल्छन् नि भन्ने कुरामा शतप्रतिशत विश्वास छ। वास्तवमा आजसम्म यो देशमा साँच्चै नै हुँदै आएको पनि यही हो। जबसम्म आम नागरिक स्वतन्त्र भएर सही गलतको फरक छुट्टयाउन सक्दैनन्, यिनीहरुले हामीमाथि सधैँ यसै गरीरहने छन्।
यिनीहरुका हर गल्ति र कमि कमजोरीलाई जनताले भोट मार्फत अनुमोदन गरिदिएको हुनाले यिनीहरुको मनोबल बढेको हो। इतिहासको कुनै पनि कालखण्डमा न कुनै वाद, न कुनै व्यक्ति देशको लागि जन्मिए र देशका लागि काम गरे। कसैको पनि देश पहिलो प्राथमिकता हुँदै भएन, यहाँ त पहिले आफू, त्यसपछि आफ्नो पार्टी अनि पछि देश भनेपछि यो देशको मुहार कहिले फेरिन्छ?
यिनै सन्दर्भमा एउटा प्रश्न सधैँ मनमा आइरह्यो। के अब नेपाल समृद्ध हुन सक्दैन? के नेपालमा कहिले पनि सुशासन कायम हुन् सक्दैन? के हामी पनि अन्तर्राष्ट्रिय मंचहरुमा शिर ठाडो परेर समृद्ध नेपालका स्वतन्त्र नागरिक हौँ भन्ने अवस्था आउन सक्दैन?
यी सबै प्रश्नहरुले घेरिदा अर्को एउटा गहन प्रश्न झन् गाढा भएर आउछ। देश चलाउने राजनीतिक विचारधारा र त्यो विचारलाई कार्यन्वयन गराउने नेताहरु यो दिशामा अगाडि आउन सक्छन् त? भनिन्छ सबै नीतिभन्दा ठूलो नीति राजनीति नै हो र यदि देशमा आमूल परिवर्तन गर्ने एकमात्र साधन केही छ भने त्यो राजनैतिक व्यवस्थार सही नेतृत्व नै हो।
तर २०४६ पछि उदय भएका र शक्ति र सत्तामा आएका कुनै विचार तथा नेतृत्वबाट यो देशमा आमूल परिवर्तन हुन् सक्छ त? अब यो कुरा घाम जतिकै छर्लंग भैसकेको छ कि यी वर्तमान सडे गलेका, बुढा, पुरानाहरुबाट परिवर्तन सम्भव छैन। यिनीहरुको योग्यताको मापदण्ड नै को कति बुढो, कति वर्ष जेलनेल बसेको, कति मान्छे मारेको, कति कार्यकर्तालाई लाभको पदमा पुर्याएको भन्ने कुराले निर्धारण हुन्छ।
अचम्मको कुरा त के छ भने तत् तत् पार्टी र नेतृत्वमा भएका युवा भनाउदा नेताहरुको पनि रगत चिसो भैसकेको छ। पार्टीको व्हिप मान्नुपर्ने, आफ्नो स्वतन्त्र विचारभन्दा पार्टीको विचार बोकेर हिड्नुपर्ने, अझ हद त के छ भने सादा कागजमा हस्ताक्षर गरेर उक्त हस्ताक्षर देश बेच्ने काममा प्रयोग भयो भने पनि यी युवा र परिवर्तनकरी भनाउदाहरु निरीह बनेर टुलुटुलु हेर्ने बाहेक केही गर्न सक्दा रहेनछन्।
२०४६ सालमा १६ वर्षको युवा जोश र जागर बोकेर यो देशको रुपान्तरण गर्छु भन्दै ढुंगा हान्ने मेरो पुस्ता त यी नै अवसरवादीहरुको गणितीय खेलमा लागेर आज संसारका अति काम विकसित देशहरुको सूचीमा पहिलो हुने होडबाजीमा निरन्तर ओरालो यात्रा गर्दैछ।
यी सबै कुरा हुँदाहुँदै पनि यो व्यवस्थाको विकल्प फेरि कुनै तानाशाही व्यवस्था वा हुकुमी शासन भने पटक्कै होइन। लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो तर यही परिधि भित्र रहेर कसरी यो देशको आमूल परिवर्तन गर्न सकिन्छ भन्ने कुरा आजको अहम प्रश्न हो।
अब यो व्यवस्था र यी विद्यमान नेताहरुबाट देशलाई छुटकारा दिलाउने केही उपाय छैन त? संसारमा हरेक समस्याको केही न केही समाधान अवश्य छ, खाली त्यसको लागि एउटा इमान्दार प्रयास, नेपाल आमा प्रतिको समर्पण र आफू भित्र रहेको दास प्रवृत्ति निकाल्नु जरुरी छ।
आज यो लेख मार्फत यो दलदलबाट बाहिर निस्किने केही उपायहरु बारे चर्चा गर्नेछु। हाम्रा विद्यमान राजनीतिक पार्टीहरुमा केही गिने चुनेका युवा, केही गरौँ भन्ने भावना भएका मानिसहरु तत् तत् पार्टीबाट बाहिर निस्किनु पर्यो किनकी उनीहरुसँग पार्टीगत पद्धति तथा शासन संचालन सम्बन्धी लामो अनुभव छ।
यसरी विचार गर्दा कम्तिमा पनि प्रमुख पार्टीहरुका ४-४ जना मानिसहरु आ-आफ्नो पार्टीबाट निस्किने हिम्मत गर्नुपर्यो र यसो गर्दा कम्तिमा पनि २० जना सशक्त युवाहरुको जमात तयार हुन्छ र हरेक क्षेत्र जस्तै, शिक्षा, स्वास्थ, भौतिकपूर्वाधार, जलश्रोत, पर्यटन, कृषि छेत्रमा विज्ञता हासिल गरेका १० जना मानिसहरुको आह्वान गरौँ।
त्यसैगरी नागरिक समूहका अगुवाहरु, कानुनविद, तथा हिजो यो देश बनाउन केही योगदान गरेका मनिसहरु मध्येबाट अर्को ५ जना छानेर करिब ३५-४० समूहको एउटा तटस्थ समिति गठन गरौँ र त्यसमध्य १ जनालाई संयोजक तोकेर एउटा 'नेपाल आमा' भन्ने पार्टी गठन गरौँ।
त्यसपछि उक्त पार्टी मार्फत हामी कस्तो शासन व्यवस्था चाहन्छौँ भन्ने कुरा जनताबाटै सर्वेक्षण गराइ घोषणा पत्र तयार गरौँ। हामी कस्तो शासन व्यवस्था बनाउछौँ, चुनावी रणनीति कस्तो हुने, नेतृत्व तहमा बस्नेले पालना गर्नुपर्ने आचारसंहिता कस्तो हुनेदेखि यावत कुराहरु पारदर्शी ढंगले जनतामाझ लिएर जाउँ।
अहिलेको अवस्थामा यति गर्न सकियो भने मलाई आशा छ, सारा देशबासीले यो कदमलाई अनुमोदन गर्नेछन्। यदि साँच्चै नै हामी इमान्दारीपूर्वक प्रस्तुत हुने हो भने यो अवस्था धेरै टाढाको विषय पनि हुँदैन।
आज सारा नेपालीहरु यो अनवरत अधोगति उन्मुख राजनीतिक अवस्था देखेर वाक्क भएको अवस्थामा यदि हामीले बेलैमा सचेत भएर उचित विकल्प दिन सकिएन भने कुनै एउटा तानाशाहको उदय हुनेछ र फेरि पछुताउनु बाहेक हामीसँग केही विकल्प रहने छैन।
यो देशका नेता तथा भ्रष्ट कर्मचारीहरुलाई त जुन व्यवस्था भएपनि केही फरक पर्दैन किनकी उनीहरुको सात पुस्तालाई पुग्ने सम्पत्ति थुपारेर बसेका छन्। त्यसैले यो अव्यवस्थाको पहिलो शिकार तपाई हामी आम नागरिक नै हुनेछौँ।
विशेषगरी राजनीतिक पार्टीका युवा नेताहरु जसको काँधमा यो देश निर्माणको अभिभारा छ र साँच्चै आज नेपाल आमाको दूधको भारा तिर्ने हो भने यो कुरा गहिरोसँग मनन् गर्नुहोस्। आफ्नो आत्मालाई साक्षी राखेर एकचोटि हिम्मत गरेर यो असफल भैसकेका नेताहरुको चंगुलबाट छुट्कारा लिनुहोस् र ढिलो नगरी यो प्रस्तावमा छलफल गर्न तयार हुनुहोस्।
तपाई हामी सबैलाई थाहा छ, तपाई आवद्ध भएको पार्टी र नेतृत्वभित्र रहेर तपाईले चाहे जस्तो परिवर्तन सम्भव छैन र तपाईजस्ता होनहार युवाहरुको पालो आउदा धरै ढिला भैसक्नेछ। मेरो सुन्दर देश थप बर्बाद हुनबाट जोगाउने हो भने यो एउटा अचुक विकल्प हुनासक्छ र म र मेरो पुस्तालाई समृद्धिको सपना देखाउने एउटा साधन हुनसक्छ।
तपाईहरु जुन दोबाटोमा हुनुहुन्छ, त्यहाँबाट निर्दिष्ट गन्तव्यमा पुग्न सम्भव छैन। यदि सम्भव भएपनि त्यो यति ढिलो हुन्छ कि आजको पुस्तामा त्यो धैर्यधारण गर्न सक्ने समय छैन। यो सपना होइन, यथार्थमा परिणत हुन् कति बेर लाग्ने छैन। यदि तपाईको साथ रह्यो भने हामी यो लडाइ लड्न सक्छौँ।
त्यसको एउटा सिपाहीको रुपमा काम गर्न म जस्ता हजारौँ हजार युवाहरु तयार हुनेछौँ। त्यसैले मेरो एउटै नारा र आग्रह छ, आउनुस् तपाई अलिकति त्याग गर्नुहोस्, म अलिकति त्याग गर्छु एउटा समुन्नत देश निर्माण खातिर।
कुनै दल वा व्यक्तिको होइन, नेपाल आमाको झन्डा बोकौँ र एउटा ठूलो परिवर्तनको तयारीमा लागौँ। अझै पनि केही बिग्रेको छैन। यो लेखकको विनम्र अनुरोध 'तिम्रो आस्था छोड: मेरो देश बचाऊ!'