त्यस ताका (कक्षा पाँचदेखि दशसम्म) हाम्रा घरमा लैना बकेर्ना भैँसी हुन्थे। पढाइसँगै अनिवार्य रूपमा दुई डोका घाँस काट्ने जिम्मा हुन्थ्यो। बिहान र बेलुका त्यो पनि स्कुलबाट घर फर्केपछि। अहिलेजस्तो फालाफाल घाँस थिएन, त्यो बेला।
हुन त, अहिले ठाउँ बढेरभन्दा पनि समाजमा बढ्दै गइरहेको बसाइँसराइँ, गाईवस्तु पालनमा कमि जस्ता कारणले प्रभाव पारेको भनूँ।
हामी (भाइ र म) बिहान आँखा मिच्दै डोका बोकेर घाँस काट्न निस्कन्थ्यौँ। मसिनो त्यसमा पनि छोटो घाँस, हामीहरूलाई डोको भर्न त्यस्तै एक/डेढ घन्टा त लागि हाल्थ्यो। त्यसपछि हतार हतार स्कुल कुद्नै पर्ने, त्यसमाथि कहिलेकाहीँ त कोदो मकैका थैला मिलमा पिस्नका लागि पनि।
घाँस कमी भएकै कारण हामी आमासँग थुम्केलीका भिरमा घाँस काट्न जान्थ्यौँ। अझ चोर्न जान्थ्यौँ भनौँ। भिरमा उक्लने ओलर्ने गौँडा साह्रै अप्ठ्यारा थिए। कयौँपटक घाँसका भारी पुर्याएर घर फर्कदा तिनै गौँडामा थररर खुट्टा कामेको आजै हो कि जस्तो लाग्छ अनि म ती गौँडा अहिले पनि झल्झली सम्झिरहेछु।
कति पानीमरूवा होस् तँ त!
'कसरी गरी खान्छस् नि?' भनेर आमा मलाई त्यस्तै अवसरमा बेलाबेलामा भन्नु हुन्थ्यो।
कहिलकाहीँ त साह्रै हिनताबोध पनि हुन्थ्यो। घाँस नै काटेर जिन्दगी बित्ला र!
'बाच्नलाई अरू पनि काम छन् नि आमा!' भनी जवाफ पनि दिन्थेँ तर पनि मनले आफू किन अलिक कमजोर (अपांग होइन) नै भएको भनेर गुनासो भइ नै रहन्थ्यो।
विशेषत: बलको तुजुक दाइँ हाल्दा हुन्थ्यो। १६/१७ भारी पराल र ४/५ मुरी धानका लागि चार बजेतिर नै खैलाबैला हुन्थ्यो। कारण थियो असाध्यै टाढाको खेत। आधा रातदेखिको दामझाम गर्दा पनि घरमा मुस्किलले धान पराल आइपुग्थ्यो। साह्रै दु:ख थियो।
म सोच्थेँ, कहिलेसम्म रहने होला यस्तो हैरानी? के अरू विकल्प छैनन् कामलाई सजिलो बनाउने? तैपनि पसिना चुहाउँदै, टाउको बङ्ग्याउँदै र ठसठसी कन्दै ती परालका भारी तान्नेबाहेक अरू कुनै विकल्प भने सुल्झिदैनथ्यो।
बितेको तिहारमा घर (स्याङ्जा) जाँदा यही विषयमा निकैबेर गफियौँ हामी दाजुभाइ। अहिले त, आनन्दसँग चिया पानी खाएर ८/९ बजेतिर खालामा पुग्ने हो। मज्जासँग दाइँ हाल्ने, ११/१२ बजेतिर उहीँ पकाइएको खाना खाने अनि केही समय आराम गर्ने।
त्यसपछि परालका भारी हाल्ने, केहीले खलामै धान बत्ताउने अनि केहीले पराल मोटरको बाटोसम्म पुर्याउने अनि गाडी बोलाएर लोड गर्ने, घर पुर्याएर टौवा हाल्ने हो वा कहाँ व्यवस्थापन गर्ने हो गर्ने कुरा दाइले भन्नुभयो।
कुनै समय विकासको पूर्वाधार सडक भनेर पढेको कुरा मेरा मानसपटलमा घुमिरह्यो। हुन पनि ती दिनहरू सम्झिदा अहिले त धेरै नै सजिलो भएको छ पनि।
अँ, कुरा बलको हुँदै थियो। दसैँ तिहार ताका घरदेखि माथि भन्ज्याङमा पिर्के पिङ हालिन्थ्यो। पिर्के पिङका लागि चाहिने खामा, बला लगायतका सामान चाहिन्थे। त्यसका लागि नजिकै रहेको वनबाट ल्याउने काम हुन्थ्यो। त्यतिबेला पनि बलको बैग्लै सम्मान हुन्थ्यो।
मेरै समकक्षी साथीभाइजस्तै बलियो नभएको वा त्यति पनि बोक्न नसकेको प्रति मलाई नरमाइलो लाग्थ्यो। तर तँ त कति कमजोर होस् भनेर हेपेको हेक्का छैन।
कुरा लगभग तीन दशक अगाडिको हो, गाउँमा पानी ट्याङ्की बनाउने योजना पर्यो। प्रत्येक घरधुरीले ८/८ मुरी बालुवा बोक्ने कुरा बैठकले पारित गर्यो। बालुवा तल बेसीदेखि ल्याउने पर्ने। उही माथि दाइँ हाल्ने कुराजस्तै। त्यति बेला मुस्किलले चार पाथी बालुवा घर पुर्याउँदा परान फुत्किन्थे।
तैपनि कनिकुथी भने जति बालुवा पुर्याइयो। त्यति बेला फनानाले यति पाथी बालुवा बोक्यो। ढिस्कानाले यति पाथी बोक्यो भनेर गाउँगाउँमा कुरा हुन्थे। सबैभन्दा बढी १६ पाथिसम्म बालुवा बोकेको कुरा पनि गाउँमा चलेको थियो। कसले बोकेको भन्ने कुरा अहिले दिमागमा रहन सकेन।
गाउँमा मोटर बाटो पनि आएको थिएन। बिजुली पनि आएको थिएन। दश कक्षासम्म पनि टुकी कै साहाराले पढियो। त्यही बीचमा गाउँमा बिजुली आउने कुरा भयो। ती फलामका पिल्लर पनि काँधका खाला फालीफाली पनि बोकियो।
ओहो! साँच्चिकै कहालीलाग्दा र दु:खदायी थिए। ती समय हरेकका लागि। अझ त्यो समयमा हामी केटाकेटीका लागि। समय परिवर्तन भएको छ। अहिले मोटर बाटा पुगेका छन्। सहज मान्नुपर्छ फर्केर ती दिनहरूलाई सम्झदा त।
खैर, दु:ख, कष्ट र असुविधाका कुरा गर्दै गर्दा त्यो समयको कर्णालीतिरको जनजीवन कति कष्टदायी थियो होला। हुन त अहिले पनि त्यति तात्त्विक फरक त छैन। तैपनि केही पनि नभएको भन्न मिल्दैन भन्ने लाग्छ।
आखिर जीवन भोगाइका क्रममा आएका ती नै उकाली ओरालीहरू नै व्यावहारिक जीवनका बलिया साथी हुँदा रहेछन्। त्यति गरिएको थियो र त व्यवहारिक मान्छे बन्न सकियो कि भन्ने पनि लाग्छ। हुन त भारी नै बोकेर व्यवहारिक बनिने भन्ने कुरा पनि तर्क संंगत नहोला तर पनि यी र यस्तै यस्तै कुराहरू त व्यवहारिक हुन् भन्ने पनि लाग्छ।
भनिन्छ नि, कि पढेर जानिन्छ कि परेर।
कुरै कुरामा, काठमाडौँ निवासी एकजना साथीकी छोरी अध्ययनका लागि अष्ट्रेलिया गएकी रहिछन्। आफ्ना अभिभावकसँग दिनहुँ हुने कुराकानीमा पहिला उनी रुन्थिन् रे। कारण, चिया पनि पकाउन नआएर। त्यसैले मेरा उल्लिखित अनुभवले त्यो स्थिति त कदापि आउन दिने छैन कि जस्तो लाग्छ।