हाम्रो ठाउँ विविधीकरण खाद्यान्न तथा अन्नबाली उब्जनी हुने ठाउँ नै हो। त्यसैले खेतमा पोटिलो धानहरु लहराइरहेको, बारीमा थरीथरीको हरियै लोभलाग्दो तरकारीहरु, जुठेल्नोको बगैंचामा केरा, आँप, सुन्तला लटरम्मै फलफूल हुने गरेको।
घरमा अन्न भरिएर बाहिर मकैको गाँड अनि थांग्रो झुन्डिएका, कन्दमुल समेत बारीमै पाइने, आँगनभरि कुखुरा, परेवा चर्दा, कुलोको छेउमा हाँस ढल्किएका। गोठभरि लइनो गाइभैंसी, बाख्रा, भेडा यस्तै यस्तै नै त हुन् सम्पन्न किसानको तरल सम्पत्ति, तथा निरन्तर आम्दानी हुने दह्रो स्रोत।
आफ्नै हातले बुनेका सुकुल गुन्द्री, डाला-नाङ्ला र रुवाबाट तकेका सिरक डसना। बुनेको धागोबाट तयारी खाडीका लुगा लगाउने निकै सम्पन्न हामीहरुको यो कथा सत्ययुगको होइन, यही समयको नै हो। बिक्रीका लागि नजिकै लाग्ने हाटबजार, अनि अलि पर रहेको ठूलो बजारहरुबाट धेरै आम्दानी गर्ने हाम्रो चलन हामीहरुले विविध उत्पादन र विशिष्ट उत्पादन दुवैका पारखी नै हौँ।
यो हाम्रो सफलतालाई उचाइमा लैजानु पर्ने आवश्यकतामाथि हामी जानाजान हुँदाहुँदै गर्दा पनि हाम्रो सोचाइ-योजना र कार्यदिशा-गराइ बीचको ठूलो खाडलले त्यो परिणाम नरहने स्वाभाविक थियो।
पहाडी, हिमाल र तराई जुनसुकै पाटोबाट
हामी कृषि उत्पादनलाई मात्र लिँदा निकै धनी हामी, हाम्रो परिवारलाई खपत भएपछि अन्य आम्दानी तर्फ अग्रसर हुन्थ्यौँ, हामीलाई प्रमुख खाद्यान्न र अन्य बालीको लागि हाम्रै आन्तरिक बजारको मुख ताक्नु पर्ने थिएन।
हिमालमा हामी हाम्रो उत्पादनले अतिथिहरुको स्वागत गरेर सन्तुष्ट बनाएर अन्य आम्दानी गर्ने गर्थ्यौँ। त्यो समय अहिले रहेन। यही पुस्ताको केही दशकदेखि मात्रै, यस्लाई चटक्कै छाडेर वा केही रुपमा मात्रै गरी उत्पादन गरेर हामी झारा टारेर सन्तुष्ट हुन खोज्दै छौं।
सुस्त गतिमा लाग्ने कृषिको पाटो हेर्दा हेर्दै बाँझो मात्र नराख्ने वा कम उत्पादन हुने क्षेत्र तिर लागिसक्यो। हिजोभन्दा आजको कृषिको अवस्था अझ खस्कदो नै छ। कारण उत्पादकत्व वृद्धि गर्न सक्ने विविध कारणहरु माटोलाई मलजल, पानी, विषादी, बिउ आदि जान्दा जान्दै पनि त्यस समस्यालाई हामीले निर्मूल गर्न सकेनौँ।
त्यसको अवसर दिलाउन राजनैतिक प्रतिबद्धता र सरकारमा संञ्चालन गर्नेहरुको जाँगर रहेन जस्को प्रत्यक्ष रुपमा असर कम उत्पादन हुन गयो। कम उत्पादनसँग जोडिएको न्यून आम्दानीले न्यून ज्याला दिलाउने हुँदा श्रमिकहरु जेनतेन धान्ने वा विकल्प खोज्नुपर्ने बाध्यतामा पुग्ने यथार्थ सत्य हो जुन मानवशक्तिलाई अन्य क्षेत्रले समेत उत्पादनमा अर्ध, वा पूर्ण रुपमा लगाउन सकेन र बेरोजगारीको ठूलो संख्या रहेको छ।
त्यसैले त कृषक पेशा निर्वाहका लागि गरिने, भूमिको उच्चतम प्रयोग गर्न नसकिएको, दशकौँदेखि मौसममै आधारित खेती हुने, हरेक वर्ष आइपर्ने खडेरी वा भारी वर्षातको विपदका कारण आइपर्न सक्ने नोक्सानीका लागि पर्याप्त पूर्वतयारी नहुने, दैनिकी रुपमा पशुपालनको औषधी उपचारको उपलब्धता नहुनु या खर्चिलो हुने कारणले पनि उत्साहजनक उत्पादनमा कमी आउदै गयो।
यस क्षेत्रको अध्ययन तथा अनुसन्धान र सूचनाको त्यत्रो महत्व दिइएन। सांस्कृतिक हिसाबले खेतबारीमा काम गर्ने पेशा सम्मानको प्राथमिकतामा नरहेको, यद्यपि ६६ प्रतिशतभन्दा बढी जनसंख्या रहेको यस क्षेत्रमा धेरैभन्दा धेरै अवसरहरु सृजना गर्न सक्नु पर्थ्यो तर गरिएन। परम्परागत तरिकाले भए पनि किसानले कृषिलाई धान्दै गए तर उल्लेखनीय हासिल केही भएन।
बढी उत्पादन हुने तराई जस्ता क्षेत्रहरुमा बजारसम्म पुर्याउन खर्चिलो यातायात, भण्डारणको कमी, सही मूल्यदर हात नपर्ने कारणले यस प्रति निरन्तर लाग्न प्रेरित गर्न सकेको छैन। यस क्षेत्रमा परम्परादेखि लागिरहने किसान र व्यावसायिक खेती गरेर केही गर्न तम्सने युवाहरुलाई सरकारले प्रेरित गरिरहनको लागि आजैदेखि संवेदनशील बन्न जरुरी छ।
हरेक आर्थिक वर्षमा यस कृषि क्षेत्रमा अन्य क्षेत्रमा बनेका नीतिहरु बिना स्वार्थ लागू हुनु जरुरी छ। योजना कार्यान्वयन हुनु जरुरी छ र आजभन्दा भोलि उपलब्धी हासिल हुने क्रम दोहोरी नै रहन जरुरी हुन्छ।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम
आर्थिक वर्ष ०७७/०७८ मा नेपाल सरकारले विभिन्न नीति तथा कार्यक्रम प्रस्तुत गर्यो,
क) कोभिड महामारी रोकथाम, नियन्त्रण तथा संक्रामक तथा रोगबाट जीवनरक्षा आदि।
ख) समृद्ध नेपाल, सुखी नेपालीका लागि उपलब्ध साधनको उच्चतम प्रयोग कार्यकम।
ग) आधारभूत आवश्यकता, भौतिक पूर्वाधार, दिगो विकास, सुशासन आदि।
घ) विभिन्न स्वास्थ्य कार्यक्रम, निरोगी स्वास्थ्यसेवा, निशुल्क स्वास्थ्य परीक्षण। स्वास्थ्य पूर्वाधार निर्माण।
ङ) उद्यमशील तथा शिक्षा कार्यक्रम। समाजवादउन्मुख अर्थतन्त्र।
च) वन विविधिकरण तथा उपयोग। विरुवा उत्पादन तथा वितरण
छ) नमुना कृषि वन निर्माण, जडिबुटी प्रशोधन।
उपर्युक्त नीति तथा कार्यक्रम सम्पन्न गर्नको लागि यस आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ५९ अर्ब ६ करोडको बजेट विनियोजन पेश गरिएको थियो। बजेट सफलतापूर्वक कार्यान्वयन हुँदा, चालु नेपाल सरकारको आयोजनाहरुको सम्पन्नता, संक्रामक रोग नियन्त्रण तथा मानवीय क्षतिमा कमी, स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रावधानहरुको व्यवस्था, कृषि क्षेत्रमा सुधार हुने सम्भावना देखिन्थ्यो।
तर नीति तथा योजनामा आशा लाग्ने कामहरुको लिष्ट भएता पनि, योजनाहरुको कार्यान्वयनको सन्दर्भमा स्वार्थीपना र कल्याणकारी लक्ष्य नभएको विभिन्न विवादित घटनाक्रम र चालेका कदमहरुले प्रमाणित गरिदिएका छन्।
विभिन्न बजेट बिनियोजन गर्ने सन्दर्भमा नै स्वार्थी भइ जानाजान त्रुटी गरी बजेट कार्यान्वयनको सही दिशा नै विमुख हुनेगरी खर्च शिर्षकहरु तय गर्ने गरेको अर्को कार्यान्वयनको पक्ष आएपछि जनताको र योजनाको मर्म अनुरुप नभइकन विमुख भइ आफूखुसी लागु गर्ने निर्णयले नागरिकहरुको जनजीवनको स्तरमा खासै प्रभावकारी सुधार हुन नसकेको यकिनका साथ भन्न सकिन्छ।
आर्थिक आयामहरु
प्रमुख आर्थिक परिसूचकहरु राष्ट्रिय आम्दानी, देशभित्रको उत्पादन तथा कुल ग्राहस्थ उत्पादन, व्यक्तिको आम्दानी, गरिबीको अवस्था र आम्दानी वितरणको अवस्थालाई लिइन्छ। ती मध्ये देश भित्रको उत्पादनमा कृषिजन्य वस्तुको उत्पादनले दैनिक उपभोग्य वस्तुहरुको उपलब्ध गराउँछ भने औद्योगिक क्षेत्रलाई कच्चा पदार्थहरु उपलब्ध गराउँछ।
नेपालले केही मात्रामा मात्र कृषिजन्य वस्तुहरु निर्यात गर्न सकेको छ भने देशभित्र पूर्णरुपमा आपूर्ति गर्न सकेको छैन। विभिन्न आर्थिक विश्लेषणकर्ताहरुको अनुसार नेपाल सरकारले, नेपाली तथा नेपाल आत्मनिर्भर हुनलाई स्वउत्पादन तथा उपभोगलाई जोड दिनु आवश्यक छ।
कृषि उत्पादनले दैनिक जनजीवनयापनका लागि सुविधा प्रदान गर्ने हुँदा यो दिगो विकासको एउटा मुख्य आयाम हो। दिगो विकासका लागि आफ्नो स्रोतहरु जलस्रोत, मानवस्रोत, भूमि आदिको उच्चतम प्रयोगको आवश्यक छ।
कृषिको उत्कृष्ट विकल्पमा के त्यस्तो आत्मनिर्भरता सम्भव छ? विभिन्न राजनैतिक परिवर्तनले पारिरहने दैनिक जनजीवनको असरलाई के अन्य क्षेत्रमात्रले सन्तुलित गर्न सम्भव छ?