२०६६ साल असोज महिनाताका काठमाडौँको एक सरकारी विद्यालयमा एक हुल २०-२५ वर्ष समूहका युवा जम्मा भए। रातो पृष्ठभूमिमा सेतो कलम र माथिल्लो भागमा एउटा तारा अंकित झण्डा बोकेका ती युवाहरु सरासर विद्यालय प्रशासन अगाडि गइ हल्ला-खल्ला गरेपछि विद्यालय प्रशासनले कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुलाई हलमा डाकेको थियो।
विद्यार्थीहरु हलमा पुग्दा त्यहाँ 'अखिल नेपाल…' अंकित ब्यानर टाँगिएको थियो। 'अखिल नेपाल' मात्रै देखेका विद्यार्थीहरु त 'यी दाइहरु एन्फाबाट आ'को जस्तो छ। फुटबल प्लेयर' भन्न थालिसकेका थिए।
मलाई अझै सम्झना छ, त्यस ताका कक्षा ८ मा एकजना अखिल नाम गरेका भाइ पनि थिए। 'आज अखिलले पुरस्कार पाउने रे' भन्दै उसका समकक्षिले जिस्काउदै पनि थिए। भनौँ, त्यसबेला कक्षा ८ का विद्यार्थीले बुझ्न नसकेको एउटा महत्वपूर्ण कुरा थियो, उनीहरुको साथीको नाम 'अखिल श्रेष्ठ' तर ब्यानरमा 'अखिल नेपाल'।
एकजना युवा अगाडि गएर आफ्नो परिचय दिए। '…, हामी तपाईहरु जस्तो विद्यार्थीको हकहितका लागी त लडेकै छौँ, संगसंगै देश र स्वाधीनताका लागि पनि तपाई र हामी जस्तो विद्यार्थीको भूमिका उल्लेखनीय रहन्छ। आशा गर्छु, तपाईहरु हाम्रो यो देशव्यापी योजनामा संलग्न भइ हामीलाई साथ दिनुहुन्छ।'
कार्यक्रम सकियो। २-४ जना विद्यार्थीहरुलाई उनीहरुले विभिन्न पद दिए, विद्यालय कमिटि घोषणा गरी। मलाई यो पनि याद छ, कार्यक्रम सकिए लगत्तै हेडसर कक्षा ९ मा गणित पढाउन गए, 'के के भने त दाइहरुले आज तिमीहरुलाई?'
'सर, आज पहिलो पटक नेतासँग हात मिलाइयो!'
२०६७-६८ साल ताका एउटा संयोगको घटना भयो। कक्षा ९ मा 'आज पहिलो पटक नेतासँग हात मिलाइयो' भन्ने विद्यार्थी विद्यालयबाट घर फर्कदै थिए। गोठाटार-रत्नपार्क रुटमा चल्ने फोर्स गाडीको अगाडि सिटमा बसेका उनलाई ट्राफिकले रत्नपार्क अगाडिको बाटो जान नदिइ जमल तर्फ पठाइदिएकोमा अचम्म लाग्यो।
गुरुजीले गाडी जमलबाट घण्टाघर तर्फ मोडे। त्रि-चन्द्र क्यम्पस अगाडि ठूलो संख्यामा युवाहरुको भीड थियो। सस्त्र अस्त्र सहित। गुरुजी आफ्नो अगाडिको दृश्य देखेर डराए। हतार हतार गाडी कमलादी तर्फ घुमाउन खोज्दा एकजना युवाले गाडीको अगाडिको सिसा फुट्ने गरी ढुंगा फाले।
ती विद्यार्थी पनि झसंग भए। ढुंगा हान्ने दाइ तिनै थिए जसले भनेका थिए '… आशा गर्छु, तपाईहरु हाम्रो यो देशव्यापी योजनामा संलग्न भइ हामीलाई साथ दिनुहुन्छ।'
२०७०-७१ साल ताका त्यही विद्यालयका एकजना विद्यार्थी त्रि-चन्द्र बहुमुखी क्याम्पसमा माइक्रोबायोलोजी संकायमा स्नातक तहमा भर्ना भए। अन्तर्मुखी स्वभावका ती विद्यार्थी क्याम्पस प्रांगणमा पुग्नासाथ कयौं नचिनेका हातहरुसँग आफ्नो हात मिलाउन बाध्य हुन्थे।
'के छ भाइ, म फलानोको अ'दक्षे', 'मेरो भाइ.… सन्चै छौ? म ढिस्कानोको अ'दक्षे। केही परे सम्झिनु है, दाइको नै राज चल्छ', 'मेरो राजा, केइ परे मकन भन, बड्डालाई कालोमोसो दल्ने मै हुँ।'
कक्षाकोठा भित्रै कुकुर पनि गएर केमिस्ट्री क्लास लिइ रहँदा ती अन्तर्मुखी विद्यार्थी 'फ्रस्टु' भैसकेका थिए।
२०७६-७७ साल ताका एउटा अंग्रेजी नाम गरेको विद्यालय/कलेजले आफ्नै विद्यालयमा अध्यनरत विद्यार्थीलाई मामाघर पठायो। अलि डरलाग्दो मामाघर जहाँ विद्यार्थी कहिले पनि जना चाहदैन। 'विद्यार्थी' विद्यार्थी भएकै कारण मामाघर (जेल) पठाइएको यो घटना लेखकको लागि पहिलो घटना थियो। विद्यार्थीले विद्यार्थी हुँ भन्ने भुलेपछि जेल चलान गरिनु यो लेखसँग अप्रासंगिक हुन जाँदछ।
मूलधारको राजनीतिक चर्चा म यही धरातल अडिएर गर्न सक्दिनँ। फेरि पनि, अवस्था लाथाबद्र पारेको मूलधारको राजनीतिले नै हो भन्न पनि मलाई कत्ति अप्ठ्यारो छैन। फेरि मलाई कति अप्ठेरो पर्छ वा पर्दैन भन्ने कुराले नै पनि मेनस्ट्रिमलाई कति अप्ठेरो पर्ला र? यो त फगत सापेक्षिक कुरा पनि हैन।
कोइराला, थापा, भण्डारी, आदि इत्यादीले विद्यार्थी राजनीतिबाट मूलधारसम्म पक्कड बनाउन सक्नुलाई आदर्श बनाएर सिर्फ त्यही एउटा सपना अंगालेका विद्यार्थी नेतागिरी गर्ने आजका भरौटेहरुले विद्यार्थी स्वयमका कतिवटा समस्यालाई सम्बोधन गरे? साउनमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ अनि नेपालका विद्यार्थी नेताले सधै अग्रजले कसरी विद्यार्थी हुँदै देश र सत्ता हात पारे भन्ने मात्रै देख्छ।
कांग्रेस सोसलिस्ट पार्टी होस् वा कुनै कम्युनिष्ट, इतिहासले पार्टीगत विकासक्रममा विद्यार्थी नेता र संगठनलाई सदैव एउटा 'रिअल पावर' को सम्मान दिएको छ। तर यसको कारण विद्यार्थी संगठन मात्र एउटा बाटो हो जसको मध्यमबाट नेता सत्तासम्म पुग्न सक्छ भन्ने कदापि हैन।
अथवा मूलधारको राजनीतिक विश्लेषण अथवा बिषयमा निहीत भाइ भरौटेपन झल्काउन सके, अझ भनौँ हुनेखाने को झोलेगिरी गरे मात्र माथि पुगिने भन्ने पनि हैन। दुर्भाग्य, आजको विद्यार्थी नेताको खोक्रो गहनताले सिर्फ अनि सिर्फ उनीहरुको यही भरौटेगिरी र झोलेगिरी झल्काएको छ।
बेलाबेलामा नेपालमा विद्यार्थी संगठनले ठुलै हल्ली-खल्ली मच्चाउने पनि गरेका छन्। २०७१ साल ताका यिनीहरुले देशभरका विभिन्न +२ कलेजहरुलाई नेपाली नाम राख्न एक किसिमको धम्की जस्तै दिए। फल स्वरुप एउटा फुटबल क्लब/स्पेनको सहर नाम गरेको कलेजले आफ्नो नाम 'झरी' को पर्याय राख्यो।
धम्कीले डराएर हो वा अरु कुनै कारण, कलेज प्रशासन नै जान्दछ। यही काममा पनि विद्यार्थी हितको कुरा गर्दा यसको अर्थ यही होला कि 'सरस्वती माध्यमिक विद्यालय' लेख्नमा जति सहज विद्यार्थी मान्दछन् त्यति सहज 'नेपाल न्यूयोर्क कलेज अफ साइन्स' लेख्नमा नहुँदो हो।
आखिर कुरो त विद्यार्थी हित कै होला, अझ विद्यार्थी संगठनले नै उठाएपछि। तर, मलाई अचम्म लागेको कुरो, त्यत्रो हल्ली-खल्लीपछि पनि नेपालमा अझै यत्तिका अंग्रेजी नाम गरेका विद्यालय कसरी बाँकी भए? यसो त हैन कि ती सबै विद्यालयले बेरोजगार भै विद्यार्थी आन्दोलनमा उत्रेका विद्यार्थी-भरौटे नेतालाई आफ्नै विद्यालयमा मास्टरको जागिर दिए? अब नुनको सोझो पनि त गर्नै पर्यो!
नुनको सोझो भनेपछि मलाई भिष्म पितामहको याद आउछ। एकछिन ब्रेक लगाएर सोच्न पर्यो। गंगापुत्र भिष्मसँग भरौटेको दाँजो। म पनि लेख्दा लेख्दै के के सोच्छु। तर ठिक हो। एकताका नाममा भिषण युद्ध खोजेका विद्यार्थी नेताले यो महामारीको समयमा विद्यार्थीलाई यत्तिका समस्या आइपर्दा नि किन चुप लागेका? कि यिनीहरुले कलेज प्रमुखसँग एमओयू नै हस्ताक्षर गरिसकेका हुन् त? भिष्म पितामः को वाचा जस्तै?
खैर! एउटा प्रतिनिधि घटनाको रुपमा मैले यहाँ विद्यार्थी गिरफ्तारी, त्यो पनि महामारीमा फीज तिर्ने कुरामा विवाद हुँदा, लाई देखाउन खोजेको हुँ। कोभिड-१९ पश्चात सबै तहका विद्यार्थीले आफ्नो आफ्नो भागमा संघर्ष गरी नै रहनु परेको छ।
अनलाइन कक्षा भनिए पनि देशका कयौं विद्यार्थीहरु आफ्नो अधिकारको शिक्षाबाट बन्चित भइरहँदा, कोभिड-१९ ले निम्ताएको बन्दाबन्दीपछि शिक्षा सम्बन्धी सरकारी तहको निर्णय, विद्यालय र विश्वविद्यालयको निर्णय, विद्यार्थीको दोहोरो मर्म नबुझी मेनस्ट्रिम कै स्वार्थमा खिचातानी गर्ने हो भने विद्यार्थी संगठनको औचित्य के हो?
म के पनि सोच्छु भने यसो हुनुको मुख्य कारण विद्यार्थी संगठन विद्यार्थी (नामले मात्र हैन कामले पनि) ले नभइ नामका विद्यार्थीले चलाउनु पनि हो। अन्यथा यी भरौटे नेताहरुले विद्यार्थी मर्म बुझिरहनै पर्दैन थियो। यो त स्वयम् यिनीहरुको मर्म हो। विद्यार्थीको मर्म।
अर्को प्रसंग। कोभिड-१९ बन्दाबन्दी पश्चात काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरु एकजुट भइ धर्ना कसेर अनावश्यक वा भनौँ आफूले तिर्न नपर्ने दस्तुर विश्वविद्यालयले लिन नहुने भन्दै प्रशासनको निर्णयको घोर विरोध गरे। अन्तत: विद्यार्थीको माग पनि विश्वविद्यालयले सम्बोधन गर्यो।
यो एउटा गतिलो उदाहरण हो, विद्यार्थी नेताले विद्यार्थीको मर्म बुझ्छ भन्ने किनकी त्यहाँ नेता स्वयम् नै विद्यार्थी हुन्। काठमाडौँको सेरोफेरोमा त हजुर क्याम्पस इकाइ प्रमुख बन्न चार वर्षे कोर्स सक्न आठ वर्ष कुर्ने समूह पनि छ रे। सुनेको। त्यो पनि विद्यार्थी भलाइमा कुर्ने हैन रे हजुर। दादागिरी गर्न कुर्ने अरे।
अब अहिले अर्को आपत् आइपरेको छ। विश्वविद्यालयका विद्यार्थीलाई।
हजुरहरुले सुन्नु भयो होला नि। त्रिभुवन विश्वविद्यालयले हालै एउटा उर्दी जारी गरेको छ। सके भौतिक रुपमा उपस्थित भएर कक्षा संचालन गर्ने, नसके अनलाइन शिक्षालाई प्रभावकारी ढंगमा अगाडि बढाउने भन्दै। विश्वविद्यालयले उर्दी जारी गरेपछि विद्यार्थी र विभागलाई 'कुमार जि आज्ञा गर्नुहुन्छ हे अगस्तेमुनि' भएको छ।
विद्यार्थीलाई-
१. छ महिनाको सेमेस्टरले एक वर्ष ढुस। घरमा बस्न नि न जागिर न पढाइ। अब खोले हुने।
२. खोल्न त खोल्ने तर घर ताप्लेजुङ। काठमाडौँमा न घर न कोठा।
३. कोठा त खोज्छु। जाँदा आउदा रोग (कोभिड-१९) लाग्ने होकी!
४. अब एक्लै बस्न छ। कोभिड-१९ लागिहालेमा हेरचार कसले गर्नी?
५. अब घरमा बस्न पनि त वाक्क दिक्क प्याक्क लगिसको।
६. यस्सै पनि गाडीमा भिड हुन्छ।
विभागलाई-
१. ए बा! दिक्क लाग्यो भनेर खोल्ने भन्ने हुन्छ? अनलाइन गर्छु भनेकै छौँ क्यारे।
२. केहीगरी विभाग खोलेपछि विद्यार्थीमा रोग फैलियो भने त्यसको जवाफदेही को हुने?
३. फेरि हाम्रा विद्यार्थी नेता पनि त त्यस्तै छन्। समस्याको समाधान हुन सक्ने बेलासम्म चुप अनि समाधान नै नभएपछि तोडफोड। हामीले खोलेर रोग फैलियो भनेर यिनीहरुले तोडफोड गर्दैनन् भन्न सक्ने अवस्था छ?
४. हाम्रा प्रोफेसरहरुको पनि त यही सेवा दिदादिदै उमेर ढल्किसकेको छ। विद्यार्थी कुरै बुझ्दैनन्।
जागिरे विद्यार्थी-
१. अफिसमा पो पीपीई किन्ने तलब दिन्छन् र जान्छु। विश्वविद्यालयले त भा'को नि लिन्छ। त्यही भएर अहिले नखोलेकै जाति।
विद्यार्थी नेता-
ह्या भाइ! एक छिन् चुप लागन… या हाम्रो पार्टी नै फुट्न लागिस'को।
अर्का विद्यार्थी नेता-
पख है राजा म छदै छु नि। तर अहिले चै म पल्लो घरको रमिता हेर्दै छु। आफ्नो घरको रमिता बल्ल सकिएको छ।
पश्चिमका विद्यार्थी नेता-
हुलाकी राजमार्ग पिच गर्दा थुप्रो पचाए रे, राजा! कुन बड्डा हुन्? तिम्रो समस्या त जग कै समस्या हो नि।
पूर्वका विद्यार्थी नेता-
पढाइ त छदै छ कि! हाम्रो गाउँमा भिउ टावरको ठेक्का कसले पायो?
भक्तपुर नगरको विद्यार्थी नेता-
एकदम जटिल समस्या हो यो। तर भारतीय दलालले गर्दा यसो भएको हो। पख्नुस! चीनले हामीलाई कोरोनासँग लड्ने उपकरण दिदैछ। हेरेर जानुहोस्।
उपत्यकाका विद्यार्थी नेता-
होइन भाइ! यो गुथि बिल भन्दा ठूलो समस्या हो र? हो भने भन है, म एक कलमा मान्छे सदकमा निकाल्छु।
अभिभावक-
१. मास्टर्स सकेर अम्रिका जाला भनेको खोइ के के।
२. अनि के! मास्टर साबलाई मैले मंगल बजारमा भेटेको होनी छठ ताका, पढाउन चाइ कोरोना रे!
३. अरु त ठिकै हो। भाइको स्कुलले नपढाइ पोइसो मागो। तेरो के छ? अनलाइन चलिरछ?
४. हेर बाइ! काम काज छैन, पैसो माग्या छन्। क्यारी तिर्नु?
५. एउटा छोरो डिग्री गर्ने। अर्को छोरो १२ पढ्दै थियो, पैसा तिर्न सक्दिनँ भन्दा जेल हालिदिए।
उल्लेखित प्रतिनिधि समस्या हुन्। विभन्न तहका। सम्बोधन गर्ने निकाय मौन छ। यहाँ सुन्ने विषय कि त मूलधार राजनीति नै हुनु पर्दो रहेछ जस्तो कि आउनुहोस्, तपाई हामी साँठगाँठको सरकार बनाउँ। कि त ठेक्का पट्टा कै। उखुको भुक्तानी नपाउने किसान, शिक्षा नपाउने विद्यार्थी, रोजगार नपाउने युवा, ट्याक्स तिर्ने उद्यमी र माया नपाउने देशको कुरा बिरलै कसैले सुन्ला।
विद्यार्थी नेताको राष्ट्रप्रतिको उत्तरदायित्व तुच्छ सत्ताको संरक्षण कदापि हैन। विद्यार्थी संगठन एउटा यस्तो संरचना हो जसले आउदो पुस्तालाई सु-राजनीति, सुशासन तर्फा प्रेरित गर्न सक्नु पर्दछ। बिडम्बना, आजको यो अवस्थामा विद्यार्थी, जो साच्चै पढेर केही गर्न चाहन्छन्, उनीहरुको लागि राजनीति फोहोरी खेल हो।
आफ्ना समस्याको वकालत गर्ने कुनै तह नहुँदा निरीह बनेको विद्यार्थीले भोलि गएर कुन कुन किसिमको समस्या आफै समाधान गर्न सक्ला? आफै आवाज निकाल्न नसिकाइएको विद्यार्थीले भोलि अरु कसको लागि आवाज उठाउला?
विभिन्न विद्यार्थी संगठनलको लागि यो एउटा सुनौलो अवसर थियो। आफ्नो आवाज उठाएर विद्यार्थीको हकहितको लागि विभिन्न तहहरुसँग मध्यस्तता गर्ने तर खोइ? माथिको एउटा प्रसंगमा आएको ९ कक्षे केटो २-३ पटक विद्यालय कमिटि भन्दै नारा जुलुस गर्दै नेताहरुसँग रत्नपार्क पुग्यो।
हिजो उसकै भाइले फी तिर्न नसक्दा अंग्रेजी नामकै विद्यालयले जेल पठायो तर ती नेता जसको पछाडि ऊ दगुरेको थियो, ती नेता न्यायको खोजिमा कहाँसम्म पुगे?
रत्तिभर शैक्षिक चासो नराख्ने विद्यार्थी नेतालाई किन विद्यार्थी नेता भन्ने? पार्टी सभापति/अध्यक्षका भरौटे होइनन् र? विद्यार्थीको समस्यालाई कहिले काहीँ राजनीतिकरण गरी फेरि विद्यार्थीलै नै चपेटोमा पार्ने नेतालाई किन विद्यार्थी नेता भन्ने? गम-गम पैसा असुल्ने निजी विद्यालयले नै पालेका बफादार कुकुर हैनन् र यिनीहरु?
समस्या तिमीहरु अगाडि छ। समाधान पनि तिमीहरुले बुझेका छौ। अब के गर्छौ? नेताले फ्याकेको हड्डी कुर्ने कि देशको पिल्लर गहिरो गरी गाड्ने हौ? यस्ता समस्या हल गर्न नसके अब तिमीहरुले विद्यालय-विद्यालयमा गइ कलिला हातहरुसँग हात मिलाएर आफ्नो स्वार्थका निमित्त उनीहरुको समय र साथ माग्ने कुनै पनि अधिकार छैन।
यो अन्यौलमा परेको शैक्षिक अवस्थालाई निचोडमा पुर्याउन विद्यार्थी संगठनको महत्वपूर्ण भूमिका हुन सक्छ। सँग सँगै विद्यालय, विभाग, क्याम्पस सबैले सहज वातावरण सिर्जना गरी सबैको हितमा पठन पाठन संचालन गर्न नसके देशको लागि निसन्देह, यो एउटा दुर्भाग्य हुनेछ।