फेरि एकपटक देशलाई एम्बुसमा पारिएको छ। दुर्भाग्य भन्नुपर्छ आफूलाई कम्युनिष्ट भन्नेहरू नै कम्युनिष्ट आदर्शको गला रेटिरहेका छन्। दलदास तथा तिनका मालिकहरूका कारण सामाजिक सञ्जालमा आन्द्राभुँडी ओकल्ने म्याराथुन नै छ। लाग्छ, कुन दिन दासढुंगा हत्याकाण्डको समेत आरोप, प्रत्यारोप हुनेछ। भनिन्छ पाप धुरीबाट कराउँछ। दुर्गन्धका छिटाहरू कोसौंकोस टाढा विदेशी भूमिमा समेत देखिँदैछन्। के भनौं, विधि, मूल्य, मान्यता र आदर्शलाई मजाक बनाउने तीम्रा राजनीतिलाई!
कमसेकम मलाई त्यो तनाव र सकस छैन कि कुनै गुटको पक्षमा थोत्रा तर्कहरू प्रस्तुत गरौं। कुरा सिधा र सफाचट छ– यी दुवै कम्युनिष्ट हुँदै होइनन्। संसद् विघटन गर्ने केपी ओली हुन् या प्रचण्ड नै किन नहुन्।
अरू त परै जाओस् लगभग दुई तिहाईको सरकार हुँदासमेत मदन आश्रितको हत्यारा पत्ता लगाउन एउटा आयोगसम्म गठन गर्न नसक्ने माधव कुमार नेपाल, केपी ओली र विद्या भण्डारीतर्फसमे प्रश्न सोझिएको छ।
यो त्यहीँ संसद थियो जुन संसदले चुच्चे नक्सालाई एकमतले पारित गरेको थियो। प्रचण्ड र माधव नेपालको कमजोरीलाई देखाएर ओलीको हठ र अहंकारलाई सही ठहराउनेले बुझ्दा हुन्छ परिस्थिति नियन्त्रणभन्दा बाहिर गइसकेको छ।
निधारमा लागेको चोट घुँडामा मल्हम लगाएर निको हुँदैन तर ओलीले घुँडामा मल्हम लगाइरहेका छन्। आफ्नै संघारमा विष पोख्नेले आँगनमा फूल फुलाउन सक्दैन। सरकार सञ्चालन हाँसो, मजाक र सनक होइन।
जननेता मदन भण्डारी र जनताको बहुदलीय जनवादको गला रेट्नेहरू अनि कृष्ण सेनलगायतका योद्धाहरूको सपना पोलेर खानेहरू धिक्कार छ तिमीहरूलाई।
मेहनतकस जनताहरूसँग तिमीहरूको सम्बन्धविच्छेद भएको वर्षौवर्ष भइसक्यो। भुँइमान्छेहरूलाई देख्दा तिमीहरूको आँखीभौ खुम्चिएको वर्षौवर्ष भइसक्यो। आधारभूत वर्ग कुन चराको नाम हो थाहा छैन। महाजनी सभ्यता थाहा छ। चाकडी र दलाली थाहा छ बस्। त्यसैले त यो पंक्तिकारलाई कुनै भ्रम थिएन कि तिमीहरू कम्युनिष्ट होइनौ, फगत ढोंगी हौ र त तिमीहरूको पतन अनिवार्य छ। तिमीहरूको पटाक्षेप अनिवार्य छ। कवि रामचन्द्र भट्टराईका कविताहरूलाई सापटी लिएर भन्ने हो भने—
आमाका भुल को को हौ सारा हिसाब राख्छु म
धर्तीका सूल को को हौ सारा घोली पिउँछु म
चिरैचिरा पर तिमी टुक्रैटुक्रा पर तिमी
आवश्यकताले शब्दहरू अस्त्र बन्छन्। विकृति र विसंगति, शोषण र उत्पीडनका बाहकहरूका लागि तिखो सुइरो बन्छन्। तब किन सूल नपसोस् भ्रष्टहरूको मुटुमा ?
लाग्छ शितलनिवास एउटा अँध्यारो घर हो जसका प्रत्येक ढोका र भित्ताहरूमा सूर्यको किरण होइन ग्रहण लाग्छ। त्यो अँध्यारो घर जसको मालिकका अनुहार कलंकले ढाकिएको छ। त्यसभित्र नकाबधारीहरू छन् र जताततै फगत जाल र झेलहरू बुनिएका छन्। आफ्नै औंलाका टुप्पाबाट षड्यन्त्र चुहिएको छ। निधारमा कलंक छ किन्तु कसैले नदेखोस् भनी आफ्नै औंला चुसिरहेका छन्। कमरेड मदन ! यो सब देख्दा तिमी झस्कियौं कि झस्किएनौं म यसै भन्न सक्दिनँ तर तिम्रो देशलाई यी जीवित आत्माहरूले डसिरहेका छन्। तिमीलाई छिन्नेहरू तिम्रै विचारको गला रेटिरहेका छन्।
छोटो समयमा नै तीतोसत्य प्रकट भयो। भ्रमको पर्दा च्यातिदैछ। कति दिनसम्म देशको स्वाभिमान, गरीमा र अस्मितालाई ज्यूँदो मासु ठानेर व्यापार गरिरहन्छौ। कति दिनसम्म नशा खाएर नेपालीहरूलाई नाङ्गो पार्छौ। बारम्बार छुरा रोप्छौ क्षतविक्षत् पार्छौ। कति दिनसम्म भविष्यको आशा गुमाएका युवा युवतीहरूलाई वस्तुका रूपमा साटेर विदेश निर्यात गर्छौ। कति दिनसम्म रेमिट्यान्सलाई क्रेडिट कार्डका रूपमा प्रयोग गर्छौ। उत्तर सिधा छ जुन दिनसम्म जनताको घैंटोमा घाम लाग्दैन, त्यो वेलासम्म।
सामाजिक सञ्जालहरूमा गजब तमासा देखिएको छ। दलदासहरूलाई आ-आफ्नो गुटको पक्षमा तर्कहरू दिन सकस परिरहेको छ। लाज, शरम पचाएर भजन गाइरहेका छन्। उकालो चढ्न कठिन हुन्छ तर ओरालोको गति तीव्र हुन्छ। ढिलो वा चाँडो मात्र हो संस्थाको ओज र गरीमाभन्दा निकै हल्का मान्छेहरू जब संस्थाको प्रमुख बन्छन् तब सिंगो संस्थाको बदनाम हुने गर्दछ।
भन्नु नपर्ला, कम्युनिष्ट पार्टीको लकेट भिर्दैमा कोही कम्युनिष्ट हुँदैन। नेपाली जनताको मनबाट कम्युनिष्टप्रतिको आस्थालाई सर्वनाश गर्न सफल रेबिज लागेकाहरू कोही सत्तामा छन् त कोही सत्ताबाहिर। यी दुवै पिनोसेभन्दा खतरनाक छन्। खिर्राको रूखबाट सुन्तलाको अपेक्षा गर्नु नेपाली जनताको भुल थियो। एउटा भनाइ छ ‘रक्तविषाक्त भएर केही हुँदैन किन्तु सिद्धान्त विषाक्त भए सर्वनाश हुन्छ।’
सत्ता र सडक दुवैतर्फ राजनीतिक रूपमा प्रेतहरू सल्बलाइरहेका छन्। कालो, खैरो, नीलो, जुनसुकै रङको भए पनि कुहिरो जताततै छ। अल्पायुमैं संसदको गला रेटिएको छ। बहुमत प्राप्त सरकारका खुट्टीहरू यति कमजोर होलान्, अनुमान गरिएको थिएन। मध्यावधि निर्वाचन, अर्बौको खर्च, नचाहिँदो कुतर्क, हाँसो र मजाक, बस् यहीँ दिनचर्यामा चलिरहेको छ देश। भ्रष्ट, नालायक नेतृत्व देशकै ढुकुटीमा चरिरहेको छ। लाग्छ देशको ढुकुटी सार्वजनिक गौचरण हो।
देश कोरोनाले सिकिस्त छ। अभाव र अमानुशिक पीडा त कति हो कति ! एउटा सिटामोल र जीवनजलको पुरीया खान नपाएर अकालमा ज्यान गुमाउनेहरूको पीडा राज्यको कानमा पुग्दैन। प्रधानमन्त्री आफ्नै पूर्व सहयात्रीहरूप्रति कटाक्ष गर्न रत्नपार्कमा ओखती बेच्ने ससाना खुद्रा व्यापारीहरूको श्रमप्रति व्यङ्ग्य गर्छन्। बुझ्नेलाई ईशारा काफी छ। सत्ता र त्यसका हाकिमहरू कुन दिशामा जाँदैछन्। देश कता जाँदैछ। अब प्रश्न सोझिएको छ, क्रसरोडमा रमिते बन्ने या त आवाज उठाउने।
नेपालको वर्तमान राजनीतिक घटनाक्रमहरूबाट सबैभन्दा बढी चिन्तित र संवेदनशील हुनुपर्ने व्यक्ति थिए प्रधानमन्त्री केपी शर्मा ओली। किनकि, उनको अगाडि सुविधाजनक बहुमत र समृद्धिको अथाह सम्भावना थियो। इतिहासमा यो अवसर कमै नेताहरूलाई प्राप्त हुन्छ। एउटा जननिर्वाचित कार्यकारी प्रमुखको रूपमा उनले जुन अवसर पाए त्यो अवसर शायदै इतिहासमा अर्को कुनै व्यक्तिले पाउनेछ किन्तु यति ठूलो सम्भावना र अवसरबाट भागेर ओली किन संसद विघटनतिर लागे ?
जननिर्वाचित संसदलाई विघटन गर्दा उनमा कुनै पश्चाताप र ग्लानि छैन बरु हर्ष र जितको उन्माद छ। नेपालले पाएको एउटा दुर्लभ अवसरलाई एउटा भीरको डिलमा पुर्याउने हर्कतको सबैभन्दा ठूलो भारी बोक्न उनी किन तयार भए। यो केवल सनक, अहंकार मात्र हो या कुनै डिजाइन? विगत र वर्तमानको विकसित घटनाक्रमले गम्भीर संशय पैदा गरेको छ।
आफ्नो मातृभूमिलाई अगाध माया गर्ने र त्यसकै लागि आफ्नो सम्पूर्ण जीवन सुख सुविधालाई त्याग गर्ने योद्दाहरूलाई विस्मृतिको खाडलमा धकेलिँदैछन्।
दलाली गरेर रातारात नेताको पगरी भिराइएकाहरू कसैको पनि देश र जनताप्रति योगदान र बलिदानको सम्मान गर्ने हृदय छैन। छ त केवल दुष्ट्याइ र फट्याइ।
वर्तमान राजनीतिक संकट आखिर निकास के हो ? अबको बाटो के हो ? समाज न यहीँ अवस्थामा रहन सक्छ न पछाडि फर्किन नै। हेक्का राख्दा हुन्छ पछाडि फर्किने धृष्टता गृहयुद्वको विजारोपण हो। राजनीतिक व्यापारी त प्रशस्तै छन् तर राजनेताको अभाव खट्किएको छ। नेतृत्व संकटको अनुभूति घनिभूत भएको छ। हरेक राजनीतिक दलभित्रका इमानदार नेता, कार्यकताहरू एकजुट हुन जरुरी छ। गलत प्रवृत्तिका विरूद्ध युद्वको उद्घोष गर्न जरुरी छ।
जेसुकै होस् पापको घडा भरिएको छ। ढिलो या चाँडो देशको घाँडो धुलिसात हुनेछ। एउटा नयाँ शक्तिको आवश्यकता छ। एजेन्ट र पामरहरूको भिडमा दुर्लभ जस्तो लागे पनि यो जन्मनु समयको अनिवार्यता भैसकेको छ। कांग्रेस या कम्युनिष्टका तुलनात्मक रूपमा इमानदार युवा पिँढीले नेतृत्व सम्हाल्ने हिम्मत गरेमा यो सम्भव छ अन्यथा मुलुक फेरि एउटा आँधीको व्यग्र प्रतीक्षामा हुनेछ त्यो सुरुचिपूर्ण हुनेछैन तर अपरिहार्य हुनेछ। वर्तमान संकट अलि पर चाँदीका घेराहरू छन्।
न राजा आएर देश सम्हालिन्छ न त परम्परागत असफल, ढोंगी र मूर्ख नेताहरूबाट। अब कमसेकम समयको पदचापलाई महसुस गर्न सक्ने युगिनसँगै जोखिम मोल्न सक्ने दूरदृष्टि भएको नेतृत्वको देश र जनताले व्यग्र प्रतीक्षा गर्दैछन्, त्यो तपाईँ हामीहरूकै बीचबाट वा संघर्षको मैदानबाट खारिएर आएको कुनै व्यक्ति पनि हुन सक्छ। नेतृत्व आकाशबाट खस्ने वा पातालबाट उम्रिने होइन। जनमतको उपहास र सत्ताको पागलपनलाई नेपाल राष्ट्र र जनताले अझै कति थेगिरहन सक्छन्? यो सत्ताको पागलपन शायद सन्निकट आँधीको सङ्केत हो। चेतना भया !