हजुरहरुलाई थाहा छ, हामीले एउटा जनावरलाई पर्वतको प्रेत भनेर चिन्छौ नि! त्यो जनावर हो हिउँ चितुवा। यो जीव अग्ला अग्ला पर्वतहरुमा भुत प्रेत जस्तै विलिन हुन सक्ने भएकाले यसलाई पर्वतको प्रेत भनिएको हो।
हिउँ चितुवा एउटा अचम्मको जनावर हो। अचम्मको जनावर यस अर्थमा हो कि मानिस जस्तो चेतनशील प्राणी पनि बसोबास गर्न नसक्ने स्थानमा यो सजिलै बसोबास गर्न सक्छ। जुन स्थानमा मानिस कपडामाथि कपडा लगाउँदा पनि कापिरहेको हुन्छ, त्यस्तो स्थानमा यो प्राकृतिक कपडा लगाएर नै हिडडुल गरिरहेको हुन्छ।
यो बसोबास गर्ने स्थानमा मानिस अक्सिजनको सिलिन्डर नबोकी जान सक्दैन तर त्यहाँ यो सजिलै सन्तान हुर्काउने र शिकार गर्ने गर्दछ। हामी सर्वहारी भए पनि भारतबाट अन्न, तरकारी र मासु आयात नगरेको खण्डमा हामीलाई बाच्न गाह्रो हुन्छ। तर यो मांसाहारी जनावर भएर पनि अत्यन्तै कम उर्वर जमिनमा, न्यून शिकार पाउने स्थानमा बाचिरहेकै छ।
सोच्दा पनि अचम्म लाग्ने! हिउँ नै हिउँले ढाकिएको स्थान जहाँ बोटबिरुवा पनि राम्ररी हुर्कन र बढ्न सक्दैनन्, त्यस्तो स्थानमा मांसाहारी जीव भएर पनि सजिलै कैयौँ वर्षसम्म बाच्न सक्छ। आखिर यो सबै कसरी सम्भव भयो, अब बुझौँ।
यसको शरीरको रंग प्राकृतिक वातावरणसँग एकदमै सुहाउदो भएकाले अथवा भनौँ यो हिउँमा चिन्नै नसकिने गरी लुक्न सक्ने भएकाले यसलाई शाकाहारी जीव जस्तै नाउर र झारलको शिकार गर्न सजिलो हुन्छ। यसको अलावा यसले आफ्नो तौलभन्दा तीन गुणा ठूलो जीवको शिकार गर्न सक्छ।
हिउँ चितुवा एकदमै अग्ला अग्ला हिमाल भएका स्थान जहाँ ठाडो चट्टानहरु हुन्छन्, त्यस्ता स्थानमा बस्ने जीव हो। यसको शरीरमा भएका फराकिला, भुत्लाले ढाकिएका पञ्जाले हिउँमा लगाउने जुत्ताको काम गर्छन्। त्यसैले यो जीव सजिलै हिउँमा बस्न, हिड्डुल गर्न र शिकार गर्न सक्छ। हिउँ चितुवाको कान सानो र गोलो हुन्छ जसले शरीरको ताप न्यून मात्रामा मात्र खेर जान दिन्छ।
यसको रौं वर्षमा दुइपटक झर्छ। गर्मी मौसममा हिउँ चितुवाको शरीरको रौं २५ मिलिमिटर, पेट र पुच्छरको रौं ५० मिलिमिटरसम्म लामो हुन्छ। त्यस्तै जाडो मौसममा शरीरको भुत्ला करिब ५० मिलिमिटर, पुच्छरको रौं ६० मिलिमिटर र पेटको रौं १२० मिलिमिटरसम्म लामो हुन्छ। यसको पेटमा भएको भुत्ला करिब पाँच इन्च बाक्लो हुन्छ।
यसको शरीरमा एउटा यस्तो अंग हुन्छ जसले यसलाई जाडो र हिमाली क्षेत्रमा बस्न र बाच्न मद्दत पुर्याउछ। मानिसको शरीरमा भने त्यो अंग हुँदैन। हजुरहरु दोधारमा पर्नु भयो होला कुन अंग हो त्यो भनेर। त्यो अंग हो पुच्छर।
यसको पुच्छर धेरै लामो र बाक्लो हुन्छ जसले चट्टानहरुमा हिड्दा शरीर सन्तुलन गर्न र शरीर ढाकेर चिसोबाट बच्न मद्दत पुर्याउँछ। यिनीहरु गुटुमुटु परेर आफ्नो शरीर र अनुहार पुच्छरको सहायताले छोप्छन्। यसो गर्दा यसको पुच्छरले कम्बल र ब्ल्याङकेटले जस्तै शरीर तातो र न्यानो पार्छ।
यो जीवले उच्च हिमाली क्षेत्रमा बाच्नका लागि अरु पनि शारीरिक विकास गरेको हुन्छ। हामीलाई थाहा भएकै कुरा हो, समुद्री सतहबाट जति माथि गयो त्यति नै अक्सिजनको मात्रा घट्दै घट्दै जान्छ। त्यसको फलस्वरुप हामीलाई अग्लो स्थानमा हुँदा अक्सिजनको कमी महशुस हुन्छ।
यस्तो हुनुको एउटा कारण यो हो कि हाम्रो छाती हिमालमा बस्न सक्ने किसिमले विकसित भएको छैन तर हिउँ चितुवाको छाती पूर्णरुपमा विकसित हुन्छ। यसले गर्दा यसलाई अग्लो अग्लो स्थानमा बस्दा पनि अक्सिजनको कमी हुँदैन।
अर्को शब्दमा भन्नुपर्दा यसको राम्ररी विकसित भएको छातीले अग्ला अग्ला हिमालहरुमा भएका पातला हावाबाट अक्सिजन लिन मद्दत गर्छ। यसको ठूलो नेजल क्याभिटीले चिसो हावा फोक्सोमा पुग्नु अगावै तातो बनाउने काम गर्छ।
यसको यस्ता विशेषताले हामी एउटै निचोडमा पुग्छौँ। त्यो निचोड हो, हिउँ चितुवाको विकास पृथ्वीको सबैभन्दा मुस्किल र कठोर स्थानमा बस्न र बाच्नका लागि नै भएको हो।
यो एकान्तप्रेमी जीव हो। यो संसर्गको बेला बाहेक अन्य समय सधै एक्लै बस्न रुचाउँछ। त्यसैले हामीले यसको बथान देख्न सक्दैनौँ। विश्व वन्यजन्तु कोषका अनुसार बच्चाहरुले जन्मिएको करिब सात दिनपछि आँखा खोल्न सक्छन्। बच्चा जन्मेको दुई महिनापछि मात्रै उसले ठोस खानेकुरा खान थाल्छ।
त्यस्तै, तीन महिना भएपछि बच्चाले आफ्नो आमाको पछि लाग्न र महत्वपूर्ण व्यवहारहरु सिक्न थाल्छ। १८ देखि २२ महिनाको भएपछि बच्चा आफैमा निर्भर हुन्छ।
यसको वैज्ञानिक नाम प्यान्थेरा अनसिया वा अनसिया अनसिया हो। यो फेलिडेइ परिवारमा पर्ने ठूलो बिरालो प्रजातिको मांसाहारी जीव हो। यो मध्य एसिया र दक्षिण एसियाका हिमाली क्षेत्रहरुमा बसोबास गर्दछ। विश्वका १२ देशमा मात्र यो जीव पाइन्छ।
हजुरहरुलाई थाहा छ, यसको अर्को उपनाम पनि छ नि! संरक्षणकर्मीहरुले यसलाई ‘हिमालकी रानी’ पनि भन्ने गर्दछन्। उच्च हिमाली क्षेत्रहरुमा बसेर राजा रानीले जस्तै राज गर्ने र अन्य जीवलाई नियन्त्रण गर्ने भएकाले संरक्षणकर्मीहरुले यस जीवलाई हिमालकी रानी भनेका हुन्।
यो निकै विकट र गाह्रो ठाउँमा बस्ने जीव भएकाले यसको गणना गर्न निकै गाह्रो छ। त्यसैले प्राकृतिक स्थानमा यसको संख्या यति नै छ भनेर यकिनका साथ भन्न गाह्रो छ। यसको बाबजुद डब्लुडब्लुएफ नेपालका अनुसार विश्वमा यसको संख्या चार हजार ५१० देखि सात हजार ३५० सम्म हुन सक्ने अनुमान गरिएको छ।
यसका साथै, छ सयदेखि सात सय हिउँ चितुवाहरु विश्वभरिका विभिन्न कृत्रिम बासस्थान (चिडियाखाना) मा छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग २०१७ का अनुसार नेपालमा करिब ३५० देखि ५०० वटा हिउँ चितुवा छन्। विश्वका बाह्र देशका १८ लाख ३५ हजार वर्ग किलोमिटर क्षेत्रफल यो जीवको लागि सुहाउदो बासस्थान हुन सक्ने देखिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार हिउँ चितुवा नेपालका कन्चनजंगा संरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, मनास्लु संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, ढोरपाटन शिकार आरक्ष, अपि नाम्पा संरक्षण क्षेत्र, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज र गौरीशंकर संरक्षण क्षेत्रमा पाइन्छ।
यो जीव समुद्री सतहबाट तीन हजारदेखि पाँच हजार ५०० मिटर उचाइसम्मका हिमाली क्षेत्रमा पाइन्छ।
हामीले प्रायः मानिसलाई विभिन्न जनावरहरुसँग तुलना गरिरहेका हुन्छौँ। जस्तैः मोटो मानिसलाई हामीले हात्ती, गैँडा भन्छौँ। त्यस्तै बेला बेलामा आफ्नो बानी, व्यवहार परिवर्तन गर्ने मान्छेलाई छेपारोको उपमा दिन्छौ। धेरै कराउने र डुल्ने मानिसलाई कुकुरको उपनाम दिन्छौँ।
त्यसैगरी हामीले एक जना मानिसलाईे हिउँ चितुवा पनि भन्छौँ। उहाँको नाम हो ‘आङरिता शेर्पा’। उहाँ हिउँ चितुवा जस्तै बिना अक्सिजन दश पटक सगरमाथा आरोहण गर्नु भएको थियो। सगरमाथा मात्र नभइ पाकिस्तानको माउन्ट केटु, नेपालका मनास्लु, अन्नपूर्ण, धौलागिरी, ल्होत्से लगायत थुप्रै हिमाल बिना अक्सिजन नै चढ्नु भएको थियो। त्यसैले उहाँ हिउँ चितुवाको नामले चिनिनु हुन्छ।
हिउँ चितुवा पूर्णरुपमा मांसाहारी जीव हो तर यसले बोटबिरुवा पनि खाने गरेको पाइएको छ। एक अध्ययनअनुसार हिउँ चितुवाले तामारिस्क बिरुवा (मिरिकारीया प्रजाति) को हाँगाहरु खाने गरेको पाइएको छ। तामारिस्क बिरुवाहरुमध्ये पनि जर्मन तामारिस्क बढी मन पराएको उक्त अध्ययनको निष्कर्ष छ।
भारतको लद्दाकमा गरिएको उक्त अध्ययनमा मांसाहारी जीवले किन बोटबिरुवा खायो भन्ने कुरा प्रष्ट हुन सकेको छैन। संरक्षणविदहरुले उक्त बिरुवाले आन्द्रामा रहेको हानीकारक परजीवी तथा अपाच्य खानेकुराहरुलाई सफा गर्ने भएकाले खाएको हो कि भन्ने अनुमान गरेका छन्।
यसका साथै उक्त बिरुवाले किरा मार्ने औषधिको काम पनि गर्छ। तामारिस्क बिरुवाले पोषक तत्वको रुपमा काम गर्ने भएकाले पनि हिउँ चितुवाले उक्त बिरुवा खाएको हुन सक्ने अड्कल काटिएको छ।
(लेखक प्राणी शास्त्र विषयका एमएस्सीका शोधकर्ता हुन्।)