बाल्यकालमा धेरै खालका महत्वकांक्षीमा मग्न हुने साथीहरु मध्येमा म पनि अछुतो रहन सकिनँ। कहिले हवाइजहाज चालक त कहिले सेना प्रहरीको प्रमुख, कहिले वैदेशिक यात्रामा जाने त कहिले नेपाल सरकारको सिन्दुर पहिरिने लालसा र कहिले व्यापारी बन्ने इत्यादी जस्ता रहर मसँग रह्यो।
तर राजनीतिक नेता तथा कार्यकर्ता बन्ने चाहना कहिल्यै पनि भएन। त्यसैले गर्दा पनि होला, राम्रो नराम्रो विषयलाई इमान्दारिताका साथ निष्पक्ष न्यायिक आवाज उठाउने मध्येको बानी भएकाहरुमा म पनि अद्यापि सक्रिय नै छु जस्तो लाग्छ।
सानोमा बाले वैदेशिक अध्ययनको लागि भन्दै आफ्नै शैलीमा प्रकृया अगाडि बढाउनु भएको जानकारी म दश वर्षको हुँदा चाल पाएको थिएँ। तर यो किस्सा प्रकारान्तरमा तुहिँदै गएको अनुभूति भयो नै। तर मलाई यसले लामो समयसम्म केही गर्नु पर्छ है भन्ने प्रेरक आत्मबोध गरायो।
जीवनयापनलाई सहज र सार्थक बनाउनु पर्दो रहेछ है भन्ने सानैदिख भएपनि वैदेशिक यात्राको झुकावमा भने खासै ध्यान जान सकेन। सायद हुर्काइको दौरानमा खासै ध्यान जान नसकेको पनि हुँदो हो।
हाम्रो परिवार २०३२ सालमा तनहुँको थर्पु भन्ने ठाउँबाट चितवनको भरतपुरमा बसाइ सरेका रहेछ। अहिले इज्जतको रुपमा लिइने जिनिसमा बा नै लिप्त भएपछि सुरक्षित अवतरणको लागि बसाइ सराइ गरिएको आफन्तजनहरुले बताउने गरेको मलाई याद छ। त्यसको आन्तरिक कारण के हो मैले गम्भीर रुपमा भेउ पाउन भने सकेको छैन।
बाको भागमा अंश के कति हात पर्यो जानकारीमा खासै आएन, त्यही बोकेर विशेषगरी आमाको दाजुभाइको साथ र सहयोगको अपेक्षा बोकेर चितवन बसाइ सरेका रहेछौँ। मलाई अझैपनि तनुहँको हुँ भनेर परिचय दिँदा गर्भानुभूति हुन्छ, भलै जीवनको आधाउदी उमेरमम्म आइपुग्दासम्म सबै कुराहरु योजना गरे अनुसार भने भएको छैन।
सायद सबैको भोगाइ हो कि मेरो मात्र थाहा पाउन सकेको छैन। तनहुँमा हुँदादेखि नै हाम्रो घर राजनीतिक चेतना भएको घर भएकोले राजनीतिक केही गतिविधिमा मन्जुरी जनाउने र आवश्यकता अनुसार एक्यबद्धता जनाउने कार्यमा बा र आमाको सहयोग रहेकोले मेरो लागि नौलो थिएन।
त्यसो त २०३६ सालमा भएको बहुदल पक्ष र निर्दलीय पक्ष (पंचायती व्यवस्था) जनमत संग्रहमा भरतपुरस्थित पुरानो शैलीको घरमाथि नीलो झण्डा (बहुदल पक्ष) तर्फबाट लोकतन्त्र र प्रजातन्त्रको पक्षमा वकालत गर्दै साथ सहयोग दिने घरको रुपमा पंचायती व्यवस्थाको विरुद्धमा बा र आमा कटिवद्ध भइ आत्मसम्मानका साथ झण्डा टाँग्नु भएको अहिले पनि मलाई सम्झना छ।
देश काल परिस्थिति अनुसार परिवर्तनले गर्दा हो वा अन्य केही कारणले हो, अझैपनि धेरै पक्ष र विषयहरुमा सिक्ने प्रयत्नले निरन्तरता पाइरहेको नै छ। जीवनको करिब करिब मध्य उमेरसम्म आउँदा केही जानेको जस्तो लागेकै छैन। आमाले सधैँ चिन्ता लिँदै भन्ने गर्नु हुन्थ्यो, 'मेरा छोराछोरीहरुले के गरी खालान् खै!'
अहिले हामीसँग बा-आमा हुनहुन्न। आमा-बाको हामी दश जना छोराछोरीहरु मध्ये अहिले चारजना छोराछोरी जसमध्ये दुई छोरी र दुई छोरा अनि सबै जना आ-आफ्नो जीवन दुखसुख भोग्दै छौँ।
पहिलो सन्तानको रुपमा जन्म लिनु भएको छोराको पाँच वर्ष हुँदा नै मृत्यु भएपछि हाम्रो घरमा पारिवारिक समस्याको सुरुआत भएको रहेछ। सानैमा बाको कुलतको आदतले गर्दा हाम्रो आर्थिकस्तरमा समस्या पर्दै आउँदै गर्दा निसन्तानबाट उन्मुक्ति पाउनु पर्ने बा-आमाको अवस्था रहेछ।
क्रमशः छ जना छोरीछोराको मृत्यु भएपछि आमाले हिन्दु धार्मिक विश्वास अनुसार अनवरत हरिवंश पुराणलगायतका धार्मिक व्रत गरेपछि दाजुको जन्म भयो तर दुर्भाग्य, दाजुको बोली स्पष्ट उच्चारणमा कठिनाइ भयो। यसैगरी पुरानो बुझाइ र शैलीले गर्दा दाजुको जन्मपश्चात दुई छोरी र अन्तिम सन्तानको रुपमा मैले कान्छो छोराको रुपमा जन्म लिन पुगेको रहेछु।
विस्तारै हुर्कदै गएपछि आमाको सहाराको रुपमा दाजु दिदीहरुको धेरै साथ सहयोग रह्यो। छोरीछोराहरु मध्ये म तुलनात्मक रुपमा सक्रिय भएकोले आमालाई साइकलमा राखेर लेनदेन लगायतका व्यवहारमा सहयोग गराउने काम मैले नै गरेँ, आमाको सहयोगी हातको रुपमा।
र कखरा, संस्कृतका अवयवरहरुदेखि अंग्रेजीका ए, बी, सी शब्दहरु आमाबाट नै जान्ने मोका पाएँ। यसरी सानै उमेरमा लेनदेन र व्यवहार मैले मेरी आमाबाट सिक्न मोका पाएँ यद्यपि आमाले जान्नु भएको ज्ञान शिप बराबर मैले कहिले पनि जान्न सकेको छैन र सक्दिनँ होला पनि। उहाँ अद्वितीय आमा हो।
उहाँको शैलीको अझै पनि सिक्ने प्रयत्न गर्दै छु। समय अनुसार महत्वाकांक्षी हुने उपक्रममा म ठूलो भएपछि सुरक्षा निकायमा जाने रहर जाग्दै गयो र कोशिश गरेँ। तर धेरै कोशिश गर्दा पनि लिखित र शारीरिक अभ्यासमा उत्तिर्ण हुने तर अन्तर्वातामा असफल हुने क्रम धेरै पटक दोहोरियो।
अन्ततः ३६ र ६३ जस्तो मुखाकृतीमा सुरक्षा निकाय र मानवअधिकार क्षेत्रमा मेरो वृत्तिविकासका कदमहरुमा पोठेजोरी खेल्दै गए। सुरक्षा निकायमा जाने उत्कट चाहना भएको मान्छे करिब २२ वर्ष मानवअधिकार र सामाजिक क्षेत्रमा सक्रिय भइरहेँ।
चित्तले खाएको पेशा सेना र प्रहरीमा प्रत्यक्ष संलग्न भएर सेवा गर्ने अवसर नजुटेपनि राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थामा काम गर्दा भने सुरक्षा निकायसँग सहकार्य गरी चित्त बझाउँदै सेवा गर्दै मजा लिएँ अनि आनन्दाभूति भयो नै। म के हुन्छु र के गर्दैछु भन्ने हेक्का मलाई कहिलै पनि भएन।
देखिएको र भोगिएको कुनै पनि विषयमा काम गर्न सक्छु भन्नेमा आत्मविश्वास पलाउँदै गयो। विषयगत दक्षताको लालसा ममा कहिलै पनि भएन यद्यपि मैले सक्दिनँ कि भन्ने मेरो मानसपटलमा आउँदै आएन किनभने म कुनैपनि काममा रमाउने भएर होला।
यसैले गर्दा लक्ष्य अनुसार वृत्तिविकास र काम गर्न नसकेपनि कुनै पनि क्षेत्रमा काम गर्न सकिने रहेछ र आफूमा निखरता ल्याउन सकिने रहेछ भन्ने मेरो सिकाइ र भोगाइलाई आत्मसाथ गर्दै छु। करिब करिब सबै विषयमा ज्ञान भाको परन्तु पूर्णत पाउन प्रयत्नरत यात्रामा नै छु। त्यही आदर्श र शैलीले गर्दा होला जीवनलाई सार्थकता बनाउन सकिन्छ कि जस्तो लागिरहेछ।
जीवन भोगाइलाई सरल सहज र सार्थक बनाउन मेरी आमाले धेरै समय खर्चिनु भयो जसले गर्दा निराशा हुनु हुँदैन भन्ने सिकाइ ममाथि रह्यो। राजा महेन्द्रको निरंकुश पंचायती व्यवस्थामा समेत तनहुँमा बसेर महिला सशक्तिकरणको लागि सक्रिय रहनु भयो।
सानैदेखीको बानी भएर हो वा के हो थाहा भएन, तर घरमा राजनीतिक माहोल पछि पनि कायमै रह्यो।
यसैको फलस्वरुप २०६२/६३ सालको जनआन्दोलन-२ ताका आमा र बाले वैशाखको गर्मी महिनामा अनवरत सडक आन्दोलन होस् वा धर्ना होस्, प्रतिवद्ध भएर ल्याएको लोकतान्त्रिक गणतन्त्र अन्ततः गम्भीर संकटमा परेको हो कि भन्ने पृष्ठभूमिले कतै मेरो आमा र बा जस्ता धेरै आमा-बाहरुको सहयोगमाथि कुठराघात त हुने हैन भन्ने चिन्ता र संसयले म जस्ता धेरै छोरीछोरा माथि थोपरिएको हुनु पर्छ।
आफ्नो भविष्यको योजना र वृत्तिविकासलाई व्यवस्थापन गर्दै राजनीतिक अवस्थालाई सुदृढीकरण र व्यवस्थापनको लागि जनहीतमा सबै पक्षका मानिसहरु लाग्नु पर्नेमा भने जोड दिनु पर्ने देखिन्छ।
यसरी जीवनको यस अवस्थासम्म आउँदा पनि पेशागत स्थायीत्व र जीविकोपार्जनको लागि निश्चित मापदण्ड हासिल गर्न सहज हुँदै जाने अपेक्षा भएकोले आगामी दिनमा पेशागत परिपक्वताका लागि सुनिश्चिता गर्नपर्ने अवस्था भने सकिएको छैन।
त्यसैले, जीवनको अन्तिम अवस्थासम्म पनि पेशा, व्यवसाय, अध्ययन अध्यापन लगायतका अवयवहरुलाई सकारात्मक सोंचको आधारमा गम्भीर रुपमा लिनु पर्ने महशुस भएको छ।
(लेखक अधिवक्ता हुन्।)