धनगढीको रात्रि बसाइ सकिएपछि बिहानै मसँगै मेरो दुई जना साथी धनगढीदेखि अछामको सदरमुकाम तिर लाग्छौँ।
पुस महिनाको अन्तिम साता चिसो निकै बढेको थियो। कुइरोलो सबै ढाकेको थियो। तर नयाँ ठाउँ अनि मेरो सानैदेखिको रहर सुदूरपश्चिम क्षेत्र आउने मनमा एक किसिमको उत्सुकता थियो, यो ठाउँमा आउन पाउँदा।
सानैमा सामाजिक किताबमा र पछि समाचारमा र विभिन्न पत्रपत्रिकामा सुन्दै पढ्दै आएको थिएँ- सुदूरपश्चिम क्षेत्र अलि विकट छ, अझै पनि अन्धविश्वासको भूमरीमा मानिसहरु घुमिरहेका छन्, समाज पुरातन सोच अनि संस्कृतले पेलिएको छ।
मनमा कौतुहलता थियो, साँच्चिकै मैले सुनेको र पढेको जस्तै छ त यो समाज? माघी पर्वको दिन धनगढीको गोदावारी खोलामा मेला लाग्दो रहेछ। मान्छेहरुको भीडभाड नै देखिन्थ्यो।
उकाली ओराली गर्दै हाम्रो यात्रा सुरु भयो, प्रकृतिको सुन्दरताले मुग्ध बनाइरहेको थियो। घुम्ती बाटो घरि सल्लाको वन बीचै बीच त घरि तोरी बारीको छेउ नै छेउ अनि सेती नदीको तिरै तिरै हुँदै हामी राति अबेरमा सदरमुकाम मंगल्सेन पुग्छौं।
तर अझै पनि हाम्रो गन्तव्यस्थल आइपुगेको थिएन। त्यो दिन त्यही बसेर अर्को दिन बिहानै हामी हाम्रो यात्रा सुरु गर्छौँ जुन थियो अछामको एक अति विकट गाउँ बलताको। राजधानीदेखि यति टाढाको यात्रा तय गर्नुको हाम्रो एक मात्र उद्देश्य थियो, छाउपडी प्रथा।
नजिकैबाट हेर्न मन थियो, जान्न मन थियो, बुझ्न मन थियो अनि नियाल्न मन थियो म जस्तै कयौं छोरीको महिनावारीको पीडा। सायद महिनावारी हुँदा हुने रजस्वला अनि दुखाइ उनीहरुको र मेरो एउटै नै थियो होला तर नितान्त फरक थिए मेरा र उनीहरुका महिनावारी हुँदाका अनुभव र भोगाइ।
सदरमुकामबाट हामीसँग दुईजना स्थानीय साथीहरु पनि सँगै जानु भएको हुनाले गाउँ पुग्न त्यति गाह्रो भएन। गाडी गएर स्कुल छेउमै रोकियो। जब हामी स्कुलतर्फ लाग्यौँ। स्कुलका सबै विद्यार्थीहरु आफ्नो आफ्नो क्लासबाट खुर्रर कुद्दै बहिर आउन लागे।
हाम्रो उपस्तिथिले उनीहरुको पढाइ बिथोलियो। माथि रातो कुइनोमा प्वाल परेको स्विटर अनि तल घुडा निरै आइपुग्न लागेको नीलो पाइन्ट लगाएका तिनी अबोध भाइहरु अनि रातो-नीलो पछेउरी ओडेर हामी एकोहोरो हेरिरहेका नानीहरु देख्दा कता कता नराम्रो लाग्यो।
गाउँ पस्नासाथ गरिबीको एउटा कथाको पाना खुल्ना थालिसकेको थियो, त्यो चिसोमा त्यहाँ उभिरहेका कति मानिसहरुको शरीरमा एउटा राम्रो न्यानो लुगा पनि थिएन। खरले छाएका साना-साना घर, अनि त्योभन्दा अझ साना छाउगोठहरु प्रष्ट देख्न सक्थेँ म।
गाउँमा अस्ताउन लागेको क्षितिजको घाम जस्तै भैसकेका बृद्धबृद्धा, अनि भर्खर संसार चिन्न लागेका बच्चा र महिलाहरुको उपस्थिति बढी देख्थेँ म। अर्थात्, युवा खाडी होइन कि भारततिर विदेशीएका रैछन्। गाउँको मेरुदण्ड लुलिएको रहेछ।
सम्झिएँ ती हजारौं युवा जो बिहान साँझको गुजारा चलाउन नसकेर खाडीको ५० डिग्रीको तातोमा आफूलाई जलाएर सुन्दर भविष्यको ज्योति बाल्न कसिएका छन्। बाध्य अनि विवश छन् उहीँ चालिस कटेसी रमाउँला भन्ने गीतको शब्द र भावमा आफूलाई समेट्दै सुखी जीवनको आशामा अहिले अति कष्टकर जिन्दगी र संघर्ष गरीरहेका छन्।
आज नेपालका ग्रामीण गाउँहरु रित्तिएका छन्, खेतबारीहरु युवाको पसिनाका लागि तिर्खाएका छन्, खरका छानाहरु तिनै युवा आएर छाइदेलान् कि भन्ने आशामा बस्दा बस्दा अतासिएर रुन थालिसकेका छन्। त्यो गाउँमा पुगे लगत्तै मेरो आँखामा नेपालका धेरै ग्रामीण गाउँको यथार्थ एकैचोटि प्रस्तुत भयो।
मन भारी भयो, सोचेँ कुनै दिन त पक्कै हाम्रा युवा देशमा बस्ने वातावरण बन्छ अनि यी बाझा बारी जोतिन्छन्, खेत रोपिन्छन् र छाना छाइन्छन् अनि यी गाउँको मेरुदण्ड पनि मजबुत हुन्छन्। मनको यो बेगबाट आफूलाई निकाल्ने प्रयास गर्दै म त्यहाँ उपस्थित मान्छेहरुसँग कुरा गर्न थाल्छु।
प्रमुख मुद्दा थियो छाउ अर्थात् महिनावारी। छाउ त हुन्छ तर किन हुन्छ अनि कसरी हुन्छ अचेतन र अन्जान उनीहरु मसँग यो विषयमा कुरा गर्न त्यति सहज मानेनन्। तर विस्तारै म आफ्ना जिज्ञासा पोख्दै उनीहरुका यथार्थ खोतल्न थालेँ।
समाज परिवर्तन अनि अन्धविश्वासको अन्त्य गर्ने भन्दै केही समयदेखि छाउ गोठ भत्काइएको रहेछ। त्यसैले सबैको घरमा छाउगोठ नभएको कारणले ४-५ जना एउटै छाउगोठमा बस्दा रहेछन्। त्यसमाथि अहिले विभिन्न मिडियाहरु र संघसस्थाहरु गएर छाउप्रथा हटाउनुपर्छ भन्दै छाउगोठ भत्काएदिएपछि जसले अझै धेरै समस्या परेको रैछ।
छाउ हुँदा प्याड प्रयोग गर्नुपर्छ रे भन्ने सुनेका तर स्यानिटरी प्याड कस्तो हुन्छ पनि त्यति थाहा नभएका उनीहरु जस्तो पायो उस्तै कपडा प्याडको रुपमा प्रयोग गर्दा रहेछन्। अझ पीडाको कुरा त उनीहरुको छाउ हुँदा ५ देखि ६ दिन हरेक महिना स्कुल छोड्न बाध्य हुँदा रहेछन्।
हामी गफ गर्दागर्दै छाउगोठ नेर पुग्छौं। एकजना पनि राम्रोसँग सुत्न नमिल्ने त्यो गोठमा ३/४ जना सुत्छौँ भन्दा छक्क परेँ। अनि घरमै सुत्नु मिल्दैन भन्दै गर्दा उनीहरुले 'हामी छाउगोठ नै जान्या हो' भने।
घर सानो छ, एउटै कोठा छ, भान्सा त्यही, देउता पनि त्यही। देउता रिसाउँछन् त्यसैले मिल्दैन, देउता रिसाए भनी अनिष्ट हुन्छ भन्न थाले। त्यति नै बेला अर्को एउटा दिदी पनि काखमा सानो बच्चा च्यापेर गोठ नेर नै आइपुग्नु भयो। आफ्नो गाउँमा छाउगोठ भत्काएको कारणले उहाँ त्यहाँ आउनु भएको रहेछ।
'छाउगोठ हुँदा बरु त्यहाँभित्र सुत्थ्यौँ, अहिले त्यो पनि भत्किँदा बाहिर सुत्नु पर्छ।' एउटा पातलो कम्बलको भरमा माघको चिसोमा, पराल माथि सुतेर कसरी रात कट्छ होला, अझ महिनावारीको दुखाइ त छदै छ। किशोरी र आमा मात्र होइन कति अबोध बालक पनि सँगै भोगेका रहेछन् त्यो पीडा।
छाउगोठ आमासँगै बस्द बच्चालाई चिसो लागेर बिरामी पर्दा रहेछन्। मैले आफूलाई थाहा भएको महिनावारी सम्बन्धी जे जति कुरा सबैलाई एकै ठाउँमा राखेर भनेँ। मभन्दा पहिले नै कति संघसंस्था त्यहाँ गइसकेका थिए र पक्कै कति कुराहरु भनि पनि सकेका थिए। तर उनीहरु छाउगोठ नजान मान्दैनन्।
उनीहरु भन्छन्- 'हामीलाई सुविधा सम्पन्न गोठ बनाइदिए राम्रो हुन्थ्यो।' अझ तितो सत्य त ती किशोरीहरु त छाउगोठमा नबस्न मन्लान् तर उनीहरुका परिवार कदापि मान्दैनन्। शताब्दीदेखि आफ्नो जरा गाड्दै आएका यस्ता रीतिरिवाज आजको भोलि हटाउन सम्भव छैनन्।
हिजोको पुस्ताले नमाने पनि आजको र अब आउने पुस्तालाई शिक्षित बनाउन जरुरी छ। यस्ता अन्धविश्वासले उग्र रुप लिनुमा गरिबी अनि अशिक्षाको ठूलो रुप रहेछ। तामामा जलब लगाएर सुन बन्यो भन्या जस्तै गएर दुई चार वटा छाउगोठ भत्काएर छाउप्रथा हट्यो भन्न मिल्दैन।
कुनै पनि समाजको यथार्थ बुझ्न जरुरी छ, वास्तविकता नबुझी चालेका कदमले झन् ठूलो परिणाम भोग्न बाध्य बनाउछ। त्यसैले शिक्षाको बिगुल फुक्न जरुरी छ, छाउगोठ होइन कि मानिसको मस्तिष्कमा बनेका ती अडिग अन्धविश्वासलाई भत्काउन सके मात्रै समाजमा रहेका यस्ता रीतिहरु उन्मुलन हुन सक्छन्। त्यसैले आफै सोचेँ, भत्काउनु पर्ने हाम्रो सोच कि छाउगोठ?