विसं २०४९, श्रावण महिना। गते चाहिँ मैले ठ्याक्कै बिर्सेँ। त्यसताका म कक्षा ६ मा पढ्दै थिएँ। स्कुलमा बर्खे बिदा सुरू भइसकेको थियो।
अघिल्लो रात ठूलो पानी परेको थियो। भोलिपल्ट बिहान म घाँस काट्न भनी घरदेखि पारिको बारीमा पुगेको थिएँ। अहिले त्यो बारी मोटरको बाटोले सखाप पार्यो।
त्यहाँ लामो गरो थियो। ठिक त्यही नै मैले त्यस्तै १२/१५ मुठी घाँस काटेको थिएँ होला। घाँस काटेको ठाउँदेखि घर पनि देखिन्थ्यो। बिहानी समय त्यस्तै सात बजेको थियो होला। १/२ जना गर्दै घरको आँगनमा मानिसहरू जम्मा हुँदै गएको दृश्य मैले देख्दै थिएँ।
होला, कामको चटारो। अर्मपर्मका लागि छिमेकीहरू आएको होलान् नि भनी म मनमनै गुन्दै पनि थिएँ। हेर्दाहेर्दै मेरो घरमा त धेरै नै मानिसहरू पो जम्मा भए त! अब भने पक्कै केही न केही अप्रिय घटना घट्यो कि भनी मेरो मनले सोच्यो। काटिएको आधा डोको घाँस नै लिएर म घरतर्फ लागेँ।
घरमा पुग्दा त मेरी आमा पिढीँमा मुर्छा परिरहेकी थिइन्। भिरामुनि ठुलाबुबाले आमालाई समातेर पानी खुवाइरहेका थिए। जेठाजुले त बुहारीलाई छुन हुँदैन भन्थे! किन त्यसरी छोएका होलान् भनी म असमञ्जस्यमा परेको थिएँ।
आँगनमा उपस्थित सबैजना रोइरहेका थिए। मेरी हजुरआमा भित्र भुँइमा काम्दै सुतिरहेकी थिइन्।
८० वर्षका मेरा हजुरबुबाले मलाई च्याप्प समाई छाँद हालेर रून पो लागे। त्यस्तै १२/१३ वर्षको म, त्यसै अक्क न बक्न भइरहेको थिएँ। हजुरबुबा त्यसरी धरधरी रोएको मैले पहिलोपल्ट देख्दै थिएँ।
मैले हजुरबुबालाई विस्तारै सोधेँ, 'किन रोएका हुन् सबैजना?'
'तेरो बुबाले हामी सबैलाई सधैँका लागि छोडेर गयो।'
एकाएक क्षणभरमै मैले मेरो पिताजीलाई सधैँका लागि गुमाएको थिएँ। त्यो पनि ४० वर्षको अल्पायुमा नै।
मेरो परिवार बुबाको देहावसान हुनुपूर्व भारतको इलाहाबाद भन्ने ठाउँमा थियौँ। २ वर्षअगाडि म, सानो भाइ र मेरी आमा सदाको लागि नेपाल फर्केका थियौँ भने बुबा बितेको अघिल्लो वर्ष माइलो भाइ पनि नेपाल आइसकेको अवस्था थियो।
अर्थात्, पिताजी एक्लै हुनुहुन्थ्यो। भारतको इलाहाबादमा नै पिताजीको देहावसान हुन पुगेको थियो।
इलाहाबादको एक प्रसिद्ध गुरूद्वारामा हाम्रै गाउँका थुप्रै छिमेकीहरू काम गर्थे। पिताजी त्यही नजिकैको एक ठुलै मन्दिरमा पण्डित्याइँ गर्नुहुन्थ्यो। कुनै समय हामी सपरिवार त्यही मन्दिर परिसरको क्वाटरमा बस्थ्यौँ।
क्षणभरमै घरको आँगनमा भएको त्यो अकल्पनीय घटना घट्दै गर्दा पिताजीको देहान्त भएको पनि तीन दिन भइसकेको रहेछ। छिमेकीहरूले भारतको इलाहाबादको प्रसिद्ध तीर्थस्थल मानिने प्रयागमा पिताजीको सद्गति पनि गरिसकेका रहेछन्।
परिवारले अन्तिम साससमेत हेर्न पाएन भनौँ।
जसोतसो समय त कट्ने नै रहेछ। तेह्रौँ दिनको क्रियाकर्म पनि सकियो। त्यो बीचमा आमा मलाई पुलुपुलु हेर्नु हुन्थ्यो। अनि बर बर आँसु झार्नु हुन्थ्यो।
अहिले सोच्दछु, के बितेको थियो होला त्यतिबेला आमाको मनमा?
केही समयको अन्तरालपछि आमा र मेरो माइलो भाइ, कुनै समय इलाहाबादकै गुरूद्वाराका काम गर्ने, गाउँकै सालिकराम हजुरबुबासँग भारतको इलाहाबाद जाने भए र गएर आए पनि।
केही नगद पैसा र केही जिन्सी सामामसँगै आमासँग पिताजीको मृत अवस्थामा खिचिएको फोटाहरू पनि सँगै आए। धेरैपछि मात्र मैले त्यो फोटो हेर्ने अवसर पाएको थिएँ।
मलाई बेलाबेला ती फोटाहरू हेर्न मन लाग्थ्यो। एकदिन त्यसैगरी मैले ती फोटाहरू मनसँग हेर्ने जिकिर गरेँ। आमाले ती फोटाहरू त मैले च्यातिदिएँ पो भन्नुभयो।
मलाई पत्यार नै लागेको थिएन। पछि मैले घरमा कोही नभएको बेलामा ती फोटाहरू आमाले कहाँ राख्नुभएको होला भनी बाकसमा धेरै नै खोजेँ पनि र पाएँ पनि।
म ती फोटाहरू खुब हेर्थेँ। अनायास आँखामा आँसु आइहाल्थ्यो। अनि यस्तो मान्छे कसरी मर्यो होला र! जस्तो भान मलाई पछिसम्म पनि हुन्थ्यो।
जिन्सी समानसँगै घरमा केही थान किताबहरू जस्तै श्रीमद्भागवत, रामायण, महाभारतजस्ता किताबहरू पनि आएका थिए। ती किताबका कुनै कुनै पानामा कि मेरो नाम, कि भाइको नाम सुन्दर अक्षरमा लेखिएका हुन्थे।
अँ साच्चि, किताबसँगै त्यस्तै एक हात जति सिसौको लठ्ठी हुनुपर्छ, त्यसमा हामी तीन भाइको सुन्दर अक्षरमा लेखिएको लठ्ठी मेरो घरमा अझै पनि सुरक्षित छ।
खै, पिताजीले किन त्यसो गर्नु भएको? वास्तवमा त्यो सोध्ने अवसर नै जीवनमा कहिल्यै आएन।
सायद, सन्तानप्रतिको मायाको चिनो थियो होला। साँच्चिकै, सुन्दर अक्षर थिए मेरो पिताजीका। त्यसको थोरै प्रभाव ममा पनि पर्यो जस्तो पनि लाग्छ। मेरो पिताजीसँग मैले जान्दासम्म निकै नै कम समय व्यतित गर्न पाएँ।
संस्मण लेख्न बस्दै गर्दा, मैले त्यति बेलाको मेरो पिताजीको व्यक्तित्वलाई पहिचान गर्दा, लामा लामा जुँगा, बाटुलो अनुहार, मझौला कद, लामो कपाल अनि लामै टुप्पी मेरो पिताजीको बाह्य पहिचान थियो भने मिठो बोली, मिठै मुस्कान अनि छिटै रिसाउने प्रवृत्ति मैले त्यति बेलाको समयमा बिताएका पलको याद गर्दा देखेका आन्तरिक प्रवृत्ति थिए।
कालान्तरमा, पिताजीका समकक्षीसँग मेरो भेट हुँदा, त्यो समयमा नै पिताजीले शास्त्री (स्नातक) तह पास गरिसक्नु भएको रहेछ।
मलाई लाग्छ, यदि पिताजी अहिले जीवित भएको भए, गाउँकै कुनै स्कुलमा अध्यापन गराउँदै हुनुहुन्थ्यो कि, वा चिरपरिचत पण्डित पो हुनुहुन्थ्यो कि, वा सहरतिर छिरेको भए सरकारी सेवाबाट ठुलै पद हासिल गरी सेवानिवृत्त जीवन बाँचिरहनु हुन्थ्यो कि जस्तो लाग्छ।
जीवनको यो मोडमा मैले आँखै अगाडि थुप्रै मृत्युहरू देखेँ। मैले त बुबालाई गुमाएँ नै। मेरो परिवारले अभिभावक गुमायो नै तर समाजले एउटा बौद्धिक, भद्र र सालिन व्यक्तित्वलाई गुमायो भन्ने लाग्छ।
यी सबै कुराहरू, मैले शिक्षा र स्वाध्ययनका कारण समाज अनि थोरै राजनीति बुझ्न थालेपछि मलाई लागेको हो। किनकि व्यक्तिले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने कुराका थुप्रै उदाहरण हामीले पढ्दै, सुन्दै र देख्दै आएको अवस्था पनि हो।