आज घरबाट निस्कने बेलामा मेरो मन असाध्यै गह्रौ भैरहेको छ। मेरो मन भित्रभित्रै पिल्सिरहेको छ। कसैले थाहा नपाउनेगरी एक्लै टोलाइरहेको छ।
कहिले घरको छततिर त कहिले बरण्डा अनि पूजा कोठा, कहिले बुवा-आमा सुत्ने गरेको पश्चिमतर्फ फर्केको बैठक कोठासँगै जोडिएको कोठा तर्फ मेरा पाइलाहरु बेसुरले लर्बराइरहेका छन्।
हुन त घरबाट निस्कँदा यसअघि पनि मन त प्रफुल्ल कहिल्यै थिएन, किनकि परिवारबाट टाढा भएर बिरानो मुलुक जाँदा कस्लाई पो सहज महशुस हुन्छ होला र! तर पनि यसपालिको मेरो परिवेश भने भिन्न थियो।
पीडायुक्त, आफैले आफूलाई कमजोर महशुस गरिरहेको, युद्ध हारेर गलेको सिपाही जस्तो महशुस भइरहेको थियो। किनभने सधैँजसो म यात्रा गर्न घरबाट निस्कने बेलामा संस्कृत श्लोकमा 'मंगलम भगवान् विष्णु, मंगलम गरुणध्वजः मंगलम पुण्डरिकाक्ष, मंगलाय तनोहरि’ भनेर शुभयात्राको कामना गर्नुहुने मेरा पुज्य पिता मसँग हुनुन्थेन।
आज बरण्डाबाट बिदाइको हात हल्लिरहेको थिएनन्। आजभन्दा करिब ४७ दिन अघि नै उहाँले हामी सबैलाई छाडेर कहिले नफर्कने गरी एक्लै परमधाम हुनुभएको थियो।
भारी मन लिएर बुटवलबाट रात्री बस चढेर काठमाडौं आउँदासम्म रातैभरि एउटा मात्र कुरा खेलिरह्यो, बुवाको शुभयात्रा छोरा राम्रोसँग जानू, प्लेन चढ्ने बेलामा फोन गर्न नबिर्सनू, यात्रामा धेरै ख्याल गर्नू, अपरिचित व्यक्तिसँग धेरै होसियारी हुनू, अपरिचित व्यक्तिले दिएको कुनै खानेकुरा नखानू, कसैलाई पनि शतप्रतिशत विश्वास नगरिहाल्नु भनेर यसअघि उहाँले दिने गरेको उपदेश मेरो मनमा खेलिरह्यो। उहाँको अभाव मेरो सामु खड्की नै रह्यो।
आज भन्दा करिब ४ वर्ष अगाडि रात्रीकालीन समयमा ड्युटी गरिरहेको अवस्थामा कोरियन समय बिहानको करिब ३/४ बजे हुनुपर्छ, भाइले फोन गरेर बुवा सिकिस्त बिरामी भएर गंगलाल हृदयरोग केन्द्र बाँसबारीमा ल्याएको खबरले मेरो होस उडेको थियो।
रातिमा कहिल्यै फोन नगर्ने भाइले अचानक फोन गरेर बुवाको खराब स्वास्थ्य अवस्थाबारे जानकारी दिँदा मेरा खुट्टा काँपेका थिए। मेसिनमा काम गर्नुपर्ने मेरा हात लर्बराउनु स्वभाविक थियो। भाइले बुवालाई अकस्मात गाह्रो भएर बेहोस हुनुहुन्छ भन्दा आफ्नै मुटुले ठाउँ छोड्ला जत्तिकै भएको थियो।
हो, त्यतिबेला जस्तै यसपालि पनि भैरहवा स्थित गौतमबुद्ध विमानस्थलबाट श्रीमतीले म्यासेन्जरमा पठाएको सन्देशले पनि मेरो मुटुको धड्कन नराम्ररी धड्कियो। मनलाई सम्हाल्न गाह्रो भएको थियो। विदेशमा रहँदाको वास्तविक पीडा सोही दिन अत्यन्तै क्रुरु रुपमा महशुस गरेँ।
त्यतिबेला फोनमा भाइले भनेको थियो, 'बुवालाई हर्ट अट्याक भएको छ। अप्रेसन गर्नुपर्ने भयो, तत्काल अप्रेसन नगरी औषधि चलाएर केही समय हेर्न पनि सकिन्छ रे। अप्रेसन गर्दा अलिकति उपचार पद्धति महंगो छ रे, के गर्ने दाइ?' भनेर सोधेको सम्झन्छु।
हामीलाई जसरी पनि बुवालाई छिटो निको भएको देख्नु थियो र जुन राम्रो हुन्छ छिटो हुन्छ, त्यही प्रकृयाबाट बाको उपचार गराउनु, खर्चको कुनै चिन्ता नगर्नु भनेको थिएँ।
उता बुवाको अप्रेसन सुरु भयो, यता म भने धेरै नै बेचैन थिएँ। कतिखेर गएर बुवालाई भेटूँ भैरहेको थियो। कतिबेला उज्यालो होला अनि ड्युटी सिकिएला भन्दा भन्दै बिहानको ८ बजिसकेछ।
दिवा समयका साथीहरु पनि ड्युटीमा आउन थाले, मेरो सहकर्मी साथीहरुसँग सबै कुरा राखेँ, पैसाको जोरजाम गरौँ जसरी हुन्छ टिकट बुझेर, आजै म जानुपर्ने भयो बुवाको अवस्था क्रिटिकल छ, अरु रोग जस्तो होइन हृदयघात, तुरुन्तै जे पनि हुनसक्छ भनेर म अत्तालिएको थिएँ।
तर साथीहरुले सम्झाइ बुझाइ गर्न थाले, जे हुने भयो अब आत्तिएर भावनामा बग्नु हुन्न, अहिले हतारिएर घर जानुभन्दा बुवाको उपचार कस्तो हुन्छ, स्वास्थ्य स्थिति कस्तो हुन्छ, त्यतिन्जेल कुरौँ र निर्णय गरौँला भन्ने साथीहरुको सुझावले राति नै टिकट लिन चाहेको मलाई केही धैर्य गर्न बाध्य बनायो।
हुन त बुवा बिरामी पर्नु भएको पहिलो चोटि थिएन। तर यसरी जटिल किसिमको समस्या अहिलेसम्म हाम्रो परिवारको कुनै सदस्यलाई भएको थिएन।
सुरुमा म पहिलो पटक कोरिया आउनुभन्दा केही महिना अघि २०७० साल तिर उहाँलाई अकस्मात शारीरिक रुपमा अफ्ठ्यारो महशुस भएपछि मैले तुरुन्त काठमाडौं ल्याएर टिचिङ अस्पताल महाराजगन्जमा स्वास्थ्य जाँच गराएको थिएँ। त्यतिबेला परीक्षण गर्दा ब्लडसुगर लेभल धेरै नै बढेको थियो।
खालिपेटको सुगर लेभल ५ सय ७० देखिएपछि म आत्तिएको थिएँ र नजिकै रहेको कान्ति बाल अस्पतालमा कार्यरत डाक्टर कृष्णप्रसाद पौडेलसँग परामर्श लिएका थियौँ। उहाँकै परामर्शमा इन्डोक्राइन तथा मधुमेय विशेषज्ञ डाक्टर अंशुमाली जोशीसँग बाको चेकजाँच गराएको थिएँ।
उहाँकै सल्लाहमा सबै परीक्षण गरी सुगरको नियमित औषधि खाने र नियमित परीक्षण गर्ने भनेर त्यहाँबाट औषधि लिइ हामी नियमित उपचार गराइरहेका थियौँ। उहाँको सुगरलेभल पनि कन्ट्रोलमा थियो, खानेकुरा पनि डाक्टरले भने अनुसार नै खाने गर्नु भएको थियो।
तर अकस्मात करिब २ वर्षपछि सुगर, कोलेस्ट्रोल अनकन्ट्रोल हुनगइ उहाँको मुटुलाई क्षति गरेछ। गंगलाल अस्पतालमा डा. चन्द्रमणि अधिकारीले उहाँको शल्यक्रिया गर्नु भएको रहेछ र केही दिनको अस्पताल बसाइपछि डिस्चार्ज हुनु भएको थियो। म तत्काल घर नजाने र केही दिनपछि आएको दसैँमा पुग्नेगरी लामो बिदा कम्पनिबाट मिलाएर घर जाने निधोँ गरेँ र पछि घर गएँ।
म जानेबेला बुवा दिदीभाइसँगै काठमाडौँमै हुनुहुन्थ्यो। भाइ र मेरी सानी दिदी निरन्तर बाको हेरचाहमा खटिनु भएको थियो र म पुग्दासम्म बुवाको स्वस्थ्य अवस्था सुधारोन्मुख थियो। हाम्रो परिवारमा एक किसिमको आशाको दियो बलेको थियो।
त्यतिबेला बुवालाई भेट्दा मसँग अंगालो मारेर धेरैबेर भक्कानिनु भएको थियो र भन्दै हुनुहुन्थ्यो, 'भेट हुन पाँइदैन कि भनेको भगवानले भेट गराए।' धेरै रुनुभएको थियो। मलाई भने बुवासँग अंगालो मारेर रुन छुट थिएन। उहाँको कमजोर स्वस्थ्य अवस्था, आफै रोएर थप कमजोर पार्नु हुन्न भन्ने कुरा।
दिदीभाइले विमानस्थलदेखि घर आउँदा मलाई रुन नपाइने सर्त पनि छँदै थियो। त्यसैले मैले छाती थिचेर भए पनि आफूलाई कन्ट्रोल गरेँ। पछि शौचालय गएर एक्लै रोएर आफूलाई शान्त बनाएँ। मुख धोएर नसुहाएको हाँसो, ङिच्च पारेर दाँत देखाउन सफल भएँ।
यतिबेला पनि ठिक यस्तै भयो, बुवाको मृत्यु हुँदा पनि खुलेर रुन छुट मलाई थिएन। 'तँ रुनु हुन्न, जसरी पनि सम्हालिनु पर्छ। घरको जेठो छोरा अब सबैलाई सम्हाल्नु पर्छ। आमा, भाइ दिदी अनि बुहारीहरुलाई सम्झाउनु पर्ने मान्छे आफै रुन हुँदैन' भनेर सबैले मलाई एक किसिमले सद्भावपूर्ण दबाब नै दिनुभएको थियो र म पनि सकेसम्म सम्हालिन कोशिश गरेँ र गरिरहेको छु अहिले पनि।
जन्मपछि मृत्यु सत्य हो, यो ध्रुर्व सत्य हो भन्ने कुरा नबुझेको पनि होइन। गीतामा भगवान श्रीकृष्णले अर्जुनलाई दिएको अर्तिउपदेश नसुनेको पनि होइन। भौतिक शरीर नाशवान् हुन्छ, देह र आत्मा भन्ने कुरा फरक कुरा हुन् भन्ने कुरा थाहा नभएको पनि होइन।
तर जब आफ्नो अगाडि आफन्त गुमाउनु पर्ने, आफूलाई जन्माएर हुर्काएर संसार देखाउने माता-पिता गुमाउनुको पीडा जोकोहीलाई पनि अवश्य दर्दनाक हुन्छ नै। आफन्त गुमाउँदाको पीडा नहुँदो हो त माहादेव भगवान आफ्नी पत्नी सतिदेवीले अग्निकुण्डमा हाम फालेर प्राण त्याग्दा शवलाई काँधमा बोकेर बहुला जसरी हिड्ने थिएनन्। प्रतिशोध लिने थिएनन्।
जब बुवा त्यति बेला अंगालो हालेर भक्कानिँदै भन्नु भएको थियो 'अब छोराछोरी हुर्काएर, पढाएर, घर गृहस्थी बसाएर प्रगती गर्ने देख्ने बेलामा स्वास्थ्य यस्तो कमजोर भयो।'
मैले त्यतिबेला सम्झाउँदै भनेको थिएँ 'बुवा, सबै ठिक हुन्छ। हजुरलाई पनि ठिक हुन्छ, प्रगति पनि अवश्य देख्नुहुन्छ। आफूलाई मानसिक रुपले बलियो बनाउनुहोस् बुवा।'
सायद बुवाले पनि आफ्नो सपना धेरै हदसम्म पूरा गरेर जानुभयो। गाउँबाट अलिकति सहरमा बसाइ सार्ने, घर बनाउने आफूजस्तो दुर्गम गाउँमा बसेर छोरा नातिले दुख नपाउन भन्ने उहाँको चाहाना थियो। कमजोर स्वास्थ्य हुँदाहुँदै पनि उहाँ आफै खटेर बुटवलमा घर बनाउनु भयो।
हतार नगर्नुस बुवा भन्दा भन्दै पनि उहाँले बनाइ छाड्नुभयो। अफसोच्! उहाँ आफैले रहरले बनाएको घरमा लामो समय बस्नै पाउनु भएन। उहाँको अर्को चाहाना थियो, छोराछोरीले राम्रो पेशा अंगालुन्, राम्रो जागिर गरुँन्, राम्रोसँग बिहेबारी गर्न पाइयोस्, अझ दिदिहरुलाई सुगम ठाउँमा बिहे गर्दिन पाए गाउँमा आफूले जस्तो दुख गर्नु पर्दैनथ्यो भनेर सधै भन्नुहुन्थ्यो र त्यो पनि पूरा गर्नुभयो।
हामी ४ भैनाकै बुवाले आफ्नै हातले बिहेबारी गर्दिनु भयो। छोरीहरु जस्तै बुहारी भित्राएको छु भनेर छिमेकमा भन्नु हुन्थ्यो रे। हामी पनि सबै आ-आफ्नो पेशामा संलग्न भएका थियौँ। भाइबुहारी सरकारी जागिरे, म पनि विदेशमा सन्तुष्टै थिएँ। परिवारका सबै सदस्यको प्रगती देखेर उहाँ अत्यन्तै खुसी हुनुहुन्थ्यो। म अझै १० वर्ष बाँच्छु भन्नु हुन्थ्यो, हामीलाई पनि विश्वास थिएन कि उहाँले यति छिटै छाडेर जानुहुन्छ भन्ने।
मुटुको अप्रेशन भएयता उहाँको सुगर, प्रेसर, कोलेस्टोरेल, सबै कन्ट्रोलमै थियो। नियमित औषधि सेवन गर्नुभएका उहाँले खानपिनको नियममा पनि तलमाथि पार्नु भएको थिएन। कोरोना कहरका कारण उहाँको कमजोर स्वास्थ्य अवस्थालाई लिएर दसैँमा टीका लगाउन ८६ वर्षीया हजुरआमासँग गाउँमा जानसम्म दिइएन।
तिहारमा नजिकै भएकी फुपूको हातको टीका लगाउन जाने अवस्थासम्म रहेन। कोरोनाको संक्रमण पनि उहाँहरु जस्तोलाई उच्च जोखिम हुने डरले हामी कतै निस्कन दिएनौँ। कतै कोरोना संक्रमण भैहाल्छ कि, इन्फेक्सन बढ्छ कि भन्ने डरले धेरै नै नियन्त्रण गरेका थियौँ। अहिले आएर कतै हामी गल्ती गरेछौँ कि भनेर ग्लानी हुन्छ्।
हुन त उहाँ आफै पनि एकदम सचेत हुनुहुन्थ्यो। दैनिकै टेलिभिजन हेरेर मसँग भिडिओ कलमा सबै कुरा शेयर गर्नु हुन्थ्यो। आज यति जना संक्रमित थपिए, यति जनाको ज्यान गयो, आज जागेश्वर गौतम (स्वास्थ्य मन्त्रालयका प्रवक्ता) ले यसो भने, हामी ६० वर्ष माथिकालाई घर बाहिर ननिस्कन उर्दि जारी गरेका छन भनेर सुनाइरहनु हुन्थ्यो।
कहिले समकालीन राजनैतिक घटनाक्रमको बारेमा पनि कुरा गर्नु हुन्थ्यो। आज एकजना पत्रकारले फलानो नेताको र्याखर्याख्ती पारेर सातो खाइदियो भन्नु हुन्थ्यो। अर्का पत्रकारले यसो भन्यो, धमलाले यस्तो बोल्यो, ओली, प्रचन्ड, शेरबहादु ले यस्तो भने भनेर सुनाउनु हुन्थ्यो।
केपी साह्रै जब्बर रैछन्, अरु सबै एक हुँदा पनि डग्मगाएन भनेर सुनाउनु हुन्थ्यो। कहिलेकाहीँ धर्मग्रन्थ बारे पनि बाबुछोराको छलफल चल्थ्यो। मैले आजकाल युट्युब तिर अलिअलि धार्मिक कार्यक्रमहरु हेर्न थालेको र केही थोरै अध्ययन गरे जस्तो गरेको हुँदा उहाँसँग तर्क बितर्क गर्थेँ।
बुवाले मलाई सिकाउनु हुन्थ्यो। मलाई किन किन आजभोलि धार्मिक पुस्तकप्रति रुचि बढ्न थालेको थियो। बुवाले पनि खुसी मान्नु भएको थियो। ड्युटिबाट आएपछि हरेक दिनजसो एक डेढ घण्टा हाम्रो भिडिओ कलमा कुरा हुन्थ्यो। जान्ने भएपछि अर्थात् बुवासँग अगाडि बसेर निर्धक्क बोल्न सक्ने भएपछि बुवासँग प्रत्यक्ष कुराकानी गर्ने समय मैले बिरलै पाएको छु।
किनकि एसएलसीपछि म लामो समय घरमा बस्नै पाइनँ। म काठमाडौं बसेर पढ्ने जागिर गर्ने गर्थे, पछि यतै विदेशमा त्यो अघि बुवा घरमा बिरलै बस्नु हुन्थ्यो। धेरैजसो इन्डिया तिर बस्नु भयो। घरमै भएपनि सानोमा बुवाको अगाडि बसेर बुवासँग गफ गर्ने आँट आउन्थेन, किन किन बासँग अलि डर लाग्थ्यो।
विश्वभर आक्रान्त बनाएको कोरोनाको महामारीबाट जोगिनु भएको मेरो बुवालाई केले गर्दा एक्कासी सिकिस्त बनायो र बेहोस हुनुभयो भन्ने कुराले अहिलेसम्म पिरोलिरहन्छ। दुई दिनअघि पेटमा सामान्य अप्ठ्यारो आयो, खाना रुचेन भन्ने बाहेक अरु कुनै समस्या बताउनु भएको थिएन।
मलाई ठिक छ, केही भएको छैन, काहीँ जानु पर्दैन भन्दा भन्दै पनि मैले नजिकैको मेडिकलमा जाँच्न पठाएको थिएँ। उहाँको स्वास्थ्य जाँच गर्दा शरीरको भाइटल अर्ग्यान्को अवस्था सामन्य नै छ। पिसाबमा थोरै समस्या छ भनेर नजिकको स्वास्थ्य संस्थाको व्यक्तिले बताएका थिए।
सुगर लेभल ठिक छ, केहीदिन अघि गरेको टेस्टमा रेनल फङ्ग्सन टेस्ट, लिभर फङ्ग्सन, कोलेस्टोरेल, ब्लडप्रेसर लगायत मुटुको धड्कन सबै राम्रो छ भनेर बताइएकोले हामी पनि ढुक्क नै थियौँ तर अचानक मेडिकल गएको दोस्रो दिनदेखि उहाँ झन्-झन् कमजोर देखिनुभयो, खानामा रुचि देखिन छोड्यो।
खानामा रुचि नभएपछि बा झन् गल्दै जानु भएको रहेछ तर पनि हामीसँग सबै कुरा ठिकठाक भएजसरी मलाई केही भएको छैन, काहीँ जानु पर्दैन भन्दै हुनु हुन्थ्यो तर पनि म श्रीमतीसँग सल्लाह गरेर कुनै ढिलाइ नगरी काठमाडौं भाइलाई फोन गरेर तुरुन्त प्लेन टिकट बनाएर भोलि नै बालाई काठमाडौं झिकाउँ, बाको गंगलालको फलोअप नि हुन्छ, बुटवलमा भन्दा काठमाडौंमै उपचार गराउँ किनकि उहाँको यस अघिको सबै उपचार काठमाडौंमै गराएको हुँदा त्यहीँ बोलाउँ भनेर हाम्रो सल्लाह भयो र भाइले मैले टिकट पठाएँ भाउजूले भोलि बिहानैको फ्लाइटमा लिएर आउनुहुन्छ भनेर भनेको थिएँ।
सल्लाह अनुसार सबै तयारी गरेर भोलिपल्ट बिहानै ११:४० को फ्लाइटमा भैरवाबाट काठमाडौं आउने कुरा भयो। त्यसदिन बिहान हिड्न लाग्दा बाले आफै कपडा लाउँदै आमासँग भन्नु भएको थियो रे, 'यी छोराहरु मेरो लागि कति कष्ट गरेका होलान्, मलाई बचाउन कति लागिपरेका होलान!' भन्दै कपडा लाउनु भएको थियो रे।
पछि सिंढीमा ओर्लेने बेलामा भित्तामा आफैले दुई दिन अगाडि राख्नु भएको सिसाको ठूलो ऐनातर्फ फर्केर 'खै यो बुढो फेरि फर्केर घर आउँछ आउदैन' भन्दै के-के भन्दै हुनु हुन्थ्यो रे। त्यो सुनेपछि बुहारीले 'यस्तो के बोल्नु भएको बुवा, तपाईंलाई केही पनि हुँदैन' भनेर गाली गरेको थिइन् रे।
नभन्दै बुवा त्यो घर फर्केर फेरि कहिले आउनु भएन। केवल आयो त बुवाको मृत शरीर मात्र। बिहान आफै जाउलो खाएर, दाह्री काटेर, लुगा लगाएर, बोल्दै बोल्दै गाडीमा चढ्नुभएको बाको बारेमा यस्तो होला भन्ने कल्पना त कसैमा थिएन। अघिल्लो दिनसम्म गफ गर्नु भएका मेरा बा मृत शरीर देख्दा छिमेकीहरु कसैमा पनि विश्वास भएन रे।
दुई दिनअघि फर्निचर साहुको छोरालाई बोलाएर घरमा सोफा, पलङ्ग दराज र र्याकहरुको अर्डर दिनुभएको रहेछ। भित्तामा ऐना लगाउनु भएको रहेछ। पछि फर्निचर साहुको छोरा पनि शक्ड भएँ म भन्दै थिए। हामी सबै शक्ड थियौँ। ठिकठाक गाडी चडेर भैरहवा एयरपोर्ट पुगिसकेपछि बुवालाई अलि कमजोर देखेर एयरपोर्ट प्रशासनले उडाउन अस्वीकार गरेछ र नजिकको हस्पिटलमा चेकजाँच गर्न सल्लाह दिएको थियो रे।
सल्लाह अनुसार एयरपोर्टबाट नजिक रहेको भैरहवास्थित भिम अस्पताल ल्याउँदै गर्दा बाटैमा बेहोस हुनुभएको मेरो बुवा फेरि कहिले जाग्नु भएन। थाहा छैन उहाँलाई के भएर त्यस्तो भयो? भित्र भित्रै रोगले गलाउँदासम्म पनि हस्पिटल जान कोरोनाको डरको कारण केही भन्नुभएन कि दोस्रो पटक बुवालाई हर्ट अट्याक भएर बुवा बेहोस हुनुभयो भन्ने कुरा सधै अनुत्तरित नै रह्यो।
तर उहाँको आत्मालाई पहिले नै थाहा रहेछ र त बिहानै घरमा त्यस्तो कुरा गर्नुभएको होला। कुनै दुखाइ, कुनै पीडा, कुनै चिच्चाहाट, बिस्तारामा लडिबुडी नगरिकन नै शरीर त्याग्नु भयो। हुन त फोनमा कुरा हुँदा मसँग एकपटक भन्नु पनि भएको थियो '२०७७ कार्तिकमा मेरो खड्को छ' भनेर।
तर मैले बाको कुरा पत्याइनँ र उल्टो यस्ता नचाइने के कुरा गर्नुभाको होला बाले भनेको याद छ। उहाँ आफै पनि ज्योतिषमा ज्ञान भएको व्यक्ति चिना बनाउने, चिना हेर्ने काम पनि गर्नुहुन्थ्यो। त्यसैले पनि आफ्नो भविष्यवाणी आफै गर्नु भएको हुनसक्छ।
तर मलाई के कुराको याद छ भने उहाँले विगत ३/४ महिना अघिदेखि घरमा भागवत गीता, रामायण, पुराणको पाठ अलि धेरै नै गरिराख्नु हुन्थ्यो। हुन त घरमा अरुबेला पनि उहाँ पूजाआजा गर्ने पन्डित पनि भएकोले धार्मिक पुस्तकहरु अध्ययन गरिनै राख्नु हुन्थ्यो तर यसपालि भने घरमा खालि समय भयो कि लगातार पाठ गरिरहनु हुन्थ्यो।
अध्ययनमा ध्यानसँगै लाग्नु भएको थियो रे संयोग पनि हुनुपर्छ। तर यसरी आफ्नो देह त्याग गर्नु अघि कोही मनुष्यले गीता पाठ गर्छ भने उसले सिधैँ मोक्ष प्राप्ति गर्छ रे, भगवानको साथमा स्वर्गलोकमा बास हुन्छ रे भन्ने मैले पनि सुनेको थिएँ।
यो धार्मिक विश्वासको कुरा भयो तर उहाँ असाध्यै धार्मिक व्यक्तित्व, सधैँ सकरात्मक सोंच राख्ने, अरुको सधैं भलाई सोंच्ने हुँदा, सामाजिक परोपकारी सोंच राख्ने हुँदा उहाँको आत्माले पक्कै स्वर्गमा बास हुनेछ भन्ने कुरामा मलाई पनि विश्वास लाग्छ।
विदेशमा हुँदा आफन्त गुमाउँदाको पीडा, आफू एक्लै हुँदाको पीडा एकातिर भने हाम्रो नेपाली परम्परा अनुसारको मृत्यु संस्कारमा आफू पुग्न सक्छु कि सक्दैन भन्ने कुराले अझ बढी पिरोल्दो रहेछ। जब प्लेन चड्ने बेलाभन्दा केही ढिलो गरी श्रीमतीले बाको स्वास्थ्य अवस्था नाजुक भएको भन्ने बारेको सन्देशयुक्त म्यासेज आयो र अनि अफलाइन भैइन्, अनि त मेरो शरीर एकाएक भाउन्न भयो।
ड्युटी गरिरहेको म एकाएक काम गर्न सक्ने अवस्थामा भइनँ, हातखुट्टाले राम्रोसंग काम गर्न सक्ने अवस्था रहेन। मनमा नकरात्मक कुराहरु मात्र खेल्न थाले। बुवालाई पक्कै धेरै गाह्रो भएको हुनुपर्छ नत्र प्लेन चड्न दिने थियो, अब के कसो हुन्छ होला भनेर चिन्ता बढ्न थाल्यो।
ड्युटि गर्न सक्ने अवस्था भएन र गरिरहेको कामलाई बीचैमा छाडी सँगै काम गर्ने नेपाली साथीलाई एकछिन यताको मेसिन पनि हेर्नु है, म रुम गएँ मात्र भनेर इन्चार्जलाईसम्म जानकारी नगराइ म सरासर कम्पनि म्यानेजरको रुममा आइ सबै जानकारी गराए।
म घर जानुपर्ने भयो, मेरो आबजि (कोरियन भासामा बा) सिकिस्त बिरामी हुनुहुन्छ, अहिले मलाई काम गर्न गाह्रो भयो, म खिसुक्सा (कोठा) मा गएँ भनेर सरासर कोठातिर लागेँ। थाहा थिएन बाको स्वास्थ्य अवस्था कस्तो भैरहेको छ, कोरोना महामारीको बेलामा कम्पनिबाट बिदा स्वीकृत हुन्छ हुँदैन, प्लेन पनि दुबईको छिट्फुट ट्रान्जिट बाहेक सबै ठप्प थिए।
कोरियन अध्यागमनले पनि रि-इन्ट्रीको डकुमेन्ट बिना बिदामा जान अनुमति दिएको रहेनछ। जब कोठामा गएर हिम्मत गरेर श्रीमतीलाई बुवालाई कस्तो छ भनेर सोध्नलाई मोबाइलमा फोन हानेँ, दोस्रो पटकको घण्टीमा बल्ल उठेको फोनमा निकै भासिएको मधुरो स्वरमा उनले भनिन्- 'बालाई लिएर घरमा आएँ।'
यति सुनेपछि मैले बुवाको मृत शरीर ल्याएयौ कि जिउँदै भनेर थप सोध्नुपर्ने भएन। बालाई ल्याएँ भनेपछि मेरो होस उड्यो, छाँगाबाट खसेजस्तो भयो। उताबाट श्रीमतीको स्वरमा आफू सम्हालिनु होला, यता म छु। आमालाई सम्हाल्ने कोशिश गर्दैछु भनेर फोन काटियो।
थाहा छैन फोन मैले काटेँ या उतैबाट काटिएको थियो। म बिस्तारामा पल्टिएँ। मन थाम्न सकिन भक्कानिएँ। सँगैको साथीले सम्हालिनु, म पनि धेरै खराब परिस्थितिलाई सहेर यहाँसम्म आएको छु, आफूलाई सम्हाल भन्दै थियो तर मन न हो आफूलाई जन्म दिएर, हुर्काएर यहाँसम्म पुर्याउने आफ्ना भगवान ढल्दा कहाँबाट त्यति सजिलै सम्हाल्न सकिने रहेछ र!!
तर पनि जेनतेन कोशिश गरेँ। आमासँग बोल्न मन लाग्यो, आमा म छु है, हामी छोराछोरी छौँ है पिर नमान्नु आमु भन्न मन लाग्यो र मन गाँठो पारेरै भएपनि आमासँग बोलेँ।
'आमा पिर नमान्नु है धेरै, हाम्रो खुसीलाई दैवले चुँडेर लग्यो, हामी छौँ आमा कतिपनि विचलित नहुनु। अब यो शोकलाई शक्तिमा बदल्नु पर्छ आमा। म आउँछु जसरी भएपनि आउछु' भनेर के भनेको थिएँ, मेरो त गला नै अबरुद्ध भयो। बोली अड्कियो।
आमाभन्दा बढी त मै रोइरहेको रहेछु। विचरा मेरी आमा! उल्टो मलाई सम्झाउदै भन्न थाल्नुभयो 'विदेशमा एक्लै छौ, बालाई बचाउन प्रयास गर्निभरी गरेका हौँ, अब आफूलाई सम्हाल्' भन्ने आमाको शब्दले मलाई धेरै राहत मिल्यो। साँच्ची, आमा भनेको पृथ्वी नै रहिछन्। आज बल्ल थाहा भयो।
यत्रो हलचल आउँदा पनि आफ्ना सन्तानलाई यसरी सम्हाल्न खोज्दै छिन्। सलाम छ आमा, आज तिम्रो दृढताले मलाई बलियो बनाउँदै लगेको छ। तिमीमा अब बा\आमा दुवै देख्न थालेको छु। आमासँग बोलेपछि मलाई थोरै साहास मिल्यो र दिदीसँग, भाइसँग कुरा गरेँ। कुरा गरेँ त के भन्नू, रुवाबासी गर्यौँ, एकअर्कोलाई सम्हालिन भन्यौँ।
अब रह्यो कसरी घर पुग्ने भन्ने। आमालाई त आश्वास्त पारेको थिएँ तर परिस्थिति एक्दमै फरक छ। बिदा पाएर सरासर टिकट काटेर जाने अवस्था बिल्कुल छैन। कम्पनि साहुलाई सबै जानकारी गराइयो, साथीहरुबाट पनि आवश्यक समन्वय भयो र साहु पनि कन्भिन्स भयो।
त्यतिबेला साहु पनि बाउ जस्तै लाग्यो। बिदा दिने कुरामा कुनै कन्जुस्याइँ नगरी पुनः प्रवेशको अनुमतिको लागि अध्यागमनलाई ३ महिने बिदाको पत्र बनाइदियो। उसको एक मात्र चिन्ता, यस्तो समयमा फेरि आउन पाउदिनस् कि भन्ने थियो, मेरो चिन्ता भने आउन पाउनेभन्दा पनि जान पाउँदिनँ कि भन्ने मात्र थियो।
नभन्दै सबैतिरबाट प्रक्रिया अगाडि बढाइयो, भोलिपल्ट कोरियाको लगातार २ दिन सार्वजनिक बिदा। नेपालमा पनि शनिबार बिदा भएको हुँदा ड्कुमेन्टका लागि केही ढिलाइ भयो तर पनि सबैको साथ सहयोगले जान पाइने भयो। सबै काम भएपछि युएई ट्रान्जिटको लागि टिकट काट्ने काम भयो।
संयोग भन्नुपर्छ, उक्त दिन सँगै नेपाल जाने एकजना साथी पनि रहेछ। मलाई यत्रो लामो यात्रामा ढुंगो खोज्दा देउता मिलेजस्तो भयो। सँगै कोरोना टेस्ट गर्यौँ, बुसानदेखि नै सँगै यात्रामा निस्कने भयौँ। इन्छन एयरपोर्ट पुग्दा मेरो जस्तो पीडामा अर्को एकजना कपिलवस्तुको साथी पनि भेटाएँ।
उसलाई भेटेपछि थप मलाई सोंचमग्न बनायो किनभने उसको पनि मेरो बाको उमेरकै बुवालाई गुमाउनु परेको रहेछ। विचरा दुर्भाग्य, ऊ एक्लो छोरा विदेशमा दाहसंस्कारको काम पनि अरुबाट गर्नुपर्ने कस्तो बाध्यता रहेछ! कम्तिमा मेरो त भाइ थियो भनेर मनमनै सोचेँ।
परदेश पर-देश नै रहेछ। सामान्य समयमा इन्छन (काठमाडौँ भनेको जम्मा ६ घण्टाको फ्लाइट थियो तर हामी असमान्य अवस्थाबाट गुज्रेकोले गाडी, प्लेन गरेर लगभग बुटवल घर पुग्न मलाई ३५/३६ घण्टा लाग्यो, सकुशल घर पुगेँ, सकुशल त के भन्नू, ३५/३६ घन्टा यात्रामा त्यसमा पनि पानी मात्र पिएर, बाहिरको कुरा सकेसम्म खाएनौँ।
दुबई एयरपोर्टमा गएर फ्रुट्स भए पनि खाउँ भनेर ड्युटी फ्रीमा गएको एउटा सानो केराको कोसोलाई युएस ३ डलर रे। १-१ वटा खाएउँ। मसँग डलर पनि थिएन, हतारमा बिर्सिएछ होस नै भएनछ। धन्न सँगै गएको साथीसँग पानी र केरालाई पुग्ने डलर रहेछ। जेनतेन घर पुग्नु थियो, पुगियो।
म घर पुग्दा घर पूरै सुनसान थियो। घरको मूल ढोका नेर निन्याउरो मुख लगाएर मेरी श्रीमती र सानी दिदी उभिरहनु भएको थियो। अनुहार हेर्दा नि दया लाग्दो थियो। हुन त मेरो अनुहार मास्कले छोपेको भएर होला, अरुले त्यति भेउ पाउने अवस्था थिएन।
घर बाहिर मैरि छेउमा एउटा टेबल थियो। टेबलमा ठूलो फ्रेममा बाको हँसिलो अनुहार परेको फोटा, फोटोमाथिबाट लत्पतिएको अबिर पोतिएको थियो र ठूलो अक्षरमा हार्दिक श्रद्धाञ्जलि लेखिएको थियो। २ वर्षअघि जीवित छाडेर आएको बालाई आज तस्बिरमा मात्र देख्नु मेरो विवशता थियो।
मन एक्दम भावुक भएको थियो। आँखा तिरमिर भएका थिए, छाती चिरिएर आएको थियो। चिच्याएर छाती पिटेर रुन मन थियो, 'बुवा म आएँ, बुवा' भन्न मन थियो तर तस्बिरले सुन्दैन थियो न त बोल्थ्यो नै। त्यसो त मलाई रुन चिच्याउन छुट थिएन।
गाडीमा आउँदादेखि नै मलाई घर पुगेपछि आँसु नदेखाउनु, नरुनु, सम्हालिनु सम्हालिएको घरलाई नबिथोल्नु भनेर धेरै जनाले सिकाइ पनि रहनु भएको थियो। तर मेरो मनले कहाँ थाम्न सक्थ्यो र! बिल्कुल सकेन, मात्र मेरा आँसुलाई जबरजस्त लुकाउन खोजिरहेको थिएँ सकेसम्म।
मन त मेरो धेरै दिनदेखि नै रोइरहेको थियो। मास्क लगाएकोले मेरो टिठ लाग्दो, रुन्चे अनुहार कसैले देख्न पाएनन्। मलाई तत्कालै आमालाई भेट्नु थियो तर कर्म काण्ड नगरी भेट्न नमिल्ने भनेर रोकियो।
पछि मेरो सबै संस्कार अनुसारको कर्म गरिसकेपछि मात्र आमासँग भेट भयो, अंगालो मारेर बेस्सरी रुन मन थियो तर कस्तो संस्कार रहेछ, १३ औँ दिनसम्म छुनसम्म नमिल्ने रहेछ।
म पुगेपछि दुखमा पनि सबैमा अलिकति खुसी जस्तो देखियो। ममा पनि बाको काज किरिया नै गर्न पाउन्न कि, आमालाई दिएको वचन पूरा गर्न नि पाउन्न कि भन्ने चिन्ता सबै हटेको थियो। कम्तिमा बा बाहेक बाँकी रहेका हामी सबै परिवारका सदस्य त एक ठाउँमा थियौँ, अल्लि राहत मिल्यो।
१३ औँ दिनको संस्कार सकिएको केहीदिनपछि म र श्रीमती भएर हजुरआमालाई भेट्न हाम्रो पूर्ख्यौली घर अर्घाखाँची गएका थियौँ। घर पुग्दा बाले दुख गरेर बनाएको घरगोठ हामी हुर्किएको ठाउँ, बाले मेहनत गरेर बनाएका अन्य भौतिक संरचनाहरु, बुवाले लगाएका फलफूल र अन्य घाँसका बोट-बिरुवाहरु, जंगल फाँडेर बनाएका खेतबारीहरु देख्दा असाध्यै भावुक बनायो।
बाले हामीलाई लालनपालनको लागि छुट्टिदाँ आफ्नो अंशमा परेको जग्गा बाहेक धेरै जग्गा जोड्नु भएको थियो। कैयौँ खेतका गराहरु बिराएर खाना पुग्नेभन्दा बढी नै जमिन जोहो गर्नुभएको छ, अहिले पनि विद्यमान छ।
बाले हाम्रो राम्रो लालनपालनको लागि, शिक्षादिक्षाको लागि त्यो गाउँको माटोमा मात्र नभएर परदेशमा पनि धेरै समय बिताउनु भएको थियो। हामी छोराछोरीलाई सकेसम्म आफूले सक्ने जति गर्नुभएको थियो। आज हामी जुन स्थानमा पुगेका छौँ, त्यसमा बा-आमाकै योगदानले गर्दा छौँ।
तिL सबै कुराहरु फर्केर हेर्दा हिजो भर्खर जस्तो लाग्छ तर समय गतिशील छ, संसार सारा चिज गतिशील छन्।
हजुरआमासँग कुरा हुँदा उहाँले भन्नुहुन्थ्यो, बाको अनुहार हजुरबासँग ठ्याकै मिल्छ रे। हजुरबासँग स्वभाव पनि दुरुस्त उस्तै रे। बाहिरबाट हेर्दा अलि कडा स्वभाव तर मनको धेरै नै कोमल। अलि विद्रोही स्वभाव, कसैसँग नझुक्ने नडराउने, सत्यसँग कहिले सम्झौता नगर्ने दृढ स्वभाव थियो साँच्ची बाको।
परिश्रमी अनि आत्मबल धेरै थियो बाको, बोलि अलि चर्को भएपनि भित्री मन एकदम शितल, एकदम कोमल हुनुहुन्थ्यो। सबैलाई सहयोग गर्नुपर्छ, सकेको दिनुपर्छ, घरमा कोही पाहुना आएमा अतिथिको राम्रो सेवा सत्कार गर्नुपर्छ भन्नु हुन्थ्यो।
घरमा आएको कसैलाई पनि केही न केही नखुवाइ पठाउनु हुन्न भन्नु हुन्थ्यो। दिलदेखि नै सफा हुनु हुन्थ्यो। राम्रो खाने राम्रै लाउने, घर सफा सुग्घर चट्ट राख्नुपर्छ भन्नु हुन्थ्यो। धार्मिक कुरामा विश्वास थियो बामा। अरुप्रति कुभलो गर्नुहुन्न, कुविचार राख्नुहुन्न, पाप लाग्छ भन्नु हुन्थ्यो।
बाका इस्टमित्र धेरै नै हुनुहुन्छ। एकपटक भेटेको मान्छे जतिसुकै सानो होस् या ठूलो ओहोदाको, बाको साथी हुन्थे। जहाँ गयो, त्यहीँ बाका मित्रहरु, चेलाहरु भेटिन्थे। कसै कसैले त मलाई पनि बा जस्तै रैछौँ बाबु नि भन्दा म फुरुंग हुन्थेँ र मनमनै भन्थेँ 'बाकै छोरा हो नि।'
अहिले थाहा हुन्छ, बाले मलामी धेरै नै कमाएर जानु भएछ भन्ने। कोरोना महामारी र डर त्रासकै बीच पनि बाको अन्त्यष्टीमा जाने मलामीको लर्को ठूलै थियो रे। उहाँको अन्तिम श्वास फेराइ पनि कष्टकर भएन। बोल्दा बोल्दै, खाँदा खाँदै, हाँस्दा हाँस्दै परलोक जानुभयो।
सायद, धर्मको फल यही होला। कसैलाई दुख नदिइ जानुभयो। बुवा अलिकति छिटो हामीलाई छाडे जानुभयो वश् त्यत्ती हो। उहाँप्रति हाम्रो गुनासो अरु केही छैन। उहाँकै आशिर्वादले हुनुपर्छ यस्तो चुनौतीको समयमा पनि म उहाँको संस्कार गर्न, परिवारसँग भेट गर्न सफल भएँ।
सकुशल कर्मभूमिमा फर्कन पनि पाएँ। आज यो सबै हाम्रो बा-आमाको आशिर्वाद हो, बा हामीलाई छाडेर जानुभए पनि बाको आशिर्वाद सदैव हामीसँग छ। यो शोकलाई शक्तिमा बदल्ने तागत हामीलाई भगवानले प्रदान गरुन्, बुवाप्रति हार्दिक श्रद्दा सुमन। बा, हजुरको बैकुन्ठमा बास होस्, सधै शान्ति मिलोस्।