प्राकृतिक स्रोतसाधनको उचित परिचालन त्यसमाथि परम्परागत पानीका स्रोतहरु विशेषगरी पोखरी, तालतलैया र सिमसार क्षेत्रको संरक्षण, व्यवस्थापन र सम्वर्द्धन गर्नु आम नागरिक, स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार सबैको दायित्व हो।
काठमाडौँको परम्परागत पानी व्यवस्थापन भनेको विश्वकै उत्कृष्टमा पर्छ। यहाँ रहेका पोखरी, राजकुलो र हिटी प्रणालीले ऐतिहासिक, सांस्कृतिक, पर्यावरणीय र सामाजिक महत्त्व बोकेका छन्। यस्ता पोखरीको दीर्घकालीन संरक्षण गर्नु अति आवश्यक छ।
हामी सबै यसप्रति जागरुक हुनुपर्छ। काठमाडौँ महानगरपालिकाले विगत लामो समयदेखि अस्तव्यस्त रहेको कमलपोखरी संरक्षणमा आफ्ना कदम लगत्तै चालेको छ। महानगरपालिकाका मेयरको ड्रिम प्रोजेक्टमा रहेको कमलपोखरी नौ करोड ६५ लाख लगानीमा बनाउने योजना अगाडि सारिएको छ।
यो निकै सराहनीय कुरा हो, तर यस्ता सम्पदाहरुलाई पुनर्निर्माण गर्दा यस्का ऐतिहासिक महत्त्व, सामाजिक मूल्यमान्यता, पर्यावरणीय पक्ष तथा यस्को पूर्णभरण कसरी गर्ने र यसले काठमाडौँ रिचार्ज अभियानमा कसरी योगदान पुर्याउन सक्छ भन्ने कुराले अर्को महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।
तर अहिलेको अवस्थालाई हेर्दा कमलपोखरी पुनर्निर्माणको कार्यमा अभियान्ताहरुले विशेष विरोध जनाएका छन्। निर्माण क्रममा पोखरी सुकाइएको छ भने वरिपरि कंक्रिट संरचना र बीचमा कंक्रिटकै कमलको फूल बनाउने योजना छ।
उहीँ पढायो पढायो पाठ, सोह्र दुना आठ भन्या जस्तै रानिपोखरीको पुनर्निर्माण हुँदै गर्दा भएको विरोध र विज्ञहरुको सुझावबाट नगरपालिका केही पाठ सिक्यो होला भन्ने आमबुझाइ थियो। तर अहिले जुन तरिकाले कमलपोखरीमा पानी सुकाउने र माटो निकाल्ने काम भइराखेको छ, त्यो कार्य लज्जास्पद नै छ।
अभियान्ताहरु कमलपोखरीको ऐतिहासिकता र मौलिकता कायम राख्दै परम्परागत शैलीमै बनाइ मौलिकता जोगाउन पर्ने र त्यहाँ सिमेन्टको कमल फूल होइन कि नेपाल मै पाइने विभिन्न प्रजातिका फूलहरु रोप्नु पर्ने कुरामा जोड दिएका छन्।
करिब २ वर्ष अगाडिबाट कमलपोखरी सौन्दर्यकरण गर्ने योजना अगाडि सारिएको र त्य्सै अन्तर्गत पहिलो चरणमा घाटहरु बनाउने, ढुंगेधाराहरु र खाली ठाउँहरु निर्माण गर्ने काम सुरु भएको तथा पानी पूर्णभरण कसरी गर्ने भन्ने अध्ययन अगाडि बढाएता पनि विस्तृत योजना अझै नबनिसकेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए।
यसरी बिना विस्तृत योजना काम सुरु गरेर पानी सुकाउँदै जाँदा त्यहाँ चिराचिरा परेको छ र यदि त्यो चिरा तलसम्म पुग्यो भने पानी रहने सम्भावना अति न्यून हुन्छ।
भोलि गएर पानी राख्ने बेलामा पनि पानी अटाउन नसक्ने हुन सक्छ जसले गर्दा आउने दिनमा नगरपालिका या नेपाल सरकारले पानि अडिएन ढलान गरौं न भन्ने अवस्था नआउला भन्न सकिँदैन।
ढुंगेधारा तथा मुहान संरक्षण समितिका अध्यक्ष सुशिल श्रेष्ठका अनुसार कमलपोखरीबाट तीनधारा, हात्तीसारको ढुंगे धारा र नारायणहिटीको ढुंगेधारा गरी तीन ढुंगेधाराहरु परिचालित छन्। त्यसैले यस्ता सम्पदाहरुलाई कुनै पनि हालतमा नाश गर्न नहुने बताउनुहुन्छ।
उहाँका अनुसार यदि हामीले ५ फुटसम्म पानी भर्न सक्यौं भने जुनसुकै महिनामा पनि पोखरीमा पानी रहन्छ तर यदि अहिलेको चिरा तलसम्मै पुग्यो भने आकाशे पानी पनि नरहने अवस्था आउँछ।
कमलपोखरी प्राकृतिक सिमसार हो या होइन भन्ने विषयमा पनि हामीले दुई मत भेट्छौँ तर विज्ञहरुका अनुसार यो मानव निर्मित पोखरी भएतापनि यसले ठूलो पर्यावरणीय महत्त्व बोकेको छ र कुनै पनि प्राकृतिक सम्पदाको संरक्षण गर्दा त्यसको सांस्कृतिक र सामजिक पक्ष मात्र होइन कि पर्यावरणीय पक्ष हेर्नपनि अत्ति जरुरी देखिन्छ।
यसैगरी पुनर्निर्माणको काम गर्दा यस्ता पोखरीबाट पानी र त्यहाँ भएको दलदल निकाल्ने काम विवेकपूर्ण मानिदैन। विगत ५०/६० वर्षको इतिहासलाई पल्टाउँदा परम्परागत विधिको ठाउँमा सिमेन्ट र कन्क्रिटले हरेक सम्पदालाई विस्थापित गरिरहेको हामी पाउछौँ।
यसरी सिमेन्ट र बालुवाको अत्याधिक प्रयोगले एकातिर सम्पदाहरुको मौलिकता हराउँदै जान्छ त अर्को तिर ग्लोबल कार्बन बजेटका अनुसार विश्वव्यापीरुपमा सिमेन्ट कार्बन उत्सर्जन गर्ने एउटा मुख्य तत्वको रुपमा नै रहेको पनि पाइन्छ। यसका साथै बढ्दो सिमेन्टको प्रयोगले जमिनमुनिको पानीको सतहलाई पनि विशेष हानी पुर्याएको छ।
अव्यवस्थित बढ्दो सहरीकरणका कारण काठमाडौँ जस्तो सहरमा खाली जग्गा अत्ति कम छ जहाँबाट आकाशे पानी जमिनको भित्री सतहसम्म पुग्न सकोस्। यस्तो अवस्थामा कमलपोखरी जस्ता पोखरीहरुको ठूलो भूमिका रहेको हुन्छ।
विगत केही महिना अगाडिको अर्थात मनसुन महिनाको कुरा गर्ने हो भने विभिन्न सहरहरु जस्तै नेपालको काठमाडौँमा, पाकिस्तानको कराचीमा, बांगलादेशको ढाकामा बाढी पसेको हामीलाई अवगत नै छ। तर यहाँनेर के कुरा बुझ्न आवश्यक छ भन्दा बाढी सहरमा पसेको होइन कि, सहरहरु खोला अनि नदीको छेउमा लगेर बनाउँदा खोला नदी संकुचित भए र अहिले आएर उनीहरुले एक खालको विद्रोह गरेका छन्, आक्रोश पोखेका छन्।
यसरी हामीले परम्परागत धरोहरलाई नाश गर्दा कालन्तारमा त्यसको परिणाम हामी आफैले नै भोग्न बाध्य हुन्छौं भन्ने कुरा बिर्सनु हुँदैन। अर्को रोचक विषय के भन्दा, एकतिर बर्खामा पानीले डुबेका सहरहरु हिउँदमा थोपा थोपा पानीका लागि अनेकौं सास्ती खेप्नु परेको हुन्छ।
दक्षिण एसियाका देशहरुमा गरेको एउटा अध्ययनबाट जति पनि देशहरुमा पानीको समस्या बढेको छ ती सबैमा सिमसार र पोखरीहरु नासिएका छन्, सहरभित्र भएका पानीका च्यानलहरु मासिएका छन् र नदी खोलाहरुलाई साँघुरो पारिएका छन्।
मध्य पहाडी क्षेत्रमा पनि पानीका मुहान सुक्नुको एउटा मुख्य कारण पोखरी नासिनु नै मानिन्छ। संविधानको धारा २७ ले सूचनाको हक दिँदै गर्दा पनि हामी आमजनताले कुनै पनि सार्वजनिक सम्पदाको पुनर्निर्माणका अथवा अन्य कार्यका बारे सरकार र नगरपालिकाले कस्तो योजना अनुसार पुनर्निर्माण गर्दै छ भन्ने कुरा पनि सजिलै थाहा पाउन सक्दैनौँ।
मतलब, यस्ता कार्यको बारेमा आमजनतालाई सूचना दिन निकायहरुले चाहेको जस्तो लाग्दैन। जसका कारण योजना कार्यनयनका क्रममा हरेक पटक जनताहरु विरोधीकै रुपमा प्रस्तुत हुन बाध्य हुन्छन्। यस्ता पुनर्संरचनाहरु गर्दा स्थानीय ज्ञान, सीप र साधन प्रयोग गर्न र समुदायसँग समोन्नत गर्नु अति महत्वपूर्ण रहन्छ।
यसैले हामीले कमलपोखरीमा अब सेमेन्टको कमलको फूल बनाएर होइन कि नेपालमा पाइने विभिन्न प्रजातिका कमलका फूलहरु रोपेर यस्को मौलिकता जोगाउन पर्छ र अहिले कमलपोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा असर पर्ने गरी जुन पुनर्निर्माण भइराखेको कामलाई केही समयको लागि यथास्थितिमा राखेर, नगरपालिकाले विज्ञहरुको समूह गठन गरेर उनीहरुको सुझाव अनुसार कमलपोखरीको पुनर्निर्माण गर्नसकेमा हाम्रा सम्पदाहरु दीर्घकालीन रुपमै संरक्षण हुन सक्छन्।