वार्षिक बिदा सकेर कर्मभूमि फर्किदै गर्दा एयरपोर्टसम्मका सडक छेउछाउका हरेक सोलार बत्ती जडित पोलहरुमा मुसुक्क मुस्कुराई रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो सहित 'एउटा नयाँ युगको सुरुवात' लेखिएका बोर्डहरु झुन्डिएका थिए।
आफ्ना परिवारको सुखका सपना बोकी पहिलो पटक र छुट्टी सकेर प्रदेश हिडेका म जस्ता हजारौँ युवाहरुलाई प्रधानमन्त्रीले मन्द मुस्कान सहित नयाँ युगको सुरुआत गर्न लामबद्ध उभिएर बिदाइ गरेको आभास भएको थियो।
एयरपोर्ट गेटभित्र प्रवेश गरेपछि बढेमानको होर्डिङबोर्डहरुमा ठूला अक्षरले आफ्नै फोटो साक्षी राखेर 'समृद्ध नेपाल सुखी नेपाली' लेखिएको प्रधानमन्त्रीको संकल्प पढ्दा विदेशमा सुख खोज्ने यात्रा यो नै अन्तिम पटक बन्ला भन्ने ठूलो आशा संगाल्दै भारी मन केही खुकुलो बनाएर जहाज चढेको ३ वर्ष भैसकेछ।
यही अन्तरालमा दुई पटक नेपाल गएर फर्किसकेँ, त्यो बेलाका चम्किला होर्डिङबोर्डहरु खुइलिएर अक्षर धमिलो, प्रधानमन्त्रीको टाउको च्यातिएर भुइँ तिर लत्रिएको थियो।
समृद्ध नेपालको सुखी नेपाली बन्ने सपना अलपत्र परेर च्यातिएको मनलाई प्रधानमन्त्रीकै च्यातिएको टाउकोसँग तुलना गरेँ तर गुनासो गरिनँ। बरु कसैले प्रधानमन्त्रीको लत्रिएको त्यो शिर उठाएर माड लगाएर टाँसिदिए हुन्थ्यो जस्तो लाग्यो।
मुलुकभित्र पर्याप्त रोजगारीका अवसर नहुँदा दैनिक १२ सयभन्दा बढी युवा विदेशी भूमिमा पसिना बगाउन एयरपोर्टमा लाइन लाग्ने दिन अब सकिए, दशकौँपछि मुलुकले स्थायी सरकार पायो अब समृद्धिको दिशामा द्रुत गतिमा अगाडि बढ्यो, मुलुकलाई ठूलो जनशक्ति आवश्यक पर्छ भनेर स्वदेशमै रोजगारी सहित वार्षिक ५ लाख युवा फर्काउने सरकारको योजना सुन्दा कयौँ युवाले नेपाल फर्कने दिन गनेर बसेका थिए।
आजका मितिसम्म उल्लेखित योजनाले सार्थकता पाउन सकेन। विदेशिनेको संख्या झन् ह्वात्तै वृद्धि हुँदै गयो। तथ्यांक अनुसार २०७४/७५ मा १००० देखि १२०० सम्म दैनिक विदेश जानेहरुको संख्या बढेर १५०० नाघेको रहेछ।
नयाँ संविधानको व्यवस्था अनुसार सम्पन्न ३ तहका निर्वाचनमा अहिले सरकारको नेतृत्व गरेको नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको चुनावी घोषणा पत्रको मुख्य एजेन्डा विदेशमा रहेका युवा स्वदेश फर्काउने पनि थियो।
तत्कालीन एमाले र माओवादीहरुले बामपन्थी शक्ति एक भए देश बल्ल समृद्ध हुनेछ भन्दै अप्रत्याशित रुपमा चुनावी तालमेल र पार्टी एकता गरेर धेरै सिट जिते तर लामो समयपछि मुलुकले पाएको ५ वर्षे स्थायी अनि बलियो सरकार पार्टी भित्रको आन्तरिक किचलोले आधा कार्यकालमै संसद भंग गरेर सडकमा समर्थन र विरोध गर्दैछन्।
करिब दुईतिहाई नजिक बहुमत पाएको सरकार निर्धारित समय अवागै फेरि चुनावमा जाने तयारी गर्दैछ। बामपन्थीहरुको त्यो अप्रत्याशित एकता, देश र जनताको समृद्धिका लागि नभई सत्ता प्राप्ति र पार्टीगत स्वार्थपूर्तिका लागि जनतालाई भ्रममा पारिएको थियो भन्ने पुष्टि भएको छ।
सरकारकै नेतृत्व गरेको पार्टी भित्रबाट चरम भ्रष्टाचार अनियमितता भएको समृद्धिका लागि जनतासँग गरेका प्रतिबद्धता अनुरुप काम गर्न नसकेको सुशासनमा पनि सरकार निकम्मा भएको विधि, विधान र संविधान विपरित कार्यहरु गरेको भनेर सरकारको विरोध गरिरहेका छन्।
त्यही विरोध र खिचातानीपछि काम गर्न नदिएकाले संसदनै भंग गर्नु पर्यो भन्ने गैरजिम्मेवार र हाँस्यास्पद तर्क राखेर सरकार आफ्नो कमजोरी ढाकछोप गर्दैमा व्यस्त छ।
म जस्ता लाखौँ युवाहरुको लागि यो संसद मात्र भंग हैन, समृद्ध र सुखी बन्ने सपनाहरु पनि भंग भएको हो। आफ्नै भूमिमा रगत पसिना बगाएर स्वरोजगार बनेर परिवारसँगै सुख दुख बाड्ने सपना भत्किएको हो।
सरकारले गरेका वाचा अनुसार यतिबेला हामी आफ्नै देश विकासका निर्माण स्थलमा खटिएको हुनु पर्ने थियो। बिडम्बना, तिमीहरु विदेशमै श्रम गरी रेमिट्यान्स पठाइदेऊ, हामी त्यही रेमिट्यान्सबाट नेपालमा भएका तिम्रा परिवारलाई भोट हाल्ने लाइनमा बसाल्छौँ भन्न कुन नैतिकताले सकेका होलान्?
युवा विदेश पठाउने कांग्रेस हो, हामी फर्काउछौँ भन्ने कम्युनिष्टहरुको अहिलेको दुर्गति हेर्दा हामी कहिलेसम्म यसरी विदेशिनु पर्ने हो? देश कहिलेसम्म हाम्रो रेमिट्यान्सले धानिदिनु पर्ने हो? भनेर प्रश्न गरिरहने म जस्ता लाखौँ युवाहरुलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको 'जति बेला मुलुकमा हिंसात्मक द्वन्द सुरु भयो, एकथरि कम्युनिष्टले युवाहरुको हातमा बन्दुक थमाउँदा नेपाली कांग्रेसले हरियो पासपोर्ट थमायो त के गल्ति गर्यो?' भन्ने तर्क कानमा गुन्जी रहन्छ।
लामो समयको द्वन्द र अस्थिरतापछि मुलुकमा भएको परिवर्तन अनि हामीले देखेका सपना र अहिलेको घटनाक्रम तिनै कम्युनिष्टहरुको अकर्मण्यताका कारण बहुमतको सरकार तुहिएको देख्दा त्यो भनाइ सही रहेछ भन्ने लाग्दैछ।
तत्कालीन अवस्थामा श्रम सम्झौता गरी विदेशमा श्रम गर्न जाने अवसर प्राप्त नभएका भए हामी मध्ये हजारौँ युवा जनयुद्धका नाममा घाइते, अपांग र सहिद हुन बाध्य बनाइने थियौँ। लाखौँ युवाहरु बेरोजगार बनेर भौतारिरहेका हुने थियौँ।
देशमा चरम बेरोजगारी र आर्थिक संकट पर्थ्यो, नाकाबन्दी भूकम्प कोरना जस्ता कठिन अवस्थामा मुलुकले घुडा टेक्नु पर्ने अवस्था आउने थियो। मुलुक कम्तिमा यो अवस्थाबाट गुज्रिन वैदेशिक रोजगारले रोकेको हो भन्न गलत हुँदैन।
अहिलेको अवस्था हेर्दा केही सीमित व्यक्तिको सत्ता प्राप्तिको लागि भन्दा देशको अर्थतन्त्रलाई धान्न बन्दुकभन्दा पासपोर्ट थमाउने काम धेरै हदसम्म सही थियो कि भन्ने लाग्छ।
मासिक ५५ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण (रेमिट्यान्स) पठाउने युवाहरु खाडी राष्ट्र साउदी अरब, कतार, युएई, बहराइन, ओमान र कुवेतसहित पश्चिम एसियाका अन्य मुलुकहरूमा १५ लाख नेपाली श्रम गरिरहेका छन् जुन नेपालमै बेरोजगार अवस्थामा भएको कल्पना गरौँ, हाम्रो अवस्था कति भयाभय हुन्थ्यो होला।
त्यसो भन्दै गर्दा युवाहरुको विदेशिनु सही हो भन्ने अर्थ कदापि हैन। विदेशिनु बाध्यता हैन, रहर बन्नु पर्छ भन्ने मेरो पनि मान्यता छ।
लाखौँ युवा कोरानाको कारणले रोजागरी गुमाएर अलपत्र परेर महिनौँपछि बल्लतल्ल रुदै नेपाल फर्किन बाध्य भएकाहरु नेपालमा रोजगारको विकल्प नभेटेर पुनः विदेश जान प्रयासरत छन्। सरकारले उनीहरुको लागि नेपालमै रोजगार दिने ठोस योजना बनाउनु पर्ने दायित्व भुलेर ऋण मागेरै अर्बौं खर्चेर फेरि चुनाव गराउन उद्दत छ।
घरपरिवार छाडेर मरुभूमिमा नेपालीले बगाएको पसिना र रगत सञ्चित रेमिट्यान्सले मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा २७ प्रतिशत योगदान रहेको छ। जीडीपीमा साथसँगै विदेशमा गएर सिकेको सीप र अनुभव पनि नेपाल भित्रिरहेको छ।
तर त्यसरी भित्रिएको रेमिट्यान्स र सीपलाई सरकाले सही उपयोग गर्न सकेन। यति ठूलो योगदान दिएका प्रवासी नेपाली युवाहरुप्रति सरकार झन् गैरजिम्मेवार बन्यो भन्ने कुरा कोरोनाको बेला अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्न सरकारले देखाएको लाचारपनले पुष्टि गर्यो।
बल्लतल्ल चार्टर उडान गरेपनि त्यसमा पनि चर्को भाडा उठाएर कमिसन र भ्रष्टाचारमा चुर्लुम्म बनेको तितो भोगाइले प्रवासी नेपालीहरुको मन नमजाले कुँडिएको छ।
हामी प्रवासमा रहेका लाखौँ नेपालीहरु सरकारले संविधानको मर्म र जनचाहना विपरित संसद भंग गरेर चुनावमा जाने निर्णय गलत र निन्दनीय छ भन्ने छ। यो कार्यमा संलग्न जो-कोहीलाई इतिहासले क्षमा गर्ने छैन।
यसरी पार्टीहरुका आन्तरिक खिचातानीले हाम्रा भविष्यमाथि खेलवाड गर्ने अधिकार छैन भन्ने कुरा सरकार र राजनैतिक पार्टीहरुलाई भन्न चाहन्छौँ। केही गर्न नसक्ने भ्रष्ट र लाचार सरकारभन्दा ताजा जनादेशमा जाने विकल्प देऊ भनेर जनताले भन्ने हो तर यहाँ त्यस्तो भैरहेको छैन।
आफू अल्पमतमा परे, त्यसैले संसद भंग गरेर चुनावमा जान्छौँ भन्ने कुरा गलत हो।
आफ्नै पार्टीको एकता बचाउन नसक्नु पाएको जनमतको कदर गरेर ५ वर्ष राम्रोसँग सरकार चलाउन नसक्नु एकार्कालाई दोष दिँदै अझै दुईतिहाई ल्याउछौँ र काम गर्छौँ भनेर भाषण ठोक्दै हिड्नु योभन्दा लज्जास्पद केही हुन सक्दैन।
तपाईको नेतृत्वको सरकारले देशको समृद्धिका लागि मात्र हैन, हामी विदेशमा श्रम गरिरहेका लाखौँ युवाहरुका लागि केही गर्न सकेन भन्दा उल्टो जाइलाग्ने प्रधानमन्त्री ज्यु, यो दूरदराज मरुभूमिबाट तपाईको लाज छोपिदिने अरु केही पठाउन नसके पनि देशको लाज छोपिदिने रेमिट्यान्स महिनै पिच्छे पठाउने छौँ।