'सखिय हो, माघक पिलि गुरी गरी जाँर, सखिय हो' यो गीत थारु भाषाको ऐतिहासिक चलचित्र 'कमैया' को हो।
थारु गाउँबस्तीमा जबसम्म यो गीतको गुन्जायमान हुँदैन तबसम्म घामको रौनकतामा थोरै भएपनि कमिनै आउँछ भन्दा पनि फरक नपर्ला। हुन त धुम्रु गाउने चलन छ तर यो गीतको महत्व कम छ भन्न पनि मिल्दैन।
पुस मसान्तमा वा भनौँ पुसको अन्तिम दिन बिहानै गाउँमा जिता मार्ने चलन हुन्छ। यस दिन गाउँको सबै सदस्यहरु मिलेर गाउँको कुनै एक सदस्यको घरमा पालेको बुंगरलाई काट्ने चलन छ। जसलाई जिता मार्ने दिन भनिन्छ। भोलिपल्ट शुद्ध र शुभ भएकोले त्यस दिन नै जिता मार्ने गरिन्छ।
पुस अन्तिमको रात, रातभरि धुम्रु गाउने गरिन्छ। रातभरि यसरी गाउँदै डफ बजाउँदै रमाइलो गरिन्छ। बिहानै मारेको जिताको (बुंगर) पक्वा खाँदै, जाँडको छाँकी मार्दै त्यो रात काटिने गरिन्छ।
भोलिपल्ट माघ १ गते सबेरै नजिकैको जलासयमा गएर स्नान गरिन्छ। बिहानै डल्लप (बयलडागा) मा चढेर होस् वा हिँडेर, त्यो पवित्र जलासयको स्नान गरेपछि आफूलाई पाप मुक्त हुने जनविश्वास छ।
थारुको बर्का टिह्वार माघ हो। यस माघको पनि आफ्नै छुट्टै विशेषता रहेको छ। यो दिनलाई स्वतन्त्रताको प्रतिकको रुपमा पनि लिने गरिन्छ। ढिक्री, बुंगुरको मासु, बैरको चट्नी, जाँरक झ्वार, मुसाको चट्नी, तरुल, सखरखण्ड खाँदै माघ मनाउने गर्छन्।
यस दिन कुनै सोच फिकिर बिना नै जाँरको स्वाद लिँदै नतमस्त भएर रमाउँछन्। 'सखिय हो, माघक पिलि गुरी गरी जाँर सखिय हो' भन्दै आफ्नो स्वतन्त्रताको प्रयोग गर्छन्।
यस दिन कसैले कसैलाई भन्दा पनि आ-आफ्नो दुःख पीडा साटासाट गर्दै 'बर्का तँ यो साल कौन जिम्डर्वाकोमा गएर काम गर्ने सोचिस्' भन्दै छलफल पनि गर्छन्।
मलाई अझैँ सम्झना छ कोड्र्याहन छोट्का काकाले भनेको कुरा- 'काम कस्कोमा गर्ने भन्ने कुरा हरेक वर्ष फेर्न त सकिन्छ तर कोही मन परेन भने त्योसँग छुट्कारा पाउँन वर्षदिन कुर्नु पर्दथ्यो। आफ्नो गाउँमा ३ जना थिए ठकुर्वा। छान्यो भने पनि तिनै थिए, नछानम् भन्दा अर्को गाउँको ठकुर्वा रोज्नु पर्ने बाध्यता थियो। सकेसम्म आफ्नै गाउँकालाई रोजम भनेर घर नजिकैकोलाई रोजे।'
सुन्दा अजिव नलागोस् किनकि आजबाट सुन्ने बानीको विकास गरौँ। कसरी सत्तासिन व्यक्तिले शक्तिको आडमा तीन जना गैरथारुले त्यत्रो ठूलो बस्तीलाई पाए, हामीले नपाए नि हामी नै हो भनेर दोभानेमा पारेर जिन्दगी जिउन बाध्य पारेको। यो सत्यताबाट हामी बिमुख हुन सक्दैनौँ।
थारुहरुको माघ हरेक साल फिक्का भएको छ। त्यो समयमा वर्षदिनको पीडा भुल्नलाई माघक पिली गुरु जाँर भन्दै थारुहरु आफ्नो पीडाको मिटर घटाउनलाई पिउथे र अहिले पनि पिउँछन्।
'थाहा छ भोलि पनि आफ्नो हर, जुवा र कोदालो लिएर अरुको बधँवा कमैयाको जिन्दगी त जिउनु नै छ नि तर आजको एकदिन भएपनि आफ्नो इच्छाले बाँचौँ न' भन्दै मस्तमा दफ बजाउँने र जाँडको सेवन गर्छन्।
थारुहरु जाँड पिउँदैनन् भन्ने हैन, यो त थारुहरुको परम्परादेखि चल्दै आएको पेय पदार्थ हो। कसैको स्वागत गर्नु छ भने यसको भोजन गराएर पाहुनाको स्वागत गरिन्छ।
माघ १ गते हामी थारुहरु मुसाको पनि चट्नी खाने गर्दछौँ। मुसा भन्ने बित्तिकै हरेक गैरथारुको मनमा 'छि!' भन्ने कुरा आउने गर्दछ।
वास्तवमा मुसा खानु भित्र पनि थारु विद्रोह लुकेको छ। वर्षदिन पुगोस् भनेर खेतीबरी गरेका हुन्छौँ तर मुसाको कारण बालीमा ह्रास आउँछ जसले गर्दा भोकमरी पनि नआउला भन्न सकिदैन। यतिसम्म दुख दिनेलाई मारेर पोलेर हामी खान पनि सक्छौँ भनेर थारुहरु आफ्नो प्रतिशोध त्यहाँ देखाउँछन्।
आफूलाई वर्षदिन पुग्ने अन्नमा आँखा पुर्याएर जब नोक्सानी गर्यो अनि मुसाको अन्त्य पनि भयो। त्यसैले थारुहरु मुसा त्यस्सै खाँदैनन्, उनीहरुले विद्रोहको प्रतिकका रुपमा खाएका हुन्।
एकदिनको स्वतन्त्रताले जन्माएको, जिन्दगीभरिको लागि स्वतन्त्र र पहिचानका लडाई हो माघ। अहिले माघ स्वतन्त्र दिवसको रुपमा मानिन्छ र यही स्वतन्त्रताको लागि अब कम्मर कसेर लाग्नु पर्छ भनेर सोचिसकेका छन्।
कहिले काहीँ निख्रेको चामलमा पनि कंकड हुन्छ। त्यसैगरी यो संघर्षमा पनि कंकाल छैन भन्न मिल्दैन तर केलाएर अवश्य निकाल्न सकिन्छ।