चार कलासमा पढ्दाको सम्झना छ। हाम्रो शिक्षकले भन्नु हुन्थ्यो- हाम्रो देश विश्वकै जलश्रोतमा दोश्रो धनी देश हो। हाम्रो देशले यही जलश्रोतलाई विद्युत निकाल्ने र कृषि सिँचाइमा उपयोग गर्यो भने मात्र पनि हाम्रो देश विश्वकै धनी मध्येको एउटा देश बन्ने छ।
त्यो सुन्दा पछिल्लो बेन्चमा बस्ने हामी जस्ता विद्यार्थीले पनि धेरै ध्यान दिएर सुन्थ्यौँ र पुलकित हुन्थ्यौँ। आफ्नो देश राम्रो बन्ने छ, धनी बन्ने, समृद्धि बन्छ र हामी जस्ता जनातामा खुसी र सुखी छाउने छ। खुसी नहुने पनी कुरै भएन।
आज त्यसको ठिक १५ वर्षपछि पछिल्लो बेन्चमै बसेर म मास्टर डिग्री पढ्दा मास्टर पढाउने प्रोफेसर डाक्टर सरले फेरि भन्दै हुनहुन्छ, तपाईंहरुलाई थाहै होला हाम्रो देश जलश्रोतमा विश्वकै दोश्रो धनी देश हो। यसलाई विद्युत र सिँचाइमा उपयोग गर्ने हो भने देशले कायापलट फेर्ने छ, देश धने बन्ने छ। समृद्धि आउने छ। जनता गरिबीबाट मुक्त हुने छन्।
आज १५ वर्षको अन्तरालमा बागमतीले काठमाडौंको ढल धेरै बगाइसक्यो। संसारका धेरै देशले आफूलाई विकास गरिसके। हाम्रो देशको कथा उही छ। हाम्रा शिक्षकले एउटै कुरा पढाएका छन्, विद्यार्थीले त्यही सुन्दै बसेका छन्।
किसानको पसिनाको माटोमा केही परिवर्तन छैन। फुटेका खुट्टाले मलम चिन्दैन। पातलो दिशाले जीवनजल चिन्दैन। रोगले औषधि चिन्दैन। प्यासले सफा पानी चिन्दैन। भोकले अन्न चिन्दैन। गरिबले छाना, नाना र खाना चिन्दैन।
बाटोमा हिड्ने गाडीले सफा र चिल्लो बाटो चिन्दैन। एउटा युवाले देश चिन्दैन। स्वदेश के हो? विदेश के हो? उसलाई थाहा छैन। गाउँघरमा रहेपहेका बुढावृद्धाले आफ्नो मृत्युको दोषमा चिहानमा कसरी पुग्ने हो थाहा छैन। डाँडापाखा उजाड छन्। साँच्चै भन्नु हुन्छ भने नेपालले आफ्नै नाम नै बिर्सिसक्यो। के यो साँचो हैन त?
अब प्रश्न गरौँ हाम्रो देश किन विकास हुन सकेन? नेपाल किन बनेन? देशमा यी दुई वटा प्रश्न अहिले एलिट र बौद्धिक वर्गदेखि सामान्य सर्वसाधारणसम्मले बडो गर्जिएर घाँटीको तक्मा मिलाउदै मिठो स्वरमा भन्छन् नेपाल बनेन। के साँच्चै नेपाल नबनेकै हो त? अथवा नेपाल विकास नभएको हो?
हामीले कति सजिलै औँलाको चुड्की पड्काउँदै चलाखीपूर्ण तरिकाले भन्छौँ, विकास भनेको त अमेरिका, चीन, जापन पो हो त। अझ हाम्रा पड्के र केही नेताले त नेपाललाई स्विजरल्यान्डदेखि सिंगापुरसम्म बनाइदिन्छु भन्दै पनि हिँडे। हामीले पटर्रर ताली पनि पड्काएकै हो।
तर एउटा प्रश्न, के हामीलाई थाहा छ विकास के हो? के विकास नै नभएर नेपाल नबनेकै हो त? अर्थात् अब बन्ने नयाँ नेपाल कस्तो बन्ने? यी यस्ता प्रश्नको विश्लेषण गर्दै विभिन्न छलफल, बहस विमर्श र वादविवाद पनि गर्ने गरेका छौँ। छापा, डिजिटल पत्रिका र गोष्ठीहरुमा प्रचुर मात्रामा अचुक तरिकाले लेख, रचना र भासण पनि गरिएको देख्न सकिन्छ।
वास्तवमा विकास केलाई भन्ने? विकासको वास्तविक परिभाषा कुन डिक्सनरीमा पाउन सकिन्छ? कसले वास्तविक विकासको परिभासा दिन सक्छ? एउटा शिक्षकले दिने परिभासा, विद्यार्थीले प्रश्नको उत्तरमा आउने परिभाषा, भारी बिसाएर चौपारीमा बसेको किसानले दिने परिभाषा, राम्रोसँग खाना नपाएको गरिबले दिने परिभाषा, एउटा धनी व्यावसायिक मानिसले दिने परिभाषा, एउटै आउला त?
अझ भनौँ कुन मुलुकको विकास वास्तविक विकास हो? अहिलेको चीनले गरेको विकास र औद्योगिक राष्ट्रहरुले गरेको विकास एउटै हुन सक्छ? यावत प्रश्न गर्न सकिन्छ।
सामान्यतया विकासलाई राजनैतिक र आर्थिकरुपमा परिभाषित गरिन्छ। एउटा रिपोर्टले के देखायो भने नेपालको सबैभन्दा विकसित ठाँउ काठमाडौं हो। त्यसो भए अर्थशास्त्रीय सिद्धान्तमा टेकेर गरिने सकारात्मक उन्नति, प्रगति वा रुपान्तरण नै विकास हो।
त्यसो हो भने विकास राजनीतिक मुद्दा हो भन्न गिदि रिंगाउनु पर्दैन। श्रोतको सन्तुलन, प्रयोग र निर्धारण राजनीतिले नै गर्छ। भने श्रोत साधनको प्रयोग नै विकास हो।
आज नेपाल के चाहिरहेको छ, विकास वा समृद्धि? दुवै शब्द उस्तै जस्तो भएता पनि कार्यगतरुपमा केही फरक हुन् तर हामीलाई दुई वटा नै आवश्यक छ। विश्वमा ठूला ठूला एनजिओ, आइएनजिओ प्रशस्त मात्रामा छन्। जसमा यूएन, यूएनडिपी, आइएमयफ विश्व बैंक र एसियायी डेभलभमेन्ट बैंक जस्ता नामुद आइएनजीओहरु छन्।
यस्ता एनजीओहरुले पनि भन्छन् विकासको सकारात्मक सूचांक नै समाधान हो। समस्या भनेको अविकास हो। तर हाम्रो नेपालमा आजसम्मको अनुभवले के सिकाउँछ भने, विकास भनेर मात्र अथवा राजनीतिक नारा दिएर मात्र विकास त नहुँदो रहेछ।
सात सालदेखि उन्नाइस सालसम्मको एउटा पिरियड र पञ्चायतको तीस वर्ष र त्यसपछि आजसम्म। यी सबै समय अपवाद बाहेक विकासकै हुंकार बडो गर्जिएर आए। अझ भनौँ, पञ्चायतले त गल्ली गल्लीमै गित गाएर हिड्यो। यो त निकै लामो समय हो नि, आखिर खै त विकास?
हाम्रै समाज हो जहाँ बार अनुसार हिंड्न पर्छ, चल्नु पर्छ। दलितको अनुहार देखिएमा साइत बिग्रने। दलितले छोएमा अशुद्ध हुने। बिरालो बाधेर श्राद्ध गर्छौँ। निर्दोष पशुलाई बली चढाएर धर्म हुन्छ भन्दै डाको हाल्छौँ। यी कुरीति नै हुन् भन्न अझै नसकिरहेका हामी विकासको कुन चरणमा छौँ भन्ने यसैबाट छर्लङ्ग छ।
वास्तवमा प्रगतिको दृष्टिकोणले हेर्ने हो भने जनताको सामान्य जीवनस्तर सुधार र आधारभूत आवश्यकतासँग सम्बन्धित खाने पानी, स्वस्थ खाने कुरा, लगाउने कुरा, बिरामी भएमा अस्पताल पुग्न सक्ने अवस्था, समाजमा मिलेर सम्मान साथ बस्न पाउने अवस्था र कसैको लम्पसार भएर बाच्न नपर्ने अवस्था यी तत्वले वास्तवमा समाज बदल्ने हो।
हामी यसैमा अड्केका छौँ तर यी तत्वलाई सूचांकमा खासै देखिदैन। तर यथार्थ त यही लुकेको छ। यता अर्थशास्त्रका सिद्धान्त पल्टाउने हो भने उत्पादनभन्दा अतिरिक्त मूल्यले पुँजी निर्माण गर्छ। पुँजी भएमा लगानी बढ्छ। लगानीले आर्थिक चहलपहल हुन्छ अनि आर्थिक पूर्वाधारहरु लगायत शिक्षा, स्वास्थ, खानेपानी जस्ता दैनिक उपभोग्य बस्तुको माग र आपूर्तिको समायोजन भई आर्थिक गतिविधिले जनताको जीवनयापनमा सुधार हुने गर्दछ।
विकास भन्नेकुरा हाम्रो समाजले आधुनिकतासँग पनि हेर्ने गर्दछ। एउटी महिलाले उस्ले लगाउने मेकअप र गेटअप राम्रो छ भने समाजको मनोवैज्ञानिक दृष्टिकोणले ऊ साँच्चै विकासमा परिभाषित छ। औद्योगिकरणले के भन्छ भने प्राकृतिक साधन र कृषिलाई आधुनिकमा जोड्नु विकास हो।
औद्योगिक स्थानको तात्पर्य ग्रुप अफ पिपुल्स हो। जहाँ कृषि, पशुपालन र वनजङ्गलको प्रयोगबाट बैँकिङ र वित्तीय क्षेत्र स्थापित हुन्छ। जसले नलेज इकोनोमीलाई बढवा दिँदै विकासको सम्भावनामा जान्छ। जसको माध्यमले जनतामा मनोवैज्ञानिक हस्तक्षेप भई इनोभेटिभ माइन्ड डेभलप हुन्छ फलस्वरूप पिपुलहरु ग्यादरिङ भई आर्थिक जक्सन बन्न सक्छ। जसले विकासको सूचक बढाउन दलिन बन्दछ।
अर्को अर्थमा, कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने परिवर्तन, अघिल्लोभन्दा गुणात्मक रूपमा फरक हुने वस्तु वा व्यक्तिको बढ्ने र परिवर्तन, एउटा विशेषताको घटना र परिस्थितिबाट अर्को विशेषतामा रूपान्तरण हुने आन्दोलनात्मक परिवर्तन, पुरानो विशेषता, बुझाइ र मनोविज्ञानलाई पनि रूपान्तरण गर्ने प्रकृया र परिवर्तन वा पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकासका विविध पक्षहरू अन्तरनिहित तत्वको रुपान्तरणलाई पनि हामी विकास भन्न पनि सक्छौँ।
दोश्रो विश्व युद्धपछि र बेलायती साम्राज्यको नालबाट पन्छिएर बनेका देशहरुले प्रविधि र मनोवैज्ञानिक धरातलललाई फेरो लगाएर त्यसको सिको गर्दै प्रगतिको रफ्तारलाई आश्चर्यजनक तरिकाले अगाडि बढाए। हाम्रो देश आंशिक रुपमा साम्राज्यको प्रभाव रह्यो, खासगरी मशेस र पश्चिमी नेपालमा यसको प्रभाव रह्यो। अपवाद भनौँ नेपालको सबैभन्दा पीछडिएका जनता मधेस र पश्चिम नेपाल नै हो।
अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्ने हो भने मधेश त प्राकृतिक श्रोतसाधन साथै उत्पादनका साधन कृषि भूमि र श्रम पर्याप्त मात्रामा भएता पनि विकासको पत्र्यभूत हुन सकेको छैन। किन एउटा अनुत्तरित प्रश्न यही झुन्डिएर बसेको छैन त?
अब अर्को प्रश्न आलान्कारिक भएर आउँछ। के साधन स्रोतले मात्र विकास हुँदो रहेछ त? हुँदो हो त म जस्ता हजारौँ विद्यार्थीले दुई दशकको फरकमा पनि एउटै विकासे कथा पढ्दै बस्नु पर्थ्यो होला त? प्रकृतिकले दिएका सागरमाथाको गाथाको कथा भन्दै गर्दा हामीले बनाएका सगर विकासका कथा लेख्न र भन्न पाएको खै?
खालि सिंगापुर र चीनका चमत्कारिक विकासे कथा सुन्दै दिन कटाउने कि अब हाम्रा विकासे कथा पनि कोर्ने? किन आज हामी एसियाको दोश्रो गरिब र दरिद्र राष्टको नागरिक भएका छौँ? यो प्रश्न खै आफैले आफूलाई सोध्ने हिम्मत गरेको?
यति प्रश्न गर्न नसक्ने हामीले वीर गोर्खाली भन्दै गफ चुट्न कति लाज नलागेको हामीलाई हेर्नुस् त! खाली पट्के, भोड्के, भ्रष्ट नेताको पछौटे बन्दै धुलोमा बसेर ताली पड्काउनु पहिले एउटा सचेत नागरिकले सोच्नु पर्ने कि नपर्ने? के तपाईंलाई यी जेलमा बसेर आएका नेताका रेलका कथा सुन्दा थकित हुनु भएको छैन? के अझै पनि यिनीहरुका चुनावी नाराका चाराले दिक्क बनाएको छैन?
यसबाट हामीलाई जबर्जस्त के सिकाउँछ भने हामीले विदेशी विकासे मोडेल र अर्थव्यवस्था, अवस्था र स्वरुप धेरै पढ्यौँ, घोक्यौँ र लेख्यौँ पनि। अझ भनौँ सिद्धान्तका अनिष्टकारी परिवर्तन त कति गरियो गरियो।
अब त यही नेपाली समाजमा उच्चतम वा उन्नत सामाजिक रूप र प्रकृयाबाट प्राप्त हुने सुख, शान्ति, वैभव र एकरूपता सहितको भौतिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक विकास प्रक्रियाको उन्नत वा उच्चतम अभिव्यक्ति वा अवस्था सहितको विकास गर्नु पर्ने छ।
अब पनि हामी सचेत नहुने, समयमा नै नसोच्ने हो। भने हाम्रो देशका ओजिला पुर्खाले सराप्ने छन् भने आउने पुस्ताले हामीलाई थुक्ने छन्।