यस वर्ष नेपाली किसानले मल नपाएको समचार छ्यापछ्याप्ती मूलधारका मिडियाहरूमा आइरहे। बहुसंख्यक जनताले कृषि पेशा अङ्गालेको हुनाले रासायनिक मलको अभावले नेपालको समग्र अर्थतन्त्रमा ठूलो असर गर्ने निश्चितप्राय: थियो।
तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले बंगलदेशसँग सापटी मागेर भए पनि मल ल्याउने उद्घोष गरेका थिए। प्रत्येक वर्ष मलको चरम अभाव हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसको दीर्घकालीन सामाधानका लागि भन्दै नेपालमै रासायनिक मल कारखाना खोल्नेबारे सभाव्यता अध्ययन गर्न अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र तत्कालीन कृषि तथा पशुपन्छी मन्त्री भुसाल सदस्य रहेन गरी ती सदस्य मन्त्रीस्तरीय टोली नै गठन गरे।
रासायनिक मल अभावबारे यस वर्षको घटना प्रतिनिधिमूलक घटना मात्र हो। कृषि मन्त्रालयको तथ्याङ्क अनुसार देशको कूल खेतियोग्य जमिनमा वार्षिक तीन लाख मेट्रिक टन मल आवश्यकता पर्दछ र वार्षिक सात अर्ब रुपैयाँ मलकै लागि बाहिरिन्छ। नेपालका पहाडी तथा हिमाली इलाकाहरूमा विभिन्न औषधी बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थहरू पर्याप्त मात्रामा हुँदा पनि हामी औषधीमा आत्मनिर्भर हुन सकेका छैनौं।
नेपालसहित सारा विश्व कोरोना भाइरससँग जुधिरहेको बेलामा यस सम्बन्धी अध्ययन, अनुसन्धान, खोपको विकास लगायतमा केमिकल इन्जिनियरको आवश्यकता थप महसुस गरिएको छ।
रासायनिक मल, औषधीजन्य सामग्री, निर्माणजन्य सामग्री, नानो टेक्नोलोजी, कागज, चिनी, रबर, पेन्ट, डाइ, वाइन, एसिड, सिसा, कस्मेटिक, फाइबर, रिफाइनरी लगायत यस क्षेत्रसँग सम्बन्धित दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने हेतुले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानले गत वर्षबाट पुल्चोक क्याम्पसमा केमिकल इन्जिनियरिङ कार्यक्रमको सञ्चालन गर्यो। हाल उक्त कार्यक्रममा प्रवेश परीक्षाबाट छानिएका ४८ जना विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्।
छ महिनाको इन्टर्नसिपसहित साढे चार वर्षमा सकिने यो कोर्षका लागि विश्वविद्यालय र पुल्चोक क्याम्पसले ठूलो मात्रामा लगानी गरेको छ। पुल्चोक क्याम्पसको डिपार्टमेन्ट अफ एप्लाइड साइन्स एन्ड केमिकल इन्जिनियरिङ विभाग अन्तर्गत सञ्चालित यो कार्यक्रममा विद्यार्थीको आकर्षण बढ्दै जाने बुझाइ छ।
केही समयअघिसम्म यो कोर्ष अध्ययन गर्नका लागि छिमेकी देश भारतसम्म पुग्नुपर्ने हुन्थ्यो तर अब नेपालमा नै यसको अध्ययन गर्न मिल्ने भएपछि कक्षा १२ को परीक्षा दिएका र इअसको प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीहरू पनि उत्साहित भएका छन्। काठमाडौं विश्वविद्यालयले केही समयपहिले यो कार्यक्रम गरेको भए पनि देशकै ठूलो विश्वविद्यालयले सञ्चालन गरेको हुनाले विद्यार्थी उत्साहित भएका हुन्। लामो समयसम्मको अथक मिहिनेतपछि केमिकल इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा ल्याउन सफल भएकाले आफूहरू उत्साहित भएको र आगामी दिनमा यो कार्यक्रमलाई थप परिस्कृत गर्दै अगाडि लैजान आफूहरू लागिपरेको बताउँछन्, विभागीय प्रमुख प्रा.डा. रामकुमार शर्मा।
नेपालमा यो कार्यक्रम नहुँदा नेपाली विद्यार्थीहरु विदेशी मुलुक (जुन देशमा अङग्रेजी भाषा प्रयोग नै गरिँदैन थियो) सम्म जानुपर्ने हुन्थ्यो। त्यसले गर्दा ग्राजुएट र अन्डर ग्राजुएट दुबै कार्यक्रमका लागि विदेशिने विद्यार्थीलाई भाषाकै ठूलो समस्या हुने गरेकोमा अब यो समस्या सदाका लागि अन्त्य हुने नानो टेक्नोलोजी विशेषज्ञ प्रा.डा. हेमराज पन्तको बुझाइ छ।
अरू इन्जिनियरिङको तलनामा केमिकल इन्जिनियरिङको अध्ययन विश्वमा नै महंगो हुन्छ। भारतको आइआइटीमा यो कार्यक्रमको लागि चार वर्षमा करिब १५ लाख रुपैयाँ, चीनको हर्बिन इन्स्टिच्युट अफ टेक्नोलोजीमा नेपाली १९ लाख रुपैयाँ, अस्ट्रेलियका विश्वविद्यालयहरूमा करिब नेपाली १ करोड २० लाख रुपैयाँ खर्च हुन्छ र त्रिभुवन विश्वद्यिालयमा यो कार्यक्रमका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने छ। साथै, यो कार्यक्रम त्रिभुवन विश्वविद्यालयमा नै सञ्चालन हुने भएपछि केमिकल इन्जिनियरिङ कार्यक्रमका लागि विदेशिने ठूलो रकम नेपालभित्रै परिचालन हुन्छ।
दैनिक जीवनमा उपयोगी हरेक सरसामानहरूको उत्पादन गर्ने कलकारखानाहरूमा केमिकल इन्जिनियरको आवश्यकता पर्ने हुनाले पनि रोजगारीको ठूलो सम्भावना रहेको विश्लेषण गरिँदै छ। नयाँ विद्यार्थीका लागि पूर्वाधारलगायतका काम भइरहेको पुल्चोक क्याम्पसले जनाएको छ। इन्टर्नसिप लागि विभिन्न उद्योगहरूसँग छलफल समेत अघि बढाइसकेको विभागले जनाएको छ। उत्पादित जनशक्तिको व्यवस्थापनदेखि परिचालनसम्म व्यवस्थित तरिकाले गरिँदै लाने हो भने नेपालमाथि उल्लेखित सबै क्षेत्रहरूमा आत्मनिर्भर बन्न सक्दछ। विभागले माघ २९ गते नेपालमा केमिकल इन्जिनियरिङको सम्भावनाबारे विज्ञ तथा आइओइको प्रतिनिधिसहितको टिमको सहभागितामा सेमिनार कार्यक्रम गर्दैछ।
(लेखक हाल पुल्चोक क्याम्पसमा स्नातक तहमा केमिकल इन्जिनियरिङ कार्यक्रम अध्ययन गरिरहेका छन्।