'भैंसी भिरबाट लड्यो' भनेर एउटा चलचित्रको स्कृप्टमा लेखिएको रहेछ। नेपालको भूगोल र गाँउले जीवनशैलीलाई रमाइलो तरिकाले कैद गरिएको त्यस कथामा भैंसी र भिरले अझै नेपालीपन थपिएको थियो।
प्रोड्युसर लगायत स्कृप्ट पढेका जतिले त्यो सिनलाई रमाइलो माने र नेपाली मौलिकता छ भनेर गर्व पनि गरे। सबैले उत्साहपूर्वक सुटिङको तयारी गर्न थाले। भैंसी र भिर नेपालको गाउँमा नपाउने कुरै भएन, त्यसैले प्रोडक्सन म्यानेजरले पनि सुटिङको लोकेसनमै पुगेर चाहिने तयारी गर्ने सोचे।
लोकेसनमा पुगेपछि एकाबिहानै प्रोड्युसर, प्रोडक्सन र डिओपीका टोली मिलेर उपयुक्त भिर र भैंसी खोज्ने तिर लागे। हल्का चिसो मौसममा निर्देशक न्यानो चियाको चुस्की लिंदै गाउँको रमणीय दृष्य हेरेर मंत्रमुग्ध थिए भने कलाकारहरु सेल्फी खिच्दै समाजिक संजालमा पोस्ट गर्नमा व्यस्त भए।
तीन घन्टा बित्दा पनि टोलीबाट केही खबर नआएपछि निर्देशकले प्रोड्युसरलाई फोन लगाए।
प्रोड्युसरले भने 'गाउँलेहरु भैँसी बेच्नै मानेन्, बल्ल बल्ल एकजनाले मान्यो तर बजेटले नभ्याउने गरी महंगो भन्यो। भिर पनि हेर्दा त राम्रै भेटेको छ तर त्यो भिरमा भैंसीलाई कसरी चडाउने भन्ने कुरोनै सोच्नु पर्ने अवस्था छ। लडाउने त झन् परै जावस्, कति मिनेटको सट होला यो सर?'
निर्देशकले टाउको कनाउँदै भने 'बढीमा ३० सेकेन्ड।'
'ए त्यसो भए भैँसीको सट्टा बाख्राले काम चलाउँदा हुन्न र? जाबो तीस सेकेन्डको लागि किन यत्रो खर्च अनि दुख गर्नु?' निर्माताले भने।
यो कुरा सुनेर निर्देशकले एकै सासमा जवाफ फर्काए 'होइन, बाख्राले त मजा नआउँला, एक ठाउँमा भैंसीले हिरोइनलाई घिसार्नु पनि छ। बाख्राले कहाँ मान्छे घिसार्नु सक्छ र?'
एकैछिनको मौनतापछि निर्माता बोले 'मलाई त भोक पनि लागि सक्यो खाना खाँदै सल्लाह गरुम् न त, हामी फर्किन्छौँ।'
खाना खाँदै भैंसी र भिरको समस्या समाधान गर्न लाइट म्यानदेखि, मेकअप म्यानसम्म सबैले आफ्नो जुक्ति र अनुभवले भ्याएजति सल्लाह र उपायहरु सुनाए। कसैले भैँसीको फोटो प्रयोग गर्ने सल्लाह दिए भने कसैले भैँसी जस्तो देखिने लुगा सिलाउने।
कसैले मासु पसलबाट भैँसीको खुट्टा ल्याएर खुट्टामात्र खिचेर काम चलाउन भने, कसैले टाउको मात्र खिच्दा होला भने। तर निर्देशक भने जिउँदै भैंसीलाई भिरबाट खसाल्ने निर्णयमा अडिक थिए। सल्लाह गर्दा गर्दै झिमिक्क साँझ परेपछि निर्देशक झोक्राएर एक्लै चुरोट तान्न थाले।
एकजना निर्देशकका निकट शाकाहारी सहायक निर्देशकले सुटुक्क विनम्र स्वरमा भने ' साँच्चै जिउँदो भैंसीलाई भिरबाट खसाल्ने र? यो त अलि अमानवीय नै हुन्छ। फेरी एनिमल राइट्स्का सदस्यहरुले थाहा पायो भने बदनामनै पो भइन्छ कि?'
छेउमा प्रोड्युसर पनि प्रकट भए, 'यस्तो सिक्वेन्स त सर हलिवुडलाई त मुस्किल पर्छ, हामीले गर्न खोजेर कहाँ हुन्छ! बेकारमा पैसोको मात्र सत्यानास्।'
एकैछिन गहिरो सोचमा परेपछि निर्देशकले भने 'हुन्छ, त्यसो भए यो सिक्वेन्स नै क्यान्सिल गर्नु पर्ला।'
त्यति नै खेर निर्देशकको फोनको घण्टी बज्छ। उताबाट फिल्मका स्कृप्ट राइटर बोल्छन् 'अनि कस्तो भयो भैंसी र भिरको सिन डाइरेक्टर साब, दामी भयो होला है?'
चलचित्रको विकासमा कथा र शैलीसँगै प्रविधि र अर्थको पनि समानान्तर विकास हुन जरुरी देखिन्छ। कमजोर आर्थिक अवस्था र प्राविधिक ज्ञानको कमिका कारण माथिकै उदाहरणमा जस्तै नेपाली चलचित्रले सधैँ सम्झौता गर्नु पर्ने अवस्था छ।
त्यस्तै सम्झौताहरुका कारण पढ्दा र सुन्दा रोचक लाग्ने कथाहरुले फिल्मको रुप लिँदा कथाको सार र भाव गुमाउने गरेको पनि देखिन्छ। चलचित्र बनाउँदाको पहिलो चरण जस्मा कथा र पटकथा लेखिन्छ, प्रविधि र बजेटकै अभावका कारण लेखकले आफ्नो सिर्जनशीलता माथि बन्देज लगाउनु पर्ने अवस्था छ।
नेपाली सिनेमाका लेखकलाई भैंसीलाई भिरबाट खसाउन त गाह्रो हुन्छ भने हिमाल चढेको कथा, ऐतिहासिक कथा, लडाइँका कथा, पौराणिक कथा, सुपरहिरोको कथा, एक्सन, वैज्ञानिक, प्राकृतिक प्रकोपका कथा वा पोस्ट अपोकलिप्टिक कथाहरु लेख्नु भनेको अव्यवहारिक नै हुन्छ।
छोटै भएपनि यस्ता फिल्म बनाउन प्रयत्न पनि बिरलै गरेको पाइन्छ। त्यसै कारणले पनि नेपाली सिनेमाका जन्रहरु प्रेम कथा, कमेडी, सोसियल ड्रामा, वा हरर फ्लिक मै ध्रुवीकरण हुन गएको छ।
तर विश्वभरिका चलचित्र निर्माणका प्रकृया र प्रणालीलाई नियाल्ने हो भने प्रविधि, अर्थ र चलचित्र एकअर्काका परिपूरक हुन्। चलचित्र एक अमूर्त कल्पना हो भने त्यसलाई मूर्त रुप दिन अर्थ र प्रविधिको विकास गरिएको छ। त्यही प्रविधिको विकासले आर्थिक उन्नतीको रुप पनि लिएको छ।
सर्जकको फिल्मी सपनालाई पूरा गर्ने कोशिशमा अनेकौँ आविष्कारहरु र प्रावधिक प्रगतिहरु भएका छन् जस्ले अहिलेको विश्वलाई नै नयाँ रुप दिनुका साथै हाम्रो दैनिकीमा समेत ठूलो प्रभाव पारेको छ।
हाम्रो मोबाइलमा भएका क्यामेरामा हुने स्टेबलाइजर,थ्रीडी फोटो खिच्ने एप, फेस्बुक मेसेन्जर, इन्स्टाग्राम, टिकटकमा भएका अनुहार परिवर्तन गर्ने फिल्टर यस्का केही पछिल्लो उदाहरणहरु हुन्। एक दशक अगाडि मात्र दश सेकेन्डको भिडिओमा कसैको अनुहारमा लिपिस्टिक मात्र थप्नु परे पनि कम्प्युटरमा घन्टौं लाग्थ्यो भने अहिले हाम्रो फोनले सोही काम रियलटाइममै गरिदिन्छ।
जेम्स क्यामरनले फिल्म 'अवतार' लेख्दा उनी चाहन्थे कि त्यसमा खेल्ने मानव कलाकार र तिनका अवतारका रुपमा प्रस्तुत गरिएका कम्प्युटरले बनाइएका प्राणीको हाउभाउमा अन्तर नआओेस्। तर त्यस ताकाको प्रविधिले यस्तो गर्न सम्भव थिएन।
एक दशकको निरन्तर प्रयासपछि उनले एउटा नयाँ प्रविधिको विकास गरे जस्लाई पर्फमेन्स क्याप्चर भनियो। यो प्रविधिले कलाकारको शारीरिक हाउभाउसँगै अनुहारको भावलाई समेत डिजिटल रुपमा बनाइएका प्राणीमा प्रक्षेपण गर्न सम्भव भयो।
सन् २००९ मा २३.७ करोड डलरमा पूरा भएको 'अवतार' चलचित्रले २.७९ खर्ब डलर कमाए भने ९ वटा बिधामा अस्कर अर्वाड जित्न पनि सफल भयो। यही प्रविधिको परिमार्जित स्वरुप आजको फोनका क्यामरा एपहरुमा देख्न थालेका छन्।
यही प्रविधिलाई अझै उन्नत बनाउन एप्पल कम्पनीको कोशिश अझै जारी छ र आइफोनहरुमा 'एनिमोजी' को रुपमा यो प्रविधि देख्न पाइन्छ।
एउटा कलाकारको फिल्मी सपनालाई पूरा गर्न भएका आविष्कार यो बाहेक अनगिन्ती उदाहरणहरु छन्। आविष्कारको प्रकृयामा वैज्ञानिक, इन्जिनियरका साथै स्वास्थ्यमा समेत फाइदा भएका उदाहरणहरु छन्।
यस्तै आविष्कारहरुलाई उन्नत रुप दिएर व्यापारिक र आर्थिक उन्नतीको रुप लिएको छ। त्यसैले चलचित्रको विकासले देशको प्रविधि मात्र नभई अर्थमा पनि परिवर्तन ल्याउने सम्भावना राख्दछ।
एक्काइसौँ शताब्दीमा आएर चलचित्र बनाउँदा जिउँदो भैँसीलाई भिरबाट खसाउन खोज्नु वा प्रविधिको अवाभको कारण नौलो सिर्जना गर्न नखोज्नु हाम्रो रुढिवादी, र पिछडिएको सोच हो। संकुचित सोचले रचनात्मक शक्तिमा पनि प्रभाव पार्छ र हाम्रो सिर्जनामा पनि त्यही सोचहरुको झझल्को आउन सक्छ।
नेपाली चलचित्रकर्मीहरुले आफ्नो कल्पनालाई अझै फराकिलो र महत्वकांक्षी बनाउन आवश्यक छ। ती महत्वकांक्षी फिल्मी सपनाहरुलाई पूरा गर्न नयाँ प्रविधिहरु अंगाल्न पनि अपरिहार्य छ। २०२० सम्म आउँदा यस्ता प्रविधिहरुले अझै उन्नत र सस्तो रुप लिइसकेको छ।
अनरियल इन्जिन, युनिटी जस्ता कम्पनीहरुले फिल्म उद्योगलाई ध्यानमा राखी सहज रुपमामा एनिमेसन र भर्चुअल सेटहरु बनाउने सफ्टवेयरहरु तयार गरिसकेका छन्। पहिलो सय वटा कम्प्युटरलाई १० दिन लाग्ने काम अब एउटै कम्प्युटरले एक घन्टामै गर्न सक्ने अवस्था छ।
अंग्रेजी राम्ररी बुझ्न हुन्छ भने यी सफ्टवेयर सिक्न चाहनेहरुलाई इन्टरनेटमा सित्तैमा सिक्न सक्ने प्रशस्तै भिडिओहरु उपलब्ध छन्। डिजिटल क्यारेक्टर डिजाइन र एनिमेसन सिक्न चाहानु हुन्छ भने जेडब्रस, माया, ब्लेन्डर जस्ता सफ्टवेयर सिक्न सकिन्छ।
त्यस्तै भीएफएक्स सिमुलेशन जस्तै भुइँचालो गएको, बाढी पहिरो गएको, आगलागी, सुनामी आदि बनाउन परेमा थ्री-डीज म्याक्स, हउडिनी जस्ता सफ्टवेयरहरु उपलब्ध छन्। यस्ता सफ्टवेयरमा पोक्त जनशक्तिको उत्पादनले नेपाली सिनेमा जगतमा ठूलो टेवा पुग्न सक्छ।
चलचित्रलाई प्रविधिक कला पनि भन्ने चलन छ। चलचित्रको लागि सिर्जनशीलता र प्रविधि रथका दुई पांग्रा हुन्। यी दुई आयामको सन्तुलित विकास बिना चलचित्र सम्भव छैन। चलचित्र कला हो भने प्रविधि कला बनाउने उपकरण।
उपकरण जति कुशल, प्रभावकारी र सुलभ हुन्छ कलाकारिताको सम्भावना पनि फराकिलो हुँदै जान्छ। नेपाली चलचित्रमा जति पनि उपकरणहरु प्रयोग गरिन्छ, सबै विदेशी नै हुन्छन्। क्यामरा, लाइट, माइकदेखि लिएर मेकअपका सामानहरु सबै आयातित नै हुन्छन्।
सीमित बजेटका कारण ती उपकरणहरु सधैँ नेपाली सिनेमाका लागि अपर्याप्त र महंगो नै हुन्छन्। त्यसैले चलचित्रमा भएको सिर्जनशील उर्जालाई सस्तो स्वदेशी प्रविधिको विकासमा मोड्न पनि जरुरी छ।
हालसालै थ्रीडी प्रिन्टरहरुको विकास तीव्र रुपमा भइरहेको छ। यस्ता प्रिन्टरको प्रयोगले कम्प्युटरमा आफूलाई चाइने सामान डिजाइन गरेर तुरुन्तै प्रिन्ट पनि गर्न सकिन्छ। ठूलै उपकरण नभए पनि लाइटका सामान, क्यामराका लेन्स रिगहरु, अथवा क्यामरा स्लाइडर, रिग, आदि उत्पादनबाट सुरु गर्न पनि सकिन्छ।
स्वदेशमा बनेका सामान सुलभ र सस्तो पर्न जानुका साथै रोजगारी पनि सिर्जना गर्न सकिन्छ। मोबाइल फोटोग्राफर र युट्युब भ्लगरहरुलाई केन्द्रत प्राविधिको विकास पनि गर्न सकिन्छ।
चलचित्रकर्मीको यस्तो उत्पादनशील प्रयासमा देशमा रहेका वैज्ञानिक तथा इन्जिनियरहरुलाई पनि समावेश गर्न सकिन्छ। नविन उत्पादनका अरु ढोकाहरु पनि खोल्ने सम्भावना बन्छ। राज्यले पनि चलचित्रको विकास भनेको मनोरञ्जन र कलासँग मात्र सम्बन्धित नभई यस क्षेत्रको असीमिततालाई पहिचान गर्न सक्छ।
चलचित्र क्षेत्र भनेको वास्तवमा नौटंकी गर्नेहरुको जमात मात्र होइन, देशका कृयाशील र सृजनशीलताको उर्भर क्षेत्रको रुपमा पनि स्थापना हुन सक्छ।
फिल्म खिच्ने क्यामरा कम्पनी आरि एलेक्साले थुप्रै वैज्ञानिक तथा इन्जिनियरिङका पुरस्कार जितेका छन् भने, डिजिटल थ्रीडी शल्याक्रिया गर्ने माइक्रोस्कप पनि बनाएका छन्। त्यस्तै चलचित्र खिच्ने रेड क्यामरालाई नासाले अन्तरिक्षमा अध्ययनका लागि पठाएका थिए।
चलचित्र बनाउने विधि पनि हामीले विदेशीहरुबाटै सापटी लिएका छौँ। परम्परागत चलचित्र निर्माणको पद्धति भनेको पहिला कथा, त्यसपछि लोकेसन र कलाकारको चयन, अनि सुटिङ र सम्पादन क्रमवद्ध रुपमा गरिन्छ। तर नेपाली चलचित्रको बजेटमा यो विधि सधैँ उपयुक्त नहुन पनि सक्छ।
कथाकारको कल्पनासँग मेल खाने लोकेसन वा घटना क्रमलाई सुट गर्न धेरै महंगो पर्न जाने वा नपाउने अवस्था पनि आउन सक्छ। विदेशीहरुले जस्तो जे कल्पना गर्यो त्यो पूरा गर्न सेट र भीएफएक्स गर्ने सार्मथ्य हामीमा छैन।
त्यसैले अर्को विकल्प भनेको कथा लेख्नुभन्दा अगाडि सुटिङ गर्ने लोकेसनमा गई त्यहीको भूगोलमा आधारित कथा लेख्न सकिन्छ। यस्तै अरु पद्धतिहरु खोजी गर्नु पनि आवश्यकता छ जस्ले नेपाली चलचित्रको सानो बजेटमा सीमित रही उत्कृष्ट फिल्मको निर्माण गर्न सकियोस्।
नेपाली चलचित्रमा मौलिकताको कमि रहेको सधैँ बहस बन्दै आइराखेको छ। सारंगी र मादलमा अंग्रेजी गाना बजाए पनि त्यसमा नेपालीपन रहने हुनाले कतै नेपाली कथा, शैली सँगै प्रविधि र पद्धतिको विकासले नेपाली चलचित्रलाई भिन्दै मौलिकता प्रदान गर्ला कि?