राष्ट्रकवि माधव घिमिरेले उहाँको चर्चित गीत 'उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले, जान्दिनँ म एकैचाटि के भो कुन्नी कहिले...' गायक तथा संगीतकार नारायण रायमाझीसँग रेकर्ड गराउने क्रममा सोधे 'प्रेम गरिन्छ कि हुन्छ?'
रायमाझीले जवाफ फर्काउन नपाउँदै घिमिरे आफै जवाफ दिए 'प्रेम त हुन्छ।'
हो, प्रेम त हुन्छ। गरिने कुरा त देखावटी मात्रै हो। जहाँ सर्त रहित प्रेम अनि भएको स्वतः आभास हुन्छ, त्यही प्रेम नै प्रेम हो वा प्रेमको वास्तविकता हो।
नजिकिँदै गरेको भ्यालेन्टाइन डे र यसको सप्ताहव्यापी प्रणय दिनहरुको सान्दर्भिकता यस लेखमा उनिदै जाने कोशिश गरिएको छ।
कुनै एउटा चर्चित टेलिभिजन कार्यक्रममा, प्रस्तोता विश्वप्रकाश शर्माले ९३ वर्षीय वरिष्ठ पत्रकार, सामाजिक अभियन्ता, लेखक भैरव रिसालकी धर्मपत्नी सुशीला रिसाललाई सोधे '६१ वर्षदेखि सँगै हुनुहुन्छ, पहिले र अहिलेको प्रेममा केही फरक परेको छ त आमा?'
सुशिला रिसालले जवाफमा भनिन् 'प्रेम कहिल्यै बुढो हुँदैन। हाम्रो ६१ वर्षीय प्रेम यात्रा अझै परिपक्व, मजबुत र झन् झाँगिदै गइरहेको महशुस भइरहेको छ।'
भैरव रिसालले त्यसैमा थपे 'मन र शरीरमा फरक छ। शरीर बुढो भएपनि मन त कहाँ बुढो हुन्छ र? प्रेम त पवित्र मनबाट उत्पन्न हुने अव्यक्त भावहरुको अनुभूति न हो।'
यीनै प्रसंगका बीच प्रणय सप्ताह चलिरहेकै समयमा एकजना तन्नेरी युवतीले आफ्नो फेसबुकको स्टाटसमा लेखेकी थिइन् 'मुस्कुराउने अभिनय अझै सकिएको छैन।'
हो, उनले लेखेको स्टाटसको अनेक अर्थ लाग्लान् तर मैले यहाँ जोड्न खोजेको प्रसंग हो 'प्रेम अभिनय होइन, यो त आभास हो'। जहाँ थाहै नपाइ, अव्यक्त रुपमै तपाईंभित्र त्यसको निश्वार्थ अनि सर्त रहित आभास भइरहेको हुन्छ, महशुस भइरहेको हुन्छ।
हो, संसारमा प्रेमको सन्दर्भलाई लिएर प्रेमि र प्रेमिका बीचका प्रसंगहरु मात्रै बढी जोडेर चर्चा गर्ने गरिन्छ, तुलना गरिन्छ, लेखिन्छ अनि बोलिन्छ। तर निसर्त प्रेमको आभास जो कसैसँग पनि हुन सक्छ जस्तै बुबाआमा, दाजुभाइ दिदीबहिनी, मित्र, सन्तान, प्रकृति, प्राणी आदि इत्यादी।
हामी सबैलाई थाहा छ, आमाबुवालाई गर्ने प्रेम र सन्तानहरुलाई गरिने प्रेममा नाफा नोक्सान, फाइदा घाटा वा कुनै लेनदेनका उपहारसँग हामी दाज्दैनौँ। बदलामा केही मिलोस भन्ने अपेक्षा पनि राख्दैनौँ।
तर यो वैश्य युगमा अधिकांश प्रेमहरु नाफा र घाटामा आधारित भइरहेका छन्। प्रेमबाट कति लाभ होला, के प्राप्त होला? फाइदा र घाटाको हिसाव किताब सहित आजभोलि लालचामा प्रेमलाप भइरहेको देखिन्छ।
खास प्रेम गर्ने उमेर कुन हो र कहिले प्रेम गर्ने भन्ने प्रश्नको जवाफ आफ्नो आफ्नो भोगाइ र अनुभवमा फरक फरक पर्न सक्ला। तर कुनै पनि परिवेशको कुरा गर्दा आफ्नो बुद्धि, विवेक र सुझबुझले निर्णय लिन सक्ने मन मस्तिष्कको परिष्कृत अवस्थामा भएको प्रेम सफल हुने सम्भावना निकै बढी रहन्छ भन्ने विश्वास र मान्यता सहित थुप्रै उदाहरणहरु भेटिन्छन्।
मानौँ उमेरकै कुरा निकाल्ने हो भने २५ नकटेरै गरिने प्रेम त्यति सफल भएको पाइँदैन। किनकि त्यो मात्र इन्फ्याचुयसन हो अर्थात् विपरित लिंगीप्रतिको क्षणिक मोह मात्र हो। जहाँ मोहमा आफ्नो आफ्नो स्वार्थ पूरा भएपछि क्षणभरमै प्रेम समाप्त हुन सक्छ।
तर परिपक्व मष्तिष्क र आत्माको सही विश्लेषणबाट एकअर्काको भौतिकभन्दा पनि आत्मिकतालाई महशुस गरेर भएको प्रेम सधैँ अमर र दिगो भएको संसारभरि उदाहरणहरु रहेका छन्।
यसकारण, युवायुवतीहरुलाई आजभोलि सबैले भन्ने गरेको पाइन्छ, प्रेम हुन्छ कि गरिन्छ? यदि गरिएको प्रेम हो भने यसलाई मोह मात्र ठानेर वास्तविक आभाषको प्रेममा सुझ बुझ सहित नयाँ सुरुआत गर्न यस वर्षको प्रणय दिवसले सबैलाई प्रेरणा देओस्। प्रणय सप्ताह सहित प्रणय दिवसको शुभकामना।