प्रणय सप्ताह सुरु भैसकेको रहेछ। ८ फेब्रुअरीको दिन १०:३० मा बागबजार मिटिङमा पुग्नु पर्ने थियो। घरमा नै १० बजेर २० मिनेट गएको थियो। हतार हतार मोबाइलमा नेट कनेक्ट गराएर पठाओ बोलाएँ।
हिजोआज धेरैलाई यात्रा सहज बनाएको छ पठाओले। अन्दाजी ३५ वर्षीय दाइ, दाइ भनेर सम्बोधन गरेँ सुरुमा नै। 'दाइ एकदम हतार भएको छ, सकेसम छिटो लग्दिनु न' मैले त्यसो भन्न हुन्थेन होला तर मलाई जहाँ पनि समयमा नै पुग्नु पर्छ। अरुले कमेन्ट गर्ने ठाउँ सकेसम्म नदिने मान्छे म।
मैले बोलेर नसक्दै दाइको प्रश्न आयो 'केको मिटिङमा जान हो बहिनी? कि अफिस नै बागबजार हो?'
मैले 'होइन दाइ मेरो सानो मिटिङ छ, हजुरलाई सबै भन्न आवश्यक छैन। बरु छिटो पुर्याउने केशिश गर्नुस्।'
मैले यति मात्रै भनेको थिएँ 'भ्यालेन्टाइन सप्ताह सुरु भएको छ, बीएफलाई भेट्न हो? यतै लिन बोलाको भए नि हुन्थ्यो नि। कि घरमा थाहा हुन्छ भनेर हो?' यस्तो प्रश्नको ओइरै लाग्यो।
एकछिन आँखा देखिनँ तर के गर्नु शान्त हुनु नै थियो। 'यो मेरो पर्सनल कुरा हो दाइ, तपाईंलाई इन्टरफेयर गर्न आवश्यक छैन,' मैले भनेँ।
'मैले नराम्रो भनेको होइन बहिनी, आजकालका युवायुवतीको प्रेम देख्दा यस्तो भन्न बाध्य भएको हो। तर तपाईंको फोनबाट थाहा भयो स्वास्थ्य सम्बन्धी महत्वपूर्ण काम रहेछ। सरी ल।'
यति भनेपछि मैले माफी त दिनै पर्यो। 'ओके' भनेर म बागबजार झरेँ।
लगभग १२ बजे मिटिङ सक्काएर म पब्लिक गाडीमा फकिर्दै थिएँ। कुरा त बिहानको जस्तै। साँच्चै भ्यालेनटाइन सप्ताह सुरु भएको रहेछ भन्ने लाग्यो।
सार्वजनिक बसमा बसेर त्यस्ता कुरा गर्नु उचित हुन्छ, हुँदैन त्यो सायद तिनीहरुको दिमागले सोच्न भ्याएन होला। कतिपय कुरा आफुमा मात्रै सीमित राख्दा राम्रो हुन्छ तर हिजोआज त आफू नै उदांगो हुनेगरी साथीसँग कुरा हुने रहेछ।
अनि, सोच्न थालेँ...
कसैले कसैलाई माया गर्नू, कसैसँग सँगै हिड्नू, अनि सँगै बस्दैमा आकाशै खसेको देख्ने दुनियाँ पनि हाम्रो अगाडि छ। अनि यो सबको कुनै प्रवाह नगरी आफू नै उदांगो हुने दुनियाँ पनि हाम्रै अगाडि। यो दुवैको बीचमा तपाईं हामी जो दुवैमा पर्दैनौँ, त्यो जमातलाई यो पचाउन अलि गाह्रो हुने रहेछ।
खासमा प्रणय दिवस वा प्रेम दिवस, १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ। तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितियले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे। उनको बुझाइ थियो अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्।
त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन्, युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामुहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ईपू २७० को फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो।
प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको विश्वास गरिन्छ। विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ। तर हिजोआज यो विकृति बनेको छ।
मानिस सामाजिक प्राणी हो। समाजमा घुलमिल हुन र जीउनको लागि मानवीय आवश्यकता पूरा गर्नुपर्ने हुन्छ। त्यो आवश्यकता पूरा गर्ने क्रममा हर कुरासँग प्रेम बसेको हुन्छ। तर बिडम्बना, आज समाजमा यसको सन्तुलन बिग्रँदै गएको छ।
जसको नकारात्मक प्रभाव मान्छेको मानवीय मूल्य, नैतिकता र सामाजिक संरचनामा समेत परिरहेको छ। एउटाको गल्तीले हजारौंको हेराइ बिग्रेको छ। एउटाको कामले हजारौंलाई दोषीको बिल्ला भिराएको छ र बिना कसूर सजाय दिएको छ।
आफ्नो सपना बिग्रँदा र छाती चर्कँदा सन्तानलाई के भयो होला? कस्तो अवस्थामा छन् होला? भन्ने आशंकामा रातभर जागा रहने आमाबुवालाई वास्ता नगर्ने युवायुवती रोज डे, प्रपोज डे, किस डे, चकलेट डे र भ्यालेन्टाइन डेको व्यग्र प्रतिक्षामा बसिरहेका हुन्छन्।
उनीहरुलाई जन्म अनि कर्म दिने आमाबाबा होइन एउटा रोज दिनेको मायाले तानेको हुन्छ। त्यसो त बुवाआमालाई पनि सम्झन्छन्। तर वर्षको एक दिन। आमाको मुख हेर्ने र बुवाको मुख हेर्ने दिन। त्यो पनि अरुलाई देखाउनको लागि सामाजिक संजालमा पोष्ट्याउनको लागि मात्रै।
यसो भन्दै गर्दा ममाथि आरोप पनि लाग्न सक्ला तर यो धेरैसँग मेलखाए कै कुरा हो। अहिलेको समाज यै बाटोमा हिँडेको देखेकै कुरा हो।
अनि कसैले कसैलाई स्वच्छ मनले माया गर्नु विकृति होइन। तर हाम्रो समाजले त्यो बुझ्न सकेको छैन या त हामीले बुझाउन सकेका छैनौँ। 'फलानोको त लभ परेको थियो रे, त्यो केटासँग फलानो ठाउँमा गएर बसेकी, बसेको। अब त्यो अकार्को जुठोलाई कस्ले हेर्छ? फलानी त आज योसँग मस्किँदै हिँडेकी थिइ निको चाल छैन, छिट्टै बिहे गर्दिए हुन्छ।' यसैगरी कुरा काट्ने धेरै हुन्छन्। धेरै सुनिन्छ।
पश्चिमी देशबाट सुरु भएको भ्यालेन्टाइन डे नेपालमा पनि संस्कृतिको रूपमा विकास हुँदै गएको छ। विशेषगरी युवाहरूबीच लोकप्रिय भ्यालेन्टाइन डेमा विकृति पनि बढ्दै गइरहेको छ।
प्रेमलाईभन्दा क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमा राखेर गरिने गतिविधिलाई नै प्रणय दिवस भनेर बुझ्ने र मनाउने गरिएको छ। जुन अति नै खतरनाक हो। जसले गर्दा पनि समाजमा विकृति फैलिदै गएको छ।
प्रेमलाई कुनै सूत्रमा बाँध्न सकिँदैन। प्रेमको कुनै हद र सीमा पनि हुँदैन। यसको नाप गर्ने कुनै एकाई पनि छैन। न त यसको सुरु छ, न यसको कुनै अन्त्य नै। प्रेम भनेको जीवन हो, यदि आमालाई पेटको बच्चाप्रति प्रेम नहुँदो हो त, जीवन कहाँ रहन्थ्यो? जीवन कुनै नियमले चल्दैन। त्यसैले प्रेमको पनि कुनै नियम हुँदैन।
युवाका लागि लक्षित प्रेम दिवसलाई धेरैले प्रेम गर्ने दिनको रुपमा मात्रै बुझ्ने गरेका छन्। तर वर्षमा एक दिन मात्रै होइन, माया गर्ने मनको लागि हरेक दिन प्रेम दिवस हुनुपर्छ।
मायामा कुनै स्वार्थ र सर्त हुनु हुँदैन। मायाको अर्थ मन पराउनु मात्र होइन, हृदयको मागलाई स्वीकार गर्नु हो। माया हुँदै नहोस्, भएपछि सधैँभरिलाई होस्।
जे जस्तो डे र दिवस भए पनि यस्ता अवसरमा यस्ता दिवसले स्वार्थी मन सबैलाई निःस्वार्थ माया गर्न सिकाओस्। पत्थर बन्दै गइरहेको मानव मुटुमा थोरै भए पनि प्रेमभाव भरियोस्। 'ह्याप्पी भ्यालेन्टाइन डे!'