सन्दर्भ: दशौं विश्व रेडियो दिवस
सन् २०२० मा अमेरिकाको पेन्सिलभानियाबाट सुरू भएको पहिलो औपचारिक रेडियो स्टेसनले १ सय वर्ष पूरा गरेको छ।
विश्व रेडियो प्रसारणको १ सय वर्ष पूरा भएको छ भने नेपालको रेडियो प्रसारणको ७० इतिहासले ७० वर्ष पार गरेको छ।
फेब्रुअरी १३ अर्थात् आजको दिन संयुक्त राष्ट्रसघंले रेडियो दिवस मनाउन सुरू गरेको पनि १० वर्ष पूरा भएको छ।
नेपालमा रहेका ३ सय साठीभन्दा धेरै सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रशारक संघ अकोरावले प्रत्येक वर्ष विश्व रेडियो दिवस धुमधामका साथ मनाउँदै आइरहेको छ।
यस वर्ष विश्व महामारीको रूपमा रहेको कोभिडको कारण केही प्रदेशमा भौतिक उपस्थितिमा र केन्द्रीय स्तरमा भर्चुअल्ली विश्व रेडियो दिवस मनाउने निर्णय गरेको छ। विश्वका अन्य मुलुकसँगै नेपालमा पनि रेडियो दिवस मनाइरहँदा नेपालका रेडियोहरूको बारेमा केही चर्चा गर्नु आवाश्यक भएको छ।
नेपालमा रेडियो
वि.स. २००७ सालमा राणाविरोधी आन्दोलन चलिरहँदा विराटनगरको जुटमिलबाट प्रजातन्त्र रेडियोको नाममा सुरू भएको रेडियो प्रसारण प्रजातन्त्र स्थापनापछि सिंहदरबारमा सारियो र नेपाल रेडियोको नाममा प्रसारण सुरू भएको थियो।
रेडियो नेपाल, नेपाल रेडियोको नाममा प्रसारण सुरू भएको पनि ६९ वर्ष पुगेको छ। २०५४ सालमा नेपाल वातावरण पत्रकार समूहले रेडियो सगरमाथा प्रसारणको अनुमति लिएसँगै अहिले नेपालमा प्रसारण अनुमति लिने रेडियोको संख्या करिब १ हजार पुगेको छ। सामुदायिक रेडियो प्रसारक संघमा आवद्ध हुने सामुदायिक रेडियोको सङ्ख्या ३६० भन्दा धेरै छ।
नेपालमा रेडियोको प्रभावकारिता
नेपालजस्तो अल्पविकसित मुलुकमा सूचना र सञ्चारको प्रभावकारी माध्यम बनेको छ रेडियो।
काम गर्दा खेतको आलीमा होस् वा घास बोक्ने डालीमा होस् काम गर्दै सजिलै सुन्न सकिने माध्यम हो रेडियो।
हिजो रेडियो नेपाल, अलइन्डिया रेडियो र बिबिसीमा भर पर्ने स्रोताहरू अहिले आफ्नै आवाज आफ्नै गाउँघरको रेडियोबाट सुन्न सक्ने भएका छन्।
गोरु हराएको सूचनादेखि मेलापातका सूचनासम्म, आरनको विज्ञापनदेखि सोह्र श्राद्धसम्मको सूचना दिने काम सामुदायिक रेडियोले गरिरहेका छन्।
साथै, सञ्चार माध्यमको मुख्य काम जनताको कुरा सरकारलाई अथवा नीति निर्माण तहमा बसेकालाई सुनाउने र नीति निर्माण तहमा रहेकाले गरेका कार्यहरू जनतालाई जानकारी गराउने सेतुको कार्य रेडियोहरूले गरिरहेका छन्।
अझ रेडियोमा केन्द्रित रहेर कुरा गर्दा व्यापारिक रेडियोको तुलनामा सामुदायिक रेडियोहरूले महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
अझ तथ्यांकले भन्छ विकासको हिसाबले सबभन्दा पछाडि पारिएको कर्णाली प्रदेशमा सञ्चालनमा रहेका ४२ वटा रेडियोहरूमध्ये ४१ वटा रेडियोहरू सामुदायिक रेडियो रहेका छन्।
समुदायको आवाज प्रतिबिम्बित गर्नका लागि सामुदायिक रेडियोहरू महत्वपूर्ण सारथी बनेका छन्, सामुदायिक रेडियो समुदायका मानिसहरूको दु:ख सुखका साथी बनेका छन्।
रेडियोहरूले बिहान भालेको झिसमिसेदेखि बेलुका निन्द्रा नपुरेञ्जेलसम्मको समयमा साथ दिइरहेका छन्।
मानिसहरू स्वभावैले आफ्नो नजिक भएको घटनाक्रमहरू देख्न चाहन्छ, पढ्न चाहन्छ र सुन्न चाहन्छ। त्यसको लागि पनि सामुदायिक रेडियो महत्वपूर्ण साधन बनेका छन्।
अझ विपद्को समयमा रेडियोहरूले खेलेको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन। विश्व महामारीको रूपमा रहेको कोभिड-१९ अर्थात कोरोना भाइरसको कारण मुलुक ठप्प भएको अवस्थामा देशभरका सामुदायिक रेडियोले यो भाइरसको कारण कसरी बच्न सकिन्छ भन्ने बारेमा प्रभावकारी रूपमा चेतना दिने काममात्रै गरेन विद्यार्थीहरूलाई घरमै बसेर पढाउने काम समेत गर्यो।
२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको समयमा होस् वा तराईमा आएको बाढीको समयमा जनताको सूचनाको हकलाई प्रत्याभूत गराउने सशक्त माध्यमको रूपमा नेपालका रेडियोहरूले आ-आफ्नो भूमिका निर्वाह गरे।
भूकम्प गएको समयमा त नेपालका सामुदायिक रेडियोहरूले बारीको पाटामा बसेर समेत जनताको सूचनाको भोकलाई मेटाउने काम गरे।
सञ्चारका अन्य माध्यमहरूले प्रभावकारी काम गर्न नसकेको अवस्थामा समेत रेडियोहरूले अझै आफ्नो लोकप्रियता र महत्वलाइै स्थापित गर्ने काम गरेका छन्। नेपालमा करिब ७० भन्दा बढी भाषाभाषीमा अहिले पनि सामुदायिक रेडियोहरूले कार्यक्रम र समाचारहरू उत्पादन र प्रसारण गरिरहेका छन्।
जसले नेपालको भाषाको विकास र कला संस्कृतिको संरक्षणमा ठूलो भूमिका खेलिरहेका छन्।
यसकारण पनि सञ्चारका अन्य माध्यमको तुलनामा रेडियोहरूको महत्वपूर्ण रहेको कुरामा दुईमत छैन।
नेपालमा सामुदायिक रेडियोहरूको सङ्ख्यामा मात्र वृद्धि भएको छैन यसले गुणात्मक फड्को पनि मारेको छ।
धादिङको किसानहरू लक्षित कृषि रेडियो होस् वा पाल्पाको रेडियो मदनपोखरा, चितवनको रेडियो माडी, महिलाहरूले मात्र सञ्चालन गरेको रेडियो मुक्ति होस् वा दलितहरूले सञ्चालन गरेको रेडियो जागरण होस् नेपालमा नमूना रेडियोको रूपमा रहेका छन्।
यसका साथै नेपालका ३ सय साठीभन्दा धेरै सामुदायिक रेडियोहरू आज जनताको आवाज बनेर घर-घरमा पुगिरहेका छन्।
सामुदायिक रेडियोका चुनौती
नेपालमा सामुदायिक रेडियोहरूको सङ्ख्यामा त उल्लेख्य वृद्धि भएको छ, त्यो सगँसँगै रेडियोहरूमा चुनौती पनि थपिँदै गएका छन्।
पहिलो संविधान सभाको निर्वाचनपछिको समयमा राजनीतिक प्रतिस्पर्धाको आधारमा रेडियो खोल्ने क्रम तीव्र भयो, जसका कारण एउटा सानो सहरमा पनि धेरै रेडियो स्टेसनहरू स्थापना गरिए।
रेडियो स्टेसनको सङ्ख्या धेरै तर सीमित स्रोत र साधन, दक्ष जनशक्तिको अभाव, बिजुलीको समस्या जस्ता कारणहरूले गर्दा सामुदायिक रेडियोहरूको अवस्था दिनानुदिन धरासायी बन्दै गइरहेको छ।
त्यसो त नेपालमा अझै पनि स्पष्ट रेडियो नीति बनेको छैन। रेडियो नीतिको अभावको कारण स्वघोषित रूपमा आफूले आफूलाई व्यापारिक वा सामुदायिक रूपमा व्याख्या गरिरहेको अवस्था छ।
विज्ञापन बजारको अभावको कारणले र अस्वस्थ प्रतिस्पर्धाको कारण पनि सामुदायिक रेडियोहरू समस्यामा छन्।
रेडियोको व्यापार विस्तार गर्ने भनेर खोलिएका विज्ञापन एजेन्सीले समेत सामुदायिक रेडियोहरूलाई ठग्ने काम गरिरहेका छन्, एकातिर अत्यन्त सस्तो मूल्यमा विज्ञापन बजाउनुपर्ने अर्कोतर्फ बेलामा भुक्तानी नदिने समस्याले आक्रान्त छन् सामुदायिक रेडियोहरू।
माथि उल्लेख गरिएका त बाह्य कारण भए, सामुदायिक रेडियोको बारेमा सोच्दा अब हामीले रेडियोले दिने कन्टेन्टको बारेमा पनि सोच्नुपर्ने बेला भएको छ।
हामी नाममा आफूलाई सामुदायिक दाबी गरिरहँदा हामीले दिने विषयवस्तु कत्तिको सामुदायिक छन् त ?
हामीले दिने विषयवस्तु समुदायका मानिसले कत्तिको रुचाएका एकपल्ट आफूलाई नियाल्नुपर्ने भएको छ।
विषयवस्तु र स्थानीय सहभागिताको आधारमा अब नेपालका सामुदायिक रेडियोहरूले काम गर्नुपर्ने बेला भएको छ। त्यतिमात्रै होइन अहिलेको रेडियोको मुख्य समस्या भनेको बिना आधार र भौतिक पूर्वाधार बिना खुलेका रेडियोहरू हुन्।
जसले नेपालमा रेडियोको सङ्ख्यामा त उल्लेख्य वृद्धि गर्यो तर गुणात्मकतामा अझै पनि ध्यान दिन सकेको छैन।
नेपालमा विधागत रेडियो
अब हामीले नेपालमा विधागत रेडियोको बारेमा सामान्य रूपमा छलफल र बहसमात्रै होइन, स्पष्ट कार्ययोजनाको साथ नेपालमा सामुदायिक रेडियोहरूलाई विधागत रूपमा काम गर्नको लागि प्रेरित गर्नुपर्ने समय भएको छ।
धादिङमा रहेको कृषि रेडियो होस् वा पालुङमा रहेको रेडियो पालुङ, बुटवलमा महिलाहरूले मात्र सञ्चालन गरेको रेडियो मुक्ति, सबैले खासगरी एउटा विषय र क्षेत्रमा मात्र केन्द्रित रहेर रेडियो सञ्चालन गरिएका छन्।
रेडियो सञ्चालनको लामो समयमा पनि यी रेडियोहरू कार्यक्रम उत्पादन र सञ्चालनका क्षेत्रमा अगाडि रहनु एउटा विषय केन्द्रित रहेर नै भएको कुरामा दुईमत छैन।
यो विश्व रेडियो दिवस सगँसँगै राज्यले स्पष्ट रूपमा रेडियो नीति तयार पारी सामुदायिक रेडियोको वर्गीकरण गरी केही अनुदानको व्यवस्था गर्नु जरूरी छ।
स्थानीयस्तरमा सञ्चालन हुने सामुदायिक रेडियोहरूले अस्वस्थ प्रतिस्पर्धा होइन, एउटा वा दुइटा विषयमा केन्द्रित हुँदै स्थानीय सहभागिता र स्थानीयस्तरले खोजेको सामग्री उत्पादन र प्रसारणमा जोड दिएर प्रतिस्पर्धाको भावना हटाई रेडियोबाट स्वच्छ समाजको निर्माण गर्न सकौं।
रेडियो दिवसको अवसरमा सबै रेडियोकर्मीहरूलाई हार्दिक शुभकामना।
(लेखक कृषि रेडियो धादिङका स्टेसन म्यानेजर हुन्।)