'कसले कता भोट हाल्यो भन्ने कुरा यो रिमोट कन्ट्रोलले थाहा पाउँछ' भन्दै हाम्रो घरतिर देखाउँदै दलका कार्यकर्ताले चुनाव प्रचार गरेको पनि करिब ३० वर्ष भएछ।
बहुदलीय प्रजातान्त्रिक व्यवस्था घोषणा भएपछि २०४८ सालको पहिलो संसदीय निर्वाचनमा दलका कार्यकर्ताले यसो भन्दै फरक-फरक राजनीतिक धारणा राखेकालाई प्रचारको माहोल बनाएकाहरू अहिले कता छन्, थाहा भएन। तर देश पुनः पुरानै भन्दा पनि अधोगतिमा पुगेको आभाष हुन थालेको छ।
प्रत्येक राजनीतिक दलमा कम्तीमा दुई वा दुईभन्दा धेरै खेमा त छँदैछ। तर दलका कार्यकर्ताबीचको दुरी यसरी बढेको छ, ४८ सालको बहुदलीय व्यवस्था बामेसर्दाको अवस्था पुनरावृत्ति हुँदै गएको महशुस भएको छ।
एउटा राजनीतिक दलमा आस्था राखेकै भरमा छरछिमेकका कार्यकर्ताबीच बोलचाल बन्द हुने, मर्दापर्दा, काजकिरिया, विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यमा छिमेकी नै गुमाउनुपर्ने, खुलेर बोल्न नसक्ने अवस्थामा समाज पुगेको विदितै छ। त्यही अवस्था झल्को दिने गरी प्रकारान्तरमा वर्तमान राजनीतिक नेतृत्व र दलका कार्यकर्ता पुगेको पछिल्लो पटकका राजनीतिक घटना र परिदृष्यले देखाएको छ।
दलका नेताले कुन प्रसंगमा के अभिव्यक्ति दिन्छन्, स्वयं नेतालाई थाहा हुँदैन। तर दलका कार्यकर्ताले भने आ-आफ्नो तर्क प्रस्तुत गर्दै गलत कदमलाई सही स्थापित गरिदिन्छन्। दलका प्रमुख नेताले यथोचित कदम अवलम्बन नगर्दा समेत कार्यकर्ता नै अग्रभागमा बसेर प्रतिरक्षा गर्दै आइरहेका छन्।
प्रत्येक दलमा दलीय कार्यकर्ताबीचको दुरी धेरै बढ्दै गएको छ। तीन दशकअगाडि बहुदलीय व्यवको पुनर्आगमन भएलगत्तैको अवस्था भन्दा कम छैन। यस कारण समाज पुनः ध्रुवीकरणको चपेटामा पर्दै गएको छ भने स्थानीय तहको विकास निर्माण र जनताका सवाल पूरै ओझेलमा परेको छ।
अधिकांश दलका सबै प्रमुख नेता पटक पटक सरकार प्रमुख र दल प्रमुख भइसकेका छन्। ती सबै नेता करिब ७० वर्षको हाराहारी प्रवेश गरिसके। उनीहरूको नेतृत्वकलामा कुनै नयाँपन र उन्नति हुने देखिँदैन। प्रस्तुति र कार्यशैली उदेक लाग्दो नै छ।
तर, कार्यकर्ताहरू कहिल्यै पनि दलका नेतृत्वले गरेका शैली र प्रस्तुतिमाथि चासो राख्दैनन्। प्रस्तुति वेवास्ता गर्दै उल्टो सहयोग र समर्थन गर्छन्। पुरानै नेतृत्वलाई निरन्तरता दिनुपर्ने वातावरण बनाइदिइरहन्छन्।
दुई पटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओलीले संविधान विपरीत हठात संसदीय व्यवस्था विघटन गरे। यसबाट सरकार सञ्चालनमा मनोगत शैलीको पुनरावृत्ति भएपछि राजनीतिक दल, फरक दलका कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवि पुनः सडकमा आउन बाध्य भएका छन्। प्रमुख प्रतीपक्षी नेपाली कांग्रेस लगायत केही दल र यिनका कार्यकर्ता भने अदालतको निर्णय पर्खाइमा छन्। केही कार्यकर्ता सडकमै छन्।
प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावना विपरीत संसद विघटन गरी निरंकुश शैली देखाएका छन्। यसबाट पुन राजनीतिक वर्गीयता र कार्यकर्ताबीच दुरी बढ्दो अवस्थाको शुभारम्भ भएको छ। सरकार सञ्चालनमा ओलीले समूहगत रूपमा आफ्ना पक्षलाई मात्र बढवा दिँदै सरकार र दलबीचमा यथोचित निकास र प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको व्यापक आलोचना खेप्दै आइरहेका छन्। यसको असर सरकार सञ्चालन र निकासमा प्रत्यक्ष परेको छ। तर पनि दलका कार्यकर्ता समर्थनै गरिरहेका छन्।
यसैगरी, विघटित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' करिब ३० वर्ष बढी विभिन्न कम्युनिस्ट दलको नेतृत्व गर्दै उतारचढावबीच राजनीति गरिरहेका छन्। उनले नेतृत्व गरेका नेताहरू विमति राख्दै फरक राजनीतिक दल गठन गरी सक्रीय छन्। उनले भने आफ्नो राजनीतिक भविष्य अन्यौलग्रस्त भएपछि वैकल्पिक स्थानका लागि तत्कालीन नेकपा एमालेसँग एकीकरण गरेका थिए।
यद्यपि भावनात्मक रूपमा एक नभएको, विभिन्न अभिव्यक्ति र कार्यशैली सार्वजनिक भइरहेकामा अन्ततः दल विखण्डन गरी फरक दलको अध्यक्ष बने। अहिले त्यही दलमा हकअधिकारको खोजी गर्न् व्यस्त छन्।
नेकपाका माधवकुमार नेपालले करिब १७ वर्ष तत्कालीन नेकपा एमालेका महासचिवको भूमिका निर्वाह गरिसकेका छन्। उनी पुनः नेतृत्वको खोजीमा प्रयत्नरत छन्। उनको कार्यकालमै वैकल्पिक राजनीतिक दलका रूपमा तत्कालीन नेकपा माअवादी उदय भएको हो। तत्कालीन एमाले त्यसपछि प्रकारान्तरले कमजोर बन्दै गएको थियो। भनिन्छ, उनले आफ्नो समयमा एमालेलाई खासै अग्रगामी नेतृत्व दिन सकेनन्। एकोहोरो शैलीमा आफ्नो कार्यकाल सम्पन्न गरिसके पनि पुनः एकल नेतृत्वको पुनर्अभ्यासमा सक्रिय भइरहेका छन्।
दुई कार्यकालसम्म दलको नेतृत्व र प्रधानमन्त्री बनिसकेका झलनाथ खनाल, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र अन्य मधेशवादी दलका नेताको शैली र महत्वकांक्षा अरूको भन्दा कम छैन।
यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चार पटक प्रधानमन्त्री भएको भन्दै गर्व गर्ने तर सक्रियता र भविष्यको खाकाबिनै लामो समयदेखि नेतृत्वमा छन्। उनको प्रस्तुति शैलीप्रति बहुसंख्यक दलका कार्यकर्ता अनविज्ञ छैनन्।
सरकारको कार्यशैलीमा खबरदारी र होसियारी गराउन पथप्रदर्शक भूमिका निर्वाह गर्न र लोकतान्त्रिक व्यवस्था सबलीकरण र सार्थक बनाउन प्रतिपक्ष दलको भूमिका महत्वपूर्ण हुन्छ। तर देउवा नेतृत्वको कांग्रेसले व्यवहारमा उतार्न नसकेको स्पष्ट देखिएको छ। संविधान विपरीत गठित वर्तमान सरकार र संसद विघटनमा देउवाले स्पष्ट धारणा राख्न नसकेकाले पनि कांग्रेसको अवस्था स्पष्ट हुन्छ। यस्तो अवस्थामा समेत दलका कार्यकर्ता मौन छन्।
यी प्रतिनिधि घटनामा कोही कार्यकर्ताहरू मौन छन्, कोही खुलेर नेताका कार्यशैली समर्थन गरिरहेका छन्। यससँगै गाँसिएका कैयौं उदाहरण सार्वजनिक भएदेखि नै राजनीतिक दल र कार्यकर्ताको भूमिका सकारात्मक र प्रभावकारी बन्न नसकेको स्पष्ट छ। यसले गर्दा संसदीय व्यवस्थालाई गम्भीर संकटमा पारेको छ।
राजनीतिक दलको प्रत्येक कार्यक्रममा उही व्यक्ति, सम्बन्धित दलका कार्यकर्ताका रूपमा सहभागी हुने अवस्था नोलौ भएन। तर शिक्षित र भरपर्दा भनिएका कार्यकर्ता पनि अहिले सही र गलत छुट्टाउन नसक्ने भएका छन्।
३० वर्ष अगाडिका कार्यकर्ताहरू अझै उही शैलीमा सक्रिय बन्दै नेताका नेतृत्वको सम्मान र भरोसा दिइरहेका छन्। यो नेतृत्वले देश विकास र जनताको पक्षमा खासै राजनीतिक योगदान गर्न सकेको छैन। अझै पनि बेरोजगार जनता संख्या कम हुन सकेको छैन। अवसर र रोजगारीका लागि विदेसिने अवस्थामा कमी भएको छैन। तर जनता भने दलका सक्रिय कार्यकर्ता बन्दै एकआपसमा गालीगलौज र निश्चित नेताका कार्यकर्ता बन्दै आइरहेका छन्।
हाम्रो घर लक्षित गरी ३० वर्ष अगाडि चुनावी कार्यक्रममा सरिक हुने दलका कार्यकर्ता अहिले पनि सोही अवस्थाको दलका कार्यकर्ता छैनन् भन्ने अपेक्षा गर्न सकियोस्। दलीय कार्यकर्तासँगै रचनात्मक र सकारात्मक सोच राख्दै लामो समय एकै व्यक्ति पटक पटक नेतृत्वमा रहिरहने दलीय नेतृत्व सुधारात्मक पथतिर डोर्याउन र कार्यकर्ताको महत्वपूर्ण भूमिका स्थापित गर्न सकियोस्।
यसले अहिले देशले बेहोर्न परेको राजनीतिक संकट पटकपटक नदोहोरियोस्। दलका कार्यकर्ता नेताले भाषण गर्दा शरीरमा काँडा उमार्दै थपडी बजाउने मात्रै होइन, निष्पक्ष र गुणदोष छुट्टाउन सक्ने क्षमता अभिवृद्धि हुन सकोस्, यही शुभकामना।
(लेखक वाग्ले अधिवक्ता हुन्)