'समाज जति सत्यबाट टाढिन थाल्छ, त्यति नै उसले सत्य बोल्नेहरुलाई घृणा गर्न थाल्छ।'
यो वाक्यांश कतै सामाजिक सञ्जालतिर पढेको थिएँ। यो कसको रचना भन्ने याद नभएर यहाँ उल्लेख गर्न सकिनँ। तर, के मानिसले सत्यलाई रुचाउन वा स्वीकार गर्न यति असहज बन्दै गएको हो त भन्ने विषयमा बहस गर्न आवश्यक ठानेको छु।
त्यसो त सत्य मापन गर्ने निरपेक्ष विधि के हो भन्ने पनि आउला। त्यसको बहस यहाँ गर्न खोजिएको होइन। यहाँ केवल समाजले कस्तो राजनीतिक, सामाजिक नेतृत्व खोजिरहेको छ वा जन्माइरहेको छ भन्ने मूल विषयमा छलफल गर्न खोजिएको हो।
के हामी सत्यमा आधारित भएर हाम्रा नेतृत्वहरु तय गरिरहेका छौं? वा माथिको वाक्यांशमा भनेजस्तो हामीले मानेका सत्यका मानकहरु विस्तारै समाजसँग टाढिँदै घृणाको शिकार हुन थालेको हो?
हामीले हाम्रा साना इकाईदेखि माथिल्लो तहसम्म कस्तो नेतृत्व जन्माइरहेका छौं र, उनीहरुलाई नेता बनाउन हामीले कुन आधारभूत मापदण्डमा टेकेका छौं भन्ने सन्दर्भमा यो लेख केन्द्रित छ। यसै सम्बन्धमा अर्कोपनि एउटा विरोधाभास हाम्रो समाजमा व्याप्त भएको देखिन्छ।
समाजले व्यक्तिगत रुपमा राम्रो र उदाहरणीय कार्य गरेकालाई नेता बनाउने हो वा राम्रो नीति बनाउन र कार्यान्वयन गर्न सक्ने दूरदर्शी व्यक्तिलाई अभिप्रेरित गर्ने भन्ने दुईथरी बुझाइ छ। नेपाली मनोविज्ञानलाई सामान्यतः विश्लेषण गर्ने हो भने हामी प्रायले राम्रो सामाजिक व्यक्तिगत छवि भएकालाई नेता बनाउन खोजेको जस्तो देखिन्छ। तर, त्यो राम्रो छविको आधारभूत मापदण्ड र चरित्र कस्तो हुने भन्नेमा समाजको स्पष्ट बुझाइ छैन।
सामान्यतः राजनीतिक नेतृत्वले समाजलाई सही दिशामा डोहोर्याउने काम गर्नुपर्छ भन्ने मान्यता स्थापित छ। तर, नेपालको सन्दर्भमा हेर्ने हो भने नेताले सडक, सत्ता वा संसद मार्फत समाजको बहुआयामिकतालाई कता डोहोर्याउछ भन्ने भन्दा पनि यसअघि उसले व्यक्तिगत रुपमा समाज वा उसको भूगोल र त्यहाँका मान्छेहरुलाई कति योगदान तथा सहयोग गर्यो भन्ने अर्थमा उसको विशिष्टता मूल्यांकन गर्ने गरिएको पाइन्छ।
वैकल्पिक राजनीतिको मोर्चामा क्रियाशील पूर्वपत्रकार समेत रहेका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले यसअघि काठमाडौंमा निर्वाचन लड्दै गर्दा कतिपयले उनलाई, यसले के गरेको छ र? रेडियोमा बोल्ने बाहेक मिश्रले के गरेका छन् र? भन्नेजस्ता प्रश्न र आलोचना अगाडि ल्याए।
यो राजनीतिक नेतृत्वप्रति हाम्रो अल्पबुझाइको उपज हो भन्ने मलाई लाग्छ। मैले रवीन्द्र मिश्रलाई प्रश्न गर्नुलाई गलत भनेको होइन, मात्र एउटा नेताको कामको मूल्यांकन उसको सैद्धान्तिक स्पष्टता र उसले राजकीय पदमा पुगेपछि गर्ने काम र इमान्दारीताको आधारमा हुनुपर्छ भन्न खाजेको हो।
पदमा नपुग्दा वा संघर्षका बेला उसले आफ्नो पार्टीको एजेन्डालाई कति अविचलित रुपमा उठाइरहन्छ वा यसका लागि कुन तह र शक्तिको संगठन निर्माण गर्नसक्छ भन्नेमा नेताको क्षमता र विश्वसनीयता विश्लेषण हुन जरुरी छ।
पैसाको स्रोत जेसुकै होस् तर, कुनै नेताले व्यक्तिगत लगानीमा कुवा, धारा र पाटी बनाइदिए त्यसलाई राजनीतिक योगदान मान्ने हाम्रो सामाजिक यथार्थता छ। आफ्नो आँगनको स्थानीय सरकारलाई कसरी गतिशील र जवाफदेही बनाउने भन्दापनि एउटा माथिल्लो तहको नेतासँग विकासको अपेक्षा गर्ने मनोविज्ञान जनतामा स्थापित छ।
जनताको त्यही मनोविज्ञान बुझेका पुरातनवादी पार्टीहरुले कथित संसद विकास कोषका नाममा स्रोतको व्यवस्थित परिचालनभन्दा पनि नेताको निगाहामा स्रोतको जथाभावी बाँडफाँट गर्ने खालको अप्राकृतिक र भद्दा व्यवस्था बनाइदिएका छन्।
नेताले व्यक्तिगत खर्चमा कुवा बनाइदिएको आधारमा उसलाई नेता मानिरहने कि उसले मूलभूत रुपमा कुन राजनीतिक सामाजिक एजेण्डालाई कति दृढतापूर्वक बोकेर हिँडेको छ भन्नेमा विश्वास मान्ने हो? कति पैसा खर्च गरेर चुनाव जित्यो भन्नेमा उसको पुरुषार्थ मापन गर्ने हो कि समाजलाई कुन दूरदर्शीताका आधारमा नेतृत्व गर्नसक्छ र गर्यो भन्ने आधारमा?
आफ्ना बच्चा महंगो स्कुलमा पढाएर जनताको छोराछोरीलाई बन्दुक र झण्डा बोकाउने विकृत अनुहारका नेतालाई आदर्श मान्नेकी सामुदायिक विद्यालयलाई निजी वा सोभन्दा उन्नत बनाउने दृढता बोकेकालाई साथ दिने?
फलानो नेताले हामीलाई के दियो भन्नेकी फलानो पार्टीले बोकेका एजेण्डा ठीक छन् त्यसलाई सत्तामा पुर्याएर हेरौं वा यो अभियानमा सामेल हौं भन्ने हो? हामीले खोजेको नेता कस्तो हो? के हामी साँच्चै दूरगामी महत्वका एजेन्डा बोक्ने, इमान्दार र राम्रो नेता खोजिरहेका छौं कि आफूलाई व्यक्तिगत रुपमा लाभ दिने हाम्रो नेता खोजिरहेका छौं?
कस्तो नेता चाहिएको हो भन्ने विषयको ठूलो विरोधाभास यहीँ नेर छ भन्ने मलाई लाग्छ। आजको पुस्ताले राजनीतिप्रतिको बुझाइ, नेतासँगको अपेक्षा र भोलिको परिकल्पना गर्दैगर्दा यी विषयमा गम्भीरतापूर्वक चिन्तन मनन् गर्नुपर्छ भन्ने लाग्छ।
प्रायः मानिसले राम्रो नेता भएन वा खराब नेताले देशलाई डुबाए भन्ने गरेको सुनिएको छ। तर, के नेता निरपेक्ष रुपमा खराब हुन् त? कि हामीले नेता मान्ने हाम्रा सामाजिक र मनोवैज्ञानिक मापदण्ड खराब हो? नेता भनेको चरित्र हो या अमूक व्यक्ति?
नेता बनाउने हाम्रा विधिहरु र त्यसमा सहभागी हुने हाम्रा चरित्र नेतामा प्रतिविम्बित भइरहेको मात्र पो हो कि? यो विषयमा मन्थन हुनैपर्छ। हरेक समाजले आफ्नो औकात अनुसारको नेता पाउँछ भनेजस्तो हाम्रो औकात नै यतिमात्र हो त? यी सबै विषयमा हामीले अनिवार्य रुपमा सोच्नपर्ने बेला आएको छ।
विगत सात दशकको राजनीतिक सामाजिक संघर्षले मूलभूत रुपमा राजनीतिक र शासकीय स्वरुपमा परिवर्तन गर्ने काममात्र गरेका छन्। राजनीतिक स्वतन्त्रता र खुला बजार अर्थतन्त्रको अवधारणाले स्वभाविक रुपमा भएका विकास बाहेक मूल राजनीतिक इच्छाशक्तिका आधारमा विकास निर्माण वा सुशासनका सन्दर्भमा दूरगामी परिवर्तन हुनसकेको छैन।
सारभूत रुपमा हाम्रो समाज र संकीर्ण सामाजिक मूल्य मान्यताहरु जहीँको त्यहीँ छ। हाम्रा दुःखहरु उस्तै छन्। प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र नामका तीनवटा तन्त्र अभ्यास गरिसक्दा समेत हाम्रो जीवनको गुणस्तरमा तात्विक विकास भएको छैन।
विकासका नाममा बजेटको दोहन गरी बनाइएका गुणस्तरहीन सडकमा दैन्य दुर्घटना भएर मानिस अकालमा मरिरहेका छन्। सरकारी अस्पताल नपुग्दै वा पुगेपनि ओल्लोपल्लो कोठा धाउँदा धाउँदै, डाक्टर भेट्न नपाउँदै र शल्यक्रियाको पालो नआउँदै ज्यान फाल्नेहरुको संख्या घटेको छैन।
निजी स्कुलका विद्यार्थी र सरकारी स्कुलका विद्यार्थीले समान गुणस्तरको शिक्षा नपाउँदा समतामूलक समाज निर्माणको लक्ष्य झन् झन् टाढा हुँदैछ। युवा निर्यात गरेर तिनको पसिनाको धन र अकाल मृत्यु बोकेका बाक्सा आयात गर्ने सरकारी नीतिका कारण जनशक्ति पलायनको समस्या बढ्दैछ भने यसले निम्त्याउने विविध आर्थिक, सामाजिक र पारिवारिक विचलनले दिनप्रतिदिन समाज निरस एवं दुखी बन्दैछ।
सार्वजनिक यातायात, शिक्षा, स्वास्थ्यमा समान पहुँच छैन भने सुविधा र विकासको समतामूलक वितरणको कुनै गुञ्जायस टाढा टाढासम्म देख्न सकिन्न। राजनीतिक आवद्धताका आधारमा घरघर र गाउँगाउँमा भ्रष्टाचार मौलाएको छ। भ्रष्टाचारको संस्कृति सामान्यीकरण भएको छ।
निर्मला र भागरथीहरु अन्याय र असुरक्षाले दैनिक दर्दनाक मृत्युवरण गरिरहेका छन्। तर, देशको मूल राजनीतिक नेतृत्व भने भाइभारदारको झगडा देखाएर राज्यदोहनमा तँछाड मछाड गरिरहेका छन्। योभन्दा ठूलो अस्तव्यस्तता के हुनसक्छ?
राजनीतिले देश विकास गर्नेभन्दा पनि संगठनात्मक आवरणमा जनतालाई धोका दिने काम गरिरहेको छ। हाम्रा शालीनता, धैर्यता र विरोधाभासपूर्ण मनोविज्ञानको गलत फाइदा उठाउँदै राजनीतिक र सांगठानिक अपराध भइरहेको छ।
यसका लागि हामीले सर्वप्रथम क्षेत्रीय, भौगोलिक र व्यक्तिगत निकटता वा प्रलोभनका आधारमा नभई आजको र भोलिको पुस्ता एवं समाजलाई सही दिशानिर्देश गर्ने पार्टी र नेताहरुका बारेमा बहस चलाउन आवश्यक छ।
हाम्रा सीमित व्यक्तिगत समस्या समाधान गरिदिने सहयोगी नेता नभई समयक्रममा सबै नागरिकले अधिकारको समान उपभोग गर्नसक्ने प्रणालीको द्रष्टा र नेतृत्वकर्ता जन्माउन आवश्यक छ। हाम्रै जीवनकालमा सम्वृद्धिको सुनौलो सपना पूरा गर्नुछ। भावी पुस्तालाई एउटा सम्वृद्ध र सुशासित समाज हस्तान्तरण गर्नुछ।