पुजनीय पापा,
आज सात वर्ष बितेछ, हजुरको न्यानो स्नेहको छहारी गुमाएको। त्यसयता यो छोरीको नशा–नशामा पीडाका आँशु बगेको छ। मुटुभरि हजुरको मायाको रापले जलन दिइरहेको छ। यही राप र जलनसँगै मनभित्रका केही अनुभूति कोर्दैछु।
केही दिनअघि नै जुम्ला फर्किन हजुरका लागि जहाजको टिकट फिक्स भइसकेको थियो। सायद त्यसै दिनदेखि हुनुपर्छ, आकाशमा कालो बादल मडारिन थालेको। प्रकृतिको सुन्दर छटारुपी झरझर बग्ने खोलानालामा पनि गिद्ध जम्मा हुँदै चिच्याइरहेका थिए। स्याल उल्टो कराइरहेको थियो। हुरी–बतास विपरीत दिशातर्फ बहिरहेको थियो।
हजुरलाई याद होला नि, २०७० फागुन ४ गते बिहान हजुर र म मडारिइरहेको कालो बादलको घुम्टोमुनि सेतो ट्याक्सीमा काठमाडौं एयरपोर्ट पुगेको। दुई–तीन दिन फ्लाइट क्यान्सिल भए पनि त्यस दिन मैले मेरो पापाको फ्लाइट क्यान्सिल नहोस् भनेर भगवानसँग पुकारा गरेकी थिएँ। जहाज समयमै उड्ने भयो।
मलाई लाग्यो– भगवानले मेरो पुकारा सुनेछन्। तर पापा, हजुर र ममीको दिलको गमलामा २० वर्ष उमेरमै मलाई फेरि कहिल्यै बस्न नपाउने गरी यो संसारबाट रमाना लिएर जानुभयो। अर्घाखाँचीको मसिने लेकमा जहाज खसेको खबर म अहिले पनि कसरी पत्याऊँ?
हजुरको संघर्ष र सफलताले साँच्चिकै हाम्रो परिवारमा खुसीको बहार आउन थालेको थियो। तर फागुन ४ ले सधैंको लागि खुसी खोसेर लग्यो। हाम्रो परिवार मात्र होइन, हजुरले नेतृत्व गरेको जुम्लाको कांग्रेस पार्टी पनि सहाराबिहीन बन्यो। जुम्ली जनताले आशा र भरोसाको सारथी गुमाए। कालो बादल मडारिइरहेको चकमन्न आकाशबाट चम्किलो तारा भुइँमा खस्यो।
हामीले धेरै पछिमात्र थाहा पायौं, तपाईंको सपना के थियो भन्ने। अहिले त त्यो सपना झन्झन् तेज बन्दै गएको महसुस हुँदैछ। जुम्लाबाट काठमाडौं पढ्न गएर २०४९ सालमै एमएससी पास गरेको एउटा होनहार युवा। उतिबेला हजुरले जागिर खोज्ने होइन, जागिरले हजुरलाई खोजिरहेको थियो सायद।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसदेखि कहाँसम्म थिएन हजुरलाई जागिर? तर हजुरले जागिर खाएर व्यक्तिगत जीवन सफल बनाउने लालसा कहिल्यै पाल्नुभएन। २०४६ सालको जनआन्दोलनमा अग्रमोर्चामा पञ्चायतविरुद्ध झण्डा फहराउँदै अगाडि लम्किनुभयो। काठमाडौंबाट फर्केर जुम्लामा एक आदर्श राजनेताको पहिचान बनाउनुभयो। आफू र आफ्नो परिवारभन्दा जनताको सुखसयललाई केन्द्रमा राख्नुभयो। त्यसैले त हजुर मेरो जत्तिकै जुम्ली जनताको पनि प्रिय अभिभावक बनेर आजपर्यन्त दिलमा बसिरहनुभएको छ।
अहिले पनि याद छ, २०७० को संविधानसभा चुनावमा हजुरको लोकप्रियता हुँदाहुँदै टिकट अर्कैलाई दिइयो। नेता–कार्यकर्ताले पार्टी केन्द्रको निर्णय अस्वीकार गर्न व्यापक दवाव दिए। तर हजुरले टिकटको निर्णय भएको भोलिपल्टै 'म ललितजंग शाही (कांग्रेस उम्मेदवार) हुँ, मलाई हेरेर भोट दिनुहोला' भन्दै प्रचार गर्न काठमाडौंबाट जुम्ला पुग्नुभयो।
पार्टीको जिल्ला सभापतिको हैसियतले नेता–कार्यकतालाई पनि चुनावमा खट्न आग्रह गर्नुभयो। आखिर तपाईंकै चुनावी कमाण्डमा जुम्लामा कांग्रेसले २०१५ सालपछि पहिलोपटक विजयको झण्डा फहरायो।
हजुरको मृत्युपछि कतिपयले भने, 'छिट्टै जानु रहेछ र पो मानव (सेजुवाल) ले सांसदको टिकट नपाएको रहेछ।'
पापा, आखिर जेसुकै होस्, हजुरले आफ्नो पालामा जुम्लामा कांग्रेसको लागि इतिहास रचेर जानुभएको छ। हामीलाई यसमै गर्व छ।
एउटा विश्वास छ नि, असल मान्छे स्वर्गमा जान्छ। हजुर पक्कै पनि अहिले स्वर्गको सुन्दर बगैंचामा बसेर हामीलाई नियालिरहनुभएको होला। मैले मात्र होइन, जुम्ली र हजुरलाई चिन्ने देशभरका शुभचिन्तकले कति 'मिस' गरिरहेका छन्, त्यो पनि थाहै होला। मैले हजुरसँग लामो समय रम्न पाइनँ, यसमा पक्कै पनि सन्देह छ। तर हजुरले हामीलाई छोडेको ७ वर्षसम्म पनि उत्तिकै याद दिइरहनुभएको छ नि, त्यसले कताकता मन गर्वले फुल्ने गर्छ।
शालीन, दृढ, स्वाभिमान, दूरदर्शी र निष्ठावान, यी गुण हजुरको भौतिक शरीरसँगै नष्ट भएनन्। बरु हरेक राजनीतिज्ञका लागि प्रेरणा बनेका छन्। हजुरको अनुपस्थितिमा हजुरले छोडेर गएका सपना पूरा गर्न ममी (कान्तिका) शिक्षकको स्थायी जागिर छोडेर राजनीतिमा होमिनुभयो। चन्दननाथ नगरवासीले हजुरकै गुण सम्झेर मेयरमा चुनेर पठाएका छन्। अहिले ममी मात्र होइन, अन्य राजनीतिज्ञले पनि हजुरका गुण अनुशरण गर्न खोज्नु भनेको मलाई लाग्छ, तपाईंप्रतिको उच्च सम्मान हो।
हजुरले समाजलाई भन्नुहुन्थ्यो रे, एउटा व्यक्ति सपूत छोरो त्यति बेला मात्र ठहर्छ, जतिबेला उसले व्यक्तिगत आकांक्षा त्यागेर आफूलाई देश र जनताका लागि समर्पित गर्छ। व्यक्तिले पद प्राप्त गर्नु ठूलो कुरा होइन, पदको सम्मान र मर्यादा कायम राख्न सक्नु ठूलो हो। सफा जिन्दगीको लागि पद, पैसा गौण हुन्।
मलाई अहिले पनि याद छ, हजुरले भौतिक रुपमा संसार छोड्नुअघि मलाई भन्नुभएको थियो– छोरी तिमीहरूले तिम्रो ममीमा रहेका निडरता, प्रष्टता, स्वाभिमानी र विश्वसनियताजस्ता गुण सधैं अँगाल्नू। मैले राजनीतिका अनेकन सिँढी चढेर यहाँसम्म आइपुग्नुमा तिम्रो ममीको प्रेरणा बढी छ।
हजुरका यी बचन, वाणी र बुझाइ सम्झिँदा अहिले मलाई लाग्छ, छोरी हुनु त यस्तो सपूतको बुवाको। तर पापा हजुरको यात्रा छोटो भयो। बीच बाटोमै हात छोडेर हामीबाट टाढा जानुभयो। अब अर्को जुनीमा हजुरकै छोरी भएर हजुरसँग लामो यात्रा गर्ने मन छ। यो जुनीमा चाहिँ हजुरकै पदचाप पछ्याउन सके सार्थक छोरी भएको ठान्नेछु।
हजुरकी प्यारी छोरी,
सामीन सेजुवाल, जुम्ला
(सामीन २०७० फागुन ४ गते जहाज दुर्घटनामा निधन भएका नेपाली कांग्रेसका तत्कालीन जुम्ला जिल्ला सभापति मानव सेजुवालकी छोरी हुन्)