आफैले देखेको भोगेको आमाको जीवन सम्झिँदा त कहालिने मैले हजुरआमा, जिजुआमा पुस्ताको जीवनको त सजीव वर्णन गर्नसम्म पनि सक्दिनँ होला। तर पनि आमा पुस्ताप्रति मेरो छुट्टै सहानुभूति रहने गर्छ र ठूलो अपेक्षा पनि।
सहानुभूति यस कारण कि यो पुस्ता सामाजिक परिवर्तनको साक्षी बनेर आफूभन्दा माथिल्लो पुस्ता तथा तल्लो पुस्ता दुवैको बुहार्तनको भुक्तभोगी बन्नु भएको छ।
अपेक्षा यस कारण कि आफूले देखेको भोगेको संघर्षका पहाडहरुले सिकाएका धैर्य, साहस र मानवताका पाठहरुको जगमा बसाउनु पर्ने एउटा स्वतन्त्र जीवनको स्वतन्त्र सपनाको। छोरा वा छोरी। न अघि, न पछि। सँगसँगै। बराबरी।
आफूले पढ्न नपाएको ठुलै खेद हुँदो हो र त छोराछोरीले स्कुल जान्न, पढ्दिनँ भन्नु मात्र पर्थ्यो, आगो ओकल्नु हुन्थ्यो आमा। चिसो अगेनु फुक्दै गरेको लोरी, बाँसको सिर्कनु, नाम्लोको बरियो, हातमा जे छ उसैले चुट्दै लगार्दै स्कुल पुर्याउनु हुन्थ्यो।
डरभन्दा धेरै मायाले गलाउने होला, त्यसैले त कलिलो मस्तिष्कले समेत कसरी बुझ्यो खै! एकाध पटक डर भोगिसकेपछि, विस्तारै आमाले पिट्न गाली गर्न त परै जाओस्, नबोल्दै जित्न थाल्नु भयो।
मध्यरातमै उज्यालो हुने, अनि मध्यरातमै अध्यारो हुने आमाको लागि निन्द्रा कहिले आउथ्यो होला र सक्नु भयो एउटा स्वतन्त्र सपना देख्न र देखाउन। सपना देख्न देखाउन न कुनै नारा नै घोक्नुपर्ने रहेछ, न कुनै क्रान्तिको मसाल नै झोस्नु पर्ने रहेछ। हिसाबकिताब, नाफाघाटा छोडेर अलिकति धैर्य, साहस र मानवता सिकाउन पर्ने न रहेछ।
सपना पनि कुनै सिद्धान्तबाट जन्मिएको भए। जति नै पढे पनि प्रतिपादकको दासत्वमै रुमलिरहन्थ्यो होला वा कसैसँग परनिर्भर भएको भए आफ्नोपन नै कहाँ रहन्थ्यो होला र!
परिवर्तनको नाममा मौलिकता मासेर आएको आधुनिकतावाद वा मौलिकताको नाममा विभेद स्वीकारेर दबिएर बसेको पुरातनवादभन्दा विल्कुल फरक यथार्थवादले फुलेको स्वतन्त्र सपना।
आकाशको तारा हेरेर सुसाउँदै आधा रातमै खेतमा पुगेर डरले थरथर काँप्दै गहुँको बोरालाई अँगालो हालेर लोलाउँदै बिहानको उज्यालो कुर्नु पर्दाले सिकिएको धैर्यता। सेतो आँखा पल्टाइसकेकी छोरीको 'अब त आश मार दुलही' भनेका वैद्यको कुरा नसुनी एक्लै पिठ्युमा बोकेर अस्पताल धाएर जोगिएको प्राणले दिएको साहस।
एक पाइलो चाँडो हुने काममा अप्ठ्यारो परेको साथीलाई 'तिम्रो मेलो मै रोप्दिन्छु तिमी जाऊ' भनेर झमक्क परेपछि घर फर्केर आधा रातसम्म आफ्नो घरधन्दा भ्याउनुले सिकाएको मानवता।
संसारको उत्कृष्ट विश्वविद्यालयको कुनै पाठ्यपुस्तकले पनि सिकाउँदैन होला आमाले सिकाएका यी धैर्य, साहस र मानवताका पाठहरु। स्वतन्त्र जीवनका पाठहरु। जीवनको विशेषण (सुख, दुख, खुसी, पीडा, जित, हार) हरेक क्षणमा बदलिन सक्छ तर यी पाठहरुले जीवन जिउने यस्तो सरल कला सिकाएका छन् कि जिन्दगी कहीँ, कतै, कहिलेकाहीँ अल्मलिएला तर पक्कै रोकिदैन।
भलै आमा पुस्ताको जस्तै भोगाइ मेरो पुस्ता वा पछिल्लो पुस्ताले भोग्न नपर्ला तर त्यो पुस्ताले सिकाएको धैर्य, साहस र मानवताको संस्कारले जहिले पनि एउटा सकारात्मक उर्जा दिन्छ।
यस्तो लेखिराख्दा सहनशीलताको वकालतको बात लाग्न सक्ला तर सधैँ पूर्वाग्रह र तुस राखेर अरुको जिन्दगीमा अड्कलबाजी गर्नेले पनि आफूसँग जोडिएकाहरुलाई दुखाउनु बाहेक केही दिदैँनन्।
'सोझो बाटो हिड्दा काँडाले पनि कोतर्न सक्दैन छोरी, नबिराउनु, नडराउनु' हजुरको यहि वचन जिन्दगीभरि आत्मसाथ गर्न सकूँ। जन्मदिनको लाखौं शुभकामना आमा। ह्याप्पी बर्थ डे टु यू।