२०१८, सेप्टेम्बर १४ मा अस्ट्रेलियाको भिक्टोरिया राज्यकी सांसद क्रिस्चिन कोजिन्सको नयाँ अफिस उद्घाटन समारोह थियो। हामी सबै भिक्टोरियाका मुख्यमन्त्री डानियल आन्ड्र्युजलाई पर्खिरहेका थियौं।
सांसद कोजिन्स र म कुराकानी गरिराखेकै बेला एउटा सेतो कार आएर हामीनजिकै रोकियो। अगाडि-पछाडि साइरन बजाउने सुरक्षाकर्मीका कुनै सवारी साधन नभएकाले हामीले खासै ध्यान दिएनौं। तर जसै कारबाट एक व्यक्ति निस्के, म चकित खाएँ। उनी थिए मुख्यमन्त्री डानियल आन्ड्र्युज।
यसअघि मेरो उनीसँग तीन पटक भेट भइसकेको थियो। कारबाट ओर्लेर उनी एक्लै हामी भएतिर आए। हात मिलाएर छोटो भलाकुसारी गरे। उद्घाटन गरिने अफिस भवनतिर फर्केर मेरो दाहिनेतिर डानियल र डानियलको दाहिने क्रिस्चिन हुने गरी तीन जना लस्करै उभियौं। हामी सबै अफिस भवन बाहिर मूल गेटको अगाडिपट्टि दुई सूरसम्म फैलिएर करिब करिब अर्ध चन्द्राकारमा उभिएका थियौं।
हामी करिब दाहिने छेउमा थियौं र अधिकांश हाम्रो बायाँतिर थिए। यस्तैमा मैले बायाँपट्टिको अन्ततिरको भीडबाट पर्यटन एवं खेलकुदमन्त्री जोन एरेन हामीतिर केन्द्रित भएर फोटो खिचिरहेको देखेँ।
मन्त्री जोन एरेनसँगको सम्बन्धको रोचक घटना छ।
२७ फेब्रुअरी, २०१६ का दिन अस्ट्रेलियाकै सबभन्दा ठूलो बहुसांस्कृतिक महोत्सवमध्येको 'पाको फेस्टा' मा मैले तात्कालीन बहुसांस्कृतिक मन्त्री रविन स्कटलाई खादा लगाइदिएको थिएँ। उनले आफूनजिकै उभिएका यिनै जोनको र आफ्नो गला दुवैलाई हुनेगरी खादा बेरे।
त्यसको केही समयपछि मलाई जोनले आफ्नो भिजिटिङ कार्ड दिए। अनि मात्रै मैले उनी पनि मन्त्री भएको थाहा पाएको थिएँ। उनी मन्त्री हुन् भन्ने पहिल्यै थाहा भएको भए मसँग जगेडा खादा पनि थियो। यहाँका मन्त्रीहरू बिना सुरक्षाकर्मी र बिना आसेपासे, सामान्य मानिसजस्तै गरी हिँड्ने भएकाले पहिले नै चिनेको छेन भने, पहिलो भेटमा चिन्न मुश्किलै हुन्छ।
भवन उद्घाटनमा अस्ट्रेलियाको आदिबासीहरूद्वारा आगो बालेर त्यसको वरिपरि घुम्दै गर्ने आवश्यक परम्परागत विधि पूरा गरियो। अनि कार्यक्रम सुरूआत सांसद क्रिस्चिन आफैंले गरिन्। आफूले बोलिसकेपछि मुख्यमन्त्री डानियललाई बोल्न आग्रह गरिन्।
डानियलले बोल्ने क्रममा पर्यटन एवं खेलकुदमन्त्री जोनको नाम लिए। अनि सांसद क्रिस्चिनले भनिन्, 'सरी, मैले त जोनलाई यादै गरिनँ।'
मुख्यमन्त्री डानियलले भने, 'केही छैन, जोनले कार्यक्रमको देखभाल गर्दै थियो।'
नेपालमा यस्तो हुन्थ्यो भने कति अनावश्यक विवाद चर्किन्थ्यो होला, हामी सबै अनुमान गर्न सक्छौं। यहाँ त त्यस्तो केही भएन। ड्यासमा बस्न र बसाउन राजनीति गर्ने मानसिकताले ग्रस्त र केही नगरी सम्मान खोज्ने हाम्रो समाजका लागि यस्ता घटना कथा जस्तै लाग्छन्।
मन्तव्य कार्यक्रमले करिब दस मिनेट लियो। बाहिरका सबै कार्यक्रम अझ उभिएरै सकाइएको थियो। मन्तव्यपछि मुख्यमन्त्रीले ढोकामा बाँधिएको रिबन काटे। हामी सबै भित्र पस्यौं। भित्रको कार्यक्रम भनेको खानपिन र कुराकानी गर्दै सांसदलाई बधाइ ज्ञापन गर्नु थियो।
कार्यक्रममा केही समय बिताएर मुख्यमन्त्री डानियल निस्कने बेला भयो। उनी र सांसदसँग फोटो खिच्ने तयारी भयो। त्यही बेला अलि पर अरूसँग कुराकानी गरिराखेका खेलकुदमन्त्री जोन कुराकानी बीचैमा छाडेर 'म पनि मिसिऊँ' भन्दै मेरा दुवै काँधमा हात राखेर मुख्यमन्त्रीको बायाँपट्टि उभिए। मन्त्री र मुख्यमन्त्रीहरूको यो सादगी देखेर म दंग परेँ।
प्रभावशाली नेता र प्रधानमन्त्री पनि सामान्य शैलीमाः
१५ अगस्ट, २०१५ का दिन मेरो निवासमा अस्ट्रेलियाकै प्रभावशाली नेता, पूर्व संघीयमन्त्री एवं तात्कालीन र हाल समेत संघीय अध्यागमन तथा सीमा सुरक्षा छायामन्त्री रिचार्ड मार्ल्सको प्रमुख आतिथ्यतामा कार्यक्रम थियो।
'देशको समृद्धिका लागि' विचार गोष्ठी सकाएर डिनर गर्दा राती अबेर भयो। म नेता रिचार्ड र साथमा आएकी सांसद क्रिस्चिन कौजिन्सलाई छाड्न गाडीसम्म गएँ। रिचार्ड र क्रिस्चिनमध्ये एक जनाका मात्र सहयोगी आएका रहेछन्। अरू कोही थिएनन्। सहयोगी समेत गरी तीन जना एउटै गाडीमा गए, गाडी नेता रिचार्ड आफैंले चलाए।
१९ जुन, २०१३ का दिन अस्ट्रेलियाका तात्कालीन प्रधानमन्त्री जुलिया गिलार्डको कार्यकक्षमा नेपाली समुदायका तर्फबाट भेटघाट कार्यक्रम थियो। अस्ट्रेलियाको विकास र शान्ति कायम होस् भन्ने शुभकामना दिन प्रवेश गर्दा कक्षमा सहायकमन्त्री डेभिड ब्राडबरी र सांसद मिशेल रोलान्ड मात्रै थिए। न कोही सुरक्षाकर्मी, न सहयोगी।
यी उदाहरण मानव विकास सूचांकका आधारमा दोश्रो र जिडिपीका आधारमा दसौं प्रतिव्यक्ति सरदर आय भएको अस्ट्रेलियाका हुन्। नेपालमा मन्त्री वा मन्त्री भइसकेकाहरू जुन रवाफ साथ हिँडडुल गर्ने चलन छ, त्यसमा अभ्यस्त भएकाका लागि यी दृश्टान्त कथै जस्ता लाग्न सक्छन्।
पछिल्लो समय पोर्चुगलका प्रधानमन्त्री आन्तोनियो कोस्ता श्रीमतीका साथमा राजधानी लिस्बनको ७४६ रूटको सार्वजनिक बस चढेर सर्वसाधारणसँगै आफ्नो घरको ठेगाना नागरिक वडा कार्यालयमा सच्याउन गए। बेलायतका प्रधानमन्त्री साइकल चढ्दै कोरोनाविरूद्ध रोग क्षमता बढाउन जनतालाई साइकल चढ्न प्रोत्साहित गरे। नेदरल्यान्ड्सका राजा विलेम अलेक्जेन्डर र रानी माक्सीमा साइकल चढेर ओलम्पिक खेलका आफ्ना सहभागीलाई प्रोत्साहित गर्न गए। न्यूजल्यान्डकी महिला मन्त्री जुलिए आन गर्भवती अवस्थामा बच्चा पाउन आफैं साइकल चढेर अस्पताल गइन्।
यस्ता थुप्रै समाचार भाइरल बने। यस्तै अरू घटना पनि छन्।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले मन्त्रीहरूलाई लिमो गाडी बिर्सेर ट्युब चढ्न सल्लाह दिँदै आफू पनि ट्युबमा यात्रा गरे। स्वीट्जरल्यान्डका ९१ प्रतिशत सभासद ट्राममा यात्रा गर्छन्। शिकागोका मेयर राहम इम्मानुअल ट्रेन चढे। फ्रान्सका तात्कालीन प्रधानमन्त्री फ्रान्सिस हलान्डेले सन् २०१२ मा फ्रान्सभित्रको आफ्नो आधिकारिक भ्रमण ट्रेनबाट गर्ने घोषणा गरे। थाइल्यान्डका यातायात मन्त्री चाडचार्टले बैंककमा बस यात्रा अत्यन्तै ढिलो हुने बुझ्दाबुझ्दै पनि झन्डै प्लेन छुटनेगरी बसबाटै एयरपोर्ट गए।
सरकारको नेतृत्व पाएलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरानले सम्पूर्ण सुविधा कटौती गरे। पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा अवकासपछि साधारण जीवनयापन गरिरहेका छन्। राजनीतिमा आउनुअघि व्यवसाय गर्ने नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटी अहिले पनि नोकियाको सामान्य फोन चलाउँछन्। सुरक्षाकर्मी बेगर साइकल चढेरै कार्यालय आउजाउ र साताको एकदिन प्राथमिक विद्यालयमा अध्यापन गराउँछन्।
गत फेब्रुअरीमा फ्रान्स, पेरिसमा बाहिर आयोजित एक कार्यक्रममा पानी पर्दा राष्ट्रपति इम्मानुअल माक्रोंले प्रधानमन्त्री इगोर मातोभिक बोलिराख्दा आफैंले छाता ओढाए। सहयोगी आएर छाता समातिदिन खोज्दा माक्रोंले आफैं ओढाएर उभिइराखे।
धनी देशका यी यथार्थ हामी आफ्नो देशमा पनि भित्र्याउन पाए देश कायापलट गर्ने एउटा महत्वपूर्ण पक्ष हुनसक्थ्यो भनी सोच्छौं। यो परिपाटी बसाल्न सके मात्रै पनि वार्षिक करोडौं रूपैयाँ जोगिन सक्छ भन्ठान्छौं। तर हामीकहाँ उच्च पदस्थहरू दुई-चार जना पछाडि नलगाई हिँड्न कहाँ सक्छन् र!
विदेशमा राष्ट्रिय जिम्मेवारी लिएका व्यक्ति एकाध कार्यकालपछि आफ्नो पुरानो सामान्य जीवनशैलीमा फर्कनु सामान्य हो। हामीकहाँ भने सांसद/मन्त्री बनेपछि आजीवन केही नगरी दुई-चार जना आसेपासे र सुविधा अनुसारको सुरक्षाकर्मी अघिपछि लगाएर रवाफ साथ हिँड्ने चलन छ। देशलाई अनावश्यक भारको यस्तो संस्कार नतोडिँदासम्म देश विकासका लागि ठूलो बाधा बनिरहनेछ।
(लेखक रामकुमार श्रेष्ठ लुम्बिनी-कपिलवस्तु विश्व अभियानका संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) का सल्लाहकार हुन्।)
ट्विटर @Ramkshrestha