कलेज पढ्ने बेलाको जुनियर भाइले अचानक लामो समयपछि म्यासेज गरेर भन्यो 'दाइले त बिर्सिनु भो।'
मैले हाँस्दै जवाफ फर्काएँ, 'भाइलाई बिर्से सम्झने कसलाई?'
जवाफ सुनेर उनले खासै प्रतिक्रिया जनाएनन्। उसलाई महशुस भने भयो होला। त्यो प्रतिक्रिया मैलो उसको म्यासेजको जवाफमा उसको मन राख्न गरिदिएको हो भन्ने। तर उसको म्यासेजले मलाई मेरा यारीहरुसँग टुटेका केही सम्बन्धहरुबारे लेख्न प्रेरित गर्यो।
मित्रताको वर्गीय पर्खाल
स्कुल पढ्दाताको एउटा साथी थियो। ऊ थियो, मध्यम वर्गीय परिवारको। अरु हामी मध्यमको अघि निम्न जोड्नु पर्ने खालको परिवारका थियौं। उसको हाइफाई हाम्रो समूहका अरु साथीहरुभन्दा बेग्लै थियो।
हरेक दिनजसो फेरि फेरि कपडा लगाउन सक्ने, खाजा खान समस्या नहुने, चाहिएको किताब र सामान किन्न घरमा रोजा बस्न नपर्ने उही त थियो, हाम्रो ग्रुपमा। त्यही हाइफाईले हामीमाथि धन बेलाबेला व्यंग्य कस्थ्यो।
गरिबी, अभाव र त्यसले जीवनशैलीमा देखिने निरीहतामाथि साथीहरुलाई सहजै व्यंग्य वाण गर्थ्यो। हामी बुझ्थ्यौं। तर चुपचाप बस्थ्यौं। समय सधैँ एकनासको नहुने रहेछ। समयले त्यो ग्रुपका धेरैजसो साथी केही इलम गर्ने बनायो।
अब म लगायत ती साथीहरु पुरानै अवस्थामा रहेनौं। अचेल ऊ बेला बेला गेट टुगेदर गर्न बोलाइरहन्छ। म टारिरहन्छु। भेट्न खोज्छ। म तर्किरहन्छु। घमण्ड नै सही, म उसलाई बाल दिन्न। किनकि जब मित्रतामा वर्ग जोडिन्छ, त्यो मित्रता रहन्न।
त्यो केबल स्वार्थ प्रेरित सम्बन्धमात्र बन्छ। म ऊदेखि टाढै बस्न रुचाउछु। कास उसले मित्रतामा वर्गीयता र तडकभडक नगरेको भए? हाम्रो मित्रता र यारी दोस्ती रहिरहन्थ्यो कि!
किताब किस्सा
स्कुल पढ्दा पाठ्यक्रमका किताब किन्न धौ धौ हुन्थ्यो। गेस पेपर, प्राक्टिस बुक र नमुना प्रश्नहरु समयमै किन्न नसक्ने अवस्था थियो। पाठ्यक्रम बाहिरको किताब अड्को पड्को गर्नै पर्थ्यो। उसले एसएलसीका लागि चाहिने सबै गेस, गाइड किनिसकेको थियो। मैले विनम्रतापूर्वक अनुनय गरे, २/४ दिनको लागि उसँग किताब सापटी मागेँ।
मेरो आशाको दियालोमाथि सुरुमै कुठाराघात गर्यो। उसले नकिनेको जिकिर गर्यो। मैले पत्याइनँ। उसले कसम खायो। अलि अलि पत्याएँ। तर पनि शंकाको घेरामा परिरह्यो। मलाई शंका परेको कुरामा जासुसी नगरी नहुने खराब बानी।
एक दिन पानी पिउँन गएको बेला मैले उसको झोला खोतलखातल पारेँ। उसले साँच्चै किताब किनेको रहेछ। किताबमा गाता हालेर कसैले थाहा नपाउन भन्ने गरी राखेको थियो। मैले किताब चिनेँ। मेरो मन त्यही दिन भाँचियो।
आजसम्म त्यस्तै छ, उसको लागि। उसँगको मेरो मित्रताको हाँगो त्यही दिन भाँचियो। अचेल उसँगको मेरो सम्बन्ध सम्झेर म सोच्छु। कास मैले जासुसी नगरेर उसको झोला नखोलेको भए।
चिया र चुरोट
नेममा अधिकृतको तयारी कक्षामा जाने बेला देखिकै चिनजान थियो। पछि म उपत्यकाकै कार्यालयमा आएँ। ऊ पहिलेदेखि नै सिंहदरबारमै अड्डा जमाएर बसेकी थिई। उसलाई चिया खुब मन पर्ने, मलाई चियासँगै चुरोट।
मैले चुरोटबाट उडाएको धुँवाको के हिसाब। अनि उसले खाएको चियाको। चिया र चुरोटको संगम मात्र भएन। हाम्रो मित्रता विस्तारै प्रगाढ बन्यो। हाम्रा आफ्ना आफ्ना दुख थिए। ऊ चियाको चुस्कीसँगै आफ्ना तनाव र दुःख बिसाउँथी। म चुरोटको धुँवासँगै।
चिया र चुरोटले मैलेभन्दा बढी उसले मलाई चिनि, मैले उसलाई। उसले मेरो र मैले उसको थाहा नपाएको कुरा बिरलै थियो सायद। अफिसबाट फर्किने एक साँझ सिंहदरबारको पूर्वीगेट पुग्नै लाग्दा मैले उसको स्कुटर पच्छाउन पुगेँ। मैले हर्न बजाएँ। उसले लुकिङग्लासबाट पछाडि हेरेर सजिलै चिनी।
दुवै पूर्वी गेट नजिकैको चिया पसलमा रोकियौं। त्यो दिन मैलेभन्दा उसले बढ्ता आफ्नो पीडा र दुःख शेयर गरेकी थिई। मैले उसलाई सान्तावनाका शब्दले पीडा कम गर्ने प्रयत्न गरेको थिएँ। जसरी त्यसभन्दा पहिले मेरा दुःख र पीडामा उसले सम्झाउँथी। हामी एकअर्काका सबै कुरा थाहा थिए।
चिया गफले हामीलाई आफूभन्दा बढी अरुलाई चिन्न मद्धत गरेको थियो। त्यसदिन चिया गफ सकिनै लाग्दा उसले भनेको कुराले मेरो मुटु छियाछिया भयो। मैले उसलाई दिएको मेरो विश्वासको ब्ल्यांक चेकमाथि नराम्रोसँग कुठाराघात गरी। मलाई आभाष नै भएन। त्यसरी भन्ने मेरी त्यही साथी हो।
निस्कनेबेला मैले भनेको थिएँ 'आज अन्तिम चिया गफ हो।'
राती उसको म्यासेज थियो 'सरी।' त्यो सरीले सम्बन्ध पूर्णरुपमा टुटाउनबाट जोगायो। तर पुरानै चिया गफको ओज र सम्बन्धको विश्वासनियता सदाका लागि समाप्त पार्यो। सायद फर्किदैन होला।
नफर्कियोस् पनि, कहिलेकाहीँ मनमनै यस्तै सोच्छु। त्यसपछि टेबुल आमने सामने भएर हुने चिया गफको एउटा श्रृंखला समाप्ति भयो। अहिले सोच्छु, कास त्यो दिन उसको र मेरो अफिसबाट निस्कने समय एउटै नभएको भए?
मेरो यारलाई भनेको कुरा कसैलाई शेयर गर्दैन भन्ने ठान्नु ठूलो भ्रम सिवाय अरु केही रहेनछ। हरेक यारीको अर्को एउटा त्यस्तै यार हुने रहेछ। त्यसैले नजिकको यारलाई भनेको कुरा गोप्य नै रहन्छ भन्ने भ्रमबाट पनि मुक्त भैयो।
कसैलाई नभन्नु है भनेर मेरा यारहरुले थाहा पाएका अधिकांश कुराको जानकार म छु। अनि मैले कसैलाई नभन्नु है भनेर यारहरुलाई शेयर गरेका कुराहरु तेस्रो व्यक्तिले थाहा पाएको बारे पनि जानकार नै छु।
तर आफुले भनेको कुरा अरुलाई शेयर गर्यो भन्ने मनाशायले सम्बन्धको अन्त्य गर्न खोज्ने हो भने सबै यारहरुसँगको सम्बन्ध सकिने रहेछ। त्यही भएर होला अचेल मेरा यारहरु कोही पनि छैनन्। छन् त केबल परिस्थितिबस् जोडिएका केही स्वार्थ प्रेरित सम्बन्धहरु।