लेखक मसानोबु फुकुओकाले आफ्नो 'वान स्ट्र रिभोलुसन' नामक किताबमा भनेको जस्तै आजको यस २१ औं शताब्दीमा हामी आफैले समस्या सिर्जना गरेका छौं। त्यही समस्याको समाधान खोज्न अनुसन्धान र अन्वेषणको ट्याग दिएर आफ्नो समय खेर फालिरहेका छौँ।
हुन पनि किन नहोस्, आज हामी जे गर्छौ ती सबै प्रकृतिको विपरीतमा त भएका छन्, होइन र? हामी अवगत नभएको पनि होइन, विगत लामो समयदेखि प्रकृतिको विरुद्धमा कदम राख्दा धेरै दैवीप्रकोपलाई भोगत्नु परेको थियो र आज पनि अवस्था उस्तै छ।
बाढी, पहिरो, भुइँचालो, सुनामी इत्यादि के हुन त? आखिर यी सबै मानव अस्तित्वको अत्याधिक चाप र उपभोगले सिर्जित समस्या न हुन्। आजको यस कोभिड-१९ नामक भाइरसले विश्वव्यापी रुपमा फैलाएको महामारी पनि त प्रकृतिको सन्तुलनमा ल्याइएको नतिजा न हो!
मैं हुम भनी हिड्ने सारा मानव अस्तित्वलाई चुप लगाई कलकारखाना, शिक्षा, स्वास्थ्य, पर्यटन व्यवसाय, व्यापार व्यवसाय सबै सबै क्षेत्रमा असर पुगेको छ। यसरी अहिलेको बढ्दो जनसंख्या वृद्धि सँगै उकाली लाग्दै गरेको खाद्य माग र यस धर्तीमा बढ्दै गएको चापले घटेको खेतीयोग्य जमिनले गर्दा आधुनिक खेती प्रणाली पनि मौलाउँदै गएको छ।
अत्याधिक मात्रामा रासायनिक मल, कीटनाशक विषादीको प्रयोग, जीएमओजले एकातिर माटोको उर्वराशक्तिलाई घटाउँदै गएको छ भने अर्कातिर किसानको लागत खर्च पनि उत्तिकै बढ्दो छ।
यसैगरी हानिकारक विषादीको खाद्यान्नमा रहने अवशेषले मानव स्वास्थ्यमा अनेकौं रोग निम्त्याएको छ, वातावरणीय पर्यावरणमा ह्रास पुगेको छ, मित्र जीवको घट्दो जनसख्या सँगै नयाँ प्रतिरोधी किराको उत्सर्जनले किसान झन् विषालु विषादीको प्रयोग गर्न बाध्य छन् र यो शिलशिला चलिरहने छ जबसम्म हामी वातावरण मैत्री खेती प्रणालीलाई मनैदेखि अंगाल्दैनौं र यस्ता विधिलाई हरेक किसान माझ पुर्याउँदैनौं।
आज यस्ता खेती प्रणालीको महत्त्व र भावी सन्ततिप्रतिको हाम्रो दायित्वलाई सिरोपण गर्दै आज धेरै दीर्घकालीन खेती प्रणालीको अन्वेषण र विकास हुँदै छन् जसमध्येको एक जैविक खेतीलाई लिन सकिन्छ।
जैविक खेती प्रणाली भन्दै गर्दा, यो कस्तो विधि हो? के कस्ता उद्देश्य बोकेको छ? के कसरी गर्न सकिन्छ? के यो विधि वातावरण मैत्री छ त? यस्ता अनेकौं प्रश्न अवश्य सबैको मनमा उठेको हुन सक्छ।
यो यस्तो खेती प्रणाली हो जसले रासायनिक मल, कीटनाशक विषादी, जीएमओजलाई प्रतिबन्ध लगाउँदै परापूर्वकालदेखि हाम्रो बाउबाजेले अङ्गाल्दै आएका र अहिले विकास भएका नयाँ वातावरण मैत्री प्रविधिलाई एकीकृत गर्दछ।
वर्षौंदेखि उर्वराशक्ति खस्किँदै आएको माटोमा चटक्क रासायनिक मलमा रोक लगाई प्रांगारिक मल तथा विधि अपनाई खाद्य व्यवस्थापन गर्न त्यति सजिलो भने अवश्य छैन। भनिन्छ नि प्रतिक्षाको फल मिठो हुन्छ।
हो, त्यसैसँग तुलना गर्न सकिन्छ। यस विधि अपनाइरहँदा सुरुका दुई तीन वर्ष भने धेरै चुनौतीहरू सामना गर्नुपर्ने देखिन्छ। जसमध्येको खाद्य व्यवस्थापन र बाली संरक्षणलाई मुख्य रुपमा लिन सकिन्छ।
कसरी गर्ने त जैविक रुपमा खाद्य व्यवस्थापन?
खाद्य व्यवस्थापनलाई सामान्य भाषामा, हामीले बिरुवाको वृद्धिविकासका निम्ति उपयोग गर्ने पोषक तत्वलाई कति मात्रामा, कुन समयमा, कुन स्रोतबाट, कुन तवरबाट प्रयोग गर्दा सक्दो फाइदा लिन सकिन्छ र अनवरत तरिकाले गरिने प्रयोगले हुने क्षतिलाई कम गरी कसरी वातावरणमा कमभन्दा कम असर पुर्याउन सकिन्छ भन्ने कुरालाई मध्यनजर गरी उचित तरिकाले बिरुवाको खाद्य माग पुरा गर्ने भन्ने बुझ्न सकिन्छ।
जैविक खाद्य व्यवस्थापन मात्र के कुरामा फरक छ भने, हामीले प्रयोग गर्ने खाद्य तत्व सबै जैविक स्रोतको हुनु पर्दछ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार वार्षिक रासायनिक मलको माग लगभग ८ लाख टन रहेको छ।
चालु आर्थिक वर्ष २०१९/२० मा सरकारले रासायनिक मल खरिद गर्न मात्र १० बिलियन रकम विनियोजन गरेको छ, जबकि अघिल्लो वर्ष ८.९९ बिलियन विनियोजन गरिएको थियो। यसरी हेर्दा रासायनिक मलको माग वर्षेनी बढ्दो छ र ठूलो धनराशि बाह्य देशबाट आयातका निम्ति लगानी गर्नु परेको छ।
यति धेरै रासायनिक मलमा आधारित कृषि प्रणालीबाट टाउको पन्छाइ जैविक खेती तिर लागि उत्तिकै उत्पादन लिन असम्भव जस्तै नै छ तर भोलिका दिनहरुमा विस्तारै उत्पादन बढाउन सकिन्छ भन्ने कुरामा भने हामी सबै विश्वस्त रहन सक्छौं।
कुनै पनि खेती प्रणालीमा खाद्य व्यवस्थापन एक महत्वपूर्ण विषय हो किनकि यसले एक्लै जम्मा लागत खर्चको अधिकांश लगानी खाद्य माग परिपूर्तिमै जाने गर्छ। हामीले हालेको सबै खाद्य वस्तु बिरुवाले पूर्ण रुपमा प्राप्त गर्न या नगर्न पनि सक्छ।
तसर्थ विवेकशील ढंगबाट व्यवस्थापन गरी लागत खर्चमा न्यूनिकरण गर्नु किसानका लागि अति संवेदनशील विषय हो। यसो हुँदा, बिरुवाको चाहिने खाद्य माग के कति छ, बिरुवाको कुन अवस्था बढी संवेदनशील छ, माटोको खाद्य परीक्षण जस्ता धेरै कुराहरूमा ध्यान दिनु पर्ने हुन्छ।
जैविक तवरबाट खाद्य व्यवस्थापन गर्न हामीसँग थुप्रै वैकल्पिक माध्यमहरू छन्।
के हुन् त ती स्रोत?
मलखाद, यो एकदमै सस्तो अनि भरपर्दो प्रांगारिक मल हो। विगत लामो समयदेखि किसानले यसलाई बालीमा प्रयोग गर्दै आएका छन्। यो गाईवस्तुको गोबर, मलमूत्र, सोत्तर, आदिको मिसावटबाट तयार हुन्छ।
अनुसन्धानका अनुसार यसमा औसत रुपमा ०.५% नाईट्रोजन (एन टु), o.२५% फोस्पोरस) र ०.५% पोटासियम पाइन्छ र यो बिरुवाको पोषक मागलाई परिपूर्ति गर्ने एक उत्तम स्रोत हो। तरपनि यसको सही ढंगबाट प्रयोग गर्नु पनि उत्तिकै जरुरी हुन्छ।
धेरैजसो किसानवर्गले मलखादलाई बारीमा लगी महिनौं राखिदिने र बल्ल खनजोत गरेको पाइन्छ। यसो गर्नाले मलखादमा प्राप्त हुने जतिपनि खाद्य तत्व छन्, ती या त घामको किरणसँगै यता बर्खे झरी सँगै बगाएर खेर जान्छ।
तसर्थ, मलखादको प्रयोग गर्दा यदि मजाले पाकेको मल छ भने बारीमा पुर्याउने बित्तिकै खनजोत गर्नु पर्दछ। तर, यदि अलि काँचो मल छ भने मलको एक थुप्रो बनाई एकै ठाउँमा राख्नु पर्दछ र करिब २-३ हप्तापछि खनजोत गरी माटोमा मिसाउन सकिन्छ।
अर्को खाद्य स्रोतको रूपमा कम्पोष्ट पनि एक मानिन्छ। कम्पोष्ट भन्नाले, घरबाट निस्केर तरकारी फलफूलका बोक्रबोक्री, पातपतिंगर र अन्य नचाइने जैविक वस्तुलाई कुहाएर तयार पारिएको मलिलो मल बुझिन्छ।
यसलाई सजिलै घरमा बनाउन सकिन्छ र यसमा औसत मात्रामा ०.५ देखि १% नाईट्रोजन, २% फस्फोरस र पोटासियम पाइने हुँदा जैविक खाद्य स्रोतको रुपमा प्रयोग गर्न सकिन्छ। साथसाथै खाद्य वस्तु माटोमा विस्तारै मिसिँदै जाने हुँदा, लिचिङको समस्या कम गर्दै लामो समयसम्म खाद्य उपलब्धतालाई निरन्तरता दिन सकिन्छ।
कृषि खाद्य व्यवस्थापनमा हरियो मल पनि एक प्रभावकारी र उपयोगी मलको रुपमा प्रयोग गर्न सकिन्छ। सामान्य रुपमा हरियो मलको रुपमा प्रयोग गर्न सकिने बिरुवा जस्तै धैचा, सन्हेम्प, मुङ्, बरसिमलाई बारीमा लगाउने र केही समय पश्चात उखेलेर बारीमै यात छाप्रोको रुपमा यात यसै छोड्नाले कुहिएर पुनः सबै माटोमा मिलिन जान्छ, जसले खाद्य व्यवस्थापनमा ठूलो भूमिका निर्वाह गर्दछ।
हामीले हरियो छँदा नै अथवा फूल फुलिसकेको पनि खनजोत गरेर बारीमा मिसाउन सकिन्छ। बाली खाद्य व्यवस्थापनको अर्को तरिका भनेको बालीचक्रलाई पनि लिन सकिन्छ। बाउबाजेको पालादेखि नै हामीले विभिन्न थरीका बाली लाउने गर्थ्यौं र यो हाम्रा लागि नयाँ विधि भने अवश्य होइन।
बलिचक्रमा विशेषगरी बाली छनौटलाई बढी प्राथमिकता दिने गरिन्छ। हरेक मौसम अनुरूप वा वर्षेनी फरक किसिमको बाली लगाउँदा, कोसेबालीलाई बाली चक्रमा घुसाउँदा बिरुवाको खाद्य मागलाई कम गर्न सकिन्छ। यसैगरी लामो छोटो जरा हुने बाली क्रमशः मिलाएर लगाउँदा, लामो जरा हुने बालिले जमिनको धेरै गहिराईसम्म पुगी खाद्य संकलन गर्ने हुँदा खेर जानबाट जोगाउँछ।
पञ्चगाव्य: गाईको दूध, घिउ, दही, गोबर र गउमूत्र पाँच चीजको सम्मिश्रणबाट तयार पारिएको जैविक मललाई सांस्कृतिक अर्थमा पञ्चगाव्य भन्ने गरिन्छ। बिरुवाको बृद्धि विकास र प्रतिरोधात्मक क्षमताको विकासका साथै प्रोटिन, भिटामिन, हर्मोन, फाइदाजनक सूक्ष्म जीवको संख्या वृद्धिमा यसको ठूलो हात रहेको पाइन्छ।
पञ्चगाव्यको जैविक खेतीमा मुख्य भूमिका रहेको छ। यसले धानमा गाजको संख्या बढाउन, भुसे अथवा धानको दाना नलाग्ने समस्या न्यूनीकरण गरी धानको बीउको औसत तौल वृद्धि गरेको पनि पाइएको छ। पञ्चगाव्यलाई माटोमा सिधैँ सिंचाई मार्फत अथवा झर्किएर पनि प्रयोग गर्न सकिन्छ।
कतै कतै पञ्चगाव्य छर्किएको बोटमा पातको साइज केही ठूलो र घना हुनमा पनि मद्धत गर्दछ जसले बोटको राम्रो वृद्धि विकासमा प्रत्यक्ष असर गर्दछ। चिनी पनि धेरै खायसी तितो हुन्छ भनेझै सही मात्रा र सन्तुलन मिलाएर मात्र प्रयोग नगर्दा नकारात्मक असर पनि देखिन सक्छ, तसर्थ सही ढंगबाट उचित मात्रा मिलाई प्रयोग गर्नु उत्तिकै जरुरी छ।
जैविक खेती प्रविधिमा प्रयोग गर्न सकिने अर्को खाद्य श्रोत: जैविक मल। बजारमा विभिन्न नामबाट पाइने (बायोपावर, बायोफर्ट, एजोफिक्स इत्यादि) प्रयोग गर्न सकिन्छ। जैविक मलमा (एजोटोब्याक्टर, क्लोस्ट्रिडियम, नोसटोक, राइजोबियम, बेसिलस, पेन्सिलियम) जस्ता जैविक जीव पाइने हुँदा, यसले न कुनै माटोका सूक्ष्म जीवलाई नोक्सानी गर्छ न वातावरणमा ह्रास।
समय अनुसार विस्तारै माटोमा यसको संख्या बढ्दै जाने हुँदा, रासायनिक मललाई जस्तो वर्षेनी बढीभन्दा बढी मात्रामा प्रयोग गर्नु पनि पर्दैन। तसर्थ, यो केही हदसम्म लागत प्रभावकारी पनि छ। साथै, गड्यौला मलको तत्कालीन र दीर्घकालीन फाइदालाई बुझ्दै जाँदा यसको प्रयोग पनि मौलाउँदै गएको छ र यस मलको उत्पादनले व्यवसायिक रूप पनि लिन थालेको छ।
गड्यौला मल बिरुवाको राम्रो विकास सँग सँगै माटोको संरचनामा पनि सुधार लेराउने हुँदा, जैविक खेतीको खाद्य व्यवस्थापनको पाटोमा यसलाई घुसाउन सकिन्छ। त्यस्तै गरी, बढ्दो कुखुरा पालन व्यवसायबाट निस्कने मललाई सदुपयोग गर्न यसबाट निस्कने उपयोगी मललाई बालीमा प्रयोग गर्न सकिन्छ र यो एक वातावरण मैत्री खाद्य स्रोत पनि हो।
यसमा धेरै खाद्य तत्व मुख्य तय नाइट्रोजन पाइन्छ। तर यसमा ब्याक्टेरिया, ढुसी, भाइरस जस्ता जीवको उपस्थिति हुने अनुमान रहेको हुँदा सिधैँ बारीमा प्रयोग गर्दा, गाईवस्तु, मानव स्वास्थ्य सँगै बालीमा पनि असर गर्ने होकी भन्ने आशंका रहेको पाइन्छ तर पनि यसको मल सिधैँ बारीमा मिसाउँदा कत्तिको प्रभावकारी छ भन्ने कुरामा भने अझै पनि हाम्रो ज्ञानमा ग्याप देखिन्छ।
जैविक खेतीमा माथि उल्लेखित खाद्य स्रोतले बिरुवाको सबै खाद्य मागलाई पूरा गर्न नसक्ने हुँदा चुना, जिप्सम, रक फोस्फेट जस्ता केही तत्वलाई प्रयोग गर्न अनुमति दिइएको छ। तसर्थ, बिरुवाको वृद्धि विकास, माटोमा पोषक तत्वको उपलब्धता इत्यादिका आधारमा यी वस्तुलाई प्रयोग गर्न सकिन्छ।
जति पनि माथि उल्लेखित स्रोतलाई प्रयोग गर्दै गर्दा माटोको भौतिक, जैविक र रासायनिक संरचनामा सुधार लेराउँने, माटोको पानी र पोषकतत्व धारण क्षमतालाई बढावा दिने, स्वस्थ बाली उत्पादनमा प्रभावकारी हुने हुँदा दिन प्रतिदिन जैविक खेती र यसको खाद्य व्यवस्थापनमा किसानको चासो बढ्दै गएको छ।
अन्ततः नेपालमा जानीनजानी प्रायजसो हिमाली र पहाडी भेगमा अझै पनि किसानले जैविक खेती नै गर्दै आएका छन् तर अपसोस नेपालको २६.५% जमिनमा जैविक खेती हुँदाहुँदै पनि मात्र ०.५% भूभागलाई जैविक खेतीको प्रमाणीकरण तोकिएको छ। जसले गर्दा अझै पनि किसान आफ्ना उत्पादित बस्तुभाउलाई सस्तो मूल्यमा बेच्न विवश छन्।
नेपालमा सरकारी गैरसरकरी संघ-संस्था यस क्षेत्रमा आबद्ध छन्, नियम कानुन बनेका छन्। मात्र त्यसको सही ढंगबाट परिचालनमा कमी रहेको छ।
भोलिका दिनहरूमा यो कुरालाई सिरोपण गर्दै अघि बढ्ने हो भने पक्कै जैविक खेती पद्धतिलाई माथि पुर्याउन सकिन्छ, किसानका बजारीकरण र प्रमाणीकरका समस्यालाई कम गर्न सकिन्छ, निर्यात दरलाई उकास्न सकिन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापार व्यवसायलाई तन्काउन सकिन्छ।