एक जना महिलाले हात जोडेर भनिछिन्, ‘म मरेपछि मेरो लुगा नफुकालेर नै मलाई जलाई दिनुहोला।’
किन र मृत्युपछि त लुगा फुकालेर, सफा गरेर अनिमात्र चितामा राख्ने संस्कार छ। फेरि मृत्युपछि त तिमीलाई केही थाहा हुन्न नि भनेर सोध्दा उनले जवाफ दिइन्, ‘मैले अहिलेसम्म लुकाएर राखेको मेरो खसेको पाठेघर सबैले देख्छन् अनि त मेरो आत्मालाई पनि शान्ति हुनेछैन त्यसैले।’
एक संस्थामा कार्यरत कल्पनाले मलाई उनको दुःखद कथा सुनाइन्। यी सुदूर पश्चिमकी एक महिलाले जस्तै मृत्युपछि पनि आफ्नो खसेको पाठेघर देखाउन नचाहने, लाज र पीडाको भार बोकेर बसेका धेरै महिलाहरू नेपालमा छन्। तर तिनीहरूको ब्यथा कथा सुन्ने र तिनलाई समाधान गर्ने फुर्सद र धैर्यता स्वास्थ्य मन्त्रालयसँग छैन।
पहाड र तराईको महिलामा यस्ता वेदना थुप्रै छन्। कसैले पोख्छन्, कोही लुकाएर बस्छन् र त्यसैसँग चितामा जान चाहन्छन्। हिमाली क्षेत्रका शेर्पा महिलामा यस्तो समस्या मैले कमै देखे/सुनेको छु।
महिलाको पाठेघर झर्ने समस्याको बारेमा छलफल गर्दा उनीहरूको बेदनाको अर्थात पाठेघर खस्ने कारण वा मूल जरो खोज्न छाडेर केवल ‘पाठेघर खसेको समस्या मात्र’ समाधान गर्नुपर्छ भन्दै शल्यक्रिया गरिन्छ।
समस्या भएपछि शल्यक्रिया र उपचार त अवश्य नै चाहिन्छ। तर समस्याको जरो नहटाए आउँदा वर्षसम्म खसेको पाठेघरको शल्यक्रिया मात्रै गरेर समस्या सामाधान हुँदैन।
सानो छँदा एक कथा सुन्थ्यौं- एक जना लहडी सेठ अनेक उट्पट्याङ कुरा गरिरहन्थे। समुन्द्र किनारमा एक दिन डुल्दाडुल्दै उनलाई लागेछ, ‘यत्रो विशाल समुन्द्रको पानी सबै सुके कस्तो हुन्छ होला?’ लहडी सेठले सहरभरी खबर पठाएछन्, ‘समुन्द्रको पानी सुकाउन सक्नेलाई म १ हजार स्वर्ण मुद्रा दिन्छु।’ महिनौंसम्म पनि कोही अघि आएनछन्। सबैल यो सेठ बौलाएछ भने। लामो समयपछि एक जना बुढा मानिसले सेठलाई भनेछन्, ‘म समुन्द्रको पानी एक रातमा सुकाइदिन्छु। तर समुन्द्रमा आउने सबै नदीलाई तपाईँलाई बन्द गरिदिनुपर्छ।’ ‘मैले कसरी नदीको वहावलाई रोक्ने त?’ सेठले प्रतिप्रश्न गरेछ। ‘हो, नदीको पानी रोकिएन भने कसरी सुकाउने त,’ बुढाले जवाफ दिए। सेठका आँखा खोलिएछन्। ती बुढालाई उनले एक हजारस्वर्ण मुद्रा दिएछन्।
हाम्रो स्वास्थ्य मन्त्रालय पनि सेठ जस्तै छ। समुन्द्रको पानी रोकियोस् भन्ने तर, नदीका वहाव नरोक्ने। पाठेघर खसेको शल्यक्रिया गर्ने तर कारण चाहीँ नहटाउने। महिलाको प्रजनन् स्वास्थको व्यथाको मुल जरो के हो भन्ने नबुझेझैं उपचार मात्र गर्न खोज्ने?
पाठेघर खस्ने समस्या केवल औषधि, अस्पताल, शल्यक्रिया भएर मात्र ठिक हुँदैन। यसलाई महिलाको सामाजिक अवस्थासँग नै जोडेर हेर्नुपर्छ। स्वास्थ्य मन्त्रालय रोगको उपचार मात्र गर्न खोज्छ तर रोगको जरो निमिट्यान्न पार्न खोज्दैन।
गाउँघरमा त महिलालाई ‘गोरू जस्तै जोतेर’ काममा लगाउने प्रवृत्ति विद्यमान छ। महिलाले कम खाए पनि हुन्छ भनेर नै किशोरीको शरीर कमजोर हुन्छ र यहीँबाट शुरू हुन्छ उनको पाठेघर झर्ने समस्या।
प्रजनन् अंगको समस्या र पाठेघर खस्ने कारण, आमा बनेपछि र कुपोषण भएर मात्र होइन। बालिका अवस्थाको, किशोरी बेलाको रक्त अल्पता र कुपोषण पनि यसको कारण हुन्छ। कुपोषणको समस्या समाधान गर्न बढी समय लाग्छ। सामाजिक मान्यता र रूढीवादी प्रथा पनि बदल्नुपर्छ। त्यसैले सजिलो उपाय छानिएको छ- उपचार र शल्याक्रिया।
जस्तोसुकै तरिकाले होस् शल्यक्रिया गर्यो। महिलालाई घर पठायो। त्यसपछि उनलाई आउने समस्याबारे आँखा चिम्लियो, बस यति भए समस्याको समाधान भयो।
पाठेघर खसेको शल्यक्रिया गरेपछि उनलाई कस्तो समस्या आइपरेको छ भनेर स्वास्थकर्मीलेसम्म वास्ता गर्दैनन्। त्यसैले जथाभावी पाठेघरको शल्यक्रिया गरेपछि महिलाहरू घर पुगेपछि गह्रौं काम गर्ने क्रममा पाठेघरसँगै जोडिएको मुत्राशयको श्यौली कमजोर भएर निस्कन्छ र पुनः महिला पीडित हुन्छिन्।
यसरी महिलाको पाठेघर निकाल्दै जाने प्रक्रियाले त गाउँघरका प्रजनन् उमेरका सबै महिलालाई उपचार पुर्याउन सम्भव छैन। एक तथ्याङ्क अनुसार करिब २ लाख महिलालाई तत्काल शल्यक्रिया गर्ने आवश्यकता छ। यदि वर्षमा १४ हजार महिलाको शल्यक्रिया (चाहे जस्तोसुकै तरिकाले होस्) गरे पनि १४ वर्ष त त्यहीँ शल्यक्रिया गर्न लाग्छ। त्यो १४ वर्षमा त अन्य हजारौं महिलाको पाठेघर खसिसकेको हुन्छ। अनि फेरि तिनको पनि शल्यक्रिया गर्न सम्भव छ त?
यस्ता प्रश्न सोचेर समस्याको जरो हटाउनेबारे सोचे मात्र समस्याको समाधान हुन्छ।
स्वास्थ्य मन्त्रालयले बुझ्नुपर्छ कि, शल्यक्रियालाई प्राथमिकता दिएर मात्र पाठेघर खस्ने समस्याको समाधान गर्न सकिन्न, त्यसैले पुनः समस्या नआउने तरिकाले सोच्नुपर्छ।
करिब १५ वर्ष अघिको कुरा हो, हामी अछामको मंगलसेनमा हिँडिरहेका थियौं। बाटोमा धेरै महिलाहरू सिमेन्ट बोकेर माथितिर लागिरहेका देखिन्थे। त्यो बेलामा लाहुरे पुरूषहरू हातमा रेडियो लिएर सुन्दै थिए।
‘ओहो तपाईँहरू यस्तो सिमेन्ट लिएर ५–६ घण्टा हिँडेर आउनुभयो। गाह्रो हुन्न र,’ ती श्रमिक महिलामध्ये एकलाई सोधेँ। ‘गाह्रो भए पनि के गर्नु हाम्रो जिन्दगी नै यस्तै छ,’ खुइय सास फेर्दै ती महिलाले जवाफ दिइन्।
त्यहीँ भेटिएका एक जना भद्र भलाद्मी जस्तो देखिने मानिसलाई सोध्यौं, ‘यति माथिसम्म यस्तो भारी ल्याउन त खच्चर लगाए पनि हुन्छ होला नि?’
रेडियो कानमा लगाएर, एउटा छाता ओडेर ती भलादमीले सहजै जवाफ दिए, ‘खच्चरले ल्याउँदा महंगो पर्छ। घरकै आइमाईहरूले बोके सस्तो हुन्छ। फेरि यी महिलाहरूको खासै काम पनि त छैन। त्यति भारी त बोकिहाल्छन् नि।’
ती भलादमीको कुराले मन झसंग भयो। महिलाहरूको जीवनको मुल्य त खच्चर भन्दा पनि कम रहेछ।
यसरी सुदूर पश्चिममा महिलाले भारी बोकेको देखेरै भनिएको होला, ‘तराईमा गोरू नहुनू, पहाडमा महिला नबन्नू।’
खच्चडभन्दा बढी भारी बोक्नुपर्ने महिलाको सामाजिक मानसिकताले महिला, किशोरी, युवतीहरू गर्भवती हुँदा सुत्केरी हुँदा पनि कठोर शारीरिक काम गरिरहनुपर्ने बाध्यता छ, अनि पाठेघर खसिरहन्छ।
अहिले नेपाल सरकारले पाठेघर खस्ने महिलाको उपचार सित्तैमा गर्ने नीति बनाएको छ। तर त्यो नीति कतिपय स्वास्थ्यकर्मीलाई पनि थाहा छैन। अनि महिलाहरू ५० वर्षको उमेरमा पनि पाठेघर बेदनासँगै बाँचिरहन्छन्।
केही साथी मिलेर हामीले १० वर्षमा करिब ३० हजार महिलाको स्वास्थ्य शिविरमा परीक्षण गर्दा झण्डै १ हजार महिलाको पाठेघर खसेको थाहा भयो। विभिन्न संघ संस्थालाई भनेर उनीहरूको निःशुल्क शल्यक्रिया गरियो।
तर अपसोच सित्तैमा शल्यक्रिया गर्ने सहुलियत दिँदा पनि ‘घरमा बाख्रा र भैसी हेर्ने मान्छे नहुँदा, सासु/ससुरा स्याहार्ने मान्छे नहुँदा र बच्चाबच्ची स्याहार्ने मान्छे नभएकाले ५०० महिलाले मात्र उपचार लिए। बाँकी ५०० महिलाहरू दुःख भोक्दै होलान्।
यस्तो समस्या त मैले समाधान गर्न सकिनँ भने कसले मद्दत गर्ला र खै?