माओवादी जनयुद्धको जन्म २०५२ फागुन १ गते भयो, मेरो ४ गते। अथार्त्, शसस्त्र जनयुद्धको घोषणा भएको ३ दिनपछि 'म' जन्मिएँ।
मेरो जन्म रुकुममा भयो। रुकुममा जन्मे हुर्केकै कारण मलाई सुरुमा भेट्ने साथीहरू अथवा अन्य मानिसहरूले मेरो नामभन्दा पनि म जन्मेको ठाउँले स्मरण गर्ने गर्दछन्।
माओवादी जनयुद्ध र राज्यपक्षको कारण हजारौं नेपालीहरूको मनमा बाचुन्जेल निको नहुने घाउ लागेको छ। हजारौंले आफ्ना बुवा-आमा, दाजुभाइ, दिदीबहिनी, छोराछोरी र आफन्तहरू गुमाएका छन्। कतिपय त अझै पनि बेपत्ता छन्।
'म' २-३ वर्षको हुँदा बुवालाई माओवादीहरुले रुकुमबाटै निस्कन बाध्य पारे। ६ वर्षको हुँदा मेरो कपडाहरु धुन घरदेखि केही टाढा गएकी मेरी आमालाई फर्कने क्रममा २०५८, चैत्र २४ गते राज्यपक्ष (आर्मी) द्वारा गोली हानी हत्या गरियो।
मेरी आमा एक स्वतन्त्र नागरिक हुनुहुन्थ्यो, जसले कुनैपनि दलको सदस्यता ग्रहण गर्नु भएको थिएन। उहाँ एक्ली छोरी हुनुहुन्थ्यो जसका ५ दाजुभाइ मध्ये कान्छो भाइलाई पनि २०५५ सालमा राज्य पक्षद्वारा हत्या गरिएको थियो।
उहाँको हत्या भएको केही वर्षपछि पीडाले छट्पटाइरहनु भएका मेरा हजुरबुबा पनि बित्नुभयो। ५ दाजुभाइकी एक्ली दिदी/बहिनीको मृत्युले सारा परिवार स्तब्ध भयो। मेरा मामाहरु तिहारमा मलाई देख्दा अझैपनि आँखाभरि आँसु ल्याउनु हुन्छ। एकदमै नरमाइलो महशुस हुन्छ।
मेरी आमाले मलाई माइतीघरमै छोडेर यो संसारबाट बिदा हुनुभयो। हजुरआमाका आँसुहरुमाथि आँसु दिनहुँ थपिँदै गए। कान्छो छोराको अवसान भएको १ वर्षपछि श्रीमानको निधन, त्यसको २ वर्षपछि भएकी एउटी छोरीको पनि असामयिक निधनले हजुरआमा केही महिना बेहोसमै बाँच्नु भयो।
मलाई देख्ने बित्तिकै मेरी हजुरआमाले आँखाभरि आँसु ल्याउनु हुन्थ्यो। हरेक दिन चिन्ता गरिरहने हजुरआमाको पनि चिन्तै चिन्ताले २०६३ सालमा निधन भयो। आमा बित्ने समयमा सानो भएर होला रोएको याद छैन। तर हजुरआमा बितेको दिन म धेरै नै रोएको थिएँ।
किनकि हजुरआमा मलाई मेरी आमाजस्तै लाग्थ्यो। त्यसपछि म एउटा त्यस्तो टुहुरो एवम् द्वन्द्वपीडित हुन पुगें, जसले राज्य र माओवादी दुवै पक्षबाट कहिल्यै निको नहुने घाउको सामना गर्नुपर्यो।
द्वन्दकालभर बुवा माओवादीहरुको डरले भारतमै रहनु भयो। त्यसैले मेरो रेखदेखको सम्पूर्ण जिम्मा मेरा साईला मामा-माइजुलाई आइपर्यो। मेरो मामाले विसं २०४५ अघि नै आईएसम्मको अध्ययन पूरा गर्नु भएको रहेछ। यसर्थ मैले एउटा शिक्षित परिवारमा हुर्कने अवसर पाएँ।
मलाई उहाँकै छोराछोरीहरुसरह माया, शिक्षा, व्यवहार एवम् संस्कार मिल्यो। कक्षा १ देखि ४ सम्म म कहिल्यै दोश्रो भइनँ, सधैं प्रथम। गाउँको विद्यालयबाट ५ कक्षा उतीर्ण भएपछि मैले रुकुम जिल्लाको सदरमुकाममा रहेको उत्कृष्ट सामुदायिक विद्यालय (त्रिभुवन जनता मावि) मा कक्षा ६ देखि १० सम्म अध्ययन गरें र विसं २०६९ सालको एसएलसी परीक्षामा प्रथम श्रेणीसहित उतीर्ण भएँ।
पढ्ने कुरामा मलाई मेरा मामा-माइजुले केही पनि कमि हुन दिनु भएन। उहाँहरुकै उदार भावना एवम् सोचाइका कारण मैले काठमाडौँको मिनभवनस्थित भिएस-निकेतन कलेजबाट उच्च मावि तहको शिक्षा पूरा गरें र कास्कीको पोखरास्थित पृथ्वीनारायण क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन पूरा गर्ने अवसर पाएँ।
पोखरा छँदा पढाइको अतिरिक्त न्यु ग्यालेक्सी माविमा प्राथमिक तहको अंग्रेजी/सामाजिक शिक्षकका रुपमा काम गर्ने अवसर प्राप्त भयो। उक्त समयमा थुप्रै मान्छेहरुसँग चिनजान पनि भयो। स्नातक तहको अध्ययन सकिएपछि म फेरि काठमाडौँ आइपुगें।
काठमाडौँ आएपछि पनि बालुवाटारस्थित मेरिडियन ईन्टरनेशनल स्कुलमा आधारभूत तहको सामाजिक शिक्षकको रुपमा अनुबन्धित भएँ। तर कोरोनाको प्रभावका कारण म आफैले उक्त विद्यालय छाडें। विद्यालय छाडेता पनि म शिक्षाप्रति अत्यन्तै चासो राख्ने व्यक्ति भएकाले लकडाउन अवधिभर शिक्षासँग सम्बन्धित ५ वटा राष्ट्रिय र २० वटा अन्तर्राष्ट्रिय अन्लाइन कन्फेरेन्सहरुमा भाग लिने अवसर पाएँ।
साथै 'टिच फर नेपाल फेलोशिप- २०२१' छनौट प्रकृयाको अन्तिम चरणसम्म पुग्नुलाई मैले मेरो जीवनको एउटा महत्वपूर्ण उपलब्धिको रुपमा लिएको छु।
मैले केही सहज वातावरण पाएका कारण यहाँसम्म पुग्ने अवसर पाएको छु। तर, म जस्ता सयौं टुहुराहरु एवम् द्वन्द्वपीडितहरु उचित शिक्षा र संरक्षणबाट बन्चित हुनु परेको छ।
सरकारले निश्चित राहतको व्यवस्था गरेको भए तापनि त्यसको उचित प्रयोग नहुँदा वास्तविक पीडितहरुको घाउमा अझैसम्म पनि मल्हम लाग्न सकेको छैन। सम्बन्धित निकाय र सरोकारवालाहरुलाई यसै लेख मार्फत ध्यानाकर्षण गराउन चाहान्छु। धन्यवाद!