संसारका झण्डै ६ करोड मानिसले दैनिक भोजनको रुपमा प्रयोग गर्ने गिठ्ठा नेपालमा भने अपहेलित छ। जसले प्रयोग गर्थे, उनीहरूले पनि छोडे।
यसपालि मकवानपुरको चेपाङ बस्तीमा जाँदा एउटै घरमा तीन जना बुहारी दुई–दुई हप्ताको फरकमा सुत्केरी भएको पाइयो। भाले काटेर रमाउँदै पकाउँदै गरेका चेपाङ महिलालाई ‘आजकल गिठ्ठा, भ्याकुर खाने गरेको छैन?’ भनेर सोध्दा, ‘खोई आजकल जंगलमा गएर कसले ल्याउँछ र, हमीले त खान छोड्यौं’ भन्ने उत्तर आयो। बजारबाट किनेको मात्र खाने बानीले चेपाङहरूले आफ्नो महत्वपूर्ण पोषणले भरिपूर्ण खाना नै त्यागेको देखेर मन चसक्क भयो।
पहिले पहिले मलाई पनि चेपाङ बिचरा खान नपाएर गिठ्ठा, भ्याकुर खान्छन् जस्तो लाग्थ्यो।
‘चेपाङहरूले केही खान पाएनन्, भोकमरी भयो, त्यसैले उनीहरूले गिठ्ठा भ्याकुर, तरुल, सिस्नु कालो निउरो खाएर जीवन बिताउन परेको छ। पौष्टिक खाना नपाउँदा उनीहरू कुपोषणको सिकार भएका छन्। त्यसैले, सरकारले चामल लगेर दिनुपर्छ’ भन्ने पत्रिकामा छापिएको देखेर दुःख लाग्थ्यो। पछि मैले गिठ्ठा, भ्याकुरको पोषण तत्वको बारेमा पढेपछि आँखा खुलेको थियो।
एक जना साथी जर्मन पुगेर आएपछि भनेका थिए, ’जर्मनमा त एरियल याम खाइयो। बडो स्वस्थकर रहेछ। नेपालमा त्यो हाम्रो बारीतिर पनि रोप्न पाए हुन्थ्यो नि।’
मैले हासेर उनलाई भनेको थिएँ, ‘एरियल त हामीकहाँ चेपाङले प्रयोग गर्ने गिठ्ठा पो हो।’
उनी अकमक्क परेका थिए। ‘ए त्यस्तो पो। किन त चेपाङहरूले खान पाउँदैनन् भनेर भनेको?,’ उनको प्रश्न थियो। किनभने हामी कहाँ नेपालबाहिरका कृषि उपज मात्र राम्रो हुन्छ भन्ठान्छन्। देशभित्रको वनस्पति कति पौष्टिक उत्तम छ, वास्ता नै गर्दैनन्।
नेपालमा भएको कृषि वैज्ञानिक, कृषि मन्त्रालय र कृषिमा काम गर्ने सरकारी कर्मचारीले कसैले पनि भनेनन् कि चेपाङको खानाले कुपोषण गराउँदैन। चेपाङले खाने खानामा त मानव स्वास्थ्यलाई चाहिने सबै तत्व छन्। बरु हामीले त चेपाङले प्रयोग गर्ने खाना मासिँदै गएकोमा पो त चिन्ता जनाउन पर्ने हो।
पछि मैले गिठ्ठा, भ्याकुरको पोषण तत्वको बारेमा पढेपछि आँखा खुलेको थियो।
कर्णालीको चिनो, मुस्ताङको उवा, मार्सी चामल, आदि पनि पहिले अपहेलित नै थिए। अहिले बल्ल तिनको पनि दिन फिरेको छ।
पहिले वन जगंलमा खोजेर चेपाङहरूले (गिठ्ठा) प्रयोग गर्थे। त्यसको तितोपन हराओस् भनेर केहीबेर उमाल्थे। र, तरकारीजस्तै गरेर पकाएर खान्थे। धेरै गिठ्ठा एकैचोटि जम्मा गरे भने चाहिँ छ्याङ पनि बनाउँछन्। ‘अहिले जंगलमा गएर को जम्मा गरोस्?,’ चेपाङ बस्तीमा भनेको सुनियो।
संसारमा ६०० किसिमका गिठ्ठा पाइन्छ। थारु, चेपाङले यसको प्रयोग गर्थे। पश्चिम अफ्रिकामा चाहिँ यसको अत्यधिक प्रयोग हुन्छ। यसमा रहेको पोषणकै कारणले जापान र ब्रिटेनमा पनि लोकप्रिय छ। तर, चेपाङले भने विस्तारै बिर्संदै गएका छन्।
गिठ्ठामा कार्बोहाइड्रेट र रेशादार पदार्थ पनि पर्याप्त हुन्छ। यसको प्रयोगले कब्जियत र कोलेस्ट्रोल पनि कम गर्छ। यसमा भिटामिन बी र फेलिक एसिड पनि रहेको हुन्छ। अर्थात् गर्भवती महिलालाई यो फाइदा हुन्छ। साथै, यसमा अन्य सूक्ष्म पोषण जस्तो म्यागनेसियम, पोटासियम, लौह तत्व पनि पाइन्छ।
चेपाङले त गिठ्ठा केवल जंगलबाट मात्र टिपेर खाने चलन थियो। यसलाई खेती गरेर फलाएर लोकप्रिय बनाउन सकियो भने यसले खाद्य सुरक्षामा महत्वपूर्ण स्थान खेल्न सक्छ। जर्मनबाट ‘एरियल याम’ खाएर आएका मेरा साथीले घरमा नै रोपेका छन्। घरमा कोही आयो भने गर्वपूर्वक उनी भन्छन्, ‘मेरो बारीमा त गिठ्ठा छ नि।’
अफ्रिकामा त विशेष प्रकारको पर्व नै मनाइन्छ गिठ्ठा खान। हामीकहाँ घिउ, चाकुको पर्वजस्तै त्यहाँ गिठ्ठाको पिठो बनाएर केकमा हालेर वा सुप बनाएर खाने चलन छ। जापानमा पनि गिठ्ठाको नुडल पनि बनाउने चलन छ। यसरी विदेशीले दैनिक जीवनमा प्रयोग गर्ने गिठ्ठा अपहेलना गर्नु उचित नहोला कि?
नेपालको सन्दर्भमा त गिठ्ठाको आर्थिक र पोषणयुक्त दुबै महत्व छ। जमिनमा फल्न सक्ने हुनाले यसको खेती सजिलै गर्न सकिन्छ।
गिठ्ठालाई विभिन्न खानेकुरासँग मिसाएर खाँदा स्वाद र पौष्टिकता पनि बढ्न जान्छ। साथै व्यापारिक दृष्टिले उत्पादन गरेर पिठो, नुडल्स चिप आदि बनाएर आर्थिक रुपमा पनि उन्नति गर्न सकिन्छ।
त्यसैगरी, चेपाङले सिपलिकान (वा सिपलिगान) को पत्तालाई पानीमा उमालेर, पानी फालेर अनि तरकारी वा अचार बनाएर खान्छन्। रुघाखोकी, ज्वरो आदिको घरेलु उपचार गर्न सिपलिकान चेपाङले प्रयोग गर्छन्।
त्यसैगरी, कालो निउरोको तरकारीले स्वाद र स्वास्थ्य दुबै दिन्छ। नदीको किनार र जंगलबाट यो जम्मा गरिन्छ। चेपाङहरूले ‘जा पास’ भन्ने गर्छन्।
चेपाङहरूले प्रयोग गर्ने वन कुरिलो, पांग्रा, बयर आदि पनि पोषणका उत्तम स्रोत हुन्। तर, यिनीहरूले प्रयोग राम्रोसँग हुन नसकेर चेपाङहरूलाई भोकमरी ‘खान पाएनन्’ भन्ने खबर सुनिन्छ।
अनि चेपाङले विस्तारै यस्ता वस्तु प्रयोग गर्न छोडेका छन्। कर्णालीमा कोदो, फापर, सिमीको प्रयोग गर्न नजान्दा ‘भोकमरी’ छ। चेपाङहरूको बीचमा गिठ्ठा, भ्याकुर, कालो निउरो, जुनेलो आदि अपहेलित हुँदा ‘भोकमरी’ हुन्छ। यस्ता उत्तम वनस्पतिलाई प्रयोग गर्न कृषि मन्त्रालयले वास्ता गर्दैन।
स्वास्थ्य र कृषि मन्त्रालय त जब विदेशी परामर्शदाताले अंग्रेजी भाषामा बोल्लान्- गिठ्ठा, सिपलिकान, राम्रो छ। स्वस्थकर छ, अनि बल्ल यस्ता वस्तु कहाँ पाइन्छ भनेर खोजी गर्लान्। चेपाङ र वनकरियाले खान्छन्। खानेले चाहिँ केही वास्ता गर्दैनन्। कठै हाम्रो ज्ञान, बाहिरकाले नभनेसम्म प्रयोगमा नै नआउने?