म कौतुहल थिएँ, अघिल्लो दिन मुसा कैद गर्न राखेको 'ट्र्याप' मा केही पर्यो कि छैन होला?
अनुसन्धानका लागि फिल्डमा आउनुअघि जंगलमा पाइने मुसाका प्रजातिबारे मलाई त्यति ज्ञान थिएन। फिल्ड जाने अघिल्लो दिन साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले अनलाइनमार्फत परिचयात्मक कार्यक्रम गरेको थियो।
अनुसन्धानकर्ता संजन थापाले भन्नुभएको थियो, 'हामीसँग मुसा अध्ययनका लागि चालीस वटा ट्र्याप छ, जुन कुनै एक स्थानको सर्भे गर्दा हामीले राख्नु पर्ने हुन्छ।'
'बाफरे, चालीस वटा ट्र्याप, त्यो पनि एक ठाउँमै?' मैले मनमनै सोचेथेँ।
हामी काठमाडौंको दक्षिण पश्चिमी वनमा थियौं। जिम्मा थियो- वन भित्रका वन्यजन्तु तथा बोटबिरुवाका वैज्ञानिक तथ्यांक बटुल्ने।
युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसनको आर्थिक सहयोगमा चलाइएको उक्त अनुसन्धानले चराचुरुंगी, बोटबिरुवा, पुतलीदेखि ठूला जनावरसम्मको तथ्यांक बटुल्दै थियो। तर म अलमल मुसाको विषयमा परेको थिएँ। 'के हामीले राखेको ट्र्यापमा मुसा साच्चिँकै पर्ला र? 'के त्यो ट्रयाप सुरक्षित होला?'
फिल्ड जानुअघिका मेरा यी प्रश्न बीस दिनको अनुभवले चुप गराएको थियो। अध्ययन थानकोटको लगलगेपाखा सामुदायिक वनदेखि चन्द्रागिरि, मातातिर्थ, मच्छेगाउँ हुदै चम्पादेवी सामुदायिक वनसम्म पुगेको थियो।
बिहानको मुटु कमाउने सिरेटो हावा अनि घामै नलाग्ने खोल्सोको चिसो माहोललाई मेरो एउटा सानो हुडीले पक्कै धान्दैन थियो। हुडीमाथि ऊनी ज्याकेट, हातमा पन्जा र खुट्टामा बाक्लो मोजा लगाएँ। तुसारो छिचोल्दै हिँड्यो टोली अनुसन्धानमा।
चरालाई आँखाले हेरिन्थ्यो। कहिले दुरबिन अनि क्यामरा ठड्याइन्थ्यो। क्यामरा ट्रयापमा कहिले चितुवा, निरबिराला, मृग तथा बँदेल लडिबुडी गरेका देखिन्थे। पुतलीलाई सानो जालीले समाई या फोटो खिची चिन्न सकिन्थ्यो। तर मुसा?
मुसालाई वैज्ञानिक विधिले अध्ययन गर्न ट्र्यापमै कैद गर्नुपर्ने तरिका रहेछ। यो अध्ययनमा हामीले निधो गरेका थियौं कि एक ठाउँमा कुनै एउटा मुसा समाउने ट्र्यापलाई न्यूनतम ७२ घण्टा (अर्थात तीन दिन) राख्नु पर्छ। यसले अनुसन्धानका तथ्यांकलाई वैज्ञानिक अनि व्यवस्थित बनाउँथ्यो। एउटा ट्र्यापबाट अर्को ट्र्यापको दुरी २ मिटर जति टाढा राखी १० वटा ट्र्यापलाई हामीले ५० वर्गमिटरको क्षेत्रफलमा फिजारेका थियौं। जंगलमा तीन दिनसम्म छोड्नुपर्ने भएकाले हराउन सक्छ भनेर ट्र्याप छेवैमा रातो रिबन गाँठो पारिएको थियो।
त्यसैले म कौतुहल थिएँ। अस्ति छाडेको ट्र्यापमा मुसा पर्यो होला त?
टिमका अन्य व्यक्तिभन्दा मेरा पाइला छिटो चलिरहेका थिए। मभन्दा पछाडि अनुसन्धानकर्ता संजन थापा र मुख्य फिल्ड व्यवस्थापक दिव्यराज दाहाल हुनुहुन्थ्यो।
म हेर्छु। पहिलो ट्र्यापमा मुसा परेको थिएन। दुई दिनदेखि राखेको आहारा (ओट्स र नट्सको लेदो मिसाई बनाइएको कसार जस्तो डल्लो) जस्ताको तस्तै थियो। म सिधै दोस्रो रिबन भएको ठाउँ पुग्छु। तर त्यहाँ ट्र्याप नै थिएन।
'कहाँ गयो ट्र्याप?' म अझै गहिरिएर खोज्छु।
'दाइ, ट्र्याप त छैन त' म चिच्याउँछु।
उता संजन थापा भन्नुहुन्छ, 'त्यहीँ होला। हेर न।'
सबैतिर हेर्छु। छैन। अघिल्लो दिन राखेको स्थान पनि राम्ररी याद थियो मलाई। रिबन पनि त्यहीँ थियो। तर ट्र्याप थिएन। म अरू ट्र्याप हेर्न थाल्छु। तेस्रो ट्र्याप पनि थिएन। चौथो पनि। पाचौं र छैटौं पनि। हाम्रो पाँच वटा ट्र्याप चोरिएका थिए। हामी खिन्न थियौं।
सायद अनुसन्धान क्रममा हामीलाई परेको बाधा केवल कुनै एक संस्थान वा व्यक्तिलाई मात्र परेको थिएन। यसले 'नेपाल विज्ञान अनुसन्धानमा किन पछाडि छ' भन्ने प्रश्नको पनि उत्तर दिँदै थियो। विज्ञान अध्ययन तथा अनुसन्धान खास अर्थमा विकासका मानक हुन्। विश्वमा त्यही देशहरू प्रगतिपथमा अगाडि छन् जहाँ अनुसन्धानले प्राथमिकता पाएको छ।
नेपाली जनमानसमा यस किसिमका अध्ययन अनुसन्धानको चासो नहुनु र भएका अनुसन्धानमा पनि बाधा उत्पन्न गराउनुले हाम्रो संकुचित मानसिकता पनि देखाउँछ। हामीले हाम्रो सोच खुम्च्याउँदै गर्दा कतिपय विदेशी अध्ययनकर्ताले नेपाल आएर उल्लेख्य अनुसन्धान गरेको पाइन्छ।
सन् २००२ मा प्रकाशित लेखमा कनकमणि दीक्षितले लेखेअनुसार इस्ट इन्डिया कम्पनीबाट सन् १८२० मा ब्रिटिस कुटनीतिग्य ब्रायन हुटन हड्सन' नेपाल आए। नेपालमा २३ वर्षसम्म बस्दा यहाँका जैविक विविधताको विशेष अध्ययन गरे। विश्व जगतमा नयाँ जातिका जनावर, जडिबुटी, चरा, माछा तथा मुसासम्बन्धी जानकारी पत्ता लगाए। जसमा ३९ वटा स्तनधारी जनावर र १२४ प्रजातिका चरा रहेको नेचुरल हिस्ट्री जरनलमा कैद रहेको उनी बताउँछन्।
सोच्नुस्, यो कुरा आजभन्दा २०० वर्ष पुरानो हो। नेपालमा यस किसिमका चर्चा अनि उत्साह आउन सयौं वर्ष लाग्यो। शिक्षा हिसाबले नेपालको लगभग ६६ प्रतिशतभन्दा माथिको जनसंख्या साक्षर मानिन्छ। तर त्यो शिक्षाले व्यावहारिक पाटो नसमेटेको प्रष्ट उदाहरण देशकै सबभन्दा सुगम क्षेत्रमा वसोवास गर्ने मानिसबीच हाम्रो अध्ययन सामग्री हराउनुले बताइरहेको थियो।
नेपाली जनसमुदाय अनुसन्धानका विषयमा पछि पर्नुमा नेपाली वैज्ञानिक संजालको पनि कमजोरी देखिन्छ। वैज्ञानिकहरू अनुसन्धान गर्छन्, नयाँ कुरा पत्ता लगाउँछन्, अन्तराष्ट्रिय विज्ञान अनुसन्धानका लेखपत्रमा आफ्ना अनुसन्धान छपाउँछन्। तर जुन अनुसन्धानले स्थानीय मानिसलाई महत्व राख्छ उनीहरूसम्म पुर्याउँदैनन्।
हाम्रो अनुसन्धानमा हामी उल्लेख्य समय तथा लगानी खर्चिन्छौं। तर त्यो अनुसन्धानबारे चर्चा गर्न, अनि धेरै माझा पुर्याउन अग्रसर हुदैनौं। जसले गर्दा वैज्ञानिकका अनुसन्धानबारे विज्ञान जगतका सीमित व्यक्तिबाहेक अरू सबै अनभिज्ञ हुन्छन्।
हाम्रा अनुसन्धानका सामान हराउनुमा हाम्रो पनि गल्ती थियो। हामी आफैंले अध्ययनबारे चर्चा-विमर्श गराउने माहोल बनाएनौं। समय खर्चिएनौं। जब हाम्रो अध्ययन सामग्री हराए, संजन थापाले मलाई स्थानीयसँग सोधपुछका लागि नजिकका ५ घरमा पठाउनुभयो। स्थानीयसँग हाम्रो अनुसन्धानको विषयमा बताउँदै मैले भएको समस्या बताएँ। केही दिनदेखि स्थानीय गाउँवस्तीमै रहेका हामीलाई कसैले वन विभागका कर्मचारी भन्ठान्नुभएको रहेछ, कसैले इन्जिनियर।
सहयोगको अनुरोध गरिसकेपछि थाहा नभए पनि स्थानीयहरू सामान के-कता हुनसक्ने बताउँदै थिएँ। जंगलमा ठूला जीवजन्तुको अवस्था अवलोकन गर्न हामीले रूखको काण्ड तथा हाँगामा बाँधेर क्यामेरा ट्र्याप पनि राखेका थियौं। ती क्यामरा देख्दा धेरै स्थानीय अचम्मित भएका रहेछन्। कति निकै कौतुहल भएर क्यामरा अघि बसेर हेरेको पाइयो त कति क्यामराको फ्लासले तर्सिएका पनि।
अर्को मुख्य समस्या मिडियामा पनि देखिन्छ। हाम्रा रेडियो टेलिभिजनमा देखिने अन्तर्क्रिया तथा कार्यक्रम थोरै केही मात्र विज्ञानमा आधारित होलान् नत्र अधिकांश राजनैतिक। पत्रपत्रिकाका मुख्य हेडलाइन पनि अधिकांश राजनैतिक। पक्कै देशको भूराजनीतिले यहाँ हुने अनुसन्धानलाई समेत असर त गर्छ नै। तर नेपाली मिडियाले राजनीतिक पाटोलाई मात्र महत्व दिने दृष्टिकोण त्याग्नुपर्छ। जुन समाजमा नयाँ खोज, अनुसन्धान तथा विज्ञानको चर्चा हुन्छ, त्यहाँका जनताको सोच पनि फराकिलो हुँदै जान्छ। जब जनता बाठा हुन् थाल्छन्। यसले प्रत्यक्ष रूपमा जनमतदेखि भूराजनीतिमा समेत असर पार्छ।
त्यसैले स्थानीय सरकारमार्फत स्थानीयमा आफ्नो ठाउँमा भएको अनुसन्धानको जानकारी गराउनुपर्ने आजको आवश्यकता देखिन्छ। यसले प्रत्यक्ष रूपमा अनुसन्धानको संस्कृति बढाउनेदेखि व्यावहारिक शिक्षाबारे जनमानिसलाई प्रभाव गराउन सहयोग गर्छ। अनुसन्धानले छुने स्थानीयसँगका विशेष पाटाहरू, अध्ययनको अभिप्रायः, यसका तौरतरिकाबारे भन्ने तथा बुझाउने पाटो पनि हाम्रो अनुसन्धानमा जोडिन आवश्यक देखिन्छ।
लगभग २५ दिनको फिल्ड सकिएपछि हामी अनुसन्धानकर्ताको टोली फिल्डको विश्लेषणका लागि बल्खुको अनुसन्धान कार्यालयमा जमघट भयो। विदेशबाट मगाइएका मुसा अध्ययनका ट्र्यापहरूको नोक्सान भइसकेको थियो। एउटा ट्र्यापको मूल्य लगभग २ हजारभन्दा माथि पर्ने रहेछ। यस अर्थमा लगभग १० हजारभन्दा बढीको क्षति भएको देखियो। यसबाट हामी अनुसन्धानकर्तामा पनि अवगत भयो कि अब उपरान्तका अन्य फिल्डहरूमा हामीले हाम्रो तहबाट सकिने अनुसन्धान जनचेतना जनमानिसमा पुर्याउनुपर्छ।
हेर्दा सामान्य विषय लागे पनि कुनै स्थानीय क्षेत्रमा गरिएको अध्ययनबारे जानकारी लिन पाउने हक स्थानीयसँग पनि हुन्छ। अन्ततः अनुसन्धानको अन्तिम अभिप्रायः नयाँ कुरा पत्ता लगाउँदै त्यसको आधारमा जनमानिसको सोचको तह उकास्ने हुन्छ। त्यसैले यसको सुरूवात हाम्रा फिल्डहरूबाटै किन नगर्ने?
(लेखक बोलखे जीव विज्ञान अध्येता हुन्)