राजा विरेन्द्रले नेपाली जनताको जीवनशैली एसियाली मापदण्डको हुनुपर्छ भनेर परिकल्पना गर्दा उनको जीवनशैली विकसित मुलुकका अति धनी व्यापारीको हाराहारीमा थियो।
उनी र उनको परिवार अत्यन्तै विलाशीताको अमेरिकी/बेलायती जीवनशैलीमा रमाएर नेपाली जनतालाई एसियाली मापदण्डमात्र तोकेका थिए। उक्त मापदण्डको मापक के के थिए, मापदण्ड प्राप्तिका प्रयास र प्रकृया के थिए र अवधि कति तोकिएको थियो? यी प्रश्नहरू अनुत्तरित छन्।
कुन एसियाली देशको जनताको जीवनशैलीको सामानान्तर नेपाली जीवनशैली बनाउने परिकल्पना थियो? त्यसको उत्तर प्रष्ट छैनन्। राजा विरेन्द्रको शासनपछिको समयमा उनले तोकेका जस्ता धेरै नाराबजारमा आए तर तिनको उपलब्धिको स्तर न्यून नै रह्यो।
'गरिबसँग विश्वेश्वर कार्यक्रम' नेपाली कांग्रेसले परिकल्पना गर्यो। गरिबी न्यूनीकरण गर्ने उदेश्य राखेको उक्त नारालाई सार्थक बनाउने कोशिश, प्रकृया र उपलब्धिका बारेमा निकै कम कांग्रेसी मित्रहरूलाई जानकारी होला।
माओवादीहरू शान्ति प्रकृयामा आएपश्चात 'नयाँ नेपाल' निर्माणको नारा निकै बिक्यो। हाल 'नयाँ नेपाल' सुनिदैँन। नयाँ नेपालमा जनताबाट अपेक्षित के र जनताले अपेक्षा गर्न सक्ने के? ती कुराहरू प्रष्ट थिएनन्।
नयाँ नेपालको मानक र मापक केही पनि थिएन। माओवादी र एमालेले २०७४ सालको चुनाव ताका 'सुखी नेपाली समृद्ध नेपाल' नारले सडक र भित्ताहरू भरे। उक्त नाराले परिकल्पना गरेको सुख र समृद्धिको आकार वा परिमाण कस्तो हुने भनेर सायदै कसैले सोध्यो वा परिकल्पानाकारहरूले त्यसलाई प्रष्ट्याउन कुनै आवश्यकता नै देखे। नारा लेख्नु, बोल्नु र पूरा नगर्नु नेपाली राजनीतिको ऐतिहासिक पहिचान हो।
नाराहरू तय गर्नु र जनतामा छर्नु, जनतामा गएर सपथ ग्रहण गर्नु सरह हो। तिनको उपलब्धि जाँच्न सकिने मानकहरू नलेख्नु राजनैतिक बेइमानी हो। राजा विरेन्द्रको एसियाली मापदण्ड होस् वा कांग्रेसको 'गरिबसँग विश्वेश्वर कार्यक्रम' वा तत्कालीन माओवादीमा 'नयाँ नेपाल', तिनको असफलता, सान्दर्भिकता, आशय, वा उपलब्धि आदिको बारेमा जनताले गहिकिला प्रश्न गरेको देखिदैन।
त्यसले नेपाली राजनीतिका खेलाडीहरूलाई पटक पटक झुटा आश्वासन बाँड्न तर जनताबाट दण्डित हुनु पर्ने अवस्था आएको देखिदैन। यस ऐतिहासिक सिलसिलालाई कम गर्नको लागि जनताले गहकिला प्रश्न गर्न थाल्नु पर्छ। प्रश्नहरू ऐतिहासिक बदमासी र वर्तमानको कोलाहल दुवैको विषयमा जरूरी छ।
वर्तमान अवस्थाको सन्दर्भमा, संसद विघटनको विरूद्दमा भएको आन्दोलनको पहिलो दृष्टी भनेको आन्दोलन संचालन गरिरहेका नेताहरूलाई जनताको कठघरामा ल्याएर सार्थक प्रश्न सोध्नु र जवाफ खोज्नु हो।
आन्दोलनकर्ताहरूको आँखामा प्रधानमन्त्री केपी शर्मा ओलीले 'सुखी नेपाली समृद्ध नेपाल' बनाउने कार्यमा कुठाराधात गरे। उनीहरुलाई सोध्नै पर्ने प्रश्न के हुन सक्छ भने सोही परिकल्पनालाई साकार पार्नको लागि तिमीहरूले के गर्यौ? कस्तो सहयोग गर्यौ? अथवा के तिमीसुखी नेपाली समृद्ध नेपाल बन्ने कुरामा विश्वास गर्थ्यौ?
प्रधानमन्त्री ओली आफूलाई 'सुखी नेपाली समृद्ध नेपाल' को पर्यायवाची देखाउन निकै लागिपरेका छन्। उनी वा उनका कट्टर समर्थकहरूलाई एकपटक सुखी नेपाली समृद्ध नेपाललाई व्याख्या गरिदिनोस् भनेर भन्नै पर्ने बेला आएको छ।
कस्तो सुखी र कस्तो समृद्धि? मानक के, सूचांक के? समय कति? सरल प्रश्नहरु सोध्न पनि सकिएला जस्तै किः के खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री भएयता नेपाली विद्यालय शिक्षामा कुनै सुधारकार्य संचालन भएको छ?
शिक्षकको क्षमता बढाउने कार्य भएको छ? ५० लाखको हाराहरीमा अति सस्तोमा श्रम बेचिरहेका युवाको लागि देश फर्कदाँ रोजगारीको ग्यारेन्टी हुने संरचनात्मक प्रयास भएको छ? २०७४ पछि के नेपाली कृषकको जीवनशैलीमा तात्विक फरक आएको छ? प्रश्नहरु अनगन्ती छन्। तर सोधिएका छैनन्।
हामी सामान्यता प्रश्न गर्दैनौँ। त्यसको फाइदा लिएर रोष्टममा उभिएर प्रधानमन्त्री अत्यन्तै अपमानजनक भाषण गर्दै हिँडेका छन्। अबको प्रयास भनेको रोष्टममा उभिएर एकतर्फी संवाद गर्न रमाउने उनलाई सबै गोलो घेराभित्र राखेर सवाल जवाफ गर्नु पर्छ र गतिला प्रश्नहरु गर्नु पर्छ।
कसैप्रति अपमानजनक टिप्पणी गर्दा उनलाई कतिपय देशमा प्रधानमन्त्रीले बोलेका भाषणहरूको संग्रह गरेर नयाँ पुस्तालाई पढ्न दिने चलन भएको र उनको त्यस प्रकारको टिप्पणीलाई नयाँ पुस्ताले कसरी विश्लेषण गर्लान् भनेर सोध्न सकिन्छ।
तर यसको प्रधानमन्त्री ओलीलाई मात्र कुनामा लगेर धचेड्ने भन्ने होइन। नेकपा अध्यक्ष पुष्पकमल दहाललाई माओवादी आन्दोलन ताकाको फोटो र उनको अहिलेको जीवनशैलीको फोटो देखाएर यत्रो आर्थिक समृद्धि कसरी हासिल गर्यौ भनेर सोध्नै पर्छ।
माधव नेपाललाई आफ्नी छोरीलाई पढ्न अलायक मानेको सरकारी विद्यालयको स्तर बढाउन के गर्यौ र समृद्ध नेपालको नाराको गफ दियौ भनेर सोध्नै पर्छ।
अहिलेको तरल नेपाली राजनीतिले राजनैतिक खेलाडीहरूलाई जनताले प्रश्नहरू गर्ने मौका प्रदान गरेको छ। प्रश्नहरू खुला चौरमा हुन जरूरी छ। त्यसले चतुर राजनैतिक खेलाडीहरूलाई विधुतीय माध्यममा आफै प्रश्न र उत्तर तयार गरी जनताको आँखामा साँचिलो भन्ने मौकाबाट रोक्छ।
जनताले राजनैतिक खेलाडीहरूलाई उत्तरदायी बनाउन गहन प्रश्नहरू गर्नै पर्छ। नत्र राजा विरेन्द्रले नेपाली जनताको जीवनशैली एसियाली मापदण्डको गफ लेख्ने, देख्ने, प्रचार गर्न मध्येका सूर्यबाहादुर थापा पाँच पटक नेपाली जनताको प्रधानमन्त्री भए र भारतको एक अस्पतालमा मृत्युवरण गरे।
पाँच पटक नेपाली जनताको प्रधानमन्त्री भएका सूर्यबहादुरले आफैलाई पनि चाहिन सक्छ भनेर एउटा स्तरीय अस्पताल बनाउने कार्य गरेनन्। उनी पछाडिकाले पनि कुनै दुरदृष्टि देखाएका छैनन्। त्यसैले यिनको असक्षमता गहन प्रश्नहरूले उजागर गर्न सक्छन्। प्रजातन्त्रमा असक्षमहरू विस्तारै आफै पाखा लाग्छन्।