डडेलधुरा आएपछि आजै होला बिहानै ६ बजे उठेको। घरको छतबाट तल हेर्दा देखिने त्यो सम्म फाँट, बिहानको तुसारोले सेताम्मै थियो।
सोचेँ, यस्तो राम्रो फाँट रहेछ तर तुसारोले के नै बाली हुन देला र? मेरो अनुमानको विपरीत, त्यहाँ किसानले राम्रो बाली भित्र्याउने गरेका रहेछन्। सुनेर अचम्म लाग्यो। मनमनै हाँसे पनि, यो सोचेर कि अनुमान लाउने गरी परिपक्क अझै भएकी रहेनछु।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाईमा इन्टर्नसिपको आज सातौँ दिन। फिल्ड भिजिटका लागि जानुपर्ने र फिल्ड रहेछ- डोटी घटाल, त्यही तुसारोले छोपिने सम्म फाँट।
हामी चार जना थियौँ- म, मनिषा, गंगा र सावन। अटोमा जाने निधो गर्यौँ। दाम सुनेर हिँडेर जाँदै ठिक होला झैँ लाग्यो तर ७-८ किलोमिटर छ भनेपछि लुरुक्क अटोमै बस्यौँ।
पोखराको सिटीबसले १५ रूपैयाँमा पुर्याइदिन्थ्यो तर डडेल्धुराको अटोलाई भने ६०० रुपैँया तिरियो। मनखत त लाग्यो तर बाटोमा देखिने त्यो रमणीय दृश्य देखेर हामी मख्ख भयौँ।
लालीगुँरासले सझिएको त्यो पाखोको साँघुरो बाटो, जस्लाई सल्लाका रूखले पङ्क्तिबद्ध भएर डोराउँदै पहाडका ती टेरेस फार्मलाई लगेर डोटी घटालको सम्म फाटमा जोडेको थियो।
अटोमा गीत बजिरहेको थियो 'हजुरलाई जाडो भा होला मेरो पछ्यौरी लिसो।' अरु बेला झिजो लाग्ने त्यो गीत, त्यो बाटोमा भने मजा लिएर सुनेँ।
घटाल थानमा झरेर हामी खेती हुने फाँटतिर हिड्यौँ। यतिबेला फाँटमा मुख्य बालीको रुपमा आलु लगाइएको रहेछ। केही किसान भने लगाउँदै हुनुहुन्थ्यो। उहाँहरुसँगको मिठो वार्तालापमा धेरै कुरा जान्न र बुझ्न पाइयो।
पोहोर साल ६५% जग्गामा आलु लगाइएकोमा यस वर्ष भने ९५% जग्गामा आलु खेती भइरहेको कुरा त्यहाँका अगुवा किसान, कृष्णराज बोहोराले बताए। आर्थिक, प्राविधिक तथा यन्त्र उपकरणमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोनले सहयोग गरेपछि किसानहरुलाई आलु खेती गर्ने हौसला बढेको कुरा किसानहरूले बताए।
त्यसैले नै गहुँ खेती गर्ने यो समयमा किसानहरुले आलुखेती गरिरहेका छन्। चारैतिर हेरेँ, ५००-६०० रोपनिमा फैलिएको फाँट आलुमय थियो। अरू तरकारी केही देखिनँ र सोधेँ, 'तरकारी चाहिँ कता लगाउनु हुन्छ?'
उत्तर सुनेर रमाउन त नपर्ने हो तर आफ्नो अनुमान मिलेको भएर मख्ख भएँ। उत्तर यस प्रकार थियो, 'तुसारोले गर्दा यो समयमा केही तरकारी बाली हुँदैन। अब मौसम तातो हुँदै जाँदा तुसारो हराउँदै जान्छ र तरकारी पनि लगाउछौँ।'
ऐतिहासिक रूपमा यस क्षेत्रमा मुख्यतया पहाडी ब्राह्मण र क्षेत्री/ठकुरीहरूको बसोबास रहेको छ। मानिसहरू यस क्षेत्रमा मुख्य रूपमा धान खेतीमा संलग्न छन्। निकै पहिला जाडो मौसममा यस क्षेत्रका मानिसहरूले बारीमा गहुँ छरेर अस्थायीरुपमा तराई (कञ्चनपुर र कैलाली) मा बसाइ सर्ने गर्थे र जाडो सकेर फेरि पहाड आएर गहुँ भित्राउने गर्थे।
अहिले भने यस्तो प्रचलन हटेको छ। व्यवसायिक आलु खेतीको थालनी भएको भने धेरै समय भएको रहेनछ। पिएमएएमपी आलु सुपरजोन कार्यक्रमको पहल र प्राविधिक सहयोगमा यस क्षेत्रमा करिब २/३ वर्षअघिदेखि व्यवसायिक आलु खेतीमा थालनी गरेका रहेछन्।
यस क्षेत्रका परम्परागत किसानहरुलाई आधुनिक खेती प्रणालीमा ढाल्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ। गोरुले जोतिने त्यो बाँझो जमिनमा अहिले सुपरजोनको सहायतामा ५०% अनुदानमा भित्र्याएको मिनि टिलर कुदाइरहेका छन् किसान।
त्यसैगरी आलुको बिउ पनि सुपरजोनबाट ३०%मै खरिद गरी रोप्दै छन्। 'गत वर्ष र यो वर्ष पनि सुपरजोनबाट बिउ आलु ल्यायौँ अब भने सुपरजोनलाई गुणस्तरीय आलुको बिउ उपलब्ध गराउने योजनाका साथ हामी लागिपरेका छौँ', कृष्णाजीले छाती फुलाउँदै भन्नु भयो।
यी नै रमाइला कुरै कुरामा किसानहरूबाट एउटा गुनासो पनि आयो। 'हामी किसान ठगिने भनेको बिउमा हो' उहाँले गुनासो सुनाउनु भयो।
१ रोपनी जतिको खेत देखाउँदै भन्नुभयो, 'त्यो नयाँ जग्गामा लगाएको आलु, बिउ नै नराम्रो परेर आधाभन्दा बढी बोट खेर गयो।'
बिउकै कुरा हुँदै गर्दा हामी किसानले आलु लगाउँदै गरेको खेतमा गयौँ। हामी चारै जनाले एकै स्वरमा भन्यौँ, 'ओहो! बिउ आलु त ठूलो भयो त।'
काटेर लागाउँदा नि एउटै आलुलाई ३ ठाउँमा काट्नु पर्ने। त्यसैमाथि टुसा पलाएकै थिएन। किसानले आलु लगाउन निकै हतार गरेझैँ लाग्यो। बरु १ हप्ता ढिलो लगाउनु तर राम्ररी टुसा पलाएपछि लगाउने सल्लाह दियौँ।
तर कतिपय किसानले कति कुरा थाहा भएर पनि हेल्चक्राइँ गरेको पाइयो। जस्तैः एक जना किसान खेतमा मल छर्दै हुनु हुन्थ्यो। हामीले आलु रोप्ने ड्याङमा मात्र मल राख्नुस भनेर भन्दा उहाँले यस प्रकारको प्रतिक्रिया दिनुभयो, 'थाहा त छ हामीलाई त्यसरी राख्नु पर्छ भनेर। तर यसरी एकै चोटी छर्दा सजिलो अनि छिटो पनि हुन्छ त्यही भएर यसरी नै छर्छौं।'
शिष्ट तरिकाले कसरी सोध्ने मेसो पाउन सकेकी थिइनँ, फ्याट्टै सोधिहालेँ, 'यहाँ कामदारले ज्याला कति लिने गरेका छन्?'
उत्तर आयो, 'दिनको ५०० रूपैँया।'
गज्जबको कुरा त के भने, यहाँ महिला र पुरुष कामदारको ज्याला एउटै रहेछ। सुनेर खुसी लाग्यो।
डडेलधुरा जिल्लामा र वास्तवमा देशभरि नै, आलु खेतीमा प्रमुख समस्या र अवरोध भनेको गुणस्तरीय बिउ आलुको उपलब्धता हो। यहाँका अधिकांश किसानहरू प्रत्येक फसलपछि आफ्नै बिउ आलु बचत गर्ने गर्छन्।
किसानहरूले बिउ आलु राख्नको लागि परम्परागत भण्डारण अभ्यास अपनाउने हुँदा बीजको दीर्घायु र गुणस्तरमा ह्रास आउने गर्दछ। पछिल्लो समयमा कोल्ड स्टोरको व्यवस्था भएता पनि भण्डार गरिएको आलु राम्रोसँग व्यवस्थित र ग्रेडिङ नगरिएको हुँदा धेरै समस्या देखापरेको पाइयो।
त्यसैगरी कृषकहरूलाई आपूर्ति गरिएको बीज पनि राम्रोसँग वर्गीकरण गरिएको थिएन र आकार तथा तौल एकसमान थिएन। ठूलो बिउ आलु एकल रोप्न सकिदैँन। यसैले किसानहरू टुप्पो काटेर बिउ रोक्न बाध्य भए।
यसले बिउमा विभिन्न प्रतिकूल प्रभाव पार्दछ, जस्तै खेतमा बिउ सड्ने समस्या र विभिन्न रोग तथा विकारहरू। यसरी समस्याहरू केलाउने हो भने सूची लामै हुन पुग्छ। यी समस्याहरू केही हदसम्म आलु सुपर-जोन प्रोग्रामले सम्बोधन गरेको हुँदा किसानहरूलाई केही राहत भने अवश्य पुगेको छ।
फाँटमा चारैतिर आँखा घुमाएँ। अलि पर एक जना बुवा हुनुहुँदो रहेछ, म उतै लम्किएँ। खै के सोचेर हो, सुरूमै बुवाको उमेर सोधेछु। बुवाले पनि कत्ति पनि अप्ठ्यारो नमानी भन्नु भयो, ' बाबु, म त २००१ सालको हुँ, ७७ वर्ष पुगेँ।'
बुवा निकै पहिलेदेखिकै अगुवा कृषक हुनुहुँदो रहेछ। पहिलो पटक बझाङबाट आलु ल्याएर खेती सुरू गरेका ती हात आजको दिनमा पनि आलु लगाउन तम्सेका छन्। २०२८ सालमा बुवाले यही ठाउँमा स्याउ फलाउनु हुन्थ्यो रे भन्ने सुन्दा आश्चर्य लाग्यो।
'७० रोपनीमा मेरो एकलौटी बगैँचा थियो। स्याउ, ओखर, आरू, घङ्गगारू, लदाग, खुरपानी जस्ता फलफूल लगाउथेँ,' उहाँले भन्नुभयो।
त्यति बेला मान्छेले हिजोआजका दिनमा जस्तो फलफूल खादैनथेँ। त्यसैले फलले बजार नपाएर बिग्ररेर जाने हुँदा बगैँचाबाट सरेर तरकारी बाली तिर लागेको उहाँले बताउनु भयो। अन्त्यमा भने बुवाको शुभनाम सोधेँ- उमेशराज बोहोरा जैसी।
यस्तै गफगाफमा हाम्रो मुख्य काम नै ओझेल परिरहेको थियो। गफगाफ त बरू पछि नि हुन्छ, पहिले आफ्नो रिसर्चको लागि जग्गा हेरौँ भनेर हामी कृष्ण जीले देखाएको जग्गा हेर्न गयौँ र आ-आफ्नो रिसर्च प्लट रोजेर हामी फर्कियौँ।
फर्कने माध्यम उही थियो, चर्को दाम लाउने अटो। तर फर्किँदा भने २०० रूपैयाँ छुटको मजा लिँदै फर्कियौँ।