मदन भण्डारी
जेठ चार गते सोमबार, विसं २०५० साल। स्कुलमा त्यो दिन अलि फरक खालको खासखुस थियो। सरहरू र उपल्लो कक्षाका दाइदिदीहरूको चियो-चासो अलि फरक थियो।
नियमित कक्षामा नबसी चौरमा जम्मा भै झुण्ड झुण्डमा कुराकानी भैरहेका थिए। कुराको मूल चुरो थियो अघिल्लो दिनको दुर्घटना। कक्षा सातमा पढ्ने म 'फुच्चे' कुन झुण्डमा के कुरा हुँदैछ? के नयाँ समाचार आयो? कान थाप्दै पछि पछि लाग्थेँ।
त्यो दुर्घटना, अर्थात् २०५० जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटना जसमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रीत त्रिशुली नदीमा बेपत्ता भएको र चालक अमर लामा सामान्य घाइते अवस्थामा भेटिएको खबर कुना कुनासम्म पुगेको थियो।
२०४८ पछि मदन भण्डारीका जोशिला भाषणले बजार पिट्न थालेको हो। घरमा दाइहरू राजनीतिमा अलि चाख राख्ने भएर होला दाइहरूकै अगुवाइमा पटकपटक मदन भण्डारीका भाषणहरूको क्यासेट ल्याएर टेपरेकर्डरमा सुन्ने बन्दोबस्त हुन्थ्यो।
के आकर्षणले हो या कुन चाखले गर्दा हो खै कुन्नि! म 'प्युसो' टेप-रेकर्डरमा भाषण सुन्ने बखत सधैँ अगाडि बसिसक्थेँ।
दासढुंगा दुर्घटनाको केही दिनमा मदन-आश्रीतको शव भेटियो, काठमाडौँमा विशाल जनसमुदायको उपस्थितमा नेता द्वयको अन्त्यष्टी भयो। कारुणिक गीतहरू निस्किए, 'षड्यन्त्रपूर्ण हत्या'को नाममा नेकपा एमाले आन्दोलित बन्यो। यावत घटनाक्रम समेटेर 'भिडिओ क्यासेट' बने।
हामी हुर्केको ठाँउ, रूपन्देहीको दुधराक्ष, महेन्द्र राजमार्गले ढाड चिरेर गएजति दायाँबायाँ बस्तीमा बिजुली पुगेको थियो तर टेलिभिजनको सहज पहुँच अझै थिएन। त्यसैले होला दासढुंगा दुर्घटनामा केन्द्रित भएर बनाइएको भिडिओ क्यासेट सशुल्क देखाउने कुरा भयो।
असार महिनामा हुनु पर्छ। पच्चीस रूपैयाँ टिकट लाग्ने उक्त 'वियोगान्त' भिडिओको सशुल्क प्रदर्शनको पहिलो 'सो' मैले पनि ठूला मान्छेको भिडमा कोचिएर हेरेँ। के अनुराग हो थाहा छैन, मदन भण्डारीलाई पढ्न मन लागेको। सुन्न मन लागेको। हेर्न मन लागेको।
मदन भण्डारी, जसलाई देशले लामो समय बेहोर्न पाएन, हाम्रो पुस्ताले राम्रोसँग भोग्न पाएन। नेताहरूको भिडकै कारण देश 'निसासिँदै' छ। अनि आउँदो रहेछ 'असल' मानेका नेताहरूको याद।
नेता भण्डारीबारे थप अरू के गर्न सकिन्थ्यो र? २०६६ सालमा 'तस्बिरमा मदन भण्डारी' नामको फोटो पुस्तक छापियो। उक्त पुस्तक किनेँ। बूकसेल्फमा जतनले राखेको छु।
मनमोहन अधिकारी
पक्षधरताका हिसाबले कुनै पार्टी विशेष प्रति लगाव भएर वा कसैको उत्प्रेरणा/उक्साहटले गर्दा अथवा 'पात्र र प्रवृत्ति'लाई गुण-दोषका आधारमा मूल्यांकन गर्न सक्ने भएर पटक्कै होइन। मनमोहन अधिकारी बुटवल गएको बखत संयोगले मैले पनि टाढैबाट देखेको थिएँ।
'आइकनिक' दाह्री सहितको लाम्चो अनुहारका मनमोहन अधिकारीको स्मृति बिम्ब मेरो दिमागले आफ्नै लयमा कैद गरेको थियो।
०५४/५५ को एसएलसीपछि म पढ्न काठमाडौँ आएँ। राजधानी आएपछि पढ्नु अनि दाइहरूको काममा सानोतिनो सहयोग गर्नु बाहेक अरु चियो चासो केही भएन। सिधा सपाट।
कलेजमा बरालिने वा राजनीतिक रमझममा मोहित हुने कुनै खालको लत बसेन। ०५६ वैशाख पाँच गते मनमोहन अकस्मात बेहोस भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको खबर आयो।
रेडियो, टेलिभिजन र पत्रिकामार्फत मनमोहनको स्वास्थ्य अवस्था अपडेट त भएकै हुन्थ्यो। कुन जाँगर वा कुन अनुरागले तान्यो कुन्नि मनमोहन अस्पताल बस्दासम्म म पनि स्वतस्फूर्त दुई पटक शिक्षण अस्पतालमा गएँ।
मनमोहनको 'शुभचिन्तक' बनेर कैयौंबेर भिडको कुरा सुनेर फर्केको थिएँ। वैशाख तेह्र गते मनमोहनको निधन भयो, चौध गते श्रद्धाञ्जलीका लागि मनमोहनको शव पार्टी कार्यलय मदननगर बल्खुमा राख्ने खबर आयो।
त्यो दिन म क्याम्पस गइनँ। दुई थुंगा साजि फूल बोकेर बल्खुमा लाइन बस्न गएँ, सर्वसाधारणका रूपमा मनमोहनको पार्थिव शरीरमा नजिकबाट श्रद्धाञ्जली दिएँ।
'अ थिङ अफ ब्युटी इज अ ज्वय फर इभर' जोन किट्सको सेन्टिमेन्टल कविताको यो एक बहुचर्चित पंक्तिलाई बिपि कोइरालाले आफ्नो आत्मकथामा बडो मिठो उल्था सहित साभार गरेको याद आयो। 'क्षणभरको सौन्दर्यानुभूति जीवनभरका लागि आनन्ददायी हुन्छ।
मनमोहनप्रति मेरो 'आकर्षक' पनि सायद त्यही क्षणभरको 'आनन्दानुभूति' बाट सुरु भएको हुनु पर्छ। यसो मनमोहनका बारे पढ्दा, बुझ्दा र राजनीतिक घटनाक्रमको प्रवृत्ति हेर्दा उनी 'सफा' नेता नै हो जस्तो लाग्यो।
कृष्णप्रसाद भट्टराई
राजनीति गर्ने मान्छेको अधिकांश जीवन सार्वजनिक हुन्छ। ‘नेता’को पदचाप पछ्याएर अरु हजारौँ विचारहरु डोरिएका कारणले पनि उच्च राजनीतिक पात्रको वैयक्तिक पाटो सधै ओझेलमा पर्दछ।
अझ किसुनजीको हकमा त उहाँ आजीवन अविवाहित रहनु भयो, जीवनको धेरैजसो उर्जाशील समय राजनीतिमै बित्यो। ‘परिवारिक' सांसारिकताले उहाँलाई कहिल्यै घेरा हालेन।
यस हिसाबले पनि किसुनजी अझ बढी सर्वकालीन र सार्वजनिक बन्नु भयो। सम्पत्तिका नाममा 'सुराही, छाता र टिनको ट्याम्का'मात्र हुने नेताको रूपमा जुन बिम्ब किसुनजीको थियो, त्यहि नै सरल जीवनशैलीको मानक बन्यो।
यही सरलताले किसुनजीलाई प्रिय नेता बनायो। यति हुँदा हुँदै पनि किसुनजीलाई प्रिय मान्नेको दुई वटा वर्ग बन्यो। पहिलो वर्गः उहाँको सानिध्यताबाट हात लाग्ने राजनीतिक शुभलाभका निम्ति। दोश्रो वर्ग: उहाँको सादगिपूर्ण जीवनशैली र आध्यात्मिक लगावप्रति नतमस्तक हुनेहरू।
यी दुई मध्ये पहिलो वर्ग हाबी भएकै कारण किसुनजी न त सफल नेता बन्न पाउनु भो न त निर्विवाद नै रहन सक्नु भो। 'असल' ठानिएका नेता पनि पूर्णरुपमा असल हुन नपाउनु सायद नेपालको राजनीतिको अभिशाप नै हो कि?
विसं २०४६ को जनआन्दोलन सफलतापछि किसुनजी पहिलो पटक प्रधानमन्त्री बन्दा म अथवा मेरो पुस्ता स्कुले प्राथमिक तहमा थियौं।
किसुनजी दोश्रो पटक प्रधानमन्त्री बन्दा हाम्रो पुस्ता भर्खर कलेजमा बरालिने वा ‘उरन्ठ्यौले’ अवस्थामै थियो। ६० को दशकसँगै हाम्रो पुस्ता पेसान्मुख र परिपक्क बन्दै गर्दा किसुनजी राजनीतिबाट विस्तारै निष्कृय बन्दै जानु भो।
त्यस हिसाबले किसुनजीप्रति हाम्रो (मेरो) पहिलो बुझाइ ‘पर्सेप्सन’बाट निर्देशित भयो। जसरी हाम्रो पुस्ताले आज केपी शर्मा ओली, प्रचण्ड, बाबुराम भट्टराई, शेरबहादुर देउवा वा अरु कुनै पनि समकालीन नेताका बारे आफ्नै भोगाइका आधारमा धारणा बनाउन सक्छ।
साथै, गुण र दोष केलाउने हैसियत पनि राख्दछ। तर किसुनजीका हकमा इतिहासको सहारा नलिइ सुखै छैन। खैर, दिवंगत नेताहरूको शक्ति र सीमा बारे अहिले लेख्न खोजेको होइन।
यो आलेखमा उल्लेख गरिएका दिवंगत तीन नेता मध्ये प्रत्यक्ष भेट गर्ने अवसर किसुनजीसँग मात्र मिल्यो। किसुनजीसँगको एउटा छोटो भेटलाई झिल्को बनाएर सम्झनाको दियो सल्काउने चेष्टा मात्र गरेको हुँ।
२०६६ चैत्र सात गते, अपरान्ह १२:१० मा गिरीजाप्रसाद कोइरालाको निधन भयो। पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका तत्कालीन सभापति गिरीजाप्रसाद कोइरालाको निधनमा देश तरंगित बनेको थियो र सबैजसो सञ्चार माध्यमहरु निधनको ‘ब्रेकिङ न्यूज’सँगै कोइरालाको जीवनी र व्यक्तित्वमै केन्द्रित थिए।
स्वभाविक रुपले म कार्यरत टेलिभिजन (एभिन्यूज) को न्यूजरुम पनि कोइराला निधनको समाचार चटारोमा थियो नै। ‘कोइरालाको निधन पश्चात किसुनजीमा के गुज्रे होला? किसुनजीको भनाइ ल्याइहान्न र प्रसारण गरिहाल्न पाए राम्रो हुने थियो’ मैले यस्तो कुरा न्यूजरुममा राख्नासाथ सबैको एउटै निचोड निस्कियो ‘गिरीजाप्रसाद कोइरालाको जीवन समीक्षा किसुनजीको धारणा बिना अधुरो नै हुनेछ।’
अमिता कपाली दिदीमार्फत समय पक्का गरेर किसुनजी निवास बाडेगाँउ पुग्दा उहाँ कोइरालाको निधन खबर थाहा पाए पश्चातको ‘अफसोच मुडमा’ हुनुहुन्थ्यो।
त्यो दिन किसुनजीलाई भेट्न जानेमा हाम्रै टोली पहिलो बनेछ। केहीबेरको अनौपचारिक कुराकानीसँगै क्यामेरा सोझ्याएरै किसुनजीसँग औपचारिक कुरा सुरु भयो।
किसुनजी जो सदाबहार अन्दाजमा बोल्नु हुन्थ्यो, उहाँको गल्दै गएको शारीरिक अवस्था र आफ्ना समकक्षी कोइरालाको निधन खबरले भने केही शिथिल बनाएको महशुस भयो।
पार्टी राजनीतिमा कोइराला परिवारसँग सबैभन्दा बढी काँधमा काँध मिलाएर हिड्नु भएका किसुनजीले सायद सबैभन्दा बढी हण्डर पनि कोइराला खान्दानबाट नै खेप्नु पर्यो। अझ खासगरी गिरीजाप्रसाद कोइरालाबाटै।
कोइरालाको निधनका बारेमा भवानामा डुबेरभन्दा पनि बडो आध्यात्मिक तवरले किसुनजीले आफ्नो प्रतिक्रिया व्यक्त गर्नु भयो। जीवन-दर्शनजस्तो लाग्ने उहाँको भनाइमा कोइराला र आफू स्वयमको राजनीतिक जीवनको सार झल्किन्थ्यो।
चिनियाँ लेखक लू सुनले भनेका छन् नि ‘बच्चा जन्मिनासाथ मृत्यु पनि साथै लिएर आएको हुन्छ तर शिशुका आमा-बाबुसँग उक्त बालक पनि एकदिन मर्नुपर्छ है भन्ने चर्चा गरिदैन, शिशु ठूलो मान्छे बनोस् भनेर शुभेच्छा प्रकट गरिन्छ।’
यस्तै सामाजिक मनोविज्ञान मानिसको मृत्युमा पनि लागु हुँदो रहेछ। मृत्युपछि मानिसको दोषको चर्चा गौण बन्दो रहेछ। जीवनको सार हमेसा गीता दर्शनको मर्मसँगै पहिल्याउन खोज्ने किसुनजीले त झन् यस्तो जन्म-मृत्युको मनोविज्ञानलाई अति सरल तर अति मार्मिक तरिकाबाट व्यक्त गर्नुभयो।
‘राजनीतिका माध्यमबाट गिरीजाबाबुले देश र जनताका लागि के-कति योगदान पुर्याउनु भयो, त्यसको साक्षी त जिउँदो समय छ, मैले के नै भन्नुपर्छ र!’
किसुनजीले गिरीजाप्रसाद कोइरालालाई भावुकतापूर्वक सम्झिइरहँदा मैले सोधिहालेँ ‘यथार्थपरक कुरा गर्ने हो भने त राजनीतिक जीवनमा तपाईं सबैभन्दा बढी अपहेलित र सबैभन्दा बागी त गिरीजाबाबुबाटै हुनुभयो नि, त्यसबापत कुनै विषाद अनुभूति मनमा गडेको छ?’
केही क्षणको मौनता पश्चात किसुनजीले अलि झर्किलो लवजमा भन्नुभो ‘अब ती सबै कुराको कुनै माने छैन, गिरीजाबाबु गइसक्नु भयो, म पनि जीवनको उत्तरार्धमा छु। सहकार्यका दौरान केही तितो-मिठो भएकै रहेछ भने पनि अब ती सबै कुराको समीक्षा गर्नुको कुनै अर्थ छैन।’
समकालीन राजनीतिज्ञको निधनमै केन्द्रित भएर किसुनजीसँग झण्डै आधा घण्टा जति कुराकानी भयो। अमिता कपालीले सायद किसुनजीको थकान अलि बढेको चाल पाउनु भएछ। ‘अब कुराकानी छोट्याउने कि?’ भन्ने खालको इशारा गर्नु भयो।
किसुनजीले व्यक्त गरेको ‘समवेदना’ टेलिभिजनमा देखाउने हतारोका कारण बिदा भइहाल्नु थियो। बिदा हुनु अघि एउटा तस्बिर खिच्ने इशारालाई किसुनजीले आफ्नो अंगालो थापेर स्वागत गर्नु भयो। उहाँको दायाँ हात मेरो कुममा स्पर्श गर्दाको आनन्दानुभूति अझै ताजा लाग्छ।
शंकर लामिछानेले कतै भनेका छन् ‘नेपालीहरु चर्चा (प्रशंसा) गर्दैनन्, कटुता मात्र पोख्छन्।’ नेपाली समाजको यस्तो कटुता मनोविज्ञानमा किसुनजीको जिउने शैली र उहाँको पिउने शैली पनि अछुतो रहन सकेन।
तर ती सबै चर्चा वा कटुताले किसुनजीको मौलिक शैलीलाई कति फरक पारेन। राष्ट्रिय जीवनमा जोडिएका व्यक्तिका बारेमा जीवितै छँदा आलोचना मात्र र मृत्युपछि अतिसय प्रशंसा गर्ने दोहोरो चरित्रका कारण आमजनतालाई नेपाली समाजका ‘हिरा’ र ‘सिसा’ को चमक छुट्याउन अप्ठ्यारो परिरहन्छ।
हुन त भनाइ नै छ ‘हिरा अझ बढी चम्किलो देखाउन वरिपरि कालो कोइला राखिदिनु पर्छ।’ नेपाली राजनीतिको ‘कोइला’ बीच किसुनजीको चमक अझ उज्यालो किन नहोस्।
राजनीतिक जीवनमा किसुनजीले सबै राम्रै मात्र गर्नु भयो भनियो भने त्यो उहाँमाथिकै अन्याय हुनेछ। कैयौँ कमजोरी किसुनजीबाट पनि भए होलान् तर उहाँका कमजोरीलाई ‘असल नियतका साथ गरिएका शिल्ली काम (गुड इन्टेन्सन बट स्टुपिड डिसिजन) का रुपमा अर्थ्याउनु सबैभन्दा उपयुक्त होला।
जीवनभर राजनीति गर्नु र पटक पटक देशको प्रधानमन्त्री बन्नुलाई नै ठूलो मान्ने हो भने नेपालाले निकै धेरै 'ठूला' नेता जन्मायो तर जनमनले आत्मसाथ गरेका ठूला (असल) नेताको सूचिमा स्वर्गीय मदन भण्डारी, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराइको जस्तो सरल र स्वीकार्य पहिचान अहिलेसम्म अरु कसैको छँदै छैन भन्दा हुन्छ।
नबिर्सिनु मात्र सम्झना गर्नुको पर्याय होइन। यदि कोही सम्झनलायक छ भने उसका असल विचारहरु जीवनका लागि मार्गनिर्देशक बन्नु पर्थ्यो। म जस्तो 'आम' पात्रले मदन, मनमोहन र किसुनजीलाई सम्झनु नितान्त श्रद्धाको पाटो हो।
खास सम्झना र खास सम्मान त पार्टीगत रूपमा उहाँहरूका अनुयायीहरुले गर्नु पर्थ्यो। मदन र मनमोहनको 'ब्याज' खाइरहेका कम्युनिस्ट नेताहरूको कर्कस 'गाली' त अहिले सबभन्दा सस्तो बनेको छ।
कुरा रह्यो किसुनजीले खडा गरेको राजनीतिक धरातल (नेपाली कांग्रेस)। जहाँ आफूलाई किसुनजीकै 'उचाइमा' पुर्याउन लालायीत नेताहरूको भिडले स्वयं किसुनजी कै 'सपना' बिथोलिरहेको छ।
२०६७, फागुन २० गते राति ११:२६ बजे नर्भिक अस्पतालको शैय्यामा अन्तिम श्वास लिएसँगै किसुनजीले भौतिक सम्पत्ति त जम्मा तीन चिज- छाता, सुराही र ट्याम्का मात्र छोड्नु भो तर वैचारिक रुपमा भने सिङ्गो जीवन सरलतामा बिताउन सकिन्छ र सरलताबाट पनि उचाइ छुन सकिन्छ भन्ने ‘अनुकरणीय’ शैली छोडेर जानु भयो।
नेपाली कांग्रेस जुन पार्टीलाई झण्डै बीस वर्ष किसुनजीले सभापति बनेर हाँक्नु भयो। किसुनजीका पक्का शिष्य हुँ भन्ने नेताहरू नै अहिले नेपाली कांग्रेसको नेतृत्वमा छन् तर खै! शंकै छ त्यो होडबाजीमा किसुनजीले छोडेको सरलता, सम्पत्तिको कदर कति होला खै?
किसुनजीको जीवनकालभर धन्न मैले एक घण्टाका लागि भए पनि भेट्ने मौका पाएँ। र त सम्झना गर्ने हक पनि।
हार्दिक सम्झना, श्रद्धेय नेताहरूलाई।