हरबिहानीको दैनिकी जस्तै एकाबिहानै एउटा हातमा चियाको कप अनि अर्को हातमा अखबार लिएर चियाको चुस्किसँगै खबरका सयरमा तल्लीन म अचानक टक्क अडिन्छु।
फ्रन्टपेजको शिर्षकमा 'महिला दुर्व्यवहारका घटना दिनानुदिन बढ्दै' भनेर थियो। सरसर्ती आँखाले ती लेखिएका शब्दहरूलाई कैद गर्न थाले।
यत्रतत्रका महिला दुर्व्यवहारका निर्मम घटनाहरु, अबोध बालिकादेखि वृद्धसम्म, सपांगदेखि अपांगसम्म अनि अन्जानदेखि हाडनातासम्मका ती भयानक दुर्दशा। चियाको गुलियो स्वाद लिइरहेकी त्यो खबरले छिनभरमै खल्लो पारिदियो।
म को हो?
प्रश्न सरल तर उत्तर भने जटिल। सायद प्रश्न नै गलत थियो या त अपुरो। के जवाफ दिउँ म यसको?
म कसैकी छोरी?
म कसैकी दिदीबहिनी?
म कसैकी पत्नी?
म कसैकी बुहारी?
म कसैकी आमा?
सायद एउटी महिला आफूलाई यिनै नाताबाट चिनाउँछिन् तर म यो सँगसँगै आफूलाई पहिला मान्छेको रुपमा परिभाषित गर्छु अनि मात्र आफूलाई यी नातागोतामा अल्झाउँछु।
देशको आधा हिस्सेदार महिला आज अर्को आधा हिस्साबाट असुरक्षित हुनुपरेको देख्दा अनि सुन्दा मन खिन्न हुन्छ। देशको केही प्रतिशत पुरुषबाट शतप्रतिशत महिला असुरक्षित छन् भन्न फरक नपर्ला। म शतप्रतिशत पुरुष भन्न चाहन्न किनकि रामजस्ता आदर्श पुरुषको पनि कमि छैन हाम्रो समाजमा।
जिन्दगीको यात्रामा कहीँ न कहीँ अनि कुनै न कुनै रुपबाट महिलाहरु प्रताडित भएकै हुन्छन् भन्ने तथ्य त खोजले पनि भनेको छ। यस्को ज्वलन्त उदाहरण स्वयं म आफैँ।
म स्नातक तह जनस्वास्थ्यको विद्यार्थी। कलेज आउने जाने, फिल्ड वर्कका क्रममा बसमा आवतजावत गरिरहनुपर्ने त कहिले गाउँबस्ती डुल्नु पर्ने। पुस/माघको बेला साँझ ६ बजेतिरको कुरा, म र मेरी साथीले फिल्ड वर्कका काम सक्दा अँध्यारो भइसकेको थियो।
हतार हतार हाइवेतिर लम्कियौँ। बस पाउनै धौधौ, लामो दूरीका बसले स्थानीयलाई नचढाउने। बल्लतल्ल आधा घण्टाको बेचैन प्रतिक्षापछि बसले रोक्यो। मरुभूमिमा पानी भेटिएभन्दा बढी खुसी हाम्रो मुहारमा थियो।
तर के थाहा! त्यो क्षणिक खुसी हो भनेर। बस चढ्ने बित्तिकै रक्सीको गन्ध ह्वास्स आयो। चढौँ यस्तो हालत छ नचढौँ यतिका बेरपछि बल्लतल्ल पाएको फेरि ढिला पनि भइसक्यो।
बसमा चालक, सहचालक, ८-१० यात्रु थिए। २-४ महिला पनि देखेपछि अल्लि सजिलो लाग्यो। हामी चढेको ५ मिनेटमै दुई यात्रु बाहेक सबै ओर्लिए। अब बाँकी चालक, सहचालक, रक्सीको मातमा उन्मत्त दुई अल्लारे अनि हामी दुई।
त्यो आधा घण्टाको यात्रा साह्रै लामो अनि भयावह भइदियो। मुखमा आएजतिका अपशब्द, महिलाप्रतिको निच सोचाइ जुन सुन्नमा कति घिनलाग्दा र तल्लो स्तरका थिए। बसको अघिल्लो सिटमा हामी अनि ती पछाडिबाट केके भन्दै शब्दरुपि वाणले हामीलाई प्रहार गरिरहे।
धन्य छ ती सहचालक दाइ जसले हामीलाई केही नगरुन् भनेर हाम्रो र तिनको बीचमा बसेर रक्षक बनिदिनु भयो। धेरै आभार ती दाइको जसले थर्काइदिनु भयो तिनलाई जसले चुप लाग्न बाध्य भए।
त्यो दिन त सुरक्षित घर आइयो तर के सधैँ त्यो दिनको जस्तै सकुशल आइएला? के सधैँ ती सहचालक दाइजस्तै रक्षाकर्ता भेटिएला?
आखिर कहिलेसम्म यस्तै डर चिन्ताले हिडिँरहनु पर्ने?
आखिर कहिलेसम्म ज्यानको बाजी लाएर हिडिँरहनु पर्ने?
कहिले भन्ने अब त म सुरक्षित छु भनेर?
एक महिलाको सहमति बिना उसलाई जबर्जस्ती कहिलेसम्म?
के उसको इच्छालाई सम्मान गर्ने सामर्थ्य छैन हामीमा?
के उसको विरोधलाई बुझ्ने मनशाय छैन हामीमा?
के उसको आँसुको चित्कार बुझ्ने शक्ति छैन हामीमा?
के उसको गलेको शरीरलाई आड दिने हैसियत छैन हामीमा?
थाहा छैन समाज कतातिर जाँदै छ। साँच्चिकै पुरुषमा पुरुषत्व हराएकै हो त? पुरुषमा महिलाप्रतिको मानसम्मान घटेकै हो त? एउटा सुन्दर संसारका लागि पुरुष र महिला उत्तिकै महत्त्वपूर्ण छन् अनि त्यो सुनौलो संसारको सहजकर्ता महिला किन अझै पनि पेलिएका छन् अनि पेलाइएका छन्?
पितृसत्तात्मक समाजमा महिला कमजोर हुन्छन् भन्ने भनाइ कताकता नमिलेजस्तो लाग्छ। कमजोर महिला होइनन्, कमजोर त त्यो बलवान् पुरुषार्थको सोच हो। कमजोरी महिलामा होइन, तिमीले दिएको चोट, पीडा अनि अत्याचारमा छ।
अनि हामी फलाक्दै हिड्छौँ नि पुरुष-महिला रथका दुई पाङ्ग्रा। के एउटा पाङ्ग्राबिना जीवनरुपी रथ अघि बढ्न सक्छ? के महिलाबिना पुरुषको केही अस्तित्व रहन्छ?