न त म कुनै लेखक न त लेखेर कुनै प्रसिद्ध बन्नु नै छ। लेख्छु त केवल आत्मसन्तुष्टिको लागि अनि भतभती पोलेको मनलाई शब्दमार्फत् पोखेर शितलता दिलाउन।
अझै भनौं भने मुटुभित्र गुम्सिएको उकुसमुकुसलाई ओकल्न। समाजमा आफूले देखेका घटना र भोगेका भोगाइलाई अक्षरमार्फत् पोखेर भारी मनलाई हल्का बनाउन।
एकदिन पहिले यसो मोबाइल चलाउँदै थिएँ त्यतिकैमा एउटा समाचार सायद मेरै फेसबुके कुनै साथीले सेयर गरेर होला स्क्रिनमा आयो।
यसो शीर्षक हेर्दा पढौंझैं लाग्यो अनि लिंकमा थिचेर हेरेको समाचार रहेछ चर्चित समसामयिक विषयवस्तुलाई समेटेर लेखेको महिला श्रीमान छोडेर किन परपुरूषसँग लाग्छन्? हिजोआज सम्बन्धबिच्छेद किन बढ्दो छ? पूरा समाचार पढेपछि लाग्यो महिलालाई शारीरिक सम्भोगको असन्तुष्टिका कारण सम्बन्ध बिगारेको या अझै भन्ने हो भने भए जति कमीकमजोरी पूरै महिलामाथि नै थुपारेको भान भयो।
अझै नि नेपाली समाजमा पुरूषप्रधान प्रवृत्ति हाबी हुँदा कयौं नेपाली महिलाहरू सामाजिक र पारिवारिक हिंसाको चपेटामा अकालमा ज्यान गुमाएको छ्यापछ्याप्ती समाचार दिनहुुँ पढ्न पाइन्छ।
हो, केही त्यस्ता घटना महिलाको गलत आचरणले पनि घटेको पाइन्छ जो म सहजै स्वीकार्न तयार छु तर कतिपय घटनाको पछाडि अदृश्य कारण पनि छन् जसले गर्दा श्रीमानश्रीमतीको पवित्र माया प्रेम हुँदाहुँदै पनि सम्बन्धले पूर्णविराम लगाउन बाध्य बनाउँछ।
केही दिन पहिले कुरा हो, श्रीमान कामबाट फर्किएर आउनु भएको थियो। मैले आउनेबित्तिकै उत्साहित हुँदै बुवाले फोन गर्नुभएको कुरा सुनाउन खोज्दै थिएँ।
बुवा भर्खर विकट गाउँबाट केही समयको लागि औषधि उपचार गर्न अनि फोनमार्फत् भए पनि छोरीलाई भेट्न भनेर सदरमुकाम आउनुभएको रहेछ। सबै कुरा बेलीबिस्तार लगाउने तरखरमा थिएँ तर विडम्बना! सधैं घरको कुरा अर्थात् आफ्ना बुवाआमाको कुरा गर्दा उत्साहित हुने उहाँको मुहारमा न त कुनै उत्साह भेटेँ न त कुनै उमंग नै। आफ्नो खुसी बाँड्न प्रफुल्लित मन उहाँको प्रतिक्रिया बिना अन्यासै ओइलायो।
सबै कुराको बिस्तार गर्नुभन्दा पहिला उहाँको जवाफको प्रतीक्षामा बसेकी म उत्साहित मन क्षणभरमै निरुत्साहितमा परिणत हुँदा मौन बस्नु सिवाय केही उपयुुक्त ठानिनँ। निदाउन सकिनँ त्यो रात।
अनेकन कुराहरू खेल्न थाल्यो मनभरि। आफूले आफूलाई नै अनगिन्ती प्रश्नको ओइरो लगाउन थाल्यो मन। म हुनुमा खिन्नता महसुस भयो मलाई।
उहाँ र मबीचको भिन्नता खोज्न थाल्यो मन। अझै भनौं भने बुहारी र ज्वाइँको हैसियतमा रहेर समाजमा सासूससुरालाई गरिने व्यवहारमा समानता र असमानता खोतल्न थाल्यो यो मन।
वैवाहिक जीवनको सुरूआतदेखि आफूले एउटी बुहारी होइन छोरी बनेर सासूससुरालाई गरेको माया अनि एक असल बुहारी बनेर निभाएको जिम्मेवारीले झस्किएँ म।
अन्तत: नि:शब्द अनि स्तब्ध भएँ। यद्यपि मेरो उहाँप्रतिको सोचाइ गलत पनि हुन सक्छ। उहाँ परदेशको भूमि (अष्ट्रेलिया) पढाइ र काम दुबैको तनाव या त थकाइले लखतरान्न परेर बोल्न उचित नलागेको पनि हुन सक्छ वा मैले भनेको कुरा नसुनेको हुन पनि सक्छ किनकि त्यो भन्दा अघिल्लो दिनमा उहाँ नै मभन्दा बेसी मेरा बाआमाको बारेमा सोच्ने र मैले राखेको कुनै प्रस्ताव नकारेको क्षण थिएन।
ननिदाएको त्यो रातमा एक जना मेरो सारै मन मिल्ने साथीको अतितले ब्युँझायो मलाई।
कुनै बेला मनको बह पोख्दै गर्दा उसले सुनाएकी थिई। आफूलाई भन्दा माया गर्ने श्रीमानसँग सम्बन्धबिच्छेद हुनुको कारण।
कारण रहेछ- बिहेपछि पनि बेसहारा आमालाई सहारा दिनु।
उसको कुराले स्तब्ध भएँ म। हरेक उसको सुख दु:खलाई आफ्नो ठान्ने बाचाकसम खाएर श्रीमतीको सुखलाई मात्र आफ्नो सोच्ने अनि दु:खलाई लत्याउन खोज्ने उसको श्रीमान जस्ता कूप्रवृत्ति भएका पुरूषहरूप्रति घृणा जाग्यो।
बिना गल्ती नै सजायको भागीदार भएको ऊप्रति सहानुभूति प्रकट भयो।
के कलिलो उमेरमा विधवा भएर आफ्ना हरचाहना छोरीको भविष्यमा र खुसीमा समर्पण गर्ने एक बेसहारा आमालाई एक सन्तानको हैसियतले सहारा दिनु गलत हो त?
अर्को यस्तै तर विषयवस्तु अलिकति भिन्ने खाले घटनाको याद आयो एकछिनमा।
एक जना मेरो छिमेकी आन्टी एकदिन मलाई सुनाउँदै हुनुहुन्थ्यो आफ्नो कहानी भावुक बनेर।
नानी, कुरा नबुझ्ने सासूससुरा र न्यायअन्याय छुट्याएर सही व्यवहार गर्न नसक्ने श्रीमान फेला पर्दा जीवन स्वर्ग होइन नर्क बन्दो रहेछ।
मर्नुभन्दा बौलाउन बेस भनेझैं एक्लै जीवन काट्नुको विकल्प नहुँदो रहेछ।
हो, त्यसैले म अनिच्छापूर्वक सम्बन्धबिच्छेदको बाटो रोजेकी हुँ तर नानी, समाजले फेरि पनि दोष जति मेरो टाउकोमा नै थुपार्छ।
उहाँको कुराले नि:शब्द भएँ म अनि बुझेर बुझ पचाउने उहाँको श्रीमान जस्ता पुरूषहरूप्रति खेद प्रकट भो मनमा।
फेरि एउटा अत्यन्तै फरक घटनाले चसक्क मन चस्कियो।
सायद दश वर्ष पहिलाको कुरा हो।
एक जना छिमेकी दिदीले आफ्नो पीडा पोख्दै हुनुहुन्थ्यो काव्या, मान्छेको मन चिन्न सारै गाह्राे रहेछ।
हात्तीको देखाउने र चपाउने दाँत फरक भने झैं पुरूषको प्रवृत्ति पनि बुझी नसक्नु रहेछ।
सँगै जिउने, सँगै मर्ने भनेर बाचा कसम खाएको मेरो उहाँ अरू केटीकै पछि लागेर हाम्रो सम्बन्ध तोड्न खोज्दै हुनुहुन्छ।
पहिलेको र अहिलेको उहाँमा आकाश पातालकै फरक छ तर ज्यान जाला म उहाँलाई छोड्ने छैन अनि हामीले मन्दिरमा गएर खाएको बाचाकसम तोड्ने छैन।
केही वर्षपछि सुनें अत्याचार सहन नसकेर कोठाको पङ्खामा झुन्डिएर प्राण त्याग गर्नु भएछ। खबर सुनेर नमज्जा लाग्यो।
हो, कहिलेकाहीँ एकअर्कालाई गलत अर्थमा बुझ्दा वा एकले अर्कोलाई विश्वास नगर्दा आपसी मनमुटाव सिर्जना भई दरिलो सम्बन्धमा दरार आउन पनि समय लाग्दैन।
समय र सम्बन्ध दुबैलाई बुझेर व्यवहार गर्न सक्यो भने अनि एकले अर्काको समस्या अनि चाहना बुझ्न सक्यो भने सम्बन्धमा चिसोपन कदापि आउँदैन भन्ने कुरामा कुनै दुई मत छैन।
यी सबै समाजमा देखिने प्रतिनिधि घटना मात्र हुन्।
अदृश्य घटना दिनहुँ नगन्य रूपमा भेटिन्छन् हाम्रो समाजमा।
सबै पुरूष अनि महिला एकै हुँदैनन्। कोही यस्ता पुरूषवर्ग हुनुहुन्छ जसले श्रीमान-श्रीमती भनेको एक सिक्काको दुई पाटा ठान्नुहुन्छ अनि श्रीमतीको हरेक चिज आफ्नो ठानेर त्यही अनुरूपको व्यवहार गर्नुहुन्छ।
हरपल श्रीमतीको यात्रामा असल सहयात्री बनेर साथ दिनुहुन्छ उहाँहरूलाई कोटी कोटी प्रणाम।