भगवान बुद्ध श्रावस्तीमा रहँदाको कुरो हो। त्यहाँको कुख्यात डाकु अंगुलीमालाले आम जनमानिसको जीवन त्रासमय बनाइदिएका थिए। ती डाकुले बाटो हिँड्ने बटुवाहरुलाई लुटपाट गर्थे, उनीहरुको हातको बुढी औँला काटिदिन्थे र काटिएको औँलाहरुको माला लगाई हिँड्थे।
उनलाई अध्यात्मको पाठ सिकाउन हेतु भगवान बुद्ध एक दिन ती डाकु बस्ने जंगलको बाटो हिँड्नु भयो। डाकुले भगवानलाई देखेपछि शिकारीले शिकार भेट्टाएजसरी भगवानको पछि पछि लाग्न थाल्यो।
तर जति छिटो छिटो दौडे पनि भगवानलाई भेट्टाउन सकेन। भगवानको यस अद्भूत शक्ति देखेर डाकुले आत्मसमर्पण गरे र बुद्ध भगवानको शरण लिई अध्यात्मको बाटो लाग्ने निर्णय गरे।
डाकु सुध्रिएर भिक्षु त बने तर उनी आफैले गरेको पाप कर्मको फलस्वरुप पछि गाउँलेहरुले गाउँसभामा उनलाई ढुंगामुढा गरेर तड्पाई तड्पाई मारे। तर उनले एक शब्द पनि गुनासो गरेनन् र सहर्ष शरीरको पीडालाई स्वीकार गरे।
यसबाट जुनसुकै अपराधीलाई पनि माया र करुणा दिएर सत्कर्मको बाटो डोहोर्याउने हो भने उनीहरुको परिवर्तन सम्भव छ भन्ने पाठ हरेक राज्य र समाजले सिक्न सक्छ।
अपराधीलाई दण्ड र यसको उद्देश्य
अपराध गरेबापत प्रत्येक राज्यको कानुनले अपराधीलाई सजायको व्यवस्था त गरेको हुन्छ नै तर सजायको उद्देश्य के हो भन्ने विषयमा हामी स्पष्ट हुन सकेका छैनौँ। मुख्यतः अरु सम्भावित अपराधीलाई अपराध गर्नबाट रोक्न, अपराधीलाई पुनर्स्थापना गर्न र अपराधीलाई दण्डित गरेपछि पीडितलाई राहत महशुस गराउन अपराधीलाई सजाय गरिन्छ।
अपराधीलाई दण्ड गर्नु उनलाई हानी,चोट पुर्याउनु नै हो। यी उल्लेखित उद्देश्यहरु विश्लेषण गर्दा अरु सम्भावित अपराधीको अपराधिक व्यवहार सुधार्न वा रोक्न यदि अपराधीहरुलाई दण्डित गरी चोट पुर्याउनु न्योचित हो भने किन दिनहुँ मानिसहरु जेल गइरहेका छन्?
किन मानिसहरु कडाभन्दा कडा सजायको व्यवस्था हुँदा हुँदै पनि डर नमानी धक फुकाएर अझै अपराध गर्छन्?
दण्ड गर्दा, थुनामा अपराधीलाई राख्दा उनीहरु सुध्रिन्छन् भन्ने तर्क हेर्दा पनि हामी देख्न सक्छौँ, जेल बसेर मानिसहरु अझै कुख्यात अपराधी बनेर बाहिर निस्किन्छन्।
कुनै अपराध गरेको अभियोगमा अदालतबाट कसुर ठहर भई सजायस्वरुप जेल बसेका अपराधीहरु पनि हामी साधारण मानिस जस्तै हुन् भन्ने भावना यदि राख्ने हो भने हामी बुझ्न सक्छौँ कि जेलको स्वतन्त्रता हरण गरिएको वातावरणमा अपराधीले आफूले हानी पुर्याएको पीडितको दुःखबारे चिन्तन गर्ने समय नै पाउँदैन।
त्यहाँ त केवल प्रत्येक पल उनले आफू मानवभन्दा कम दर्जाको प्राणी भएको महशुस मात्र गर्छ। आफ्नो परिचय खोजिरहेको व्यक्तिले अरुको पीडा महशुस गर्ने समय कहाँ पाउँछ र?
अपराधीलाई कानुनी कारबाही पूरा गरी दण्ड दिँदा, उनीहरुलाई हानी\चोट पुर्याई उनीहरुसँग बदला लिँदा पीडितले राहत महशुस गर्छ भन्नु तार्किक नै होला तर यसले अपराधीमा पश्चातापको भावना नभई थप बदलाको भाव सिर्जना गर्छ र उनीहरु समाजप्रति अझै हिंस्रक बन्न जान्छन्।
त्यसैले अपराधीलाई कडाभन्दा कडा सजाय गरेर नै पीडितलाई राहत दिलाउन सकिन्छ भन्ने जुन कानुनी र न्यायिक संरचनाको धरातल छ, त्यसलाई परिवर्तन गर्न जरूरी छ।
अपराधीलाई दण्ड दिने प्रावधान अपराधीको मानव मस्तिष्कको गहिरो बुझाइमा आधारित हुनु पर्छ। हुन त सबैखाले अपराधीलाई एउटै भाँडामा राखेर हेर्नु पर्छ भन्ने होइन। किनकि फरक पृष्ठभूमिको फरक मानिसले फरक तरिकाले अपराध गरेको हुन्छ र उक्त कसुरजन्य कार्यले पीडितलाई फरक-फरक तरिकाले हानी\नोक्सानी पुर्याएको हुन्छ।
तर यदि हाम्रो उद्देश्य अपराधीलाई सही अर्थमा सुधार्नु, पुनर्स्थापन गर्नु र समाजमा अपराध निर्मूल गर्नु हो भने कसुर ठहर गर्दा र सजाय निर्धारण गर्दा न्यायमूर्ति र न्यायकर्ताले अपराधीको आपराधिक चेतना र मस्तिष्कको उपचार एक चिकित्सकले झैँ गर्नु जरुरी छ।
आपराधिक मनलाई बुझ्दा
बौद्ध दर्शनअनुसार हामी, हाम्रो शरीर र हाम्रो मस्तिष्क फरक फरक अस्तित्व हुन्। मानिसको कर्म उनको मनद्वारा निर्देशित हुन्छ र यही मन राग (सकारात्मक आशक्ति) र द्वेष (नकारात्मक आशक्ति)द्वारा निर्देशित हुन्छौँ र यही मनको उपचार हामीले गर्नु पर्छ।
हामी पल पल परिवर्तन पनि भइरहेका हुन्छौँ। पञ्च धातुको अन्तर्सम्बन्धले चलेको हाम्रो शरीर प्रत्येक पल परिवर्तनशील भइरहेको हुन्छ र यस पलमा जुन कर्म(कार्य) हाम्रो मन, वचन र शरीरले गर्छ त्यो अर्को नै पलमा भूत भइदिन्छ।
यसरी हेर्दा जुन अपराधीले जुन पलमा आफ्नो शरीर, मन र वचनले अपराध गर्छ, त्यसको लगत्तै अर्को पलमा त्यही शरीर, मन र वचन परिवर्तन भइसकेको हुन्छ। त्यसैले एउटा नैतिक प्रश्न खडा हुन्छ कि हाम्रो कानुनले, न्यायमूर्तिले कुन अपराधीलाई दण्ड दिइरहेको छ त?
दण्ड दिने नै हो भने अपराधीको अपराध गर्दाको पल जुन आपराधिक मन मस्तिष्क विकास भयो, त्यही मनलाई सजाय गर्न सक्नुपर्छ। किनकि अपराधी त परिवर्तन भइसकेको हुन्छ। यसको निस्कर्ष अनुसन्धानकर्ता र अभियोजनकर्ताको मनोबल घटाउनु नभई अपराधीको आपराधिक मनलाई उपचार गर्न र अनुशासित गराउन सकिन्छ भन्ने हो।
यद्दपि विधिशास्त्रले यस्तो तर्कलाई मान्यता नदेला तर पनि एउटा मानव भएर करुणामय भाव लिई ती अपराधीहरुलाई हेर्ने हो भने दण्ड सजायको सान्दर्भिकता शून्य हुन आउँछ।
त्यसैले अब न्यायिक कार्यविधिमा यस्ता वैज्ञानिक तथा उपयोगी साधनहरु अपनाउन जरूरी छ जसबाट अपराधीहरुलाई सजाय गर्ने तरिका यथावत् नै रहे पनि कैद\कारागारमा रहँदा उनीहरुको शारीरिक, मानसिकका साथसाथै भावनात्मक स्वास्थको पनि उपचार गर्न सकियोस्।
विपश्यना एक विकल्प
सन १९९३ नोभेम्बर २२ मा भारतको सबैभन्दा ठूलो कारागार तिहाड जेलमा पहिलो चोटी १००० जना सहभागी (कैदी)लाई लिएर विपश्यना शीविर सफलताका साथ सञ्चालन गरिएको थियो।
त्यसको प्रतिफलस्वरुप धेरै कैदीहरुमा रिस नियन्त्रण गर्न सक्ने, साथीसंगीहरुसँगको व्यवहारमा परिवर्तन, आफ्नो कुकर्मप्रति पश्चाताप भई पीडितको परिवारलाई सामना गरेर माफी माग्न सक्ने क्षमताको विकास जस्ता सकारात्मक परिवर्तन देखिएको थियो।
विपश्यना आफ्नो शरीर, र मन र यसमा उत्पन्न हुने सबैखाले तरंग र भावनाप्रति सजग रहन सिकाउने (माइन्डफुलनेस मेडिटेसन) एउटा ध्यान विधि हो र भनिन्छ, भगवान बुद्धले यही विधि अपनाएर बुद्धत्त्व प्राप्त गरेका थिए।
विपश्यनाको प्रमुख शिक्षा भनेको शील, समाधी र प्रज्ञा हो। समयमा सुत्न, समयमा उठ्न, खान, बस्न, हिँड्न सिकेपछि हाम्रो शरीर आफै अनुशासित बन्दछ जसलाई शील भनिन्छ भने यही अनुशासनको नियमित अभ्यास गरेमा मन(चित्त) विस्तारै एकाग्र हुँदै जान्छ जसलाई समाधि भनिन्छ।
र जब मन एकाग्र हुन्छ, त्यहाँ प्रज्ञा जाग्छ। यसरी यो ध्यान विधिले जीवन जिउने कला सिकाउँछ। आम आवासीय क्षेत्रबाट अलग्गिएको कारागारको वातावरणमा कुनै कुनाको सानो खाली जग्गा समाती यस्तो ध्यान शिविर चलाउन कुनै गाह्रो कुरा हुँदैन।
तर यसको लागि सरकारको सम्बन्धित निकायहरुबीच आवश्यक समन्वय हुन जरुरी छ। यदि समाजको आपराधिक पाटोलाई विचार गर्ने हो भने र समाजमा दिनानुदिन बढ्दै गरेको जघन्य अपराधको दिगो समाधान खोज्ने हो भने यस्तो शिविर चलाउन लाग्ने खर्च, समय, जनस्रोत आदि एकदमै न्यून लगानी हो भन्ने लाग्न सक्छ।
विपश्यना ध्यान विधिबाहेक अरु पनि धेरै प्रकारका ध्यान विधिहरु छन् र धेरै प्रकारका मनोवैज्ञानिक उपचार विधि (जस्तै संज्ञानात्मक व्यावहारिक उपचार) हरुको मनोचिकित्सा शास्त्रले विकल्प पनि दिएको छ।
यस्ता उपचारको विधिहरुले धेरै हदसम्म अपराधीको आपराधिक मानसिकता निर्मूल गर्छ उनीहरुको भावनात्मक स्वास्थलाई समेत सुधार्छ।
यदि यस्ता उपायहरु निरन्तर समयावधिक रुपमा कार्यान्वयन गर्न सकियो भने कम्तीमा पनि पटके अपराधीहरुको संख्या घट्न जान्छ र कारागारको समयावधी सक्किएपश्चात उनीहरुलाई समाजमा पुनर्स्थापन हुन गाह्रो हुँदैन।
यसको महत्त्व विश्वले बुझिसकेको छ र अब नेपालले पनि बुझ्न जरूरी छ।