आजको २१ औँ शताब्दी भनेको आर्थिक विकासको युग हो। विकसित मुलुक र तिनका नागरिकहरु आज आर्थिक विकासकै कारण जीवनलाई गुणस्तरीय ढंगमा जिइरहेको कुरामा दुईमत छैन।
आज यस पृथ्वीका हरेक मानिसहरुको पहिलो चाहाना तथा आवश्यकता पनि यही नै हो र भएको छ। यदि यस्तो हुँदैन थियो भने आज हामी तथा हाम्रा साथीभाइ, दिदीबहिनी तथा बुबाआमाहरु विदेशको त्यो फरक हावापानी र चलनसँगै आफूलाई समायोजित गर्दै घरपरिवार, आफन्त, चाडपर्व आदि-इत्यादीलाई चटक्कै मन मारेर पर्देशीनु पर्ने थिएन होला।
तर बिडम्बना, हाम्रो जस्तो विकासउन्मुख देश आज पनि छुवाछुत, जातीय विभेद तथा अन्य सामाजिक विकृतिहरुबाट टाढा भई विकासको गतिमा तीव्रता लिनु पर्नेमा झन्-झन् सुस्त हुँदै गैरहेको छ।
योजना बनाउने निकाय तथा राज्य संयन्त्रको स्पष्ट लक्ष्य, बनेका योजनाहरुको सही कार्यान्वयन तथा यिनका भावी नतिजा र समाजमा पर्ने असरहरुको सही लेखाजोखा नहुँदा विकृतिले झन् ठूलो तथा फरक शैलीहरु लिँदै गैरहेको छ।
समाजका जान्ने बुझ्ने, शिक्षित वर्ग भनिनेहरु पनि आज यी कुराहरुलाई लिएर एक प्रकारको अन्योलमा नै छन्। जातपात, छुवाछुत, तथा भेदभाव नमाने जस्तो गर्ने तर गतिविधिलाई भने मौन समर्थन जनाउने, अनि जातीय विभेदले जरा गाडेको समाजलाई मिलेर बसेको देख्ने र समानताको आवाज उठाउनेलाई समाज भाँडेको भनेर बुझ्ने जमात ठूलै छ।
यी यस्तै सोच र क्रियाकलापले गर्दा समस्याको सही विश्लेषण र समाधानको कदम उपयुक्त ढंगमा चल्न सकिरहेको छैन। कोही हेपिएर तथा दबिएर बस्न बाध्य भएको समाजलाई मिलेर बसेको भन्न उपयुक्त नहोला।
कोही मौन छ, यसको मतलब यो होइन कि ऊ ठिक छ, ऊ सही छ। त्यसैले बेलैमा यसबारे हामी सचेत भएर स्पष्ट कार्यदिशाका साथ आगाडि बढेनौँ भने यसले हामी सबैलाई निकट भविष्यमा झन् ठूला र फरक खालका समस्याहरुतर्फ गाँज्दै लैजाने निश्चित छ।
फलस्वरूप हाम्रो देश सधैँ उही बुढापाकाले भनेको जस्तो सतिले सरापेको नै स्थितिमा रहिरहने छ।
यी यस्ता विभिन्न विकासका बाधक कुरीति र संस्कारहरुको अन्त्य गर्दै विकासको गतिमा लम्किइ, आधुनिक र सभ्य समाजको निर्माण गर्नुपर्ने आजको प्रमुख आवश्यकता तथा चुनौती हो।
समाधान त कहाँ सजिलो छ र! तर समस्या पर्यो भनेर विकल्प खोज्न तर्फ लागेर समस्याको कहिल्यै समाधान हुँदैन, हरेक समस्याको हल हुन्छ र त्यसलाई खोजेर हामीले समाधान गर्न सक्नु पर्दछ।
होला, यी यस्ता विकृतिहरु समाधान गर्न खोज्दा विद्यमान धार्मिक तथा सांस्कृतिक पक्षहरुमा खलबल पुग्ला तर मान्छेले नै मान्छेकै लागि बनाइएका यी यस्ता कुराहरु जब मानवताको सीमाभन्दा बाहिर गएर चल्दा कदापि उचित हुँदैन। यसले अन्तत धर्मका राम्रा पक्षहरुको नै विनाश गरी समाजमा एक प्रकारको धार्मिक द्वन्द तथा अन्ततः यसैको अस्तित्वलाई पनि चुनौती दिन सक्छ।
यसो भन्दै गर्दा हामीले यो कुरा पनि भुल्नु हुँदैन कि, धर्मको सुरुआती चरणमा कुनै पनि प्रकारको भेदभाव थिएन। यो त समयसँगै चल्दै गर्दा यिनै धर्म प्रचारक, राज्य संचालक जस्ताले धर्म प्रचारभन्दा पनि कुरुति प्रचार गरी आफैँ निर्णय गरिदिनाले आज फलस्वरुप समस्याका ठूला ठूला जराहरु बनेका छन्।
आउनुस्, दिमागलाई थोरै खुल्ला गरी विशाल हृदयका साथ सोचौँ।
यस अपरम्पार ब्रह्माण्डको तुलनामा एक कण जस्तो पृथ्वीमा केही वर्षको उमेर लिई हामी जीवहरुको उत्पत्ति भएको हुन्छ। हुन त ब्रह्माण्डकै पनि आफ्नै निश्चित कालखण्ड रहेको मानिन्छ। यसको पनि उत्पत्ति र विनाश हुने वैज्ञानिकहरुको धारण तथा खोज प्रमाणहरुले यही कुरालाई निर्देशित तथा पुष्टि गर्दछ।
मान्छे स्वभावैले सुख तथा मायाप्रेमको सधैँ प्यासी भैरहन्छ। एउटा किरा, अझ एउटा सूक्ष्म जीव पनि यी यस्ता कुरामा कति प्यासी हुन्छ। तर बिडम्बना, त्यही किरा तथा जीवहरु कति खुसीयालीका साथ यस ब्रह्माण्डको एक सुन्दर ग्रह पृथ्वीको मजालाई रमाइलोसँग बेतित गरेर जान्छन्।
तर हामी मान्छेहरु भने कहाँ त्यस्तो हुन्छौँ र! उल्टै सजीवको नै अस्तित्वको चुनौती दिँदै थाहा नपाइँदो तरिकाले अमानवीय भई बाचिरहेका हुन्छौँ।
त्यसैले सबैभन्दा ठूलो कुरा भनेको मानवता हो। त्यसपछि मात्रै धर्म, संस्कृति आदि आउँछन्। एउटा गरिब वा टुहुरो व्यक्तिको लागि कहिल्यै पनि धर्म तथा संस्कृतिले महत्व राख्दैन।
यी धर्म, संस्कृति आदि भन्ने कुरा मानव जाति केही सम्पन्न हुँदै जाँदा अपनाइएका कुराहरु न हुन्। त्यसैले कोही प्राणी तथा मनुस्यको नै अस्तित्वमाथि हमला गरी प्राकृतिक रुपमा नै प्राप्त स्वतन्त्रताको हनन गर्न खोज्नु मानव भएर जनावरभन्दा पनि निच हुनु हो।
एउटा पक्ष सुधार गर्ने दाउमा अर्को पक्षको निन्दा गरिनु पनि भविष्यको लागि विकृतिको अर्को बिज छर्नु हो।
अन्ततः यही भन्न चाहन्छु कि, सम्पूर्ण प्रकारको विकृतिहरुको समाधानका लागि हामी एक जुट भएर लाग्नु पर्दछ। कानुनभन्दा पहिले जनचेतना जगाउनु पर्दछ।
मान्छेले चलाएका धर्म र बनाइएका संस्कृतिहरुको परिमार्जन गर्न नसकिने भन्ने हुँदै होइन। असल कुरा राखी खराब कुरालाई हटाई धर्म पनि पवित्र र जुगौँ जुगसम्म राम्रो फल दिने खालको बनाउनु पर्दछ।
समय, देशकाल र परिस्थितिसँग घमण्ड नगरी अघि बढौँ। बितेको समय कहिल्यै फर्कदैन र यो कुरा नभुलौँ कि खाली हात आएका थियौँ, खाली हात नै खरानी बनेर जाने छौँ। त्यो पनि थाहा छैन कि आज हो कि भोलि!
त्यसैले उपहार जस्तो जीवनमा हरेक पल खुसी, माया तथा भलाइकै काम गरौँ, सबैको अस्तित्वको सम्मान गरौँ र जोगाउँ। मानव भएर बाचौँ, मानव बन्न सिकौँ र सिकाउँ।