आजको कलिला मुना, सिकारु भोलिको देश तथा समाज हाक्ने सामार्थ्य हो बालबालिका। जसले बाल बचाउ, बाल सहभागिता, बाल संरक्षण र बाल विकासको अधिकारहरुलाई राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको जग निर्माणको लागि शिर्ष आहराको रुपमा लिन्छ।
लगानी भविष्यमा प्रतिफल आउने कुरा हो। अहिलेको समयमा बालबालिकामा लगानी गर्नु भनेको वर्तमान तथा भविष्यको विकास युद्धको लागि युद्धाको पालनपोषण गर्नु हो।
वर्तमानको काँचो माटो भविष्यको प्रभावकारी कर्णधारको अव्यवस्थित दैनिकी तथा लाभदायक अभिभावक विहीन दृश्यलाई अवगत गरी सो समस्यालाई सकारात्मक चिन्तनले दिशानिर्देश गर्दै सन् १९१९ मा एग्लैन्टाइन जेवको नेतृत्वमा बाल बचाउ नामक संस्थाको प्रार्दुभाव भयो। जसको प्रमुख ध्येय बाल अधिकार संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने संकल्पमा अडेको थियो।
६६ वर्षपछि मूर्तरुप हासिल गरेको सन् १९२३ को एग्लैन्टाइन जेवको बाल अधिकार सम्बन्धी अवधारणाले विश्वभर आफ्नो पकट कायम गरेको छ। बाल अधिकार सम्बन्धी महासन्धी, १९८९ त्यस्तो कानुन हो, जसले बालबालिकाको स्थानलाई सवलिकरण गरायो। साथै बलिरहेको आगोमा घ्यु थप्यो।
सर्वोत्तम हित, भेदभाव रहित, दीर्घ जीवन र विकास, र विचार र भावनाको कदर जस्ता सिद्धान्तहरुलाई अङ्गिकार गरेको सिआरसीले बाल अधिकारलाई बाच्न पाउने अधिकार, सहभागिताको अधिकार, संरक्षणको अधिकार, र विकासको अधिकारको परिधिमा राख्दै सो कुरा सम्बोधन गरी खुला दृष्टिले व्याख्या गरेको छ।
बालबालिका आफैमा एक संवेदनशील शब्द हो। जसको (शब्द) शरीर भित्र प्रवेश गरेर हेर्दा बालबालिकालाई भविष्यको विकास र समृद्धिको मुटु घोषित गर्न कुनै रोक उपस्थित हुन समर्थ हुँदैन। त्यस्तो भार बोकेको विषय हो बालबालिका।
आधुनिक समाजमा बालअधिकार बारे चेतना जागृत गराउने र संरक्षण र संवर्द्धनमा घनिभूत पहल चाल्नुपर्छ भन्ने मामला सर्वोच्च स्थानमा खडा भएको छ। तर वस्तुनिष्ठ ढंगले आवश्यक काम, कारबाही उपरको व्यवहार र अभ्यास कमजोर छ।
बालबालिकाको लागि भनेर गरिने सबै कार्यकलापहरु नै समष्टिमा लगानी हो। जस्तै बालबालिकाको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, मनोरञ्जन लगायतका सवालहरुको हिमायती भई गरिने लगानी बालबालिकामा गरिने यथार्थ लगानी हो।
मूलतः बालबालिका भएकै कारणले प्राप्त गर्ने सम्पूर्ण सेवा तथा सुविधाहरूलाई व्यवस्थित बाटोबाट न्यायपूर्ण आभास दिलाउनु लगानी हो। यसले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा उर्जाको इँटा थप्न टेवा पुर्याउँछ।
जुन देशको बालबालिका सीप दक्षता र वौद्धिक पाटोमा युगान्तकारी छलाङ मार्न सबल छन्, त्यो देशको भविष्य चमत्कारपूर्ण हुन्छ। किनभने आजका बालबालिका भोलिका देशको नेतृत्व तथा जनता हुन्।
विकासको लागि महत्वाकांक्षी योजना बनाएर मात्रै हुँदैन, त्यसको भावी नियमनकर्तालाई खुबीयुक्त बनाउनुपर्छ। जसको लागि विशाल पहाडलाई फोडेर समथर बनाउने दुस्साहस समेत गर्नु पर्देन, केवल बालबालिकामा पर्याप्त लगानी गरे पुग्छ।
अनि मात्र भविष्यमा देशको कायापलटमा कसैले पनि अवरोधको जाल हान्ने ल्याकत राख्दैन। नेपालको सन्दर्भमा बालबालिकाको क्षेत्रमा देखिएका समस्याहरु निराकरण गर्न पनि लगानी आवश्यक छ।
बालविवाह, बालबालिका ओसारपसार तथा बेचबिखन, बालश्रम शोषण, द्वन्द्व प्रभावित बालबालिका, अनाथ बालबालिका, शिक्षा, स्वास्थ्य, मनोरञ्जन लगायत मौलिक हकको पहुँचबाट वञ्चित बालबालिका, गर्भपतन, बालबालिका परित्याग गर्ने, बालभेदभाव, यौन शोषण वा दुर्व्यवहार, हेपाई, लागुपदार्थ दुर्व्यसनी तथा ओसारपसार, ड्रप आउट,
कानुनी विवादमा परेका बालबालिका, पारिवारिक बिखण्डन, बाल अपराध, गरिबीमा बालबालिका, शारीरिक तथा मानसिक दण्ड सजाय, सामाजिक असुरक्षा, पहिलो पाठशालाको संवेदनशीलतामा असहजता, बाल आवाजको सुनुवाइ नहुनु, घरमुली बालबालिका, मौन अभिभावक लक्षण जस्ता विशेषताहरुले रोगी भएको समाजलाई सुधार नगरी परिवर्तन सम्भव छैन। जसको लागि लगानी मुख्य औषधि हो।
बालबालिकाको क्षेत्रमा विद्यमान सवालहरुलाई समाधान गरी सकारात्मक परविर्तनकारी चेतयुक्त शक्ति निर्माण गर्नु नै लगानीको उपलब्धि हो। जसको लागि राज्य बाल अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र परिपूर्तिको मार्गबारे सचेत हुनुपर्छ। बालअधिकार संरक्षण गर्न अहिलेको दृष्टिलाई फेरबदल तथा परिस्कृत गर्नुपर्छ।
राजनैनिक आस्था र सिद्धान्त, कानुन, ऐन, नीति, श्रोत, गरिबी, अभाव, परम्परा, चलन, समाज, अभिभावक, जातीय, धार्मिक र भौगोलिक भिन्नता, बालबालिका स्वयम, समय निष्ठताको खडेरी, संघ संस्थाको सीमितता, संकुचित मनसाय, निष्पक्ष, स्वतत्र र सक्षम नेतृत्वको अभावको कारणले बालअधिकार संरक्षण तथा सो माथि व्यहारमा कालो बाधक तत्वको तागतमा मलजल थपेको छ।
म, तपाई, हामी भावका साथ सोचाइ, सिर्जनात्मकता, लगनशीलता, जिम्मेवारिपना र तत्परताबीचको समायोजनलाई बलियो पार्न सके सहज तवरमा बाल अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन गर्न सकिन्छ। सो कार्य पूरा गर्न पनि बालबालिकामा लगानी अपरिहार्य हुन्छ।
राजनीतिक, सामाजिक (असल सामाजिक मूल्य मान्यता स्थापित गर्न), आर्थिक विकासको लागि बालबालिकामा लगानी गर्नु पर्छ। सन् २००८ र २०१२ मा कोपनहेगनमा विश्वका ५० जना विश्लेषक, ८ जना अर्थशास्त्री र ५ जना नोबेल पुरस्कार विजेता समाहित अन्तर्राष्ट्रिय सम्मेलनले देशको आर्थिक विकासको लागि आवश्यक ठानेका ३० वटा कार्यहरु मध्ये १४ वटा बालबालिका र महिलासँग सम्बन्धित थिए।
उक्त तथ्यले के देखाउँछ भने आर्थिक विकासको लागि बालबालिकामा लगानी गर्नु अनिवार्य रहेको कुरा पुष्टि गर्छ। विकास सम्बन्धी सूचकहरु बालबालिकासँग मेल खाने भएकोले बालबालिकामा लगानी नगरी देश विकास हुन्छ भन्नु भोजन बेगर मानिस बाच्न सक्छ भन्नु सरह हो।
यदि बालबालिकामा लगानी फितलो भएको भए अमेरिका, चीन, बेलायत, रुस, जापान, नर्वे, भारत लगायतका देशहरु विश्वको शक्तिशाली तथा विकसित, विकासशील देशको संज्ञाको घेरा भित्र कैद हुने थिएनन्। विश्वमा आफ्नो प्रभाव पार्न सफल भएका व्यक्तिहरुप्रति दृष्टिपात गर्नुहोस्।
के ती व्यक्तिको व्यक्तित्वमा बाल्यकालको अवशेष छैन र? बालबालिकामा गरेको लगानी भविष्यमा देखिन्छ भन्ने कुरालाई मन र मष्तिस्कमा राखी त्यसको प्रयोगमा चेतना देखाउने अभिभारा प्राकृतिक र कानुनी दुवै व्यक्तिको हो।
बालबालिकाको अवस्था सुधार गर्न तथा बाल बचाउ, बाल संरक्षण, बाल विकास, र अर्थपूर्ण बाल सहभागीता जस्ता सवालहरुलाई सरकारको नीति, संरचना, प्रणाली र कार्य प्रकृया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धतिको स्थापना गर्न र गराउन सरकारी र गैरसरकारी संघ संस्थाले पहल गरेका छन्।
तर ती सम्बद्ध संघ संस्थाबीचको विस्तृत र व्यापक एकताको अभावले गर्दा बालबालिकामा गरिने लगानीले एथेष्ट परिणाम हातपारेको छैन।
सरकारी र गैरसरकारी संघ-संस्थाले छुट्टाछुट्टै कार्यक्रम लागु गर्दा ठोस उपलब्धि हासिल गर्न दुवै पक्ष असमर्थ भइसकेका छन्। 'एक थुकि सुकी सय थुकि नदी' भने जस्तै दुवै पक्षबीचको बलियो सहकार्यका साथ दिगो, शक्तिशाली कार्ययोजनाले मात्र वास्तविक प्रतिफल देखाउँछ।
बालबालिकामा गरिने उत्कृष्ट लगानीले गर्दा बालबालिकाहरुमा विशेष विशेषताले भरिपूर्ण योग्यताको जन्म हुन्छ र भविष्यमा उनीहरूको जुक्तिको सदुपयोगले देश समृद्ध हुन्छ।
तसर्थ, एकता नै बल हो भन्ने उक्तिलाई ग्रहण गर्दै सान्दर्भिक संघ संस्थाहरु बीचको ऐक्यबद्धतालाई सारथी बनाई बालबालिकामा गरिने लगानीको दायरालाई फराकिलो बनाउनुपर्छ। तब मात्र समृद्ध भविष्यको सुनिश्चितता हुन्छ।