पानी दैनिक जीवनको अति नै आवश्यक प्राकृतिक स्रोत हो, जुन प्राकृतिक वातावरणमा व्यापक रुपमा फैलिएको छ।
पानी विभिन्न किसिमको पारिस्थितिकीय पद्धतिको सन्तुलनसँगै मानव स्वास्थ्यको सन्तुलनको पक्षका लागि पनि महत्वपूर्ण छ। पानीका विभिन्न स्रोतहरु र बहु-उपयोगहरु छन्।
पानीको आवश्यकता मानव जीवनमा पिउनदेखि लिएर दैनिक जीवनमा गर्नुपर्ने सबै क्रियाकलापहरुमा प्रयोग गर्दै आइरहेका छौँ। जसको कारणले गर्दा मानव जीवन फिलामेन्ट बत्ती झै उज्यालोतर्फ उन्मुख छ।
विश्व स्वास्थ संगठनले मानव स्वास्थ र आर्थिक गतिविधिलाई मध्यनजर गर्दै आगामि १५ वर्षमा सबै जनताका लागि दिगो विकासको लक्ष्य ६ मा स्वच्छ पानी तथा सरसफाईमा पहुँच पुर्याएको छ।
यद्यपि विकासोन्मुख देशहरुका लागि बढ्दै गइरहेको जनसंख्या, निम्नस्तरीय पूर्वाधार र वित्तिय क्षमताको आधारमा यो लक्ष्य हासिल गर्न चुनौतिपूर्ण छ। संयुक्त राष्ट्र संघका अनुसार कुल जनसंख्याको ४०% भन्दा बढी जनसंख्यामा अझै पनि पर्याप्त रुपमा सफा पानीको पहुँच छैन र प्रयोगयोग्य पानीको व्यापकरुपमा कमि भएर पानीको दिगो विकास सहित धेरै क्षेत्रहरुमा ठूलो खतरा छ।
बढ्दो जनसंख्याका कारण पानीको आपूर्ति पनि बढ्ने हुँदा नेपाल लगायत निम्न आयस्तर देशहरुमा प्रभाव बढ्दै जानेछ।
नेपाललाई भौगोलिक आधारमा मुख्यगरी हिमाल, पहाड र तराई गरी ३ भागमा विभाजन गरिएको छ। हिमाललाई उचाइको आधारमा मुख्य हिमाल, भित्री हिमाल र सिमान्त हिमाल गरी ३ भागमा विभाजन गरिएको छ भने पहाडलाई पनि उचाइका आधारमा चुरे पर्वत श्रेणी, महाभारत श्रेणी र मध्यभूमि गरी ३ भागमा।
त्यसैगरी तराईलाई पनि खास तराई, भावर प्रदेश र भित्री मधेश गरी ३ भागमा विभाजन गरिएको छ। नदीहरुको मुख्य उद्गम स्थल भनेर मुख्य हिमाललाई चिनिन्छ जहाँ नेपालका प्रमुख नदीहरु कोशी, गण्डकी, कर्णाली र महाकालीको उद्गम स्थल रहेको छ।
नेपाल जलस्रोतको आधारमा ब्राजिलपछिको विश्वकै दोस्रो धनी देश भएपनि, पिउने पानी प्रणालीको आधारमा भने नेपाल विश्वको पाँचौं स्थानमा क्रमवद्ध छ (२०१७ को तथ्यांकको आधारमा)।
देशको विभिन्न भागहरुमा विशेषगरी नेपालको मध्य पहाडी र उच्च पहाडहरुमा पानीको अभाव अझै देखिन्छ। पानी ल्याउनकै लागि घन्टौं धाउनु पर्ने बाध्यता छ। त्यहाँ पुगेर पनि पानी भर्नको लागि घन्टौँसम्म लाइनमा बस्नु पर्ने र घन्टौँ लाइनमा बस्दा पनि चाहिएको जति पानी नपाउने जस्ता समस्याहरु देखिन्छन्,
जुन निकटको भविष्यका लागि नेपालले विचार गर्नुपर्ने र एउटा प्रभावकारी रणनीति तयार पारी, यस्ता समस्याहरुबाट उम्कन नेपालका ग्रामीण भेगमा बसोबास समुदायको लागि स्वच्छ र पर्याप्त पानीको पहुँच बढाउनु पर्ने नितान्त आवश्यक देखिन्छ।
बढ्दो जनसंख्याका कारण बढ्दो मागले विद्यमान जलस्रोतहरुमा बढी दबाब पुगेको र जसले गर्दा पानीको अभावको अनुभव गर्दै देशका विभिन्न क्षेत्रहरुमा पानीको आपूर्तिलाई विघटन गर्न सक्दछ।
लक्ष्यको दिगो व्यवस्थापन गर्न ताजा पानीका स्रोतहरुको निरन्तर अवलोकनले महत्वपूर्ण भूमिका खेल्छ। सो फलस्वरुप स्वस्थ पानीको आपूर्ति, बाढी नियन्त्रण जस्ता सेवाहरु प्रदान गर्दछ। वास्तवमा मानिसका लागि जे खराब छ त्यही कुरा प्रकृतिको लागि पनि खराब हुन्छ। जुन हामीलाई अवगत भएकै कुरा हो।
आर्थिक दृष्टिकोणले हेर्ने हो भने तथ्यांकहरु स्पष्ट छन्। विकासोन्मुख देशहरुमा सरसफाईको कमि र असुरक्षित पानीको परिणामस्वरुप आर्थिक क्षति हुन्छ। हालैको विश्व बैंकको रिपोर्ट अनुसार पर्याप्त पानीको अभाव भएका देशहरुको २०२० सम्ममा उनीहरुको जीडीपी ६% सम्म घटेको देखिएको छ।
ताजा पानीको आपूर्तिमा गिरावटका कारण समुदायहरुलाई खाना, सामान र सेवाहरुमा हरेक वर्ष अर्बौं डलरको सुविधाबाट वञ्चित गर्दछ। तर क्षतिलाई नियन्त्रण गर्न वा कम गर्न जलाधार व्यवस्थापनको दृष्टिकोणलाई प्रबन्ध गर्न सकिन्छ।
त्यसैगरी निजी क्षेत्रमा कम्पनीहरुलाई पानीको मात्रा र पानीको गुणस्तर दुवैको समस्या समाधान गर्ने तर्फ जोड दिई सम्बन्धित कम्पनीको आपूर्ति श्रृंखलामा सबैभन्दा राम्रो व्यवस्थापन अभ्यासहरु कार्यान्वयन गर्न सकिन्छ।
साथै पानी भण्डारणमा पनि सक्रियरुपले काम गर्न सकिन्छ। जुन गतिविधिहरुले गर्दा राम्रो नतिजा ल्याउन मदत गर्छ, र वातावरणीय जोखिमहरु न्यून गर्न मद्धत गर्दछ।
यसैगरी सार्वजनिक क्षेत्रमा सरकारले संस्था, पूर्वाधार र सूचना प्रणालीहरुको क्षेत्रहरुमा लगानी गरी त्यस्ता लगानीहरुबाट नजिक भविष्यका आर्थिक, सामाजिक र वातावरणीय आवश्यकताहरु पूरा गर्न सकिन्छ।
अधिक न्यायगत र पारदर्शी नियमहरु र विनियोजन, पूर्वाधारका वृद्धि र विकास भइरहेको निरन्तर अनुगमनले जलवायु परिवर्तनमा सुधार गर्न र आर्थिक पानीको अभावको जोखिम कम गर्न मद्धत गर्नेछ।
आज पानी बचाऔं, भोलि हामी बाच्नेछौं।