म कार्यरत संस्था (डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी) ले बाक्लै पदयात्राको आयोजना गर्ने गर्दछ। कहिले संस्थाका उच्चतम टिमहरूलाई लिएर त कहिले पुरै कर्मचारीहरूलाई लिएर।
समूहमा आत्मविश्वास दिलाउने, पदीय हिसाबले आफूभन्दा सिनियर दाइ, दिदीहरूसँग बलियो सम्बन्ध स्थापना गर्नेजस्ता कार्यहरूबाट अभिप्रेरित भएर होला संस्थाले हाइकिङलाई पहिलो प्राथमिकतामा राखेको।
र केही हदसम्म मनमा रहेका भडासहरू पनि त्यतै बाटातिरै पोख्ने र ताजा भएर आउनेजस्ता कामहरू पनि हुने गर्दछन्।
८ चैत्रमा संस्थाका सिनियर दाइहरूसँग धादिङको धुनिबेसीदेखि नौबिसेसम्म लगभग १२ किलोमिटर दूरी पदयात्राका लागि तय गरिएको थियो।
धुनिवेशी नगरपालिकामा अवस्थित मच्छेन्द्र बहुमुखी क्याम्पसमा त्यस्तै ३० मिनेटजतिको सानो कार्यक्रम सम्पन्न भएपछि हाम्रो पदयात्रा पनि सुरू भएको थियो।
धुनिवेशीको पृथ्वी राजमार्गलाई छोडेर हामीहरू थानकोट निस्कने उकालो बाटोबाट हाम्रो यात्रा तय भएको थियो। त्यस्तै दुईदेखि तीन किलोमिटर हुनुपर्छ, उकालो उकालो बाटो पुरै ढलान गरिएको छेउछेउका राम्रा राम्रा पक्की घरहरू पनि देखिन्थे। साथै व्यस्थित काउली खेतीले मेरो मन निकै नै तानेको थियो।
त्यतिबेला मैले म कक्षा ६ मा पढ्दै गर्दा हामीलाई पूर्व-व्यवसायिक शिक्षा अध्यापन गराउने आदरणीय मिनबहादुर सरलाई सम्झिरहेको थिएँ। त्यसताका हामी कक्षा ६ मा १२० जनाजति विद्यार्थी एउटै कक्षामा पढ्थ्यौँ।
सरले हामीहरूलाई विद्यालयन जिकैको जग्गामा काउलीका बिरूवा तयार गर्न लगाएर, रोप्ने बेला भएपछि हामी सबै विद्यार्थीहरूलाई दामासाहीले बाड्नु भएको थियो। त्यस्तै ३०/३५ वटा जति काउलीका बेर्ना मेरो हातमा पनि परेको थियो।
मैले ती काउलीका बेर्नालाई निकै नै मलजल गरेर निकै नै प्रेमका साथ लगाएको थिएँ। मेरा गाउँ (स्याङ्जा) माटोको उर्वरा शक्ति कमसल नै हो तर पनि मैले दुई किलोसम्मको काउली फलाएको थिएँ।
मैले मेरो विद्यालयीय शिक्षाका क्रममा गरेर सिक्ने सिकाइको यो एउटा नमुना थियो। मिनबहादुर सरले हामीलार् यी यस्तै थुप्रै व्यावहारिक सीपका कुरा सिकाइरहनु हुन्थ्यो। तर पनि उहाँ त्यति नै कडा हुनुहुन्थ्यो।
कक्षा ६ मा नै पढ्दा हो जस्तो लाग्छ, एकजना मेरा सहपाठी साथीले अर्कैलाई दण्ड दिँदा पाइन्टमा नै सुसु गर्न पुगेका थिए। खैर, ती कुरा अहिले आएर निकै नै गौण हुँदा रहेछन्। अचम्म लाग्छ, १२० जना विद्यार्थीहरूलाई कसरी एउटै कक्षामा राखेर अध्यापन गराउन सकेका होलान्।
खैर, पदयात्राका क्रममा बारीमा काउलीका बोट देख्दा मेरो मनमा उत्पन्न नोस्टाल्जिक थिए।
डाँडाकाँडा, उकाली ओराली, समथर भूमिलगायतका ठाउँहरू मेरा लागि खासै नयाँ नौला त होइनन् नै किनकि उल्लिखित ठाउँमा लडिबुडी गर्दै मैले मेरा बाल्यकाल बिताएको थिएँ।
यात्राका क्रममा अब हामी उकालो चढ्दै नै थियौँ। गर्मी पनि निकै नै बढेको थियो। उकालो चढ्न पनि कत्ति साथीहरूलाई निकै हम्मेहम्मे नै भएको थियो। पाखापखेराजस्ता ठाउँमा पनि काउली खेती नै देखिन्थ्यो।
सिँचाइका लागि ठाउँ-ठाउँमा स्प्रिंकल राखेको पनि देखियो। निकै गर्मी भइसकेपछि खै कसको विचार हो, हामी ५/६ जना जति त्यही फोहोरामुनि गएर थापियौँ, नाँच्यौँ, गायौँ र पानीपानी भयौँ। अनि शितलोको अनुभव गर्यौं।
अब हामीहरू खोरियाजस्ता देखिने साँघुरा गरा पार गर्दै अगाडि बड्यौँ। त्यहाँ चिलाउनेका रूख प्रशस्त नै थिए। वसन्त ऋतुको आगमनसँगै तिनीहरूले पातहरू पनि फेर्दै थिए।
कुनै समय तिनै चिलाउनेका दानाले गुच्चा खेल्ने, तिनै दानाहरू नचाउँने प्रतिस्पर्धा गरिन्थ्यो। तिनै चिलाउनेका पातहरू गाईवस्तुका लागि सोत्तर बनाउन सोहोर्दै हिँडिन्थ्यो।
पदयात्राकै क्रममा अम्पाके (बेडुलो पनि भनिने, डाले घाँस) पनि देखेपछि, असार/साउन महिनातिर बारीमा भएका खन्यु र बेडुलो खोजेर ल्याइन्थ्यो अनि मजाले साँधेर खाँदाको अनुभव बैग्लै हुन्थ्यो।
अँ,साँच्ची! मैले त्यहाँ झुर्सेलीका साना-साना बोट पनि देखेँ। कुनै समय आँची गरेपछि सफा गर्ने माध्यम बन्थ्यो झुर्सेलीका पातहरू हाम्रा लागि। हैट! यस्तो पनि समय थियो, अहिले सम्झिँदा अचम्म लाग्छ अनि किन सिकाएनन् हाम्रा अग्रजहरू!
खैर, पदयात्राका क्रममा ती चिलाउनेका दाना र ती झरेका पातहरू अनि ती झुर्सेलीका पातहरू देख्दा मेरो मनमा उत्पन्न नोस्टाल्जिक थिए।
यात्राकै क्रममा हामीहरूले खानका लागि काक्राहरू र हरियो खुर्सानी राखेर बनाइएको छोप पनि बोकेका थियौँ। साँच्चीकै त्यो काक्राले हामी सबैमा स्फूर्ति बढेको थियो, पुन: ताजगीपन पनि दिएको थियो। अनि यस्तै पदयात्राका क्रममा खानाका लागि हरिया काक्रा ल्याउन छोड्न नहुने सहमति पनि भयो।
काक्रा खाँदै गर्दा, मैले कुनै समय हजुरआमाले लुकाएर राख्ने सन्दुकबाट बडो दु:ख, कडा अभ्यास र परिश्रमका साथ (किनकि सन्दुक खोल्न कला नै चाहिन्थ्यो) खोलेर त्यहाँबाट रू १० झिकेको थिएँ।
त्यो काममा मेरा दाइ पनि सहभागी थिए। हामीहरूले त्यही पैसाबाट बडेमानको खिर काक्रो किनेका थियौँ अनि घाँस काट्न घरमाथिको खरबारीमा जाँदा काक्रो पनि लगेका थियौँ।
खरबारीमा रहेको एउटा खल्लुकको रूखमा काक्रासहितको डाँको पनि लगेर मजाले काक्रो खाएका थियौँ। पुरै काक्रो त के खाइसक्नु नि, बाँकी काक्रो गुदीमात्र खाएर फालेका पनि थियौँ। किनकि घर लग्न त सम्भव थिएन। तपाईंले कुरा बुझिहाल्नु भो नि।
खैर, अहिले त्यो खल्लुकको रूख र खरबारी मोटरबाटोले गर्दा सखाप भयो। अहिले ती सब कुराहरू नोस्टाजिक मात्र रह्यो।
हामी १८ जना पदयात्रीहरू थियौँ। पदयात्रा सकेर घर पनि फर्कियौँ। पदयात्रा अवश्य पनि अविस्मरणीय र रमाइलो त भयो नै।
अन्य साथी, सिनियर दाइ-दिदीहरूले त्यो पदयात्रालाई कसरी लिए, मेरा लागि भने यो यात्रा नोस्टाल्जिक बन्यो।