केही वर्षअघि, म झापाबाट पहिलो पटक काठमाडौँ आएको थिएँ। कोटेश्वरमा गाडीबाट उत्रिदा दुवै हातमा ब्याग थियो। जानु पर्ने ठाउँ अनामनगर थियो।
तर कसरी जाने भन्ने बारे, म अनभिज्ञ थिए। म अज्ञात सहरको, अज्ञात सडकमा अलमल्ल परेर उभिएको थिए।
पछाडिबाट आवाज आयो, 'भाइ ट्याक्सीमा जाने हो?'
अज्ञात ठाउँमा गुन्जिएको त्यो आवाज आफ्नै कसैको जस्तो लाग्यो। हातको भारी ब्याग, ट्याक्सीको डिक्कीमा बिसाएर म सिटमा बसेँ।
'कहाँ जाने हो?' भनेर अगाडिबाट आवाज आयो।
मैले 'अनामनगर' भनेँ।
२०-२५ मिनेटको उक्त यात्रामा, म काठमाडौँ पहिलो पटक आएकोदेखि लिएर, सडक, ट्राफिक, प्रदुषण, गाउँ लगायत अन्य विविध विषयमा हामीले कुराकानी गर्यौँ।
अनामनगर पुगेपछि मैले भाडा सोधेँ। ट्याक्सी चालक दाइले '५००' भन्नु भयो। खल्तीबाट पैसा निकालेर दिएँ, अनि हामी आ-आफ्नो बाटो गयौँ।
५०० रुपैयाँ भाडा तिर्दा 'गाउँघरमा राजधानी महँगो छ' भन्थे, हो रहेछ जस्तो लाग्यो। पछि साथीले भन्दा मलाई त, ट्याक्सी चालक दाइले डबलभन्दा धेरै भाडा लिएछन् भन्ने थाहा भयो। एउटा नेपालीले अर्को नेपालीलाई यसरी पनि ठग्दो रहेछन्।
अहिले समय र परिस्थिति फरक छ। टुटल, पठाओ जस्तो राइड सेयरिङ एपले गर्दा यात्रुहरूलाई यात्रा गर्दा सहज भएको छ। भाडा साथै दूरी कति छ भनेर सजिलै थाहा पाउन सकिन्छ। गाउँबाट भर्खरै राजधानी आएकादेखि लिएर विद्यार्थी, शिक्षक लगायत अन्य सबैलाई दैनिक काममा जान-आउन सहज भएको छ।
केही साता अघि, मलाई बानेश्वरमा बस्ने एक जना साथीको फोन आयो। साँझको सात बजेको थियो। 'हेल्लो' भन्नुको सट्टा 'म त मर्न लागे छिटो आइज न' भनेर उसले फोन राख्यो।
के गर्ने होला भनेर एकछिन त दोधारमा परेँ। ट्याक्सीमा जाने अनि साथीलाई ट्याक्सीमा नै अस्पताल लाने निर्णय गरेँ। म ज्याकेट लगाएर सडकमा निस्किएँ। ट्याक्सीलाई बोलाएर 'दाइ बानेश्वर गएको कति हो? भन्दा '२००' भने।
राति भएकोले गर्दा ती दाइले न त मिटरमा जान माने न त उचित रकम नै भने। राजधानीमा पढ्दै गरेको विद्यार्थीलाई २०० रुपैयाँ ठूलो रकम हो। दूरी पनि खासै धेरै थिएन।
त्यति कम दूरीको त्यति धेरै भाडा दिन मनले मानेन। मोबाइलमा पठाओ एप खोलेँ अनि आधा भाडामा नै बानेश्वर पुगेँ। साथीको कोठामा पुग्दा, ऊ बिस्तारामा पल्टेर सुतेको थियो। बाहिर फेरी ट्याक्सी खोजेर भाडामा बार्गेनिङ गर्ने समय र अवस्था दुवै थिएन। त्यसैले पुनः पठाओ एप्प खोलेर हामी अस्पताल गयौँ।
बिरामी पर्दा अस्पताल जानदेखि लिएर कलेज, अफिस जान साथै अन्य काम गर्न पठाओ, टुटल जस्तो 'राइड सेयरिङ प्लेटफर्म' ले गर्दा सहज भएको छ। आम-यात्रुको समय र पैसा दुवैको बचत हुने गरेको छ।
टुटल, पठाओले ग्राहकलाई मात्र सहज भएको भने होइन, सवारी चालकको पनि घर खर्च चलाउन ठुलो मद्धत गरेको छ। राजधानीको सयौँ परिवारको रोजीरोटी बनेको छ।
चालकहरू आफ्नो साथै घरपरिवारको दैनिक गुजारा सवारीबाट नै चलाउँदै आएका छन्। क्यान्सर भएको छोराको उपचार गर्नको लागि पोलियो लागेको बुवादेखि लिएर, फरक क्षमता भएका र अन्य विविध क्षेत्रका राइडरहरू राजधानीको सडकमा भेटिन्छन्।
अन्य पेसामा आबद्ध नागरिकहरूलाई टुटल, पठाओ 'पार्ट-टाइम जब' पनि बनेको छ। कतिपय राइडरहरूले अफिस आउँदा र जाँदा यात्रु बोक्ने पनि गरेका छन्। त्यसो गर्नले उनीहरूको आम्दानीको श्रोत पनि बढेको पाइएको छ।
पठाओ र टुटलले ग्राहक र राइडर दुवै सन्तुष्ट भएको बाबजुद, थुप्रै किसिमको समस्याहरू झेल्दै आउनु परेको छ। सरकार, ट्राफिक प्रहरी, यातायात विभाग, ट्याक्सी संघ लगायत अन्य क्षेत्रबाट पटक-पटक सवारी चलाउन रोक लगाएकाले, व्यवसाय थप व्यवस्थापन र विस्तारमा समस्या आएको देखिन्छ।
सुरुआती दिनहरूमा रातो नम्बर प्लेटको सवारीले भाडा असुल गरेर सेवा दिन नमिल्ने भनेर सञ्चालनमा रोक लगाइयो। त्यस पश्चात् यात्रु र चालकको बिमा गर्ने पर्ने, दर्ता गरेर सञ्चालन गर्नु पर्ने जस्तो विषयहरू उठाएर, ट्राफिक प्रहरीले राइडरलाई समात्ने कार्य सुरु गर्यो।
तर यी व्यवसायको व्यवस्थापनले समस्याको समय सापेक्ष समाधान खोजेर हल गर्दै गए। यात्रु र राइडर दुवैको बिमा गरेर पुनः सञ्चालनमा ल्याइयो। उच्च अदालत पाटनको सवारी साधनलाई दर्ता गरी सञ्चालन गर्न सहज बनाउने नीति बनाउने सरकारलाई जिम्मेवारी दिएपछि यी उद्यमीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न अझ धेरै सहज भयो।
साथै टुटल र पठाओलाई सञ्चालन गर्न सहज वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपश्चात्, राइडरहरूले आफ्नो सवारी साधन निर्विरोध सञ्चालन गर्न पाएका थिए।
कोभिड अघि बिमा, दर्ता गर्ने, नम्बर प्लेट जस्ता अन्य विविध कारणले यी व्यवसायहरूलाई निरुत्साहित गर्ने कार्य भयो। कोभिडले गर्दा यात्रु र चालकको सुरक्षाको विषय बारे राजधानीमा बहस तातिन सुरु भयो।
त्यसपश्चात् यी व्यवसायले यात्रुको सुरक्षा मध्यनजर गर्दै चालकलाई पिपिई, ज्याकेट लगायत अन्य कुराहरू प्रदान गर्न सुरु गर्यो। अहिले फेरी यही विषयलाई लिएर, ट्याक्सी संघ लगायत अन्य क्षेत्रमा आबद्ध नागरिकहरूले यसको विरोध गर्दै आएका छन्। मेरो विचारमा यस्ता विषयले गर्दा सेवा सहज बनाउनका साथै विस्तार गर्ने कार्यमा समस्या सिर्जना गर्दै आएको छ।
अहिले ट्याक्सी व्यवसायले उठाएको मूल समस्या, आफ्नो ग्राहक टुटल र पठाओले लगेको भन्ने छ। ट्याक्सी चालकले बढी भाडा लिने, मिटरमा जान नमान्ने भएकाले यात्रुले ट्याक्सीको सट्टा पठाओ रोज्नु सामान्य कुरा हो।
'जुन कुराको मूल्य कम हुन्छ, त्यसको माग बढी हुन्छ' यो अर्थशास्त्रको सामान्य नियम हो। '१०० को गोलभेँडा ८० मा पाउँछ' भने हर-कोही विवेकशील नागरिकले ८० को गोलभेँडा नै किन्छ।
नेपाल एउटा खुल्ला बजार अर्थतन्त्र भएको मुलुक भएकाले ट्याक्सी व्यवसायीले टुट पठाओसँग स्वस्थ प्रतिस्पर्धा गर्न आवश्यक छ। मेरो विचारमा बन्द, हडताल, कुटपिट लगायत अन्य कार्य बन्द गरेर, उचित विकल्प खोज्नु पर्छ।
पठाओ, टुटल बन्द गर्नु पर्छ भन्ने बहसलाई अब चौतारीमा बिसाउनु पर्छ। अब बहस ट्याक्सी व्यवसायीले पनि आफ्नो ट्याक्सी पठाओ, टुटलमा दर्ता गरेर कसरी लाभ लिन सक्छन् भन्नेमा केन्द्रित हुनु पर्छ।
सरकारले पनि ट्याक्सी व्यवसायीको समस्या सम्बोधन गरेर दुवै पक्षलाई कम असर गर्ने निर्णय गर्दै अघि बढ्नु पर्छ। काठमाडौँमा टुटलमा र पठाओको सेवा सञ्चालनले, नेपाल डिजिटल अर्थ-व्यवस्थामा प्रवेश गरेको सङ्केत पनि देखाउँछ।
दुवै पक्षसँग संयुक्त छलफल गरी विकल्पहरू पहिचान गर्नुका साथै सबल र दुर्बल पक्ष केलाएर अगाडि बढ्नु पर्छ। मेरो विचारमा त्यसो गर्नले नयाँ उद्यमीलाई देशमा नै केही गर्ने हौसला र प्रोत्साहन मिल्नेछ। सरकार,विभिन्न संघ, संस्था लगायत सम्पूर्ण आम-नागरिकहरूले उद्यमीलाई निरुत्साहित होइन, प्रोत्साहित गरौँ।