मधुका बुवा फौजमा जागिरे थिए। आमा गृहिणी। घरकी एक्ली सन्तान मधु गाउँको सबभन्दा राम्रो विद्यालयमा पढ्थी। उनको जीवनमा कुनै पनि कुराको कमी थिएन। तर पनि उसलाई सधैं एउटा चिन्ताले सताउथ्यो, ‘म किन मोटी भएँ ?’
१४ वर्षमै उनको तौल ८० केजी भैसकेको थियो। त्यही भएर मधु घरबाट कामै नपरी बाहिर निस्किन रुचाउदैनथी। निस्कियो कि छरछिमेकका कुरा सुन्न परिहाल्थ्यो, ‘उ मोटी आई’ । मोटोपनका उनका धेरै किस्साहरू थिए मन दुखाउने। बेलाबेलामा मलाई आएर सुनाइरहन्थी। म दुनियाँको वास्ता नगर भनेर ढाडस दिन्थेँ।
एकदिन मधु र उनकी आमा, मामा घर जान बसमा चढेका रहेछन्।
मधुलाई देख्ने बित्तिकै सहचालक भाइ कुर्लेछन्,‘बाबा हो, दुई जना अटाउने सिटमा एकैजना पो बसाउनु पर्ने भयो।’
सहचालकको कुरा सुनेर बसमा भएका सबै गलल हाँसे। मधुको मन भने कटक्क खायो।
मामा घर पुग्ने बित्तिकै पनि सुरू भैहालेछ,‘भान्जी अलि खाना कम खानु के, धेरै मोटो भयो भने बिहे गर्न पनि अप्ठ्यारो हुन्छ’। मामाको कुराले मधुलाई त्यो रात निद्रा परेन।
मामाघरबाट फर्केपछि मधुले मलाई भनी, ‘म मोटी हुँदा अरूलाई किन यति पीर ?’मसँग त्यो गम्भीर प्रश्नको जवाफ थिएन।
मैले मधुलाई ‘भो छोडी दे अरूको कुरामा ध्यान न दे’ भनेँ।
उसले फेरि भनी, ‘मामाघरमा यही कुरा मैले मेरी दिदी पर्ने मामाकी छोरीसँग पनि भनेँ, अपरेसन गरेर मासु फाल्दे भन्ने जवाफ पाएँ’ । विश्वास गरेको मान्छेले यस्तो भन्दा उनलाई टेकेको हाँगो नै भाँचिएजस्तो भयो रे।
एकदिन दिउँसो स्कुलबाट फर्केपछि मधु सिधै मेरो घरमा आई। म पनि स्कुलबाट भर्खरै घर पुगेर खाजा खाँदै थिएँ। मैले मधुलाई पनि ‘आइजा खाजा खा’ भनेँ।
मधुले तीन दिनदेखि आफूले खाना एकदमै थोरै खाएको कुरा गरी। म छक्क परेँ, मैले मधुलाई खान नखाएर मात्र दुब्लाउने हो र भनी सम्झाएँ।
ऊ दुब्लाउने हर उपाय अपनाउन अघि सरेकी थिई। तै पनि उनको खेदो खन्ने मान्छेको कमी थिएन।
एकदिनको कुरा।
मधुको कक्षाका सबै मिलेर मधुको खिल्ली गर्न ऊ स्कुल पुग्नुअघि नै सल्लाह गरेका रहेछन्। मधु कक्षामा पुग्ने बित्तिकै, ‘गुड मर्निङ मोटी मिस’ भनेछन्।
साथीहरूले मोटी र मिस भनेको कुरा लिएर मधु हेडसरकहाँ गइछिन्।
‘मोटीलाई मोटी र पातलीलाई पातली नभने के भन्छन् त ?’ हेडसरले उनको घाउमा झन् नुन छर्केछन्।
हुन त यसका बारेमा उनका बाबा-आमाले स्कुलमा गुनासो भने नगरेका हैनन्।
‘यस्तो कुरामा पनि गुनासो सुनाउने ? बरू छोरीको वजन घटाउन लाग्नुस्’ भन्ने जवाफ पाए। मधुले यी सारा कुरा मलाई रूँदै भनि।
उसलाई सम्झाउन र आत्मबल बढाउनबाहेक म केही गर्न सक्दैन थिएँ।
त्यसपछिको एक दिनको कुरा।
पहाडमा बस्ने मधुकी फुपू उसको घर आएकी थिइन्। उनी एकदमै दुब्ली थिइन्। फुपू दुब्लो देखेर आमाले सन्चोबिसन्चो सोध्नु भएछ। फुपूले आफूलाई कुनै विमारी नभएको तर घरमा काम गर्ने एक्लै भएकोले दुब्लाएको भनेछिन्। फुपूको कुरा सुनेको दिनदेखि मधुले घरको सबै काम एक्लै गर्न सुरू गरिन्।
घरको मात्र नभई ऊ खेतबारीको काम पनि गर्थी। दुब्लाउनको उपाय केही थाहा पाउने बित्तिकै ऊ त्यही गर्न थाल्थी। गाईभैंसीलाई घाँस काटेर हाल्थी। बाख्रा चराउन जान्थी। बाख्रा चराउन जंगल भएका बेला गोठाला गएकाहरूले उनलाई सँगै खेलाएनछन्।
‘मोटी दर्गुन सक्दिैने भनेर कसैले टिममा राखेनन्,’ मधुले मलाई सुनाई। मन दुखेर के गरूँ गरूँ भएपछि ऊ मकहाँ आउँथी। सारा कुरा सुनाउँथी। हल्का हुन्थी। अनि आत्मविश्वास सम्हालेर घर जान्थी। काम धन्दा सम्हाल्थी। जति गरे पनि उनको मोटोपन कहिल्यै घटेन। उनले घटाउन सकिनन्। उनको बुवाले उसलाई व्यायाम नपुगेको भनेर हरेक दिन कचकच गरिरहनु हुन्थ्यो। बुवा घरमा नहुँदा पनि मधुलाई फोन गरेर व्यायाम गरेको नगरेको खबर लिरहनु हुन्थ्यो।
एकपटक गाउँमा बिहे थियो। मधुको उमेरका साथीहरूले पाइन्ट टिर्सटलगाउने सल्लाह गरेछन्। मधुलाई पनि पाइन्ट लगाउन रहर थियो। तर मोटी देखिन्छे भनेर आमाले सुट मात्र सिलाइदिइन्। मन मारेर मधु सुट लगाएरै जान बाध्य भइन्।
त्यतिबेला उनी एक जना दाइ पर्ने मान्छेसँगै बिहे घर गइन्। अल्लि ठूलाले पनि उनलाई ‘दिदी’ भन्दै नमस्कार गरेछन्। दाइलाई भने ‘भाइ’ भनेछन्। यो कुराले मधुको मन झन् झन् भाँचियो।
नबुझ्नेहरूले मात्र होइन, मधुले विश्वास गरेका आफन्त र साथी भाइले नै मधुको मोटोपनको मजाक उडाउँथे। यही कुराले मधु आफ्नो पढाइमा पनि ध्यान दिन सकिन।
रातभरि मनमा कुरा खेलाउनु, कक्षामा झुपुझुपु हुनु उनको दैनिकी हुन थाल्यो। एकपटक कक्षामा मधु निदाएकी थिई। सरले उठाएर प्रश्न सोध्नु भएछ। मधुले जानिन छ। अनि त सरको पारो छुटेछ।
‘मोटो ज्यानको मोटो बुद्धि, गैंडा कहीँ कि!’ भन्दै सरले गाली गर्नु भएछ।
त्यसदिनदेखि उसलाई कक्षामा जलगैंडा भन्न थाले। मधुलाई स्कुल जान मन लाग्न छाड्यो। ऊ घरबाहिर निस्कन छाडी। कोठाभित्रै टोलाएर बस्न थाली। खाना पनि खान छाडी। धेरै दिनदेखि मधु मकहाँ पनि आउन छाडी। खबर लिन म आफैं उनको घर पुगेँ।
उनकी आमा पिँढीमा झोक्राइरहेकी थिइन्। बाबा प्रहरीकोमा जानुभएको रहेछ।
‘तीन दिनदेखि मधु गाउँबाट बेपत्ता छे’ आमा मलाई समातेर रून थाल्नुभयो। कहाँ गई ? के गरी होली ? त्यो रात म पनि निदाउन सकिनँ, मनमा एउटै प्रश्न नाचिरह्यो, ‘के मधु मोटाउनु गल्ती थियो ? ’