‘मेरो मामाको छोराको साथी छ।’, ‘मेरो फुपूको भान्जा छन्।’, ‘मेरो भान्जीका देवर छन्।’
यस्तै प्रस्तावहरू सुन्न थालेको पनि पाँच/ सात वर्ष बितिसकेछ। अचेल अलि पुरानो साथीहरू वा हतपत बोलचाल नहुने कुनै आफन्तहरू/मित्रहरू मेसेन्जरमा बोल्न आइहाले भने सहज अनुमान लाउन सकिन्छ कि उनीहरू पनि मेरो बिहेकै बारेमा सोध्नको लागि नै बोल्दैछन्।
मलाई नजिकबाट नियाल्नुहुन्छ, माया गर्नुहुन्छ, पीर गर्नुहुन्छ। म आभारी छु यहाँहरू सबैप्रति।
‘मैले पोहोर नै त्यति राम्रो कुरा ल्याको। परारै फलानोसँग कुरा गर्या। उसको कस्तो राम्रो घरबार छ। छोरो जन्मिसक्यो।’
होला सबै चिज राम्रो होला। फूलको आँखामा फूलै संसार। तर के यति मात्रै हुन् हाम्रा सुखका/ खुसीका मापनहरू ?
२८-३० वर्षको उमेरसम्म पनि बिहे नगरी, खुसी हुनु, कम्प्रमाइज गर्न नखोज्नु अथवा जसले जो भन्यो उहीसँग बिहे नगर्नु वा कुरा नचलाउनु त महाघमण्डी, ढिट हुनु हो। अचेल ढिटहरूको जमात पनि बढ्दो छ त्यसैले पनि हो कि छुट्टै ‘कन्फिडेन्स’ दिन्छ।
२५ वर्षको उमेरमा जीवनसाथी रोज्दा चाहिँ उसका गुण/अवगुणहरू केलाउन पाइने ३० वर्षको उमेरमा चाहिँ नपाइने के हुन्छ खै?
एउटा जीवनचक्र पूरा गर्नको लागि जरूरी छैन कि सबैको जिन्दगी उस्तै वा उही समयचक्रमा गुज्रिनुपर्छ। तिम्रोजस्तै मेरो वा उसकोजस्तै मेरो हुनुपर्ने भए हामीमा फरक के ? हामी सबै जीवनको फरक दौडमा छौं नि हैन र ?
सुरूआत र अन्त्य एउटै भए पनि बाटो त सबैको फरक-फरक नै छ नि। हिँड्दाहिँड्दै कुन मोडमा, कुन घुम्तीमा को हराइदिन्छन्, को भेटिन्छन्, को छुट्छन् के थाहा र ?
कसैको परिभाषामा राम्रोको अर्थ रूपवान, विद्वान, गुणवान, धनवान, बलवान होला तर आफ्नो लागि मिल्दो, सहज छैन भने के काम। सर्वोत्कृष्ट, शतप्रतिशत भन्ने त कोही नहोला तर मनले औसतभन्दा उत्तम नि नमानेको मान्छेसँग समाजले सीमा तोकिदिएको उमेर घर्किन लाग्यो भनेर सम्झौता किन गर्नु?
यसै पनि प्रेम, विश्वास र सम्मान मागेर पाइने चिज हुन् जस्तो लाग्दैन। र यी चिज पाएर पनि अनुभूति गर्ने नै हुन् न कि देखाउने वा जताउने। माया पनि त जसले जति सक्छ त्यति गर्ने त हो, समुन्द्रलाई सुकाउँछु वा मरूभूमिमा मूल फुटाउँछु भनेर सकिन्छ र ?
उसो त सबैको प्रेम विवाहमा नै परिणत हुन्छ वा हुनैपर्छ भन्ने पनि के छ र? कोही मान्छे आफ्नो जीवनसँग खुसी छ, रमाउँदै छ भने निर्णायक बन्न छोडेर सँगै खुसी बाँड्न सकिन्न ?
‘कि त बिहे नै नगर्ने भन्नुपर्यो नत्र त अबेला भैसक्यो है। कोही नभेट्या भए भन, आउँदो वैशाखसम्ममा बिहे पक्का’ भर्खर भर्खर बिहे गरेका ओभर कन्फिडेन्ट साथीहरूको सल्लाह आउँछ। मार्केटमा उत्सवहरूमा राखिएका धमाकेदार अफरसरी।
यति धेरै शुभचिन्तकहरू देख्दा खुसी त मान्नै पर्छ। करियरको सुरूआती चरण २२-२३ वर्षको उमेरमा बिहेका यस्ता कुराहरू सुन्दा एक किसिमको डर लाग्थ्यो, अलि रिस पनि उठ्थ्यो तर अचेल यी कुराहरू सामान्य लाग्छन् अझ भनौं मतलब नै लाग्दैनन्।
फेरि वास्तै नगरौं भन्दा पनि अचम्मको अफवाह फैलिन्छ/फैलाइन्छ। यो उमेरमा नि बिहेको चासो छैन, दङ्ग छ, केही मतलब नै छैन फलानीको त पक्का पनि केटा साथी छ, केही नमिलेर कुरिराखेका छन् अब अर्को महिना वा अर्को वर्ष बिहे गर्छन्।
मतलब नगरौं भन्दा नि स्पष्टीकरण दिनुपर्ने। गज्जब छ बा, आफ्नो दुनियाँमा मस्त बस्न नि नपाइने समाज देखेर। के मेरो वा अरू कसैको सपना अर्को व्यक्तिसँग निर्भर रहेरमात्र फुल्न पाउने/सक्ने हो? हामी सबैको सपना आफैंमा स्वतन्त्र हुनुपर्ने हैन र?
कसैको डिभी, पिआर, सरकारी जागिर, सम्पत्ति , सुन्दरता, सवलता आदि दाँजेर हुने सहयात्रा कसरी स्वतन्त्र रहला खै ?
मेरो सपनासँग अरू कोहीको वा कसैको सपनासँग मेरो सपना मिल्छ भने सहयात्रा अझ सजिलो होला, सुन्दर होला तर कसैमा
पूरै परनिर्भर रहेर आफ्नो सपना फक्राउन खोज्दा त गुनासोबाहेक केही बाँकी रहन्न।
आफ्नाहरूसँग अपेक्षा त राखिन्छ नै तर आफ्नो बनाउनु पहिल्यै आशा राखेर सम्बन्ध गाँस्दा चाहिँ सपना पूरा नभए कसलाई दोष दिने?
समय बदलिन्छ, मौसम बदलिन्छ, परिस्थिति बदलिन्छ, मान्छे बदलिन्छ। हरेक कुरा यति परिवर्तनशील हुँदाहुँदै वा देख्दादेख्दै पनि मानिसको सोच किन उही वा आफू अनुकूलमात्र परिभाषित हुन्छ? फरक विचारको सम्मान गर्ने समाजको निर्माण कहिले होला? तपाईंको विचारमा म सहमत भइनँ भने वा तपाईंको बाटोमा म हिँडिनँ भने कतिन्जेल निषेध गर्नुहुन्छ भन्नु त?
मलाई चराहरू एकदमै मन पर्छन्। झरीमा रुझेर कुरकुर गर्दै बसेका परेवाका जोडी हुन् वा भर्खर झगडा गरेर रूखको एउटै
हाँगामा दुईपट्टि फर्केर बसेका ढुकुरका जोडी वा पानीमा डुलिरहेका चखेवा जोडी। खुबै मनपर्छ। तिनीहरूलाई हेरेरै मग्न हुन्छु।
तिनीहरूजस्तै स्वतन्त्र भएर डुल्न मनपर्छ, घुम्न मनपर्छ। घन्टौं रूखमा बसेर तिनले मलाई हेरेजस्तै तिनलाई हेरेर बस्न मनपर्छ।
केही गर्न भन्दा केही नगरी बस्न मनपर्छ। यस्तै हुनुपर्छ, यही हुनुपर्छ भन्दा पनि जे छ त्यही मनपर्छ। गीत सुन्न, फिल्म हेर्न मनपर्छ।
उदाउँदो रातो सूर्य, अस्ताउँदो पहेंलो सूर्य, औंशीको रातको ताराहरू, पूर्णिमाको रातको एक्लो जून,बर्खाको झरी,हिउँदको घाम,प्रकृतिका हरेक चिजहरू मन पर्छन्। र यी सबै मनपर्ने चिजहरू सित्तैमा पाएको छु अनि खुसी नभएर के गर्नु ? हो म ढिट छु, घमण्डी छु, अलि टाढाबाटै बुझ्न खोज्नुहुन्छ भने आत्मकेन्द्रित छु।
कसैलाई नबिझाई, कसैलाई नदुखाई आफ्नो दायित्व पूरा गरेर खुसी रहन त पाइन्छ नि हैन? सक्नुहुन्छ भने आउनुस् बाँडौं यिनै खुसीका रंगहरू, सक्नुहुन्न भने भयो नकोट्याउनुस् तपाईंलाई अपुग लागेको मेरो भागको जिन्दगी।
यति धेरै बयान गरिसकेपछि जवाफ त दिनैपर्छ होला मेरा प्रिय शुभचिन्तकहरूलाई बिहे कहिले गर्ने भनेर। बिहे आफूजस्तै मान्छे भेटेपछि गर्ने जसलाई मनले औसतभन्दा राम्रो मान्न सकोस्। जोसँग प्रेम, विश्वास र सम्मान माग्न नपरोस्।
मलाई उसको हुनुमा वा उसलाई मेरो हुनुमा गर्व होस्। अरूलाई देखाउनभन्दा हामीसँगै हुनुमा खुसी लागोस् बस्।
सायद यस्तो मान्छे तपाईंले खोज्दा भन्दा मैले नै खोज्दा भेटिन्छ कि?
(नोट: मलाई सरल शब्दहरूमा देखिरहेका/ भोगिराखेका परिघटना लेख्न मनपर्छ। यो कसैप्रति लक्षित नगरी लेखिएको एउटा उमेर समूहको सामान्य अनुभवमात्र हो।)