कारागारलाई पुस्तकालय मैत्री बनाउने उद्देश्यले कपिलवस्तुका ६ जना युवाहरुः सुनिता बेलबासे, हरि खनाल, गौरब पौडेल, विक्रम क्षेत्री, अमिम भट्टराई र दिवेशराज पौडेल ‘राष्ट्रिय पुस्तकालय अभियान’ मा जुटेका छन्। झट्ट सुन्दा अनौठो लाग्ने यो अभियान रोचक छ।
कसरी सुरु भयो?
कारागारका कैदीलाई समाजले सधैँ सुधार्नतर्फ उन्मुख हुनु भन्दा नकारात्मक दृष्टिले हेर्ने आँखा परिवर्तन गर्न यो अभियान यही कोभिड-१९ का कारण सरकारले जारी गरेको लकडाउनमा चिया गफबाटै सुरु भएको यस अभियानको अभियन्ता सुनिता बेलबासेले बताइन्।
अर्का अभियन्ता हरि खनालले यस्तो अभियान समाजका लागि साँच्चै सार्थक बनाउन सक्ने कुराको प्रस्तावले उनीहरु यस अभियानमा जुटेका हुन्।
सबै कैदीहरु अपराधी नहुने र अपराधी भएकालाई पनि यस अभियानले सुध्रन प्रेरित गर्ने कुरामा उनीहरु एकजुट लागिपर्ने निर्णय गरेका हुन्। कारागारमा कैदीहरुलाई पढ्न रुचि हुने गरेको र त्यहाँ पुस्तक अभावको महशुस गरेर यो अभियान सार्थक बन्ने विश्वासका साथ उनीहरुले पाइला चाल्ने निधो गरेका हुन्।
अहिलेसम्म कहाँ के भयो?
जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय र पिपरा इलाका प्रहरी कार्यालयका प्रमुख दिनेश गुरुङको सहयोगमा उनीहरुले यो अभियानको सोच पश्चात कपिलवस्तुको कारागार भ्रमण गरी कैदीहरुसँग अन्तर्क्रिया गर्ने अवसर पाए।
त्यहाँ केही पुस्तकहरु पहिल्यै भएको र पढ्नमा रुचि भएकाहरुलाई प्रौढ शिक्षा समेत संचालन गरिएको पाए। पढ्ने वातावरणको विकास भएको, कैदीहरूमा पढ्न रुचि भएको र थप पुस्तक आवश्यक रहेको कुरा उनीहरुले महशुस गरे।
त्यसकै परिणाम स्वरुप उनीहरुले सामाजिक संजालमा आह्वान गरी लेखक, साहित्यकर्मी विभिन्न संघसंस्था र सर्वसाधारणको सहयोगमा करिब १६० पुस्तक जुटाएर यो अभियानको पहिलो खुड्किलो सफल बनाए। मूलत: संकलन गरिएका पुस्तकहरु खेलकुद, साहित्य, जिवनी, उपन्यास थिए।
त्यस्तै, उनीहरुले नवलपरासी कारागारको अवालाकन गरे। त्यहाँ पनि केही पुस्तक पहिल्यै भएको, पढ्ने वातावरण रहेको र वार्षिक रुपमा कैदीहरुको लेख/रचनाहरु प्रकाशित समेत हुने गरेको पाए।
यद्यपि त्यो पर्याप्त नभएको र कैदीहरुलाई पढ्न रुचि भएको पाएर उनीहरुले छलफल गरी करिब १५० जिवनी, रमाइला उपन्यास, तथा समसामयिक विषयमा आधारित पुस्तकहरु दिएर सहयोग गरे।
कारागार नाइकेको जिम्मामा पुस्तकहरु जिम्मा मात्रै नलगाई करिब २ हप्ता जसोमा इमेलमार्फत पुस्तक प्रतिक्रिया समेत लिने गरेका छन्। आफ्नो अभियानले प्रत्यक्ष रुपमा कारागारलाई पुस्तकालय मैत्री बनाउन सहयोग गरेको उनीहरु विश्वास गर्छन्।
अर्घखाँचीको कारागार भ्रमणमा त्यहाँ उनीहरुले कैदीहरुलाई सीपमूलक कार्यक्रम हुने गरेको पाएर दंग परे। सबै कैदीहरु दोषी मात्रै नभई निर्दोष पनि हुन सक्ने कुराले समाजको दृष्टि परिवर्तन गर्न पुस्तकले सहयोग गर्ने कुरामा उनीहरु अडिग छन्।
सोही अभियानको अनुरुप त्यस कारागारमा पनि उनीहरुले १०० भन्दा बढी पुस्तक जुटाएर सहयोग गर्न सफल भए। अपराधको सजायको अलावा उनीहरुको सोच परिवर्तन गर्न प्रेरित गर्ने नै यस अभियानको मूल ध्येय हो जुन पुस्तकबाट सम्भव छ। कारागारलाई हाम्रो समाजले सुधार्नभन्दा छुट्याएर अलग राख्न चाहान्छ। तसर्थ कारागार मैत्री यस्ता अभियानको महत्व समाजमा विशेष छ।
कारागारभित्र पुस्तक छलफल
देशभित्रका कारागारभित्र पुस्तकालय स्थापना गरिरहेको राष्ट्रिय पुस्तकालय अभियानले, पुस्तकालय स्थापना गरिसकेका कारागारमा पुस्तक छलफल तथा विमर्श श्रृंखला सुरु गरेको छ।
यस अभियानले यही कात्तिक ३० गते पुस्तकालय स्थापना गरेको जिल्ला कारागार कपिलवस्तुमा कारागार प्रमुख राकेश पाण्डे, दुईवटा छुट्टाछुट्टै ब्लकका लाइब्रेरियन (पुस्तकालय नाइके) दावा लामा र रवि भट्टराई तथा कारागारभित्रका नियमित पाठक मध्यका डा. दीपेन्द्र, प्रितम चौधरी, अरुण थापा र दुजमान सुनारसँग उहाँहरूको अध्ययन तथा काराभित्र रहेर पढिरहँदाका अनुभवहरू बारे प्रश्न गरिएको थियो।
कारागारको ब्लक १ मा रहेका १७५ जना कैदीबन्दीहरू मध्ये पुस्तकालय नाइके रवि भट्टराईले लिएको तथ्यांक अनुसार ५५ जना नियमित पाठक थिए तथा त्यो सङ्ख्या मध्येका केहीले लेख्नेकाम पनि गरेका थिए।
त्यसैगरी ब्लक २ का २१२ कैदीबन्दीहरू मध्ये १०० ले जना नियमित अध्ययन गर्ने पुस्तकालय नाइके दावा लामाले जनाएका थिए। तथा अझैपनि मागअनुसार पुस्तक उपलब्ध गराउनसके यो सङ्ख्या अझै बढ्नसक्ने कुरापनि राखेका थिए।
राष्ट्रिय पुस्तकालय अभियानका संयोजक हरि प्रसाद खनालका अनुसार यो सङ्ख्या आशा गरेभन्दा राम्रो हो भने आउने दिनहरूमा यसलाई अझैपनि बढाउन सकिन्छ। कारागारभित्र रहेर नियमित पढ्नेहरू मध्येका धैरे त कारागारभित्र आएपछि मात्र पढ्न सुरु गरेको पनि बताएका थिए।
तपाईले पहिला पनि नियमित अध्ययन गर्नुहुन्थ्यो अथवा यहाँ यता आएपछि मात्र सुरु गर्नुभएको भनि प्रश्न गर्दा ब्लक १ डा. सुरेन्द्र चौरसियाले भने 'म बाहिर हुँदा काममा नै व्यस्त हुन्थेँ, काम बाहेको समय परिवारलाई पनि दिनुपर्यो। यहाँ आइसकेपछि केही समय 'डिप्रेस्ड' हुनेजस्तो पनि भयो तर अहिले भने किताब राम्रो साथी बनेको छ।'
दावा लामाको अनुभव भने भरक छ। एसएलसी उत्तीर्ण गरी व्यापार सुरु गरेका उनले आफूलाई पहिलेबाट नै पढ्ने नसा रहेको बताए। कारागारभित्र रहेर पढ्नु र कारागार बाहिर रहेर पढ्नुमा के अन्तर रहेछ भनेर प्रश्न गर्दा उनले भने 'हामीलाई कैदी भनेर सम्बोधन गरेपनि हामीजस्तो स्वतन्त्र अरू कोही छैन (पढ्ने कुरामा)।
बाहिर हुँदा एउटा पुस्तक सक्काउन पनि धेरै दिन लाग्थ्यो भने अहिले पढाइको कुरामा भने यो ठाउँले फाइदा नै पुर्याएको छ। अनुभवकै कुरा गर्दा पढ्ने कुरामा भने बाहिरभन्दा मलाई भित्र नै आनन्द आउँछ।
मैले अहिलेसम्म यहाँ रहेर पढेका पुस्तकहरू मध्ये मन परेका र सम्झन लायक पुस्तकहरू दामिनी भिर, शिरीषको फूल, पारिजात, काठमाडौंमा एकदिन, जित तपाईको, थिंक एन्ड ग्रो रिच, अनि अरू कविताका किताबहरू पनि रहेका छन्।'
पहिले शिक्षण पेशामा आबद्ध रहेका ब्लक १ का प्रितम चौधरीको अनुभव पनि त्यस्तै नै रहेछ भने ब्लक २ का अरुण थापा भने आफूलाई प्रेम कथाका पुस्तकहरू मनपर्ने बताए।
'साया, मेरी उनी, समर लभ मलाई धेरै मनपरेका पुस्तक हुन्।' उनी पनि कारागारभित्र आएपछि मात्र पढ्न सुरुगरेका मध्ये हुन्।
ब्लक २ का पुस्तकालय नाइके रोहित भट्टराईलाई 'तपाईले त सबैलाई राम्रोसँग नियाल्नु भएको छ। यहाँ नियमित पढ्ने र नपढ्नेहरूबीचको व्यवहारमा कस्तो भिन्नता देख्नु भएको छ?' भनि प्रश्न गर्दा उनले भने 'पक्कै पनि पढ्ने र नपढ्नेहरूमा फरक त देखिएको नै हुन्छ।
पढ्नेहरू धेरै खुसी नै देखिन्छन्, सबैसँग सजिलै मिलेर बस्न पनि अप्ठ्यारो मान्दैनन्। उनीहरूले आफ्नो जिम्माको काम राम्रोसँग गरेको देखिन्छ। एकदमै ठूलो फरक नदेखिएपनि उनीहरूमा आंशिक फरक भने देखिएको नै हुन्छ।'
कसरी पुस्तक जुट्छ?
सामाजिक अपिल गरेर कारागारमा पुस्तकालय निर्माण अभियानका लागि पुस्तक संकलन हुने गरेको छ। सामाजिक संजाल फेसबुक पेज, ग्रुप तथा इन्स्टाग्राममा 'राष्ट्रिय पुस्तक अभियान' नामले उनीहरु सक्रिय छन्।
उनीहरुले पाठक, लेखकका साथै विभिन्न संघ-संस्थाको सहयोग पाउने गरेका छन्। उनीहरुको आह्वानमा थुप्रै पुस्तक जाममा हुने गरेको भएपनि उनीहरुले कैदीको रुचि अनुसारका पुस्तक मात्रै छानेर दिने गरेका छन्।
कैदीका म्याद घटाउने संविधान
धेरै देशमा कैदीलाई कारागारको म्याद घटाउने विभिन्न कुरालाई आधार मानिन्छ। जस्तो कि कारागारमा कैदीले गरेको बोलि, व्यवहार, उमेर, आदि। केही देशमा कैदीले कारागारमा पढेको वा ज्ञान हासिल गरेको आधारमा पनि उनीहरुको सजाय छोटिने कुरा पाएको उनीहरु बताउँछन्।
पुस्तकले कैदीलाई सुधार्ने विश्वास गरिएकाले यसो भएको हुनुपर्छ। नेपालमै पनि यी अभियन्ताहरु कुनै दिन यो कुरा संसदसम्म पुर्याएर उनीहरुको अभियानले पुस्तकालय मैत्री कारागारको अलावा कैदीलाई कारागारको म्याद नै छोट्याउने पहल गर्ने सोचमा छन्।
आर्थिक पाटो
भर्खर पढ्दै गरेका विद्यार्थीको लागि पक्कै पनि यो अभियान सहज थिएन र छैन पनि। यद्यपि उनीहरुको विश्वासले आफ्नो अभियानलाई सफल हुँदै गएको छ। आर्थिक पाटोले उनीहरुलाई पक्कै पनि केही असहज बनाएको छ।
अहिलेसम्म आफ्नै खर्चमा विभिन्न जिल्लाका कारागार जाने तथा पुस्तक संकलन गर्न लागि परेका छन्। यद्यपि जुन सोचेभन्दा कठिन छ। पुस्तक आह्वान गर्ने फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक संजालका प्रयोग गर्दै आएका छन्।
पुस्तक दाङ दिएर सहयोग गर्ने मानिसहरु क्रमशः बढ्दै गएकोमा पुस्तक संकलन अलि कठिन र खर्चिलो हुने गरेको उनीहरुको अनुभव छ। यद्यपि आफ्नो कामको प्रभावले त्यस्ता समस्याबाट उनीहरु तर्ने कुरामा दृढ छन्।
त्यस्तै, आफ्नो जस्तै सोच भएका सहयोगी हातहरु क्रमश: थपिँदै जाने कुरामा विश्वास गर्छन। अबका दिनमा कारागार, वडा तथा नगरपालिका लगाएतका संस्थाहरु संग समेत सहकार्य गर्ने उनीहरु इच्छुक छन्।
अबको बाटो
पुस्तकले कैदीलाई ज्ञान र मनोरन्जन बाहेक उनीहरुलाई सिर्जनशील बनाई सकारात्मक समाज निर्माण गर्नमा टेवा पुर्याउँछ। कारागारमा पुस्तकालय हुँदैनथ्यो भने संसारका थुप्रै ठूला राजनीतिज्ञ शिक्षित भई देश विदेश हाँक्न सक्ने थिएनन्।
मानिस स्वयमले आफू र आफ्नो समाज बुझ्न पुस्तक पढ्नुपर्छ। अझै कैदीहरुलाई त समाजले हेर्ने दृष्टिकोणनै फरक भएको अवस्थामा कारागारमा मात्रै नभई समाज नै रुपान्तर गर्नु आवश्यक हुन्छ।
यही कुराको मध्यनजर गर्ने यी अभियन्ताहरु कारागार सगैँका ग्रामीण भेगका सामुदायिक विद्यालय, सुधार गृह, बाल गृहमा, आदिमा पनि क्रमश: पुस्तकालय स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको उनीहरुले बताए।
कारागारमा पुस्तकालय निर्माण पश्चात उनीहरुले आवेदन फारम पढाएर कैदीबन्दीहरुको प्रतिकृया लिने गर्छन् जसले उनीहरुलाई कैदीको रुचिका पुस्तक जुटाउनुका साथै स्थापना भएको पुस्तकालयको प्रभावबारे पनि जानकारी प्राप्त गर्ने गर्छन्।
हाल वार्षिक रुपमा कैदीबन्दीका लेख, रचना तथा साहित्यिक सामाग्रीहरु प्रकाशन हुने गरेकोमा सबैमा सामग्री नसमेटिने हुनाले तिनलाई स्थान दिन विधिन्न पत्रपत्रिका तथा प्रशंसंगा सहकार्य गर्ने योजना बनाएका छन्।
अभियाककै क्रममा उनीहरु अहिले दाङको लागि पुस्तक संकलन गर्दैछन् भने प्युठानमा पनि सुरु गर्ने अभियानमा लागेका छन्।
यस अभियानमा हामी सचेत नागरिक तथा सरकारले पनि उचित सहयोग गरी यी अभियन्ताले चाहेका जस्तो कुनै दिन नेपालमा पनि पुस्तकको माध्यमले कैदीको कारागार छोट्याउन तर्फ सबै सम्बन्धित निकायहरुको ध्यान जाओस्।