'जिन्दगीमा हजुरको सबैभन्दा खुसीको क्षण कुन हो?'
यो प्रश्न सोध्दा कसैको दिमागमा मनाङ, मुस्ताङमा गरेको रमाइलोको झ-झल्को आएको होला। कसैकोमा पुत्रलाभ हुँदाको क्षण मगजमा छाएको होला त कसैकोमा लोकसेवामा नाम निस्किँदाको समय वा इत्यादी।
तर मेरो अलि फरक अनुभव छ। मेरो जीवनको सबैभन्दा खुसीको क्षण भनेको चाहे त्यो हाजिर जवाफमा प्रथम भएर होस् वा कक्षामा प्रथम भएर होस्, जब म मेरो सानो चकलेट वा ठूलो मेडल जस्तोसुकै रूपमा आफूले जितेको पुरस्कार लगेर आमालाई दिन्थेँ।
र आमाको मुहारमा छोराको प्रगतिमा छाउने हर्षको मुस्कानको क्षण नै मेरो जिन्दगीको सबैभन्दा खुसीको क्षण हो। आउँदो दिनमा फेरि फेरि यस्तै अनुभव गर्न संघर्ष र मेहनतसँग जुधिरहेको छु।
अठारौँ शताब्दीका फ्रेन्च बादशाह नेपोलियन बोनापार्टले भनेका थिए, 'तिमी मलाई शिक्षित आमा देऊ, म तिमीलाई शिक्षित देश दिनेछु।'
आमाले चाहे देश परिवर्तन हुन सक्छ भन्दै भनिएको यो भनाइबाट नै स्पष्ट हुन्छ कि आमा कति महान् हुनुहुन्छ भनेर।
अनेक थरिको मान्छे भेट्छु, कोही भविष्यमा धेरै पैसा कमाउन चहान्छन्, कोही धेरै इज्जत त कोही धेरै मसहुर बन्न चहान्छु भन्ने गर्छन्। तर यस्तो सुनिरहँदा म झट्टै उनीहरुलाई यही प्रश्न गर्छु कि, 'तिमीले कमाउने पैसा वा आर्जन गर्ने इज्जत वा बटुल्ने चर्चाले के साँच्चिकै आमाको मुहारमा हाँसो र मिजास ल्याउँछ त?'
हामीले भविष्यमा जे गरेपनि अन्ततः गोत्व आमाको मुहारमा हाँसो र खुसीको लहर ल्याउने संकल्प गर्नु पर्दछ भन्ने मेरो मान्यता हो। आमाको मुहारमा हाँसो निकै अनमोल र आनन्दित हुन्छ जुन् पैसा वा अरू कुनै चिजले किन्न सकिन्न।
सन्तानको लागि अतुलनीय त्याग र तपस्या गर्ने आमाको लागि हरेक सन्तानले आमाको मुहारमा हाँसोको लागी जुनसुकै किमत चुकाउन पछि पर्नु हुन्न।
आमा कहिले काहीँ भन्ने गर्नुहुन्छ, 'तैँले जागिर खाएको र बिहे गरेको हेर्न पाए, त्यसपछि सन्तुष्ट हुने थिएँ।'
त्यसको लागि अझ धेरै वर्ष बाँकी छ, जागिर त आमाले ठिकै भन्नु भयो। तर आमालाई कसरी सम्झाउने मैले कि आमाको पालाको जस्तो बुहारी अहिलेको हुँदैनन् भनेर।
पहिले सासुदेखि बुहारी डराउने समय आज उल्टिएर बुहारीदेखि सासु डराउने पर्ने छ। यसलाई समय सापेक्षिक परिवर्तनको संज्ञा दिऊ कि विकृतिको हदको दर्जा?
आउने बुहारीले आमाको मुहारमा उल्लास ल्याउने भए त ठिकै होला तर आमाको मुहारमा आँसु ल्याउने कारण बनी भने म चाहेर पनि कल्पना गर्न सक्दिनँ।
नेपालमा विकास र शिक्षाको पहुँच सर्वसाधारणलाई सहजै पुग्नुभन्दा पहिलेको हाम्रो आमाहरुले निकै कष्ट र दुःख भोग्नु भएको छ जुन पछिल्लो भोगेको छैनन्। तर तिनै आमाहरु अहिले पनि कष्टको भार बोक्दै हुनुहुन्छ।
एउटै घरको दाजुभाइसँगको असमानताबाट सुरू भएको आमाहरुको दुःख क्रमश पढाइबाट वञ्चित, बाध्यात्मक बाल-विवाह, पुरुष प्रधान समाजको बुहारी र अहिले आफ्नै सन्तानको र नव-आगन्तुक बुहारीबाट अपहेलित हुँदासम्म सकिएको छैन।
यस स्वार्थ र लालचले भरिएको संसारमा बुढेसकालमा दुःख कष्ट झेल्दै बुढा बुवाआमाको वृद्धाश्रमसम्मको अनुभव देखेको र सुनेको छु। आज त्यस्तो कुकर्म गर्न पापी ती सन्तानलाई म प्रश्न गर्ने मन छ 'त्यस्तो निच कार्य गर्नेले भोलि आफ्नो छोरीछोरीबाट कस्तो अपेक्षा राखेको छन्?'
बेलाबखत सामाजिक सञ्जालहरू नियाल्दै गर्दा देख्ने गर्छु कि नव-विवाहित जोडीहरु बिहेको भोलिपल्ट 'लाइफ-लाइन' को ट्याग दिँदै आफ्नो पति वा पत्नीको तस्बिर सञ्जालमा पोष्टाएको हुन्छन्।
मन नै त हो, फेरि आफैमा प्रश्न गर्छु 'त्यत्रो त्याग र बलिदान दिएर हुर्काएको छोराछोरीको जीवनभर सञ्जालमा लाइफलाइनको ट्याग बन्न नसकेकी आमाको भन्दा हिजो भर्खरको बाँधिएको सम्बन्धमा के त्यस्तो शक्ति रहेछ?'
पुरुष प्रधान समाजमा आफ्नो हक र अधिकार सुनिश्चितको लागि महिलाहरु संघर्ष पुरुष विरूद्ध हुनुपर्नेमा आज नेपाली समाजको धेरै महिलाहरु सासुको विरूद्धमा शक्ति संघर्षको लागि होमिएका छन्, जुन् अत्यन्तै दुःखद कुरा हो।
एउटी अनपढ आमाले गणितको हिसाब हल गर्न नसके पनि आफ्नो सन्तानको जीवनको समस्याहरु सहजै हल गर्न सक्नु हुन्छ। नर्सिङको 'न' नजानेकी आमाले आफ्नो बिरामी सन्तानको वर्षै अनुभवी नर्सले भन्दा बढी प्रभावकारी हेरचाह गर्न सक्नुहुन्छ।
पोसाकमा भएको साविकभन्दा निकै कमजोर आमाले, परिआएको खण्डमा एउटा सैनिकले देशलाई दिन सक्ने भन्दा कयौं गुणा बढी योगदान आफ्नो सन्तानको लागि दिन सक्नुहुन्छ। आमा हजार शिक्षकभन्दा महान् हुनुहुन्छ, आमा हजार नर्सभन्दा क्षमतावान् हुनुहुन्छ र आमा हजार सैनिकभन्दा बलवान हुनुहुन्छ।
अझ भन्नुपर्दा आमा भनेको आफ्नो सन्तानको लागि सबैथोकको विशिष्ट समिश्रण हो।
म निकै आस्तिक छु र समय समयमा मन्दिर पनि धाइराखेको हुन्छु। तर मैले आमाभन्दा माथि भगवानलाई कहिल्यै राख्न सकेको छैन। मेरो जीवनको पहिलो र अन्तिम माया भनेको मेरी आमा हो।
म कहिल्यै पनि आमा बिनाको म र म बिनाको मेरी आमाको सपनामा पनि कल्पना गर्न सक्दैन। आमाबाट सुरू भएको म, आमाको विलयसँगै मेरो पनि विरासतको अस्तित्व गुम्नेछ।
यो लेखिरहँदा मेरो मनमा आमाको बारेमा अनगिन्ती शब्द र भावहरु आएको छन् तर ती सबै कापीको पानामा उतार्न सम्भव पनि त छैन। जति लेखेपनि अपरिहार्य आमाको महिमा शब्दहरूमा एकदम सिमित भइदिन्छ।
'आमा' शब्द आफैमा करूणा, भावना र सामीप्यताको अब्बल समिकरण हो। आमा आफैमा निकै महान् हुनुहुन्छ। म मेरी आमा मात्र नभई संसारको सबै आमाहरुप्रति यी नै शब्द मार्फत हार्दिक नमन व्यक्त गर्न चहान्छु।
अधिकांश सबै छोरीछोरीको माया जोख्ने तराजुमा आमाप्रतिको माया बुवाको भन्दा पक्कै पनि केही वजनदार सावित हुने गर्छ। तर वास्तविकता त्यो होइन। सन्तानको माया त दुवै आमा-बुवाप्रति समानताको नै हुन्छ तर फरक यति कुराले पार्छ कि बुवासँगको माया परिबन्धित र त्रासले बाँधिएको हुन्छ त आमासँग माया निकटता र भावनाले।
यस्को उपज स्वरुप सानोमा हामी सबैलाई आमा र बुबाको मायामा कस्को धेरै भनेर प्रश्न तेर्सिएका बेला ममात्र नभई हामी सबैले आमाको भनेको छौँ।
देशमा गणतन्त्रको आगमनसँगै राजा राजगद्दीबाट बहिर्गमन भएपनि जस्तोसुकै परिस्थितिमा पनि आमाको दिलको राजगद्दीबाट कुनै पनि सन्तान बहिर्गमन हुन सक्दैन।
आमाले आफूले नखाएर खुवाएको गाँस, आफूले नलगाएर लगाइदिएको कपास र नसुतेर सुताएको रात, यी तीन वटै कुराले प्रत्येक सन्तानको जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। म मेरी आमा प्रति निकै ॠणी छु र यो अभिभारा यो जुनी मात्र नभई सात जुनी लगाएर पनि चुक्ता गर्न सक्दिनँ।
तर मैले भनिरहेको कुराहरु म सानो हुँदा मेरो क्षमताभन्दा माथि थियो र म अज्ञात थिएँ। त्यसैले त आमालाई मैले बाल्यकालमा नबुझ्ने बेलासम्म अथाह दुःख दिएको छु।
भनिन्छ नि कुनैपनि कुराको अभावले नै त्यसको महत्व बुझाउँछ भनेर। सानोमा आमाको काख छोडेर होस्टलको यात्रा गर्नु परेकाले आमाको महत्व मेरो बाल मष्तिस्कमा अगाडि नै गहिरोसँग बुझ्यो।
राम्रोसँग स्मरण छ मलाई त्यो बर्खा यामको शुक्रबारको दिन जुन दिन कक्षा एकको परीक्षा दिन एकाबिहानै हिँडेको म घण्टौँसम्म घर फर्किनँ। आमाको गैर-उपस्थितिमा भान्छा कोठा नछिर्ने मायाले पुल्पुलाएको कान्छो छोरालाई खान कुर्दै बस्नु भएको मेरी आमाको धैर्यताको बाँधको सीमा उत्कर्षमा पुगेछ।
आमा मेरो खोजीमा निस्किनु भएछ। आमा आज पनि घर गएको बेला भन्नु हुन्छ, 'तँलाई खोज्न सारा सबैतिर गए। आँखाभरि आँसु लिएर त भेटिने आश मारेर म घर फर्किएको थिएँ।'
आमाले मलाई यो कुरा भनिरहँदा प्रत्येक चोटि मेरो मन निकै पोलेको हुन्छ र आत्मग्लानीने म हायाकायल खेल्छु।
बालापनको स्वार्थ रहित मित्रता र खोलामा उत्तर दिशातर्फ बढेसँगै बढ्ने उत्सुकताले मलाई भोक र प्यास सबै मेटाएर बिहानैदेखि बेलुकीसम्म पौडीमा रुझाइदिएको रहेछ। आज सोच्दा लाग्छ कस्तो अचम्मको मित्रता थियो त्यो बचपनको?
साँझ पाँच बजे रुझेको बिरालोझैँ काप्दै म घर पुग्दा आँसुले भिजेको ती मेरी आमाको आँखामा छोराको देख्न वित्तिकै छाएको खुसीयाली म सहजै अनुभव गर्न सक्थेँ। तर पुनः गल्ती नदोहोरियोस् भनेर हर्ष ढाक्दै मलाई हकार्न खोज्दै हुनुहुन्थ्यो, म भने त्यस्को प्रतिवादमा।
त्यो मेरो बचपना थियो र मेरो अन्जानको गल्ती। तरपनि म आजसम्म त्यस गल्तीले आफूले आफूलाई माफ गर्न सक्दिनँ। जबकी आमाले त उहिल्यै माफी दिइसक्नु भएको थियो।
यो त एउटा प्रतिनिधि घटना मात्र समेट्ने प्रयास गरेको हो र यस्तो त मैले आमालाई अनगिन्ती दुख र पीडा दिएको छु जुन अन्जानमा थिए।
तर बारम्बार जब फर्किएर बाल्यकालमा आमालाई दिएको दुःख सम्झन्छु, पश्चातापको रागमा म आफै गलेर गलक्कै भएको हुन्छ। मिल्ने भए म मेरा गल्तीहरू सच्याउन चाहान्छु आमा।