मंगलबारदेखि अस्वाभाविक वातावरणीय प्रदुषणका कारण देशव्यापी ४ दिन सबै खाले शिक्षण संस्था बन्द गरिँदै छ। वायु प्रदुषण सबैको ध्यानाकषिर्त गर्दै छ।
ठूला औद्योगिक सहर तथा बाक्लो जनघनत्व भएका सहर हुन् या ग्रामीण बस्ती, वायु प्रदुषणको सबै ठाउँमा असर देखिएको छ। हाल वातावरणको क्षेत्रमा देखिएको असर ठूलो भएपनि विल्कुलै नयाँ भने होइन।
विज्ञान हरेक समस्याको पछाडि कारण औंल्याउँछ। कुनै पनि तर्क परिकल्पनालाई प्रमाणित गर्न तथ्यसंगत प्रमाण र परीक्षण गर्नु विज्ञानको विशेषता हो। यसर्थ विद्यमान वातावरणीय प्रदुषण तत्कालीन मानवीय गतिविधिको वातावरणीय प्रतिबिम्ब मात्र होइन।
डिजेल पेट्रोलबाट चल्ने सवारी साधनबाट उत्सर्जित प्रदुषित कणहरु, जथाभावी जलाइने फोहोर बस्तु, दाउरा गुइँठा बाल्दा होस् वा देशका विभिन्न ठाउँमा लागेको वन-डढेकोले उत्सर्जित धुलो-धुवाँका साथै एसी र फ्रिज चालु हुँदा उत्पन्न हुने ग्याँसका कणहरु वायुमन्डल जम्मा भई धुलोको कणहरु बोकेको गह्रौं हावा तल र तातो हलुका हावा माथि हो।
प्रदुषित हावाको तहले प्रकाशको किरणलाई अबरोध हुँदा दृश्य देख्नसमेत समस्या हुने गरेको पाइएको छ।
हावाको गुणस्तर सूचांक (एक्यूआई) लाई आधार मानी हावाको वर्गीकरण गर्ने गरिन्छ। एक्यूआई नेपालमा ३०० भन्दा बढी हुनु मानव स्वास्थको लागि जोखिम छ भन्ने बुझिन्छ। जस्को अर्थ हावाको आयतन प्रतिघन मिटरमा ३०० माइक्रोग्राम घुलित प्रदुषणका कणहरु छन् भन्नु हो।
प्रदुषित वायुले प्रायःजसो सबैखाले उमेर समूहका मानिसहरूलाई असर गर्ने भएपनि बालबच्चा, दीर्घरोगी तथा ज्येष्ठ नागरिकहरुले थप विशेष साबधानी अपनाउन आवश्यक छ।
प्रदुषित हावाले आँखा तथा छाला चिलाउने/पोल्ने, श्वासप्रश्वास र रक्तसञ्चार सम्बन्धी स्वास्थ समस्या देखिन सक्छ। मानिसलाई मात्र नभई जीवजन्तुमा समेत प्रदुषणको असर पाइन्छ। लोपोन्मख जनावरको प्रजनन् तथा बासस्थानमा समस्या पर्ने कुरा विज्ञहरु बताउँदै आएका छन्।
सम्भवतः प्रदुषण केही दिनपछि कम हुनेछ। यद्यपि वर्षेनी देखिरहेने यस्ता खाले वातावरणीय समस्याको जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विकसित देशहरु विज्ञानमा आधारित थुप्रै प्रविधि आविष्कार तथा प्रयोग ल्याउँदै छन्।
ती महंगा प्रविधि हाम्रो पहुँचसम्म आइपुग्न समय लाग्ने छ नै, तैपनि हामीकहाँ उपलब्ध स्रोत साधनबाट रुचि हुनेका लागि त्यो खोज, अनुसन्धानको गर्न सहयोग गर्न सम्बन्धित निकायले चासो देखाउन आवश्यक छ।
भलै सबैको पहुँचमा विद्युतिय सवारी नभए पनि विकल्पमा साइकलको प्रयोग तथा दाउरा र गुइँठा आधारित भान्सालाई ग्याँस वा विद्युतिय चुल्होले प्रतिस्थापन गर्नु प्रदुषण कम गर्नका लागि प्रयोग गर्न सकिने बैकल्पिक विधि हुन्।
यसका साथै विद्यालय तहका पाठ्यपुस्तकमा यस्ताखाले विषयवस्तु समेट्नु अपरिहार्य छ। संघीय सरकारले वातावरणीय मुद्दालाई समेट्न थुप्रै कानुन निर्माण गरे पनि तिनीहरुको कार्यन्वन फितलो पाइन्छ।
कतिपय अवस्थामा विद्यमान कानुन अपर्याप्त भए प्रदेश तथा स्थानीय सरकारले आवश्यकता अनुसार कानुन निर्माण गर्न सक्ने संवैधानिक व्यवस्थाको सदुपयोग गर्न आवश्यक छ।
विश्वव्यापी देखिएका विभिन्न वातावरणीय समस्या प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपाललाई असर गरिरहेको हुँदा संचार माध्यमले समेत सही सुचना प्रवाह गरी सबैलाई सुसूचित गर्न सके मात्र यस्तो खाले विपत्तीमा विजय गर्न सकिनेछ।