धेरै हाउगुजी झैं यो एसइईको परीक्षा पनि हाउगुजी बनेर आउँदैछ। जेठमा सुरु हुने यस परीक्षाले विद्यार्थी, अभिभावक, शिक्षक लगायत यससँग सम्बन्धित व्यक्ति, संघसस्था अनि सरकारी अधिकारीलाई चासोको विषय बनाउँछ।
कक्षा दशको परीक्षालाई सामान्य मानिनु पर्ने हो तर अनावश्यक रुपमा ज्यादा महत्वको विषय बनाइँदा यसबाट विद्यार्थीहरु बढ्ता चापमा पर्ने गरेका छन्।
के धेरै पढेर मात्र एसइई परीक्षामा धेरै अंक अथवा ग्रेड ल्याउन सकिन्छ त? हाम्रो अध्ययनप्रतिको धारणा शिक्षाविद् सर केन रोविन्सनले भने झैं शरीरलाई स्थिर राखी दिमागलाई मात्र चलाएर गर्न सक्दा अब्बल भइन्छ भन्ने छ।
हाम्रो शरीरको परिचालन दिमागी तन्दुरस्तीसँग सम्बन्धित छ भन्ने रहस्य वा ज्ञान त्यति महत्वको मानिन्न।
कक्षा दश पढेर परीक्षामा राम्रो अंक हासिल गर्दा आफूले चाहेको विषय, चाहेको शैक्षिक संस्थामा भर्ना गर्न पाइन्छ भन्ने आशामा विद्यार्थीहरुलाई अलि दबाब महशुस हुने गर्छ।
यसमा विद्यालयको गुणस्तर र इज्जतको सवाल अनि निजी शैक्षिक संस्थाको त व्यापारको सम्भावना भइगो। म कुनै शिक्षक वा शिक्षाविद् होइन तर अध्ययन गर्ने कुरामा रुचि राख्ने हुनाले आफ्नो अनुभव मात्र बाढ्न मन लागेको हो।
अहिले सबैजसो घरमा कोही न कोही एसइई परीक्षाको लागि तयारी गरिरहेका छन्। प्रायः विद्यार्थीहरु झ्यालढोका थुनेर, कसैसँग संवाद नगरेर, घरबाहिर ननिक्ली, लगातारको ट्युसन कक्षाको पेलान आदिले गर्दा झनै तनावमा देखिन्छन्।
घरका अभिभावक, शिक्षक, छरछिमेकहरु मानौं निरन्तर उनीहरुमाथि निगरानी गरे झैं देखिन्छ।
म यहाँ विशुद्ध प्राविधिक तरिका भन्न यो लेख लेखेको छैन। यसको लागि विज्ञ, शिक्षक, मेमोरी किङ मास्टर्सहरु बजारमा जति पनि छन्।
म केवल पढ्ने अभ्यासलाई सजिलो र प्रभावकारी अनि तनावरहीत कसरी बनाउन सकिन्छ भन्ने कुरामा आफ्नो अनुभव र विश्वका अध्ययनलाई आधार बनाई केही उपाय बताउन गइरहेको छु।
पढ्ने कुरा चौबससै घण्टा किताब हेरेर मात्र वा घोत्लिने कुरो होइन। यसमा उपर्युक्त पोषण, आराम, शारीरिक सकृयता जसमा योगका सामान्य अभ्यास (जस्तो प्राणायाम, अलोम विलोम आदि), ध्यान तथा अध्ययन पश्चात् केही समय हिँडडुल जस्ता असाध्यै साधारण उपाय नै हुन्।
पोषणको रुपमा दिमागलाई सकृय र स्मरणको लागि प्रोटिन लगायत सन्तुलित खाना, पर्याप्त पानीको सेवन अनि फलफूललाई आफ्नो खानामा समावेश गर्नुपर्छ।
भनिन्छ, हामीले जे खान्छौं त्यही विचार र इच्छाशक्ति हामीमा आउने गर्छ। अध्ययनले के पनि देखाएको छ भने परीक्षा अगावै केही गिलास पानी खाएर जाँदा हामीले पढेका कुराहरूको स्मरण गर्न सकिन्छ।
बिहान उठ्ने वितिक्कै हातमुख धोई मनतातो पानी खाँदा शरीर र दिमागमा हुनु पर्ने रक्तसंचारमा पुनर्ताजगी आई हाम्रो मुड र सकरात्मक भावमा वृद्धि हुन्छ।
त्यसपछि केही समय घरबाहिर गई खुला ठाउँ विशेषगरी हरियो ठाउँमा बसी प्राणायम वा श्वासप्रश्वासको अभ्यास गर्दा दिमाग र शरीरमा अक्सिजनको मात्रा बढ्दछ।
जस्ले हाम्रो दिमाग निकै सकृय हुन्छ अनि अध्ययन गर्दा जे पनि ग्रहण गर्न सजिलो हुन्छ। भनिन्छ कुनै कुरा चिन्तन गर्न वा स्मरण गर्न हिंडनु पनि निकै प्रभावकारी हुन्छ। यस्ले सम्झन पर्ने वा स्मरण गर्न पर्ने ज्ञान वा विचार वा तथ्यांकलाई दिमागमा छाप्न सकिन्छ।
अनि हामीले पढ्दा एकपटकमा एक घण्टाभन्दा बढी अध्ययन गर्दा दिमागमा बोझ भै ध्यान एकिकृत गर्न सकिन्न। त्यही भएर १०/१५ मिनेट विश्राम लिंदै पढ्नु पर्छ। बरु बेलाबेला दिमागलाई आराम दिने र ध्यान लगाउने संगीत सुन्न पनि सकिन्छ।
कक्षाकोठाको किताबी ज्ञान निकै निरस हुन्छ। त्यस्तो बेला बाहिरी कथा, कविता वा छोटा उपन्यास पनि पढ्न सकिन्छ। यसो गर्दा मन आनन्दित भई दिमाग ताजगी हुन्छ। तनाव लिन पटक्कै हुन्न।
जति अभ्यास गर्यो त्यति आत्मबल बढ्ने हो। एक किसिमको ड्रिल नै हो। अभ्यास, अभ्यास अनि अभ्यास। धेरै अंक आउनुमा कुनै रहस्य छैन। माथि उल्लिखित तरिका तपाईंहरुले एकपटक प्रयोग गरिहेर्दा यहाँहरुलाई लाभ नै मिल्दछ। यो मेरो तरिका हो जसबाट मलाई पनि आफ्नो क्षेत्रमा सफलता मिलेको छ।