म जे बोल्छु, सत्य बोल्छु। सत्य शिवाय केही पनि बोल्दिनँ। कथंकदाचित मैले भनेका कुरा झुठा ठहरिएमा कानुन बमोजिम सहुँला बुझाउँला।
पेशाले म सञ्चारकर्मी हुँ। म्यादी सञ्चारकर्मी। म एक प्रतिष्ठित सञ्चार माध्यममा काम गर्छु। म्यादी किन भनेको हो भने यो पेशाको कुनै भविष्य छैन।
मैले स्कुल पढ्दै गर्दा २०४८ सालको आम निर्वाचन नजिकबाट अनुभूति गर्ने मौका पाएँ। मैले त्योभन्दा अरु कुनै आम निर्वाचनको त्यति नजिकबाट अनुभव गर्न पाएको छैन। भलै म त्यतिखेर बालिग थिइनँ। नाबालग नै थिए।
तर, सबैमा उत्साह र भविष्यप्रति उमंग भएको पाउँथेँ। तर, त्यतिखेर चुनावको लागि खटिएका म्यादी प्रहरीको भने भविष्य अनिश्चित थियो। यस्तै अवस्था अहिले हामी सञ्चारकर्मीको छ।
एक वर्षभित्र एक सञ्चारकर्मीले तीन वटा सञ्चार माध्यम चहार्छ। त्यो उसको बाध्यता र आवश्यकता बनेको छ। बाहिरबाट हेर्दा प्रतिष्ठित छ र भव्य पनि। सबैले वाहीवाही गर्छन्। मेरो पीडा पनि त्यस्तै छ।
कनीकुथी चलेको मेरो रोजीरोटीमा फेरि अर्को बज्रपात तेर्सियो। बज्रपातको कारण अरु होइन, मेरो राजीनामा। अनिश्चयले घेरिएको मेरो रोजीरोटी। राजीनामाले मात्रै पनि मेरो दुःख निम्तिएको होइन।
राजीनामा सँगसँगै मैले पाउने सेवा सुविधाको बली चढाउन पर्दा त्यसले थपेको थप निराश र अन्धकारको अवस्थाले मलाई ब्याकुल बनाएको हो। मेरो राजीनामा माग्नुको कारण त खुलाइएको छैन तर राजीनामा सँगसँगै तिमीले पाउन बाँकी पारिश्रमिक दिन सक्दैनौँ भनिएको छ।
जेसुकै होस्, मैले पाउने पारिश्रमिक देऊ, त्यसमा जालझेल नगर भनेर सम्झाई बुझाई मैले सामूहिक राजीनामा बुझाएको छु। मेरो सेवा सुविधा अब उसैको निगाहमा छ।
म एक सञ्चारकर्मी भएको नाताले मलाई आफ्नो बारेमा, आफ्नो पेशाको बारेमा, आफ्नो कमजोरीको बारेमा, आफ्नो कर्तव्यको बारेमा भन्न धेरै मन थियो। तर, अहिले मेरो माउ संस्था नेपाल पत्रकार महासंघको चुनाव नजिकिँदै छ।
चुनावका प्रत्यासीहरु सामु मेरो वेदना, मेरो पीडा, मेरो आक्रोश, मेरो आवाज पुर्याउन यो बकपत्र दिँदै छु। मलाई लाग्छ सबै प्रत्यासीले यो आवाजलाई मनन गर्नेछन्। यो मेरो बकपत्र हो। यहाँ मैले म जस्ता आवाजविहीन सबै सञ्चारकर्मीको प्रतिनिधि आवाज बोल्नेछु।
मैले घरबाट निस्कँदा मेरो परिवारलाई सधैं भन्ने गर्छु, म पेशाले सञ्चारकर्मी हो। घरमा खानेबेलामा मेरो बाटो नहेर्नू। नुनतेल, रासन सकिँदा मेरो मासिक तलब नपर्खनू। आफूलाई दुःख बिमार पर्दा अस्पतालसम्म पुग्नलाई मेरो साथ नखोज्नू। बच्चाको स्कुलको बिल आयो भने मलाई नदेखाउनू। किनकि विगत एक वर्षदेखि मैले पूरा तलब पाएको छैन।
दुई महिनायता त त्यही आंशिक तलब पनि आउने छाटकाँट छैन। तर, मलाई भ्याइनभ्याई छ। मलाई सधैं हतार हुन्छ। मैले कसको लागि र केका लागि काम गरेको छु, थाहा छैन।
समाचार संकलन गर्न जान मसँग मिति सकिएको सूचना विभागको परिचय पत्र मात्र छ। सरकारी कार्यालय तथा प्रमुख प्रशासकीय इकाइमा समाचार संकलन गर्न जाँदा साथी-भाइको परिचयपत्र लिएर जान्छु। मेरो परिचय प्रत्येक दिन फेरिन्छ।
सायद नाम नसम्झिएर होला आजसम्म सुरक्षा गार्डले मलाई रोकेको छैन। सूचना विभागमा दर्जनौँ पटक परिचयपत्र नविकरण गर्न गएँ। तर, त्यहाँका सरकारी कर्मचारीले ‘तिमीले पाएको तलबमानको सूची हामीकहाँ आइपुगेको छैन।
'तिमीलाई परिचयपत्र दिन सक्दैनौँ' भनेर फर्काउँछन्। आफू काम गर्ने ठाउँमा मैले पाउने मासिक पारिश्रमिक नपाएकै कारण परिचयपत्रबाट वञ्चित छु। अरुबेला ठूलठूला प्रश्न गर्ने म ती सरकारी कर्मचारीसँग चुपचाप नबोली फर्किन्छु।
म सधैंजसो मेरा लालाबाला ओछ्यानमा छँदै घरबाट निस्कन्छु, घर फर्कंदा उनीहरु सुतिसकेका हुन्छन्। कहिलेकाहीँ त मेरो काम पनि हुन्छ। तर, मलाई समाचार संकलनको कामभन्दा कतै उनीहरु निद्राबाट बिउझिएपछि यो भएन, ऊ भएन, यो सकियो, यहाँ यहाँ उधारो छ भनेर बेलिविस्तार लगाउँछन् कि भन्ने पिरलो हुन्छ।
त्यो सुन्नुभन्दा पहिले म अरु नउठ्दै घरबाट बाहिरिन्छु। यस्तै छ मेरो हाल।
कानुनमा मेरो अधिकार छैन?
आफैलाई प्रश्न गर्छु, कानुनमा मेरो अधिकार छैन? होइन। किन नहुनु! श्रमजीवी पत्रकार सम्बन्धी ऐनले कुनै पनि सञ्चारमाध्यममा काम गर्ने पत्रकार या सञ्चारकर्मीलाई काममा लगाउनुभन्दा पहिले उसलाई नियुक्ति पत्र अनिवार्य दिनुपर्ने ग्यारेन्टी गरेको छ।
त्यत्तिमात्र होइन। न्यूनतम पारिश्रमिकको ग्यारेन्टी, प्रत्येक वर्ष मासिक ग्रेड वृद्धि, प्रत्येक वर्ष उपचार खर्चबापत एक महिनाको पारिश्रमिक दिनुपर्ने व्यवस्था पनि छ। त्यसका अलावा चाडपर्व भत्ता, अन्य भत्ताको पनि व्यवस्था छ।
अनिवार्य बिमाको व्यवस्था पनि त्यसमा गरिएको छ। सञ्चयकोष या सामाजिक सुरक्षाको व्यवस्था अनिवार्य हुनुपर्छ। सेवामा जोडिएको पहिलो दिनदेखि नै यी सबै सेवा सुविधा सञ्चारकर्मीले अनिवार्य पाउनुपर्छ।
सेवाबाट अवकाश हुँदा कुनै पनि पत्रकारले सञ्चित घर बिदा १८० दिनसम्म, बिरामी बिदाको रकम, उपदान, कम्पनीले सेवाबाट निकालेमा क्षतिपूर्ति समेत अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ। यो न्यूनतम सेवा सुविधा हो। यसको पालना अनिवार्य शर्त हो।
मेरो माउ संस्था अहिले चुनावको रौनकमा छ। तर, मेरो घरमा चुल्हो बल्न छोड्यो। बाहिरबाट हेर्दा तडकभडक देखिए पनि भित्री हाल मेरो यही हो। म सबैको आवाज बोल्छु तर मेरो आवाज बोल्न सकेको छैन। आफ्नो आवाज सुनाउन यो बकपत्र दिँदै छु।
सञ्चार क्षेत्रलाई राज्यको चौथो अंग भनिन्छ। हेर्दा यो सेलिब्रिटी जस्तो देखिन्छ। त्यो एक पर्दा मात्रै हो। त्यही पर्दाभित्र पीडाले थर्थराएका आवाज छन्। रोग, भोक, निरास र वेदनाले खुइलिएका आशाहरु छन्।
ती आशाका किरण देशको भविष्य कोर्ने औजार हुन्। मलाई चिन्ता छ ती मसिना औजारहरु खिइने त होइनन्? मलाई चिन्ता छ मेरो पेशागत व्यावसायिकताको भविष्यको, मेरो स्वतन्त्रताको रक्षाको, मेरो न्यूनतम आवश्यकताको।
अग्रजहरुले आफ्नो इमान, व्यावसायिकता र पेशागत मर्यादालाई कसरी बचाइराखे? यो प्रश्न मेरो अगाडि तेर्सिएको छ।
आफ्नो आवाज बोल्नेहरुलाई यहाँ कुनै ठाउँ छैन। उनीहरुलाई मानसिक र मनोवैज्ञानिक सुरक्षा चुनौती छ। मेरो श्रमको मूल्य कसैको प्यादा नबनोस्। मालिकको सनकमा श्रमिकको श्रम नलुटियोस्। मेरो कलम मेरो विश्वास हो। कसैले भाँच्न नसकोस्। अरु केही नभए पनि मेरो स्वाभिमान बाँकी छ।
जे सुकै होस् मेरो खोजी आफ्नो विवेकको भरमा उभिने सञ्चारकर्मी हो। त्यो सञ्चारकर्मीले अरुका आवाज पनि बोलोस्, आफ्नो हकहितको बारेमा पनि बोलोस्। आफ्नो बारेमा बोलोस्। निर्धक्क भएर बोलोस्।
मिडिया मालिकको ललिपपमा नफसोस्, कसैको डर, त्रास र धम्कीमा नडगमगाओस्। कसैको प्रलोभनमा नलरखराओस्। राजनीतिक विचार र आस्थाको झोला भिरेर आफ्नो इमानलाई नबेचोस्। मेरो खोजी र सपना त्यही हो।
यही आवाज, यही सपना कोर्न मैले यसपालि फेरि महासंघको नेतृत्वको लागि मतदान गर्दैछु। मलाई चिन्ता छ कतै त्यही नेतृत्वले मेरो पेटमा लात्ती त बजार्दैन? मेरो बच्चाको भविष्यसँग खेलवाड त गर्दैन?
आफ्नो इमान बेचेर मेरै विरुद्ध महासंघभित्र लबिङ त गर्दैन? मेरो गाँस त खोसिदैन? मेरो आशा त हराउँदैन? मलाई चिन्ता छ, कतै मैले पाउनुपर्ने बक्यौतामा सम्झौता गर्नुपर्ने हो कि? आशाका शिलाहरु खोज्दै फेरि गुमनाम बन्नु पर्ने हो कि? मन प्रश्नले भरिन्छ। किन यस्तो भइरहेको छ?