म नियालिरहेकी हुन्छु सुन्दरताका अनेकौं रुप अनि सुनिरहेकी हुन्छु कैँयन परिष्कृत परिभाषाहरु। यथार्थ कुनै शब्दले सुन्दरतालाई परिभाषित गर्न नसकेरै त होला सुन्दरताको अर्थ मानिसको हेराइ, बुझाइ अनि अर्थ्याइमा फरक परेको।
म जसलाई सुन्दर ठान्छु, समाजले त्यसलाई नकारिदिन्छ अनि जसलाई समाजले सुन्दरताको पगरी गुथाउँछ, त्यसमा म असमर्थित हुन्छु।
मेरो समाजले के भन्छ?
एउटा मानिसको शारीरिक बनावट, उचाइ, मोटाइ, मोहडा, हात-खुट्टा, अनुहार आदिबाट उसको सुन्दरताको मूल्यांकन गरिन्छ।
नारीमा सुन्दरताको ट्याग उनको लोभलाग्दो लालित्य अधर, गाजलु आँखा, नशालु ओठ, चट्ट मिलेको चिउँडो, मिलेका ३२ दन्त लहर, पुष्टिएको छाती, फक्रिएका नितम्ब अनि ३६-२४-३६को आँकडाले पाउँदछ भने केटामा अग्लो कद, चौडा छाती, मिलेको जिउडाल,चट्ट दाह्री-जुँगा, मिलेका दाँत आदि।
गुण हुन् या दुर्गुण, सुन्दर कहलिन ऊ समाजले तोकेको यो परिधि भित्र पर्नै पर्छ।
मेरा अघिल्ला दुई दाँत खप्टिएका अलि ठुला, केही लामा, खरायोरुपि छन्। यो पनि समाजद्वारा पहिरिएको नाम। या भनौं म स्वयं समाजको बेढंगी सुन्दरताको बखानबाट पेलिएकी छु।
कहीँ कतै फोटो खिच्ने बेला दाँत देखाउन लाग्दा मलाई गतिलो झापड मिल्थ्यो, म हेपिएको छु। 'यस्ता दाँत देखाएर फोटो नराम्रो किन बनाउने?' मलाई आफ्नै दाँतप्रति कुनै गुनासो छैन, म बेखुसी छैन।
तर यो बेतर्की कुरा किन? केका लागि? कलेज जाँदै थिएँ। लोकल बस, विद्यार्थीभन्दा अलि बढी बजार जाने-आउने आन्टीहरुकै भिड्भाड हुन्थ्यो। बसमा एउटी आन्टीले प्याच्च बोल्नु भयो, 'ओहो! नानी दाँत त मिलाइहाल है, बिहे गर्न अप्ठ्यारो पर्ला।'
म चुप। कहिल्यै नदेखेको मान्छेबाट यस्तो प्रतिक्रिया। न मैले मागेकै थिएँ, न चाहेकै। तर हरेस कतै खानु छैन मलाई।
किन?
किनकि म प्रकृतिको उपहारलाई लत्याउन नै चाहन्न। म प्रकृतिलाई नै सुन्दर भन्ने गर्छु। उनको सृष्टिलाई कुरुप भन्ने अधिकार नै मलाई रहन्न। जब स्वयं प्रकृतिले मेरा दाँत यस्तै रहुन् भन्ने चाहन्छिन् भने के मलाई उनको उपहार च्यात्ने अधिकार रहन्छ?
कृत्रिम रुपमा सर्लक्क मिलेका सेता लहर सजाउन सकिन्छ भन्ने थाहा नभएर होर? तर जुन आत्मसन्तुष्टि, बल प्राकृतिक कुरामा छ त्यो कृत्रिममा कहीँ कतै पाइएला? आखिर यसैले त चिनिएकी छु, म नि प्रकृतिको अ(सुन्दर) मोलाईबाट। तर किन? के म यसको जवाफ प्राप्त गर्न सकूँला?
म मेकअपसँग सम्बन्ध नै नभएकी मान्छे। न कहिल्यै पाँच पत्रे सुन्दरताको रहर न त कुनै नशाप्रतिको मोह। सोच नै आएन। तर गाजलुलाई पन्छाउने हिम्मत आजसम्म नि आउँदैन, किन?
किन मेरा नयनले सुन्दरता नमागे पनि प्रकृतिले दिएको निर्मलतामा मेनटेन गर्न पर्छ भन्ने लाग्थ्यो, लाग्छ। सुन्दा हाँसो लाग्छ, तर जुन समाजले दिएका गुणयुक्त युवतीहरु वरिपरि देख्दा आफूलाई अप्ठ्यारो भएको महशुस हुन्छ।
किन? किनकि रुपले बानीलाई उछिनिसकेछ। प्राथमिक त व्यहोरा हुनुपर्ने तर कठै रुपले खेदाइसकेछ। कुनै खेद छैन, बस्! समाजको कुरा सुन्दा सुन्दै आफ्नो कन्फिडेन्स पनि समाजमै निर्लिप्त हुने होकि भन्ने पिर।
तर हामी ज्ञात छौँ त? सुन्दरताको परिभाषा बाहिरी आवरणमा मात्र सीमित भने छैन अनि हुनु पनि हुँदैन। खासमा सुन्दरताको मुख्य ढाँचा मानिसको चारित्रिक गुण, पर्सनालिटी अनि कन्फिडेन्समा लुकेको हुन्छ।
स्वर्गकी अप्सरा न मैले देखेकि छु न यो लोकले, तर ती कपोलकल्पित परीभन्दा हजारौं गुणा सुन्दर भएपनि उसको चारित्रिक बनावट पतित बन्छ भने त्योभन्दा उदाङ्गो अरु केही हुन सक्ला र? अहँ! कदापि हुन सक्दैन।
म धेरै कहानी देख्छु अनि अनेकौ कथा सुन्ने गर्छु। पल्लो गाउँकी माइली आमा छोराको बिहेको लागि निकै हतारिएकी। गाउँमा गन्नेमान्ने, धनले निपूर्ण उनको परिवारमा उनी अनि दौतरी दुई छोरा। बुबा बेलैमा संसारबाट बिदा लिएका।
दुवै छोरा पढेलेखेका अनि सरकारी जागिरे। आमा चाहन्थिन् दुई बुहारी घर आउन् अनि परिवार सदैव हाँसिखुसी रहोस्। जेठो छोरा सहरबाट आफैंले आफ्नी आमालाई बुहारी लिएर आयो। उनी कुनै परीभन्दा कम थिइनन्, सारा गाउँ उनको बडो कुरा गर्ने।
कान्छा छोरालाई आमाले आफैं खोजिदिएर बिहे गरेकी। कान्छी ठिकैकी थिइन्। रुपमा त जेठी सबैकी हाई हाई तर घर व्यवहारमा कान्छी अब्बल। जेठी आफ्नो सुन्दरतामा केही आँच आउने होकि भनेर काम केही नगर्ने बस् मेकअपका अनेक थरिमा व्यस्त। तर कान्छी रुपको वास्ता नगरी काम सबै गर्ने, आफ्नो जिम्मेवारी वहनमा तल्लीन।
समाज त बाहिरी कुरा मात्र देख्छ र पो जेठीको प्रशंसा गर्छ तर खास हुनुपर्ने त कान्छीको। तर हाम्रो समाज रुपलाई अघि लाएर चरित्रलाई लत्याउँदै हिँड्छ।
अर्को कुरा नै गरौँ न, हाम्रोतिर बिहे गर्दा केटी हेर्न केटा सपरिवार या केही आफन्तीसँग आउने चलन छ। त्यहीँ बिहेका लागि केटी हेर्दा पनि सुरुआत त रुपबाट नै हुन्छ।
केटी राम्री भए त कुरा अघि बढिहाल्छ अनि कथित नराम्री भए केही न केही खोट अनि अपजस त आइ नै हाल्छ। अब के बिहे गर्न रुपको धनी हुनैपर्ने हो त? के राम्रो बानीको के अब समाजमा महत्त्व नै छैन त? रुपमति नभएर केही हुँदैन तर बानी-व्यहोरा त हुनैपर्छ भन्ने कुरा यो सबैले बुझिदिए कस्तो राम्रो हुने थियो होला।
जुन समाजमा म मेरो २३ औँ वसन्तमा छु। सायद यो लेख्दै गर्दा कतै म पनि यही समाजको जुन मैले नकार्ने परिभाषा अन्जान रुपमा अंगालिरहेकी त छैन? किन? म यो धर्तीमा एक वर्षकालमा ६ ओटा ऋतु पार गर्छु, मैले जतिवटा वसन्त पार गरेँ त्यति नै शिशिर अनि गृष्म पनि भोगेकी छु।
तर म वसन्तलाई नै किन अंगाल्न पुग्छु? किन? के मैले हिजो त्यति मेहनतले काटछाँट गरेका मेरो बारीका ती बिरुवाका रंगिन फूल अनि पालुवाले मलाई नसराप्लान्? म वसन्तलाई अपार प्रेम गर्छु, कतै सुन्दरता र प्रेमको अन्तरघुलन यतैकतै बात सुरु भएको त हैन?
अनि सुरु हुन्छ म भित्र अर्को विरोधाभाष अनि मलाई डर लाग्छ कतै प्रकृति अनि समाजले फेरि मैलाई दोषी बनाउने त हैन? म चाहन्छु, प्रकृतिले प्रकृतिलाई जे-जस्तो अन्तरमा सिर्जना गरोस्, मानवरुपि आँखा र दृष्टिकोण सधैं समान सिर्जना गरोस।
म जस्तो छु, त्यसमा बडो खुसी अनि सन्तुष्ट छु। म चाहन्छु मलाई रुप हैन मन हेरेर अंगालुन्। मेकअपको पत्रैपत्रले हैन दागसहितको मुहारमा अपनाउन्। देखावटी यो जमानामा यथार्थको पोकोलाई फुकाउन् अनि रुपले भन्दा पनि कुशलताले मलाई चिनाउन्।